कुल म्यान भर्सेज हट म्यान

एकादेश द्वादेश त्रेयोदेश केही होइन । कहीँ होइन । यही देशमा हटम्यानको एकलौटी राज थियो । जसको ऊर्जाले बिजुलीका बल्बहरू पग्लिने, पोलहरू बहुलाउने, तारहरू बाङ्गिने, महसुल चाहिँ नाङ्गिने गर्थे ।

रातका आँखा फुटेका अनि विद्युतिय उपकरण दिन रात सुतेका ! देख्न सकिन्थ्यो चरम बेरोजगारी सबैमा ! कलकारखाना ठप्प!  बत्ति ट्युबलाईट झप्प !! पंखालाई नि गर्मी हप्प !!!

हुनेका घरमा जेनेरेटर ढटटट कराउँँथे  । बिजुलीका ट्रान्समिटरहरू समेत डराउँथे । मैनबत्ती घरघरमा हुन्थे । मोबाइल बेलैमा निदाउन पाउँथे  ।

प्रेमीकाको भन्दा बढि माया बिजुलीको लागेर आँउथ्यो गाँठे । सधैँ पर्खिन पर्ने । उसका नखरा पनि झेल्न पर्ने । अझ लोडशेडिंग तालिका प्रेम पत्र जसरी हातमा थमाउने । जिन्दगीमा कुनै पुस्तकका कुनै कुरा याद नहुने भुसकुलले समेत उसको पत्र कण्ठस्थ पार्थे । नभए ढोकैमा टाँस्थे । जे होस् उसको प्रेमले दिमाग भने बढाउँदै थियो उसका प्रेमीहरूको ।

एक नम्बरकी नौटंकी । राम्री तर घमण्डी । भेट्छु भनेर बोलाउने । अनि आफु चाहिँ हराउने । मनलागे आउने मन नलागे सताउने । टुरू लभ बाला त्यस्तै हुन्छ क्यार ?

ईन्भटर जिमखानामा शरीर फुलाउँदै । लालटिन र मैनबत्ती वरिपरि पल्याकपुलुक आँखा डुलाउँदै । ईमरजेन्सि लाईट र टर्च लाईट मुख फुलाउँदै । प्रेमी प्रेमीका खै केसँग खै के जुधाउँदै  । आनन्दै थियो । जनसङ्ख्या बढाउन मदत पुगेकै थियो ।

उहाँ लाटोकोसेरोको सगोत्री पर्ने हुनाले वहाँलाई र वहाँका आफन्तलाई अँध्यारो मनपर्नु ठूलो कुरो भएन । वहाँ भनेको आदरणीय, सम्माननीय, पूजनीय अरू दुई चार सय विशेषणले पनि प्रशंसा गरी नसकिने । विद्युत् प्राधिकरणलाई विद्युत् अपराधीकरण बनाउने । कुर्सीमा नितम्ब ठ्यास्स राखेर कुर्सी मात्रै तताउने । कुनै विशेष व्यक्ति नभएर “मिस्टर हटम्यान” एक सर्वनाम हो । जसको केही काम नगर्नु नै सबैभन्दा ठूलो काम हो ।

कुनै बेला पूर्णेको जून देखेर तर्सिँदा वहाँको सातो गएपछि । डगडगी कामेर वन झाँक्री र धामीले कालो बोको चढाए । १५ दिनपछि औंसीमा बल्ल वहाँको सातो आएको कुरा विभिन्न ग्रन्थमा उल्लेख हुन छुट्न पुगेको मुख्य कुरो हो । जसबाट वहाँको अँध्यारोसँग गहिरो प्रेम बुझ्न सकिन्छ । जसरी हामी उज्यालो भनेपछि हुरूक्क हुन्छौँ अहिले ।

गाथा गाएर गाइसक्नु छ र ?
धेरै ऊर्जा भएका बेला दुई रूपैयाँमा छिमेकीलाई बेच्ने । थोरै हुँदा पाँच रूपैयाँमा त्यही ऊर्जा किन्ने जस्ता देशलाई धनी देखाउने प्रयास पनि नभएको होइन । दानविन भनेर संसारभरि चिनाउने बुद्धि पनि लगाए । विरोध गर्नेहरूलाई भगाए । सरकारको कुर्सीमा बस्नेहरूले पनि खुब सघाए ! हामीलाई करेन्ट लाग्ने भएपनि उनीहरूले टन्न विद्युत् खाए र अघाए !! पचाए हौ पचाए !

देशलाई अँध्यारोमा राखेर खुफिया रूपमा शैन्य शक्ति बढाउने (आफ्नो) लगायतका देशलाई (आफूलाई) विभिन्न रूपमा फाइदा हुने रणनीति पनि तयार गरेछन् ।
ए ! मरेछन् ?
त्यस तिथी ती पूण्य आत्मालाई पिण्डदान गरेर बिदा गरियो । ए रामै मरियो । औंसी गएर देश भरि पूर्णे पो भरियो । लौ हरे हरे उज्यालो छरियो । ए बाँच्न पर्ने त उज्यालोमा पो रहेछ । बल्ल बुद्धि पलायो । लटरम्म पोलभरि चन्द्रमा फलायो ।

पंखाहरू खुशी भए । फ्रिज नाच्न थाले । मर्करी त झन कम्मर भाँच्न थाले । लौ देशै पो उज्यालो भयो । महसुल पनि लल्याकलुलुक भए । ए हरि के दशा आइलागो ? ठानेर, सुरुमा एकदुई दिन त बत्ती नै बालेनन् कसैले । थोरै आत्तिलिए थोरै डराए । अनि उज्यालो मन पराए ।

खासमा यो देशलाई म्युजियम जस्तो बनाएर “विद्युत् नहुँदाको संसारको अवस्था” भनेर संसारमा चिनाउने हटम्यानको एकदम चेतनशील प्रयास थियो । जसलाई विफल बनाए शत्रुहरूले । काम नभएका पत्रुहरूले । कुलम्यानलाई उडाउन पर्ने । कालो अँध्यारोको गाडी गुडाउन पर्ने । नेपाल यातायातको उर्दि आयो (गाडीवाला होईन) ।

लेपारिएका ओठ फर्किए । कोही कतै झर्किए । पुलिसको डन्डा बर्सिए ।
त्यसपछि सब तर्सिए ।

“ए गाँठे उज्यालो दिनै थिएन भने बानी किन बनायौ” भन्दै सबै झर्किए । त्यसो भन्नेलाई पक्रिए । जिब्रोमा करेन्ट लगाए । विद्युतकै डर देखाए ।

तर के टेर्थे !
टेरेपनि नटेरेपनि कुलम्यान जानै पर्यो । बस्नु धेरैले भने तर उसैले भनेन । जसको जिब्रोमा शक्ति थियो । बजारमा भक्ति थियो । हटम्यान आउनै पर्यो । बत्ती काट्नै पर्यो । विद्युत् रोकिनै पर्यो । अँध्यारोमा टाउको ठोकिनै पर्यो ।

यो भयंकर युद्ध हो । कुलम्यान र हटम्यानमा कुन चाहिँ शुद्ध हो? सबैलाई थाह छ । कुलम्यान आहा छ ।
उही नआए पनि उस्तै आइदिए हुन्थ्यो भन्ने सबैलाई आशा छ । के गर्छ हेरौँ । सरकारमा हाम्रै पाशा छ ।

अहिलेलाई यति ! श्रिमान र श्रिमती ! लगाउनुहोला न्वारनदेखिको घ्यु खाएको बल जति । तपाईंलाई कुलम्यानको चौबिसै घण्टा चाहिन्छ कि हटम्यानको अलिकति ?

 

“भुलुँ भुलुँ लाग्यो मलाई सपनीमा मिठो लाग्दैन विपनी हो…..”
“रोजुँ रोजुँ लाग्यो मलाई अँधेरी नै मिठो लाग्दैन उजेली हो…..”

Facebook Comments

You may also like

error: Content is protected !!