कोरोना कविता

कोरोनाको दाग

आज निकै भावुक छ यो मन , नसोध किन !
नसोध किन !
यो मनलाई प्रश्न चाहिँदैन अरे !
समय नै अन्धकार भइगयो के गर्नु ,
कोरोनाको दाग मेटेर मेटिन्न अरे !!

दुई ढुङ्गा बिचको तरुलझैं भयो हाम्रो देश,
दलित, गरीब , अनाथ , वृद्ध रोगले भन्दैन अरे !
कति कमाउँछौ , कति रमाउँछौ , भनेको मान्दैनौ ,
सुखी जीवन बाँचेर त हेर, कोरोनाले भ्रष्टाचारी भन्दैन अरे !!

जिन्दगी छोटो छ, परिवारसँग रमाउने प्रयत्न गर्ने गर,
फर्केर हेर स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीलाई, भोक निद्रा भन्दैनन् अरे !
स्वास्थ्य नै ठूलो धन हो भनी पढेको शिक्षा खेर फालेकै हो ?
महामारी फैलिएको थाहा हुँदा हुँदै, लखर लखर बाटोमा डुल्छ्न अरे !!

हेर्छु दिनानुदिन समाचार अनि त्यो भित्ते पात्रोको मिती,
आउँदै रहेछ्न् चाडबाड अनि रमाइला क्षण, ती पनि खल्लो भइजान्छन् अरे !
वार्ता गर्छु साथीहरूसँग, पोख्छु रमाइलो गर्न नपाएको पीडा,
मुस्कुराउँदै भन्छन् ती, संजालका तस्बिर हेरी मन बुझाउँछ्न अरे !!

डबल सेन्चुरी नाघिसक्यो मृत्यु हुनेको संख्या
तर बिडम्बना,
बरु हजारौं तिर्न तयार छन्, मास्क प्रयोग गर्दै गर्दैनन् अरे !
आशा छ अनेक प्रयत्न गर्ने छौ तिमी आफूलाई बचाउन,
घरमै चित्त बुझाउँछु के गर्नु, मृतक परिवारका आँसु ओभाएका छैनन अरे !!

अचेल त सुन्छु,
कोरोनाको दाग मेटेर मेटिन्न अरे !
कोरोनाको दाग मेटेर मेटिन्न अरे !!

 

कोरोना कविता

समय प्रतिकुल छ, त्रसित छन् साना बालकहरू,
चिन्तित छन् हजुरबुबा आमाका अनुहारहरू !
नयाँ कापी किताब बोकेर स्कुल जाने बेलामा,
समाचारको नयाँ अपडेट खोजिरहेछ्न् युवा प्राण पुस्ताहरू !!

मौसम वासन्ती,  तर माहोल छ शिशिरको, समय विपदको ,
हतियार बिनाको युद्ध , पर्खाइ छ सफलताको !
नसोचौँ, नभनौँ “हामीसम्म आइपुगेको छैन” ,
आउन नदिनको लागि बरु प्रयास गरौँ , धीरज राखौँ ,
ताकी यो घडी सजिलै पार गर्छु भनेर।।

नडराऔँ, बसौँ सचेत भई, त्यागौँ स्वार्थ सबै,
सहयोगी बनौँ, एक्लै बसौँ तर कोहीपनि एक्लो नबनौँ !
धैर्य राखौँ, करुणा बाडौँ, मन हल्का बनाऔँ,
बस् आत्मबल र उत्साहलाई आफ्नो रिचार्ज गरिराखौँ !!

बहादुर छौँ , पार गर्न सक्छौँ हामी यो युद्ध हतियार बिनाको,
यसअघि पनि गरेकै हो पार, त्यो थरथराहट भुकम्पको !
सुनेर बसौँ आनन्द आउनेछ ती तितामिठा अनुभूति बुढापाकाको,
परास्त गर्नेछौँ, फेरि फर्किनेछौँ सामान्य दैनिकीमा
फ्याँकेर सत्ता यो कोरोना भाईरसको !!

उदाउने छ पक्कै पनि,  सग्लो सूर्य बोकेर सुन्दर बिहानी,
बज्नेछ्न् मन्दिरबाट फेरि घण्टीको आवाज अनि बन्ने छ कहानी !
बन्द स्कुलमा गुञ्जनेछन् तराबाजि लैलै फेरिपनि,
नाच्नेछ्न् ती पानाका अक्षरहरू, अनि मुस्कुराउनेछ्न् किताब-कापीपनि !!

सुनसान सडकहरू फेरि जाग्नेछ्न् र दौडिनेछ्न् गाडी आफ्नो गन्तव्यमा,
बन्ने छ, फर्किने छ यो सुन्दर संसार पुनः आफ्नै लयमा !
बुढापाकाको मन्द मुस्कानले भन्ने छ, डरको अगाडि जित हुन्छ ,

अनि हामी भन्ने छौँ फेरिपनि एकपटक ,
हामीले हतियारबिनाको युद्ध जित्यौँ !!
हो, हामीले फेरि जित्यौँ !!!

Facebook Comments

You may also like

error: Content is protected !!