आवरण - द माइन्डसेट | SATURDAYकलम | Kavyalaya - काव्यालय

 आवरण – द माइन्डसेट

वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्णाति नरोऽपराणि |
तथा शरीराणि विहाय जीर्णा
न्यन्यानि संयाति नवानि देही || २२ ||

सुरु यहीँबाट गरौँ क्यारे । माथिको श्लोकको तात्पर्य हुन्छ, जसरी मानिसले आफूले धारण गरेका वस्त्रहरू परिवर्तन गर्छन् त्यसरी  नै आत्माले पनि मृत्युवरण पश्चात नयाँ शरीरमा प्रवेश गर्छ ।

हुन त म क्याजुअल कुरा लेख्ने सोचमा छु । धेरै फर्मल पनि नबनूँ होला । शरीरले वस्त्र धारण गर्ने र बेला बखतमा परिवर्तन गर्ने कुरा भागवतमै उल्लेख छ । अब नितान्त शरीर र वस्त्रको कुरा गरौँ- भन्नाले ‘हुलिया’ ! अलि सभ्य भाषामा ‘आवरण’ । अनि यीप्रतिको व्यक्ति, समाज र भूगोलको दृष्टिकोण । आवरण शब्द अलि समावेशी छ, यसको माने केवल वस्त्र भन्ने हुँदैन । यसले सतही दृष्टिकोणबाट हेर्दा समेटिने सबै कुराहरूलाई समावेश गर्छ । जस्तो कि, कुनै पनि मानिसको आवरणमा उसले लगाउने वस्त्रमात्रै नभईकन उसको शरीरको बनोट  र अङ्गहरूको आकार, रूप, वर्ण र स्थिति समेत पर्न जान्छ । 

अब अध्याय सुरु गरौँ होला ? हाम्रो समाजमा सबभन्दा पहिले कुनै पनि व्यक्तिविशेषको मुल्यांकनको पहिलो मापन सूचांक हो ‘आवरण’ । लोकल भाषामा भनौँ; लवाइ, खवाइ, हिँडाइ, बोलाइ, चलाइ आदि इत्यादि । कुनै पनि मानिसको व्यक्तित्वमा वास्तविक क्षमता, वृद्धि , विकास, सिकाइ, भोगाइभन्दा बढी हाबी हुने कुरा हुन् यी सबै । अनि समाजको एक प्रकारको बनोट, त्योबाट जगडिएको परम्परावादी माइन्डसेट जसलाई स्वीकार गर्न हामीलाई पनि हम्मे-हम्मे पर्छ । आशा राखौँ, समयक्रमानुसार यी सबै परिमार्जन हुँदै जालान्, होलान् या नहोलान् भलै केही गन्थन गरिहालौँ ।

म आफ्नै कुरा गर्छु । हुर्कँर्दै गर्दा मैले यस्ता कैयौं अनुभव भोग्नु पर्यो, वर्तमान अवस्था पनि कहिलेकाहीँ म यस्ता मापदण्डहरूमा परिरहन्छु तर कहिल्यै कसैलाई स्पष्टीकरण दिनु आवश्यक ठान्दिनँ । “यत भावो : तत भावती” तिमी त्यो बन्छौ जो तिमी आफूले सोच्छौ, अरूले सोचिदिएको होइन । ड्याम इट् । प्रायः जसो आजकल पनि मेरो लाइफ स्टाइललाई लिएर अनेक टिप्पणी आउने गर्छन् । आउँछन्, जान्छन् खोलाजस्तै, तर ती पारदर्शी छन् हृदयभित्र जलिरहेका, बलिरहेका सबै गुण छर्लङ्ग देखिन्छन् । एकातिर भर्चुअल दुनियाँ जो आजित छ, दिक्क छ, फर्स्टु छ । सारा संसार भुलेर अँध्यारो कोठामै मोबाइल र ल्यापटपका स्कृनमा टाउको जोतिरहन्छन्, उनीहरू मलाई “मिस्टर फकिर” भनी सम्बोधन गर्छन् । हुन त यो म आफूले आफैलाई सम्बोधन गर्ने शब्द हो जसको अर्थ हुन्छ हरेक श्वासमा नृत्यमग्न एक आनन्दी यायावर । शाब्दिक अर्थमा इश्लाम धर्म समुदायको मस्तमौला ! उनीहरू मेरा हरेक कदममा डाह गरेझैं गर्छन् । कहिलेकाहीँ कमेन्टहरूको दोहोरी चल्छ । अनि अर्कातिर जुन म बाँचेको वास्तविक दुनियाँ, म बाँच्ने समाज, मेरा नजिकैका हितैषी, छरछिमेक, इष्टमित्र, परिवार सबैमा कतै न कतै आपत्ति, कटाक्ष, विमर्श, भलाकुसारी चलिरहन्छ । केवल मेरो बोक्रोलाई लिएर ।

केही अध्यायहरू छन्, जो रोचक छन् । सल्लाहजस्ता पनि छन्, हल्लाजस्ता पनि छन् । स्वीकार्य छैनन् ।  समाजमा बाँच्ने सामान्य मान्छेलाई असामान्य बनाउन मापन, मुल्यांकन र सही गलत छुट्याउने सूचक तत्वस्वरूप । यी कुरीति हुन् वा पुर्ख्यौली संस्कृति आवरणका कथाहरू । एकपटक सुनौँ, पढौँ, हेरौँ अनि बुझौँ । कोही मेरा आफ्ना कथाजस्ता लाग्लान् त कोही तपाईंका आफ्नाजस्ता।

अध्याय ।।१।।. आँखाको भाषा 

कैद खानें हैं…बिन सलाखों के;
कुछ यूं चर्चे है तुम्हारी आँखों के ।

आँखा यस भौतिक जगतमा अस्तित्वमा रहेका हरेक प्राणीका अभिन्न अङ्ग हुन् । यिनका आफ्नै रङ्ग, बनोट र प्रकृति हुन्छन् । भौगोलिक हिसाब अनुसार पनि यिनका आफ्नै विविधता छन् । अपवाद स्वरूप मेरा आँखा खैरा छन् ।अझ ठेट भाषामा ‘कुहिरा’ । म मेरा आखाँहरूलाई प्रेमपूर्वक ‘अ सेट अफ ग्रे आइज’ भन्छु । खास हुनुपर्ने कस्ता थिए वा हुन् मलाई अझै पनि थाहा छैन । आखाँको मापदण्ड के हो ?  यो कुनै विवाद वा अचम्मको विषय त होइन तर मेरो जीवनका विभिन्न कालखण्डमा यिनले मेरो मनोविज्ञानमा गहिरो छाप पारेका छन् । 

५/१० वर्षको उमेरमा प्रायः आफन्त, केही छिमेकी अनि आफ्नै परिवारका सदस्यहरूबाट आइरहने एउटै कुराले मलाई हानिरहन्थ्यो । “यसलाई त भेटेर ल्याएको हो रे?” कारण परिवारका सदस्यहरू सबैका भन्दा केही भिन्न बनोटका आँखा थिए मेरा । त्यो उमेरमा यो घटना एउटा भद्दा मजाक मात्र हुँदो हो तर बाल्यकालका केही वर्ष  मेरो बाल मष्तिस्क निकै खलबलिँदै थियो । सुन्दा सुन्दा साच्चै लाग्थ्यो, कि मेरा आफ्नै मान्छे को हुन् त उसोभए ? यी कुराले बिस्तारै मेरो परिवारप्रतिको निकटता, सामिप्यलाई घटाउँदै लग्यो । त्यो समय साच्चै यातनापूर्ण नै बित्यो । त्यसको दीर्घकालीन असर अनुरूप अहिले यो उमेरमा मलाई त्यो निकटतामा फर्किन अझै समय लागिरहेछ । 

बिस्तारै हुर्किँदै जाने क्रममा स्कुल लाइफमा भनौँ, फेरि त्यस्तै प्रकृतिका घटनाहरू जोडिएर आए । कक्षा पाँचको नेपालीमा चतुरे स्यालको कथा थियो । जुन स्यालले पूरै गाउँलाई नै हैरान पारेको थियो । गाउँमा पालेका कुखुरा, हाँस, चल्ला, पाठापाठी सबै सोत्तर पार्ने चतुरे स्याल । नेपाली शिक्षकले मजा मज्जामै चतुरे स्यालका आँखा यस्तै थिए भनेर मैतिर औंला तेर्स्याइदिनु भो । त्यसपछि मेरो नाम नै स्कुलभरि चतुरे वा स्याल रहन गयो । स्कुले जीवन पनि तनावपूर्ण नै रह्यो । गाउँमा हुने विवाह, व्रतबन्ध, कर्मकाण्ड, पूजाहरूमा गयो, कुनै न कुनै मान्छेले  मजाकको पात्र बनाउने ।

“छोरो त छ्ट्टु होला जस्तो छ ।”
“उमेरमा यसले मान्छे बेचेर खान्छ।”
“चोरका जस्ता आँखाले के हेर्छस् ?”

अल्लि बैंसको भइयो । कलेजका केही वर्ष बिते । +२ सकेपछि यस्तो अवस्था आयो कि जागिर खोज्दै एक जोडी चप्पल पड्काउँदै पोखराका गल्ली नाप्ने दिन सुरु भए । एउटा रोचक प्रसङ्ग छ । केही जोडी चप्पल फाटेपछि लेकसाइडस्थित एक होटलमा कुरा मिल्ला मिल्लाझैं भयो । चाहिएको एकाउन्टेन्ट, व्यवस्थापन संकायमा राम्रै अङ्क ल्याएर उतिर्ण भएको अलिकति आशा पलायो । बायोडाटा, एकेडेमीक डकुमेन्ट , अन्तर्वार्ता सबै बबाल भो । केही समय खुब कुरियो । केही समयमा म्यानेजर आए । बोलाएर खुसुक्क पार्क तिर लगे । “भाइ सबै राम्रो छ, एनर्जेटिक छौ, तर एकाउन्टेन्ट हैन बरु वेटर गर्छौ भने दिन्छु । म ट्वाल्ल परेँ । ‘किन ?’ भनेर प्रतिप्रश्न पनि गरेँ । तर, निकै अनपेक्षित उत्तर पाएँ । उनले भने, “तिम्रा सबै कुराहरू स्ट्रङ छन् । एउटै कुराले गर्दा मात्रै मलाई रिस्क लिन मन नलागेको । पैसाको कारोबार हो भाइ हेर, तिमी अलिकति काँचो पनि छौ, उमेरले । अनि अर्को कुरा मेरा बाआमाले मलाई सधैँ भन्नुहुन्छ ‘कुहिरा आँखा हुने मान्छेको भर/विश्वास हुँदैन । बचेर काम गर्नु ।’ वेटर गर्ने भए भोलीदेखि आऊ।

एकपटक त कन्पारो नै तातेर आयो । तर झट्ट रिस उठदैन मेरो । के को रिस झन् मुर्छा पर्ने गरी अट्टाहास पो छुट्यो । एकछिन संसार भुलेर मज्जाले हाँसेँ । लौ जा जागिर पनि चैट । एकपटक सोच्नुस् न… समाजको परिधि, निर्दोष आँखा अनि कुनै व्यक्तिको चरित्रमाथिको प्रश्नचिह्न ! नैतिकतामाथिको मिथ्या प्रत्यारोप ! 

अल्लि ठूलो भइयो। लगभग किशोरावस्था पार गर्न लागियो । साथीभाइको सर्कल बढ्दै गयो । उनीहरूका केन्द्रमा पनि मेरा आखाँले काम पाए। तेरो आँखा त लास्ट सेक्सी छ यार । तैँले एकपटक हेरे मात्रै नि सब भाषा बुझ्छन् केटीहरूले । उनीहरूले सामाजिक सञ्जालमा टेक्स्ट् गर्दा सिधै भन्थे, ‘ओइ सेक्सी म्यान ।’ उनीहरूको शब्द चयनमा इन्टेन्सन नै फरक हुन्थ्यो । कतिले सोझै भन्थे,  ‘हेर्न साले बोका, यसको भाउ बढेको ।’

झुर अनुभूतिका केही स्याम्पलहरू हुन् यी भोगाइहरू । यी सबैबाट प्रष्ट छ मेरो समाजको ऐना । मानिसले बनाएका आ-आफ्ना दृष्टिकोणका तहहरू । केही मिठा अनुभवहरू पनि छन् । मिठा टिप्पणीहरू पनि छन्, मैले सुन्न पाएका जस्ता कि, “कलाकारमा हुनुपर्ने गुण भएका आँखा छन् तिम्रा । हेर्दै स्ट्रोङ कन्फिडेन्स भएका जस्ता ।”  हुन पनि केही थान प्रेमपत्र पनि पाइयो जीवनमा, बलपूर्वक आँखा जुधाइ खेलियो केही उमेरमा । खैर, राम्रा हुन् वा नराम्रा कति सतही धारणा बनाउँछौँ हामी कुनै मानिसप्रति, खाली उसको बाहिरी आवरणबाट नै । हामीले राख्ने यस्ता पूर्वाग्रहबाट कति बाल-मस्तिष्क पीडित छन्, कति किशोर मनोविज्ञान खलबलित छन्, कति जवान हृदयहरूमाथि नैतिक-सामाजिक यातना ठोसिएका छन् !

के यी सबै जायज छन् ?
के यिनै हुन् समाजले बनाएका आवरणका मापदण्ड ?
के आवरणको मापदण्ड हुनु आवश्यक छ ?
छ भने ईश्वरले सृष्टी गर्दा किन सोचेन ?
छैन भने किन यो विद्यमान छ ?

यो एउटा प्रतिनिधि अध्याय मात्र हो । अरू पनि छन् त्यस्ता कैयौं अध्याय, कपालको कथा, लगाउने कपडा/वस्त्रको कथा, माला र बालाको कथा, ट्याटुको कथा, रुचिको कथा, सिङ्गो लाइफ स्टाइलको कथा ।

अब पहिले तपाईंका कुरा/ प्रतिक्रिया सुनौँ अनि अरू कथा म अर्को अध्यायमा लेख्ने छु ।

इति श्री !

 

Facebook Comments

You may also like

error: Content is protected !!