नादान परिन्दे घर आजा

“एक रास्ता जो घर तक जाता है
हर हफ्ते बुलाता है”

तर मलाई २५ वर्षपछि घरको याद आयो । बिनित पन्क्षीको यो कवितामा भनेजस्तो हरेक हप्ताले मलाई कैयौं वर्ष घरतिरको बाटो देखाइरह्यो । तर मेरो ढुङ्गाजस्तो बनिसकेको मन पग्लिन २५ वर्ष लागेछ । खैर, मैले अन्तिममा हार खाएँ । कुनै घाइते परेवाझैं आफ्नो शरीरभन्दा गह्रुङ्गो पखेटा फटफटाउँदै म घर आइपुगेँ ।

सन् २०२० अप्रिल अन्तिम साता मैले शहर छाडेको थिएँ । शहर छाड्नु अघि मलाई रातभर गल्लीहरुमा भट्किन मन थियो । अप्रिलको चिसो अनि फृजिङ रातमा एउटा चित्रकारको आत्मा यसकारण भट्किएको थियो कि उसलाई बटुल्नु थियो २५ वर्ष पुराना नोस्टाल्जिक अवशेषहरु । पातलो हुस्सुले रातलाई खर्लप्पै निल्दै थियो, ग्रे स्मोकको पातलो लियरभित्र एउटा ब्ल्याक एन्ड ह्वाइट आत्मा आफ्नो घर सोझिने बाटो बनाउँदै थियो । नजिकै सानो ठेलामा जलेबी र चाट बनाउँदै गरेको एकजना अधबैंसे पुरुष मलाई ट्वाल्ट्वाल्ती हर्दै थियो । म नजिकै गएँ । “चुरोट छ ?” उसले सूर्य लाइटको एक खिल्ली दियो अनि ठूलो चम्चा बाधेको लाइटर तिर इशारा गर्यो । चुरोट सल्काए । ग्रे स्मोक झन् घनिभुत हुन थाल्यो । ठेलाको फ्लोरसेमन्ट लाइट बिस्तारै मधुर हुन थाल्यो अनि ठेलाको मुनिबाट कुनै हिन्दी सिनेमाको गित गुञ्जिन थाल्यो ।

“ओ नादान परिन्दे घर आजा”…….

यात्राको १५ दिनपछि म गाउँ पुग्न लागेँ । हिँडेर सम्भवतः अझै २ दिन लाग्थ्यो पुग्न । ७ वर्षको उमेरमा घर छाडेको मेरा दिमाग वरपर फ्ल्यास ब्याकका केही स्मृतीहरु घुम्न थाले । सायद फेवा किनार र हर्पन खोलाको किनारै किनार हिँडें भने म अवश्य पुग्ने छु घर । त्यही अनुमान लाएर म हिँड्दै गएँ । आखिर सन्तोषको सास फेर्ने बिन्दुमा आइपुगे जहाँबाट प्रस्ट म मेरो गाउँ देख्न सक्थेँ ।आँखा पिलपिल भए, त्सय रात बिहानै झिसमिसेमा पखेटा पनि नपलाएको एउटा बचेरो आँखाभरि आँसु बोकेर घिस्रिँदै र लड्दै एकपल्ट पनि पछाडि नफर्की किन बेतोड दौडिएको थियो  ? एकाएक भाउन्न छुट्यो । शरीर शिशिरको पातझैं लत्याक्लुतुक भयो । म अचानक बजारिएँ । आँखा धमिला भए, बिस्तारै मौनता लिप्त भयो ।

आँखा बिस्तारै प्रस्ट हुँदै गए । पिपलको ठूलो फेदमा म सुरक्षित थिए । चौतारीको खट्केरीमा मेरो रुफस्याक ठडिएको थियो । बिस्तारै मुन्टो घुमाएँ ।एक हुल मान्छेहरु मलाई घेरेर बसेका थिए, कानमा बिस्तारै आवाज गुञ्जिन थाल्यो, “ए ! घेरा नबार न हावा छिर्ने बाटो छाडिदेऊ ।” एउटा बुढा सबैलाई झपार्दै थिए । “ए ! लौ होस् आएछ ।” अरु कराउँदै थिए । झटपट मसँग कोही बोल्न सकेनन् । केही मिनेट मौनतामै बित्यो । “ए लाले ! जा जा हेडसर लाई डाक् ।” बुढाले एउटा फिस्टेलाई काम अह्राए । चङ्गाजस्तो हलुँगो फिस्टे दौडिहाल्यो । फेरि मौनता… एउटी १८/२० वर्षकि नवयुवतीले एकटक हेरिरही, ठाउँ-ठाउँमा कुच्चिएको सानो सिलोटको लोटामा पानी दिई । थोरै पानी घुट्काएँ ।

मैले अडकल काटिसकेको थिएँ, सायद उनीहरु मलाई कुनै फिरङगी सोचिरहेका थिए । मैले एकपल्ट आफैलाई सरसर्ती हेरेँ। काधसम्म लुत्रुक्क झरेको ड्रेडलक कपाल, पर्सियन ब्लु र टिटानियम व्ह्वाइट मिश्रित निला आँखा, कैला लामा दाह्री, सेन्थेटिक लेदर ज्याकेट, अनि अर्मानीको निलो जिन्स र खुट्टामा कन्भर्स । सायद उनीहरु मलाई कुनै कुहिरे सोचिरहेका थिए । केटा-केटाकेटीहरु मेरो रुफस्याक वरिपरि झुम्म भई बसेका थिए । कोही फेटामा झुन्डिएका थिए त कोही जिपर चलाउँदै थिए । हेडसर आइपुगे । चस्मा तल सारेर फ्रेममाथिबाट पुर्लुक्क हेरे।
“नमस्ते, डु यु ह्याय्ब एनि प्रब्लम ? ह्वयर आर यु फ्रम ?” उनले फटाफट सोधे । मलाई कुनै अन्योल पार्नु थिएन । मैलेपनि सिधै भनिदिएँ, “धन्यवाद, तपाईंहरुलाई !” सबै मुखामुख गर्न थाले । बच्चाहरु हेडसरलाई हेरेर हाँस्न थाले । हेडसर पनि थोरै आत्तिएजस्ता देखिए ।
“ए ! अनि बाबु कता सम्म ? बिरामी हुनुभएछ, बल्ल होस आयो ।” बुढा आफै तम्सिएर बोले ।

“बेला नै त्यस्तै छ । विदेशबाट के के रोग आ”छ रे । हेर्दा कुइरे जस्तै लाग्यो हामी त झन् डरायौँ। केही हप्ता सरकारले बन्द गर्दै छ रे सबै । कसरी फर्किनु हुन्छ । येस्तो बेलामा धेरै यताउता नडुल्नुस् ।”
उनले सम्झाउनु सम्झाए । मैले तत्काल भन्न सकिनँ कि २५ वर्षपछि आफ्नो गुँड खोज्दै फर्किएको साइवेरियन माइग्रेटिङ वाइल्ड गुज हुँ म ! बल्ल त आएको छु भौतारिँदै जहाँ मेरा बा-आमाको आत्माले मलाई २५ वर्षदेखि कुरिरहेको छ ।
“केही काम विशेषले पल्लो गाउँसम्म आएको हुँ बा । २/३ दिनमा फर्किहाल्छु।” मलाई त्यहाँ बसिरहन उकुसमुकुस भयो । फिस्स हाँसे अनि रुफस्याक उठाएर बाटो तताए । १/२ जना केटाकेटीले माथिसम्म पिछा लाए । घुम्तिको डिलमा पुगेपछि उनीहरुले हात हल्लाए । मैले उनीहरुका आँखामा न्यानो सपना देखेँ ।

मुटु चिरिएर वारपार भएझैं भयो । कानमा सिरेटो चल्यो । मुटु बेतोडले दौडियो । आँखाहरु रसिला भएर भरिए, बिस्तारै जमिन दबेको अनुभव हुन थाल्यो, म अत्तालिएँ । घरको धुरी तितरबितर भएछ, सुकेका घाँस र बुट्ट्यानहरुले भरिएछ। ढुङ्गाका छपनी काला भएर फुटेछन। बिस्तारै करेसाबारीको बान्नो समाउँदै आँगनसम्म पुगेँ । छानाको धुरिबाटै घाम लुसुक्क अस्तायो । आँगनमा कतै टेक्ने ठाउँ थिएन । दुबो र वनमारा झारले पूरै भरिएको । आँगनको बिचतिर सुकेर गुँइठा परेका केही थाप्रा गोबर थिए । नजिकै केही आलो गन्ध, ह्वास्स गन्हाउने कुकुरको बिस्टी थियो । एकैछिन केही सोच्नै सकिनँ ।

बिस्तारै क्षितिजको सुन्तला रङ गाढा हुँदै गयो । शरीरमा केही शक्ति संचय भएको भान भयो । रुफस्याकलाई पिढीको खाममा अड्डाएँ । आँगन मुनिबाट १२/१४ वर्ष जतिका केटाहरु दौडिँदै आए, उनीहरु एउटाको हातमा ऐंसेलु र अर्काचाहिँको हातमा चुत्रोको टपरी थिए । दुईजना नै बोल्नै सकेनन्, ट्वा परिरहे । एक अर्कालाई हेरे अनि आफ्नै गतिमा दौडिए । बिस्तारै पिढिमा उक्लिए । ढोकामा वर्षौंदेखि खिया जमेको साँचो थियो । ढोका धुलौटे लागेर कमजोर भएका थिए । कमेरोको कुनै रङ्ग नै थिएन, रातो माटो पुरै पाप्रा भएर उप्किएको  । अचानक दैलामाथिको धुवाँले वर्षौंदेखि खारिएको पुरानो सिसाको फ्रेममा आँखा गए । बिस्तारै जतनसाथ झिकेँ, औंलाले धुलो टक्टकाएँ, अनि पानीले भिजेर फुलेको बा को श्याम्श्वेत फोटो हेरेँ । मुटु फुट्लाझैं भयो ।

चारैतिर आँखा डुलाएँ । जुठेल्ना मुनिको सुन्तलाको डाँठ सुकेर माटो बनेछ । तुलसीको मोठ भत्किएर लेउ पलाएछ । आँखा डुलाउँदै गर्दा ५/६ जना समूहका केही युवाहरु हातमा लाठी लिँदै घरतर्फ लम्किरहेका थिए, ती दुई बच्चाहरु पछिपछि सास फुत्केलाझैं हडबडाउँदै थिए । मपनि केही अत्तालिएँ । तर अनुहारमा केही डरको भाव आउन दिइनँ । उनीहरु एक निमेषमै आँगनमा आइपुगे । केही मिनेटको फरकमा केही अधबैंसे र वृद्धहरु आइपुगे । म घेराबन्दीमा परेँ । फेरि केही समय मौनता छायो । हातमा लाठी लिएका भएपनि उनीहरु कोही आक्रोशित भएनन् । “साहु बा ,तपाईं बोल्नुहुन्छ कि ?” एकजनाले भन्यो । म एकतमासले पालैपालो सबैलाई हेर्दै थिएँ ।

“तिमी को हौ?” बिना आदर अल्लि रुखो पारामा साहु बा ले सोधे । “के गर्न आ’का ?” सबैको ध्यान अब मेरो मुखमा केन्द्रित थियो । सबैजना रुखबाट पाकेर झर्न लागेको फल हेरेझैं मलाई हेरिरहेका थिए । “नमस्कार, म अभय.. चित्रकार हुँ। काठमाडौ बस्छु। म घर फर्केको हुँ, २५ वर्षपछि। यो मेरो घर हो।” घाँटीमै शब्दहरु किक्लिक्क भए, आवाज शून्य भयो, आँखा भरिए, म बोल्नै सकिनँ । बोली खस्न पाउँदा नपाउदै साहु बा कड्किए- “खबरदार ! बढी जान्ने न हो । भर्खर तेरा पाता कस्न लगाउँछु, दुई चार लौरा चाकका फिलामा बजाए’सी अनि सब वाक्छस् ।” केटाहरु अल्लि तम्सिएझैं गरे । मैले सम्हालिने कोसिस गरेँ, हत्तपत्त हात जोडेँ – “कृपया केही कुरा सुन्नुहोस् पहिला, म डम्बरबहादुरको छोरा हुँ, हजुरबाको नाम काशिनाथ, सात वर्षको उमेरमा घर छाडेर भागेको थिएँ ।” मेरा टिलपिल आँखा देखेपछि बुढा अल्लि शान्त भए । सायद बा र हजुरबाको नाम लिएपछि साहु बालाई अल्लि विश्वास लाग्यो । हातको इसाराले सबैलाई पख भन्ने संकेत दिए ।

“तर यो कसरी सम्भव भयो बाबु ?”
“त्यो राँडले त्यस दिन ठूलो अपराध गरी । डम्बरबहादुरलाई त्यहि पिरले खायो । ८/१० वर्षसम्म आशाको त्यान्द्रोमा झुण्डिएर बाँच्यो विचरा । एकदिन बिहानै त्यहि आशाको त्यान्द्रोमा झुण्डिएर मर्यो ।” साहु बाले लामो सुस्केरा हाले । उनकै उमेरका अरु बुढाहरु पनि निराश देखिए । केटाहरु मूर्तिवत भए । मपनि मूर्तिवत भएँ, स्तब्ध, शून्य…..

“के ? तिमी साच्चै डम्बरबहादुरका छोरा हौ ? यदि हौ भनेपनि यत्रो समय किन आएनौ ? तिमीलाई बाउको सराप लाग्ला । तिम्रो यहाँ कुनै हक छैन । जुन बाटो आयौ त्यहि बाटो लागिहाल । तिमी र तिम्री आमा दुबै पापी हौ ।”
मेरो मुटुमा तीखो बाणले छेड्यो । बोली फुट्नै सकेन । बलजफ्ती कोसिस गरेँ-
“त्यस दिन आमाले मलाई मार्न खोजेकी हुन् । घरबाट अँधेरी खोला नपुगुन्जेल आमाले मलाई काखमा च्यापेर धेरैपल्ट म्वाइँ खाइन् त्यसदिन बा पोखरा जानुभ’को थियो, खरको छानो छाउने भनेर ५  दिन घर आउदिनँ भन्नुभ’को थियो । बेलुका साँझ परेपछि आमाले मलाई काखमा च्यापिन् । मैले सोधेँ, आमा कहाँ जाने ? मामाघर ! आमाले त्यति नै भनिन् । अँधेरी खोला पुगेपछि भक्ते अङ्कल भेटिए, उनले आमालाई एकाएक म्वाइँ खाए । बस्दै गर है, काका र म खुट्टा धोएर आउँछौं । मैले आमालाई धेरैबेर कुरेँ, आमा नआएपछि मलाई डर लाग्यो । मपनि खोलातिर गएँ । मैले देखेँ, आमा र भक्ते काका नाङ्गै खोलामा पौडिँदै थिए । मैले आमालाई बोलाएँ । हत्तपत्त दुईजनाले नै कपडा लगाए । म ७ वर्षको बच्चो, त्यसबेला मलाई केही अडकल थिएन । अल्लि पर पुगेपछि काका र आमा ठूल्ठूलो आवाजले कराउन लागे । साँझ छिप्पिँदै थियो । एकाएक भक्ते काकाले मेरो टाउकोमा ठूलो ढुङ्गा उठाएर बजाए, तरर तातो रगत निधार बाट बग्यो । मैले केही देखिनँ ।”
सास नै नफेरी म रुँदै चिच्याएँ । सबैजना एकाएक भावुक देखिए ।
“होस आउदा निस्पट अँध्यारो थियो । खोलाको सुस्केरा बाहेक केही थिएन । सात वर्षको बच्चो मेरो फेरि होस उड्यो । एकैचोटी बिहान उठ्दा निधारमा रगतको खाटा थियो । टाउको दुखेर फुट्लाझैं भइरहेको थियो । उठेर घरसम्म घिस्रिँदै आएँ । ढोका बन्दै थियो । आमा कतै थिइनन् । बापनि घरमा नहुँदा मलाई एकदम डर लाग्यो । अनि म बेतोडले दौडिएँ, एकपल्ट पनि पछाडि नहेरी एकोहोरो । मैले बा को च्याट्टै माया मारेछु । बल्ल २५ वर्षमा घरको याद आयो । मलाई अवश्य बा को सराप लाग्छ ।”
साहु बा धुरुधुरु रुँदै भन्न लागे-
“तेरा बा ले तँलाइ खुब खोज्यो । एकदुइ दिन चार दिशा खोज्यो कतै भेटेन । गाउँमा भक्ते  र मालतीको गाइँगुइँ चल्न थाल्यो । तेरी आमा पोइला ग’को पक्का भएपछि डम्बरबहादुरले हार खायो । सम्पत्ति त लगि लगि राँडले मेरो रगत पनि लगि भन्दै तेरा बा खुब दुःखी भयो । केही वर्ष दुखको सागरमा डुबेर अन्तिममा झुण्डिएर मर्यो हाम्रो डम्बरबहादुर ।”
साहु बा को गला बस्यो । सबैका आँखा डम्म भरिए ।
“बाह्र वर्षमा खोलो पनि फर्किन्छ भन्थे, धन्न आइस् । अब बाउको किरिया गरेस् । आत्माले शान्ती पाउँछ ।” साहु बाले सम्हालिएर भने, “आज साझ पर्यो हिँड् घर जाऊँ । भोलिबाट सबै गाउँलेलाई लाएर घर सजाउँला ।”

त्यस रात साहु बा कै मा बसेँ । बेलुका साहु बा ले भने- “बेला समय यस्तै भा’छ, सबैजना गाउँ फर्केका छन । पूरै संसार त्रसित छ । के जाति भाइरसले आतंक मच्चा’छ रे । शहर पसेका सबै फर्केका छन् । गाउँले फेरि जीवन पायो ।”

दुई तीन दिनमै घरलेपनि जीवन पायो ।महिला दिदिबहिनीले गेरु र कमेरोले घर पोतिदिए, केटाकेटीहरुले झार उखेलेर चट्ट पारिदिए, युवाहरुले ढोका र खामाहरु फेरिदिए । बा को तस्बिरलाई तेलले पुछेर ढोकामाथि टाँसिदिएँ । बा को तस्बिरले घरमा सास भरिदिएझैं लाग्यो । गाउँका केटाकेटी मसँग झ्याम्मिन थाले । कोही मेरो लट्टा परेको कपाल चलाउँथे कोही हातमा झुन्डिन्थे ।

उनीहरु मेरो कोठा सजाइदिन्थे । मैले फ्रेम गरेका क्यान्भासका पेन्टिङहरु हेरेर दङ्ग पर्थे । यत्रतत्र छरिएका एक्रेलिक र तेल रङहरु मिलाएर राखिदिन्थे । चार्कोलको कालो पुछिदिन्थे । मैले हरेक दिन उनीहरुको पालैपालो पोट्रेट बनाइदिन्थेँ । आफ्नो अनुहार कागजमा देखेर उनीहरु चकित पर्थे अनि निकै रमाउँथे । यतिबेला कोरोना भाइरसको कारणले उनीहरुको स्कुल बन्द छ । उनीहरु हरेक दिन मसँग नयाँ-नयाँ चित्रहरु कोर्छन्, रङहरु भर्छन् । खुशीको सास फेर्छन् । उनीहरुको हरेक श्वासमा आफ्नो बाल्यकालको जीवन पाउँछु म ।

आज लकडाउनको ८०औं  दिन म मेरो जीवनको सबैभन्दा खुशीको क्षणमा छु । अनि पिढीको डिलमा बसेर सोचिरा’छु; यतिबेला मलाई शहरमा गुमाउने को होलान ? तिनै निर्जिव खुशीहरु, जाकाराण्डाका बैजनी फूलहरु, क्यान्भास अड्ड्याउन राखेका काठका लिस्टीहरु, पेन्टिङ बिहिन भित्ताहरु, चियाघरका सिसाका गिलासहरु,  काँचको एस्ट्रे….. आदि इत्यादी !

Facebook Comments

You may also like

error: Content is protected !!