रंगमञ्च र चलचित्रमा रंगको प्रयोग | | SATURDAYकलम | Kavyalaya - काव्यालय

रंगमञ्च र चलचित्रमा रंगको प्रयोग

पहिल्यै भनिहालूँ कि यो आलेखका लेखक नाटक एवं चलचित्र निर्देशक इभान म्याग्रिनचाग्नोल्यू (Ivan Magrin-Chagnolleau) हुन्। उनको अमेरिकी जिब्रोलाई नेपालीकरण गर्ने काम मात्र तपाईंहरूको नेपाली ठिटो शरदले गरेको हो। मन परेमा ‘वान्स मोर’ भन्नुहोला मन नपरेमा ‘नो मोर’ भन्नुहोला। तपाईंको प्रतिक्रियाका लागि म अर्थात् शरद ‘एक मोर’ पनि लिनेछैन।
खैर,
अब भने केही क्षणलाई म निर्देशक इभान भइजानेछु र उनको अंग्रेजी भाषाको यो परिकारलाई नेपालीपनका साथ पस्किने प्रयत्न गर्नेछु।

यस आलेखमा, म आज रंगमञ्च र चलचित्रमा  रंग संयोजन र प्रयोगमा एक संक्षिप्त सिंहावलोकन प्रस्ताव गर्दछु र केही सन्दर्भहरूलाई औंल्याउँछु जुन मैले यस विषयमा अर्ध मान्दछु।  रंगमञ्च र चलचित्रमा रंगको कसरी प्रयोग गरिन्छ त?  यो कसरी  र कुन अर्थमा फरक छ? मञ्चमा (रंग सामग्री , पोशाक,  श्रृंगार,  प्रकाश ) को सन्दर्भमा स्टेजमा र स्क्रिनमा के प्रयोग गरिन्छ?  त्यहाँ कुनै सौन्दर्य नियम र पद्धतिहरू छन्, र तिनीहरूलाई कसरी प्रश्न गर्न सकिन्छ?  म यी नियम र पद्धतिहरू रंगका अन्य सिद्धान्तहरूसँग  तुलना गर्नेछु।  विशेष गरी,  रंगहरूले अर्थको हिसाबमा र भावनाको हिसाबमा के-कस्तो प्रभाव पार्छन् भन्ने बारेमा।

म निम्न प्रश्नहरूमाथि चर्चा गर्नेछुः
मञ्च वा पर्दाका निर्देशकहरूले सौन्दर्य छनोट गरिरहँदा रंगको छनोट त्यसमा कसरी समाविष्ट भइजान्छ?
यसरी हुने रंगका छनोट चेतन हुन्छन् वा अवचेतन? 
रंग संयोजनले दर्शकमा कसरी प्रभाव पार्छ?
के यो सांस्कृतिक हो? या फेरि विश्वव्यापी हो?

एउटा स्टेज र स्क्रिन निर्देशक हुनुको नातामा आज रंगहरूको प्रयोगको सन्दर्भमा म आफ्ना केही  अनुभवहरूलाई तपाईंसँग साझा गर्न चाहन्छु। अन्त्यमा, कलात्मक अभ्यासलाई सिद्धान्तमाथि टेकेर म कसरी अभिव्यक्त गर्छु र एक कलाको अन्वेषणकर्तासमेत हुनुको नाताले त्यसो गर्न म आफैलाई कसरी अनुमति दिन्छु भन्नेबारे पनि विस्तृतमा कुरा गरौँ।

.परिचय 

रंगहरूले विशेषतः भावनाहरू व्यक्त गर्दछन्।  भावना व्यक्त गर्ने यिनको तौर बडो सुक्ष्म हुने गर्छ।  कुनै पनि कलात्मक सिर्जनामा ​​रंगहरू निसन्देह एक महत्त्वपूर्ण सौन्दर्य घटक हुन्।  कलाकारले यसलाई होसमा गरोस् या त फेरि बेहोसीमै तर, यसको प्रयोग त सधैँ भइरहेकै हुन्छ। अब त्यसोभए आउनुहोस्,  रंगमञ्च र चलचित्रमा प्रयोग हुने तरिकाहरू पनि हेरिहालौँ।

रंगमञ्चमा,
दर्शकहरूले दृश्य देख्न सक्छन् यसकारण कि त्यहाँ प्रकाश फ्याँकिएको हुन्छ।  सौन्दर्य विचारको एक ठूलो हिस्सा त्यस ‘प्रकाश परिकल्पना’मा प्रयोग गरिएको हुन्छ।  र रंगमञ्चमा विशेष चिन्तन र अवस्थाहरू जनाउन प्रकाशमा विभिन्न कलर फिल्टरहरूको सामान्य प्रयोग गर्नुपर्ने हुन्छ।   प्रकाशको पहिलो उद्देश्य भनेको मञ्चमा देखिने चीजहरू द्रष्टव्य गराउनु हो।  तर, दोस्रो लक्ष्य, पहिलो जत्तिकै महत्त्वपूर्ण, कथाको प्रत्येक क्षणको लागि उपयुक्त मनस्थिति  सिर्जना गर्नु हो।  रंगमञ्चमा  कसरी प्रकाश पार्ने भन्ने बारेमा धेरै पुस्तकहरू लेखिएका छन्। केही पुस्तकहरू (Palmer, १९९३) (Setlow & Essig, २०१२) (Gillette, २०१३) (Reid, २००१) (Shelley, २००९) हुन्। कुनै पनि नाट्य वा चलचित्रको लागि प्रकाश परिकल्पनाको काम सामान्यतया निर्देशक र प्रकाश डिजाइनरद्वारा संयुक्त रूपमा गरिन्छ।  त्यसो त, पर्दा वा मञ्च विस्तारमा रंगसँग सम्बन्ध राख्ने ‘प्रकाश’ एक मात्र विकल्प होइन।  सेट, सामग्री (प्रप्स), वस्त्र-आभुषण  लगायतका अन्य थुप्रै विकल्प छन् जसले रंग संयोजनमा भूमिका खेल्न सक्छन्।  र अन्त्यमा, यी दुई ( प्रकाश र प्रयुक्त सामग्रीहरू) माथि गरिएको रंग संयोजनले दर्शकहरूको हृदयमा भावनात्मक अनुभूति पैदा गर्दछन्।

चलचित्रमा,
रंगहरूको प्रयोग र छनोटको तरिका वेग्लै हुन्छ।  रंगहरूको प्रयोगको तुलनामा हेर्ने हो भने चलचित्रमा प्रकाशको प्रयोग धेरै सरल हुन्छ। (Alekan, १९९८) (Storaro, २०११) (Frost, २००९) (Brown, २००७) (Brown, २०११) यसका केही उदाहरणहरू हुन्।  फेरिपनि, रंगमञ्चमा जस्तै चलचित्रमा पनि समग्र रंगहरूको धारणा सेट, प्रोप्स, पोशाकको छनोटबाट प्रभावित हुन्छ।  तर, जब एक निर्देशक वा छायांकार छवि र छायाँमा रंगको टोन थप्न चाहन्छन्, दुर्लभ अपवादहरूलाई ठाउँ छोडेर भन्नुपर्दा, सोझै प्रकाशमा नभएर  उनीहरूले क्यामेरामै कलर फिल्टरहरू राख्ने गर्छन्। र चलचित्रमा अर्को सुविधा के पनि छ भने, निर्देशकले पोष्ट प्रोडक्शन प्रक्रियाको अन्तिम चरणसम्म पनि चलचित्र सम्पादनको क्रममा सम्पादकसँगै बसेर रंग संयोजनमाथि पनि सम्पादन वा  सुधार गर्नसक्छ। खैर, प्रोडक्सनपछाडि यसरी रंग संयोजनमा सुधार गर्ने सुविधाको प्रयोग गर्नुभन्दा अझै राम्रो भने यही नै हुन्छ कि सुरुवातमै रंग संयोजनबारे छलफल गरी स्पष्ट परिकल्पना र धारणा पहिल्याइसकेर मात्रै काम थाल्नु।  

संक्षेपमा भन्नुपर्दा,
दुवै रंगमञ्च र चलचित्रका निर्देशकहरूले रंग संयोजनका लागि मञ्च निर्माण, पोशाक, र मञ्च सामग्रीमाथि प्रयोग गर्ने गर्छन्।  तर पनि, दुवैबीच केही भिन्नता भने छँदै छ। रंगमञ्चमा, प्रकाश महत्त्वपूर्ण चरण हो, किनकी यो तत्काल के भइरहेको छ भन्ने कुरालाई प्रकट गर्न अति आवश्यक तत्व हो।  जब कि चलचित्रमा, क्यामेरामा राखिएको कलर फिल्टरहरूको प्रयोगले र  रंग सम्पादकले  थपेको वा मिलाएको कलर टोनले रंग संयोजनमा मुख्य भूमिका खेलेको हुन्छ। 

दोस्रो भागमा, म मञ्च र चलचित्रका रंग वाहकहरू के-के हुन् भनेर थप चर्चा गर्नेछु।  तेस्रो भागमा, म सौन्दर्य नियम र छनौटहरूबारे बोल्छु जसले हामीलाई रंगहरूको (चेतन वा अवचेतन) प्रयोग कसरी गरिन्छ भन्नेमा मार्गनिर्देश गर्नेछन्,  चौथो भागमा म एक स्टेज र स्क्रिन निर्देशकको रूपमा मेरा आफ्नै अनुभवबाट उदाहरणहरू कोर्ने प्रयास गर्नेछ।  र अन्तिम भागले भने रंगमञ्च र चलचित्रमा रंगहरूको प्रयोगको बारेमा यो परिचयात्मक सर्वेक्षणलाई समाप्त गर्नेछ।

. रंग वाहक 

प्रत्येक तत्व जुन मञ्चको वा सेट डिजाइनको अंश हो जस्तै; फर्निचर, भेषभुषा, मञ्च सामग्री, मेक-अप, मञ्चको भुइँ-भित्तामा प्रयोग गरिने रंग, आदिले रंगहरूको अवधारणालाई असर गर्दछ।  उदाहरणको लागि, निर्देशकले  फिका टोनको प्रयोग गर्छ भने र फेरि चहकिलो रंगको प्रयोग गर्छ भने ती दुवै प्रयोगको असर दर्शकमा फरक-फरक पर्न जान्छ। फिका र चहकिलो टोनको प्रभाव एउटै हुन सक्दैन। तिनले दर्शकको हृदयमा वेग्लावेग्लै भावको तरंग उत्पन्न गराउँछन्।  समग्र संरचनामा प्रत्येक तत्वको वैयक्तिक प्रभाव हुन्छ।  महान कलाकार वा चित्रकारहरूका चित्रहरूबाट यस विषयमा धेरै प्रेरणा परिकल्पना  सकिन्छ। निर्देशकलाई कुन चित्रकला सबैभन्दा बेहद मन पर्छ?  ती बेहद मनपरेका चित्रकलाको रचना कसरी भएको छ? त्यसमा रंगहरूको संयोजन कस्तो छ?  यो सामञ्जस्यपूर्ण छ कि छैन?  यसले कस्तो  सामाजिक, मनोवैज्ञानिक र शारीरिक स्थिति सृजना गर्छ?  चित्रहरू; वास्तवमै मञ्च र पर्दामा कामगर्ने  निर्देशकहरूका लागि ठूलो प्रेरणाका स्रोत हुन्।  केवल रंगहरूको  संयोजनका लागि मात्र नभइकन, संरचना र प्रकाशको लागि पनि चित्रकला मञ्च एवं चलचित्र निर्देशक दुवैका लागि प्रेरणादायी स्रोत हो।

रंग र प्रकाश समानान्तर रूपमा जान्छन्।  रंगहरू प्रकाशको अंश हुन्।  त्यसोभए कुनै पनि कुराले प्रकाश उत्पन्न गर्दछ वा यसलाई प्रतिबिम्बित गर्दछ भने यसले दृश्यको रंगहरूमा प्रभाव पार्दछ।  तपाईंले अनुभव गर्नको  लागि एक क्षण लिनुहोस् र तपाईंले देख्न  र अनुभव गर्न सक्ने प्रत्येक कुराहरू याद गर्नुहोस्।  कुन कुराले पहिले तपाईंको दृष्टि तान्छ?  रंग र प्रकाशको बीचमा के सम्बन्ध छ?  के तपाईं अन्य तत्वहरूको बीच परिभाषित प्रत्येक तत्त्वलाई यसको रंगद्वारा सूचीबद्ध गर्न सक्नुहुन्छ, जस्तो कि (पुस्तक, भित्ता, एक फ्रेम गरिएको फोटो, बत्ती, भुइँ, गलैँचा आदि)  अब, यस दृश्यको अगाडि तपाईं कसरी आफ्नो समग्र भावनाको वर्णन गर्नुहुन्छ?  यस भावनाको परिभाषामा  सबैभन्दा ठूलो प्रभाव के को होला?  यी प्रश्नहरू फिल्म निर्देशकहरूले  चलचित्र बनाउँदा वा नाट्य निर्देशन गर्दा आफैलाई सोध्नुपर्ने प्रश्नहरू हुन्।  निर्देशकको रूपमा, तपाईं समग्र सौन्दर्यशास्त्रको जिम्मेवार व्यक्ति हुनुहुन्छ, र त्यसैले यो सौन्दर्यशास्त्रमा योगदान वा असर गर्ने प्रत्येक निर्णयको जिम्मेवार तपाईं नै हुनुहुनेछ।  यहाँ कुनै पनि त्यस्ता नियमहरू छैनन् जसले निर्देशकलाई निर्देशन गर्ने समय कसरी निर्णयहरू लिनुपर्छ भनेर सिकाओस्। त्यसैले, निर्देशकले आफ्नै विवेक र आफ्नै अन्दाजमा निर्णयहरू लिनसक्नुपर्छ र सँगसँगै ती निर्णयका कारण उत्पन्न नतिजाको जिम्मेवारी पनि। 

३.सौन्दर्य चिन्तन

रंगहरूलाई हेर्ने तरिका एक निर्देशकबाट अर्को निर्देशकमा फरक हुन्छ।  त्यहाँ केही रंग सिद्धान्तहरू छन् जसलाई मार्गनिर्देशनका रूपमा प्रयोग गर्न सकिन्छ। (Hyman, 2006) (Bleicher, 2011) (Mollica, 2012) । केही निर्देशकहरूले त्यस सिद्धान्तलाई पछ्याउँछन्, वा कम्तिमा तिनीहरूको छनोटहरूको बारेमा सचेत हुँदै त्यसै अनुरूप निर्देशन गर्छन् पनि।  र केही निर्देशकहरूको भने रंग र रंग संयोजनलाई लिएर आफ्नै दृष्टिकोण छ, जुन यी रंग सिद्धान्तहरूले प्रस्ताव गरेभन्दा फरक हुन सक्छ वा कतिपय स्थितिमा नहुन पनि सक्छ। 

निर्देशकहरूले रंग छनोट गर्ने तरिका मेरो विचारमा, धेरै चीजहरूमा आधारित छ, र यी चीजहरूको प्रभावले उनीहरूको क्यारियरको साथ ठूलो फरक पर्न सक्छ। सिद्धान्तलाई छेउ लगाएर निर्देशकहरू आफ्नै तौरमा रंगसँग खेल्न चाहन्छन् भने त्यहाँनेर उनीहरूलाई रंग, उनीहरूको संस्कृति, रंगहरू प्रयोग गर्ने सम्बन्धमा उनीहरूको अनुभव, उनीहरूले आफैले आफैलाई सोध्ने प्रश्नहरूको भूमिका महत्त्वपूर्ण हुन्छन। अझ अगाडि भन्नुपर्दा रंगका बारेमा तिनीहरू के बुझ्दछन्, तिनको संस्कार, संस्कृतिले रंगप्रति कसरी प्रभाव पारेका छन्, प्रकाश परिकल्पनाकार वा तिनका छायांकारसँग रंगका विषयलाई लिएर कस्ता गफहरू साटासाट हुन्छन्, अथवा निर्देशन गर्न लागिएको शो वा चलचित्रले रंगको कस्तो संयोजनको माग गर्छ आदि इत्यादि सवालले तिनले अर्थात् निर्देशकले रंग संयोजन कसरी गर्छन् भन्ने कुरामा निर्भर गर्दछ। 

त्यसैले, रंगहरूको प्रयोगको बारेमा केही सौन्दर्यशास्त्र नियम हुन सक्छन्, र तिनीहरू केही निर्देशकहरूले दिशानिर्देशको रूपमा प्रयोग गर्ने गर्छन्, अन्य केहीले बहिष्कार पनि गरेका छन् भने केही निर्देशकहरूले अचेतन रूपमै पछ्याइरहेको पनि पाइन्छ। र केही मानिसहरू यस्तो तर्क गर्न सक्छन् कि यी नियमहरूको ज्ञाले मात्रै एक निर्देशकको कलात्मक क्षमताहरूलाई सुदृढ गर्न सक्छ।  तर, कुनै पनि सौन्दर्य नियमले यही नै बताएको छ कि, जो मानिस सम्पूर्ण सीमा र बन्धनहरूलाई भत्काएर आफ्नै मौलिक सिर्जना गर्न सक्छ त्यो नै सच्चा कलाकार हो।

अर्को चाखलाग्दो कुरा यो छ कि निर्देशकको रंगसँग खेल्ने आ-आफ्नै तरिका हुनसक्ने भएपनि केही निश्चित रंगहरूले दिने अर्थ र तिनले भावनालाई असर गर्ने तरिका पनि निश्चित हुनसक्छ। तसर्थ, यति कुराहरू माथि भने निर्देशकहरूले सजग भएरै काम गर्नु महत्त्वपूर्ण हुन्छ।  रंगहरू प्रकाशका तत्व भएकाले यी प्रत्येकसँग र रंगको एक फरक उर्जा हुन्छ। त्यसोभए प्रत्येक रंगसँग भिन्नै अनुभूति जोडिएको हुन्छ, हामीमाथि फरक रँगले फरक तरिकाले कार्य गर्दछ। यसका आधारमा रंगहरूको टाइपोलोजी कोर्ने विभिन्न तरिकाहरू छन्, र यी तरिकाहरू सबै समय अनुसार  फरक भएका छन्। उदाहरणका लागि; (Finlay, २००३) र (Ball, २००३)।  धेरै-थोरै पुस्तकहरू छन् जसले यस विषयमा गज्जब समन्वय गर्नका लागि विशेष सहयोगी हुन सक्नेछन्। तर तीमध्ये दुई पुस्तक  विशेष गरी आश्चर्यजनक छन् किनकि उनीहरूले इतिहास, विभिन्न संस्कृतिबाट र आध्यात्मिक परम्पराबाट पनि सिद्धान्तहरू निकालेका छन् (Burton, २००२) र (Simpson, १९९९)।

अन्त्यमा, जहाँसम्म संस्कृतिको सवाल छ रंगको व्याख्यामा यसको प्रभाव रहेको हुन्छ (Gyaje, १९९९)।  यदि रंगहरूको एक संस्कृतिसँग आन्तरिक रूपमा सम्बन्ध हुन्छ भने, तब एउटै दृश्यमाथि जापानी र अफ्रिकी दर्शकहरूको प्रतिक्रिया एकै किसिमको हुन सम्भव छ त? पक्कै नहुने सम्भावना नै बढी छ। र चुनौती यहाँनेर छ कि, कसरी यथासक्य एउटै दृश्यलाई विश्वव्यापी बनाउन सकिन्छ, ता कि जापानी र अफ्रिकी दुवै दर्शकलाई दृश्यले उस्तै तरिकाले छुन सकोस् जसरी निर्देशक चाहन्छन्। खैर, यति हुँदाहुँदै पनि एकथरी संस्कृतिबाट प्रेरित रंग संयोजनको प्रयोगमा निर्मित दृश्य एउटा फरक संस्कृतिको दर्शकका लागि अजिबको अनौठो लाग्न सक्ने सम्भावना त रहन्छ नै। तर, मलाई के लाग्छ भने यसो हुनुको एउटा फाइदा पनि छ। केही नयाँ संस्कृतिबारे उनीहरूले नयाँ कुरा सिक्न, जान्न पाउनेछन् र कतिपय अवस्थामा त आफ्नै संस्कृतिको नखुलेको पाटोपनि त्यस क्रममा खुल्न सक्छ।

.उदाहरण 

जतिपनि मैले चर्चा गरेँ, तिनीसँगै सम्बन्ध राख्ने केही उदाहरणहरू अब यहाँनेर राख्न चाहन्छु। 

पहिलो उदाहरणमा,
युग्ने आइनेस्कोद्वारा लिखित नाटक “The Lesson” जसलाई म स्वयंले नाट्य निर्देशन गरेको हुँ। मैले यस नाटकलाई बारम्बार पढेर सुरू गरेँ, छविचित्रहरू मेरो दिमागमा आउनजान दिएँ, र सामान्यतया यी छविहरू प्रकाश र रंगहरूकोसाथ आउँथे।  प्रक्रियाको कुनै बिन्दुमा मैले विलियम बर्टन (बर्टन, २००२) को रंगका पत्ताहरू पनि खेलेँ।  मैले ती-ती पक्षहरूमा ध्यान दिन थालेँ जसलाई म नाटकमा विशेष महत्त्वका साथ देखाउन चाहन्थेँ। मैले आफ्नो दिमागलाई स्वेच्छिक रंगहरूसँग खेल्नका लागि स्वतन्त्र छाडिदिएँ। मैले यस नाटककमा ओलिभियर हर्नसँग काम गरेँ, जो एक अद्भुत र कुशल प्रकाश परिकल्पनाकार थिए। मैले चाहेको सार उसले समात्यो र त्यसलाई प्रकाशको रूपमा एकदम सुक्ष्म तरिकाले अनुवाद गर्‍यो।  मैले पनि नाटकको पहिलो चरणमै सेट, प्रोप्स र पोशाकको बारेमा  सोच्न थालेँ।  मैले बिस्तारै मध्यचरणमा चम्किलो रातो कपडाले ढाकिएको सानो गोल टेबलको बारेमा सोचेँ।  र त्यसपछि म प्रोफेसरसँग कालो पोशाक र विद्यार्थीसँग उज्यालो पोशाक चाहन्थे। अन्त्यमा प्रकाशको अद्भुत परिवर्तनले तिनीहरू गाढा खैरो र हल्का पहेंलोमा परिणत भए।  म रंगहरूमा धेरै सहज ज्ञानले काम गर्दछु, र अन्तिम निर्णयहरू जहिले पनि प्रकाश परिकल्पनाकार, पोशाक परिकल्पनाकार र श्रृंगार कलाकारको साथ फलदायी सहयोगमा अन्तिम परिणाम लिन्छु। यो रंग संयोजनको मेरो तौर हो।

दोस्रो उदाहरण,
२०१२ मा  स्वयंकै निर्देशनको भिन्से मोक्रेले लेखेको छोटो चलचित्र  King Cake (La Galette des Rois)को हो। यसको निर्देशन प्रक्रियाको शुरुमै म सुनौलो पहेंलो र शाही निलो दुई रंगहरूको जादुमय संमिश्रणमा कलात्मक निर्देशक बन्ने सोचमा थिएँ।  मेरो रचनात्मक प्रक्रियामा रंगहरूको विशेष भूमिका रहने थियो।  मैले यी दुई प्रमुख रंगका आधारमा चलचित्रमा आवश्यक सामग्री र पोशाकका साथै प्रकाशको छनोटहरू गरेँ। र यी दुई रंगहरूले नै रंग सम्पादकका लागि मार्गनिर्देशनको रूपमा पनि काम गरे।  छायांकार, निर्माण परिकल्पनाकार, र रंग  सम्पादकहरूसँगको  अटुट  संवादको परिणाम अनुसार चलचित्र बन्यो।  र त्यसरी गरिएको रंग संयोजनले मूल अभिप्राय अनुसार नै चलचित्रको सामान्य मनोविज्ञान र परिस्थितिमा रहनुपर्ने प्रभावलाई कायम राख्यो।

एक कलाकार-शोधकर्ता हुनु भनेको यो हो कि मेरो कला अभ्यास र मेरो अनुसन्धानको बीचमा मेरो समय साझेदारी गर्दै, म दुवै सँगसँगै अभिव्यक्त गर्न सक्छु।  मेरो अभ्यासले मेरो अनुसन्धानलाई सूचित गर्दछ, र फेरि मेरो अभ्यास नै मेरो अनुसन्धानको आधार पनि हो।  र मेरो अनुसन्धानले कलाकारको रूपमा मेरो लागि नयाँ परिप्रेक्ष्य खोल्दछ र मेरा कलात्मक छनोटहरूको निर्देशित गर्दछ।  उदाहरणका लागि रंगमञ्च र चलचित्रमा रंगको प्रयोगको बारेमा गरिएको अनुसन्धान मेरो अभ्यासमा आधारित छ, तर सोही समयमा मलाई मेरो सोचमा एक कदम अगाडि जान पनि मद्दत गरेको छ, र त्यसैले यसले अर्कोपटक कसरी गर्ने भन्नेमा प्रभाव पारिरहेको पनि हुन्छ।  भन्नुपर्दा, अभ्यास र अनुसन्धानबीच एक स्थायी अन्तर्क्रिया र संवाद रहेको हुन्छ।

५.निष्कर्ष

दुवै रंगमञ्च र चलचित्रका निर्देशकहरूले रंग संयोजनका लागि मञ्च निर्माण, पोशाक, र मञ्च सामग्रीमाथि प्रयोग गर्ने गर्छन्।  तर पनि, दुवैबीच केही भिन्नता भने छँदै छ। रंगमञ्चमा, प्रकाश महत्त्वपूर्ण चरण हो, किनकी यो तत्काल के भइरहेको छ भन्ने कुरालाई प्रकट गर्न अति आवश्यक तत्व हो।  जब कि चलचित्रमा, क्यामेरामा राखिएको कलर फिल्टरहरूको प्रयोगले र  रंग सम्पादकले  थपेको वा मिलाएको कलर टोनले रंग संयोजनमा मुख्य भूमिका खेलेको हुन्छ। रंगले दर्शकको भावनाहरूमा प्रत्यक्ष असर पार्दछ र प्राय: रंग त्यो उद्देश्यका लागि छनौट गरिन्छ। फिका र चहकिलो टोनको प्रभाव एउटै हुन सक्दैन। तिनले दर्शकको हृदयमा वेग्लावेग्लै भावको तरंग उत्पन्न गराउँछन्।  

रंगहरूको प्रयोगको बारेमा केही सौन्दर्यशास्त्र नियम हुन सक्छन्, र तिनीहरू केही निर्देशकहरूले दिशानिर्देशको रूपमा प्रयोग गर्ने गर्छन्, अन्य केहीले बहिष्कार पनि गरेका छन् भने केही निर्देशकहरूले अचेतन रूपमै पछ्याइरहेको पनि पाइन्छ। सिद्धान्तलाई छेउ लगाएर निर्देशकहरू आफ्नै तौरमा रंगसँग खेल्न चाहन्छन् भने त्यहाँनेर उनीहरूलाई रंग, उनीहरूको संस्कृति, रंगहरू प्रयोग गर्ने सम्बन्धमा उनीहरूको अनुभव, उनीहरूले आफैले आफैलाई सोध्ने प्रश्नहरूको भूमिका महत्त्वपूर्ण हुन्छन। अझ अगाडि भन्नुपर्दा रंगका बारेमा तिनीहरू के बुझ्दछन्, तिनको संस्कार, संस्कृतिले रंगप्रति कसरी प्रभाव पारेका छन्, प्रकाश परिकल्पनाकार वा तिनका छायांकारसँग रंगका विषयलाई लिएर कस्ता गफहरू साटासाट हुन्छन्, अथवा निर्देशन गर्न लागिएको शो वा चलचित्रले रंगको कस्तो संयोजनको माग गर्छ आदि इत्यादि सवालले तिनले अर्थात् निर्देशकले रंग संयोजन कसरी गर्छन् भन्ने कुरामा निर्भर गर्दछ। 

र चुनौती यहाँनेर छ कि, कसरी यथासक्य एउटै दृश्यलाई विश्वव्यापी बनाउन सकिन्छ, ता कि जापानी र अफ्रिकी दुवै दर्शकलाई दृश्यले उस्तै तरिकाले छुन सकोस् जसरी निर्देशक चाहन्छन्। खैर, यति हुँदाहुँदै पनि एकथरी संस्कृतिबाट प्रेरित रंग संयोजनको प्रयोगमा निर्मित दृश्य एउटा फरक संस्कृतिको दर्शकका लागि अजिबको अनौठो लाग्न सक्ने सम्भावना त रहन्छ नै। तर, मलाई के लाग्छ भने यसो हुनुको एउटा फाइदा पनि छ। केही नयाँ संस्कृतिबारे उनीहरूले नयाँ कुरा सिक्न, जान्न पाउनेछन् र कतिपय अवस्थामा त आफ्नै संस्कृतिको नखुलेको पाटोपनि त्यस क्रममा खुल्न सक्छ।

खैर, कुनै पनि सौन्दर्य नियमले यही नै बताएको छ कि, जो मानिस सम्पूर्ण सीमा र बन्धनहरूलाई भत्काएर आफ्नै मौलिक सिर्जना गर्न सक्छ त्यो नै सच्चा कलाकार हो।

Facebook Comments

You may also like

error: Content is protected !!