कफी गड | SATURDAYकलम | Kavyalaya - काव्यालय

कफी गड

अनि त्यसपछि देवादिदेव महादेवले समुन्द्र मन्थन गर्नुभयो ।
त्यसकालमा ब्ल्याक कफी नभेटेर भौँतारिएका महादेवले कालकुट विषको स्वादमा सिङ्गै समुन्द्र सिध्याउँदा भए ।
अचानक यता पृथ्वीलोकमा महाप्रलय भयो ।
सम्पूर्ण जीव जीवावशेष, भौतिक-अभौतिक सबका सब नष्ट हुँदा भए ।
हिमाल-पहाडसम्म, जल-थल सबै एकाएक विलिन हुँदा भए ।

जसरी सत्ययुग, द्धापर वा त्रेता युग सकिए र हाम्रो यो युग आयो ।
त्यसबेला उनीहरुले रोजे- ‘म अर्को युगमा गएर के बन्ने !’ जस्तै; शिवजीले रोजे कि “म महादेव बन्ने” । एवं रितले रोज्दा भए । कोही राक्षस भए, कोही ऋषी भए, कोही अप्सरा भए, कोही देवी भए । आफ्ना आफ्ना रोजाइ, रोजाइका बाध्यता ।

हामी पृथ्वी लोकमा मान्छे भयौँ । सायद कैयौं किरा, फट्याङ्ग्रा, जनावर आदिले मान्छे हुन पाऊँ भनि रोजेका हुन सक्छन् । वा कतिका वाचाले बन्धनमा परेका हुन सक्छन् । जस्तै; सात जुनी वाला वाचा ! एवं रुपले जसले जे माग्यो तिनका माग अनुसारका भगवान, राक्षस, अप्सरा, देवी, मानीस, जीव, वनस्पती, खोला, माटो, ढुङ्गा भए हुनन् । र पृथ्वीको प्रलयपछि पुनः ती अर्को युगका लागि तयार हुने दिनमा पुगे ।

अवश्य पनि, पृथ्वीलोकमा आएको प्रलयले सबै सखाप भएपछि अर्को नविन युग, अर्कै लोकको सुरुवात भयो ।
यो युगमा धीत मरुन्जेल मनुवा जुनी बाँचेको र प्रलय आएर सखाप भएकोमा एकदम खुशी भएको मैले बताएँ । पृथ्वी लोककै महापरिनिर्वाणको ठ्याक्कै कालभोग गर्न पाउनु अहोभाग्य भएको पनि बताएँ । र यही कालसँग मेरो सात जुनी समाप्त भएको अनुमान पनि बताएँ ।

अब यो युग सकियो र अर्को युग सुरु हुँदैछ भनेँ, त्यस युगमा मेरो भगवान हुने इच्छा प्रकट भयो । र कफीको स्वादप्रति मेरो आत्मिक मोहले म “कफीगड” हुने पक्का पक्की नै भयो । गड ? वाह ! अबको नयाँ युगमा म कफीगड हुनेछु ।

कफीको रुखहरुको छाहारीमा मेरो आश्रयस्थल हुनेछ । श्रद्धालु भक्तजनहरु मरो मुर्तीमा दुध वा दुध पाउडरले होइन, कफी वा कफीको पाउडरले पुज्ने छन् । कफीका पातहरु पवित्र मानिनेछन । पुजा सामाग्रीको रुपमा कफीका पात, कफीको धुलो र कफी फ्लेवरका अगरबत्ती प्रयोगमा आउनेछन् । कफीधुलोमा अक्षता मुछेर टिका लगाइनेछ । विवाहिता नारीले सिउँदोमा विशेष प्रकारको कफीधुलो लगाउने छन् ।

होमादि यज्ञहरुमा कफीका दाउरा पोलिने छन् । कफीगडका नाममा भजनहरु तयार हुनेछन् । भक्तजनहरुले कफीगडका नाममा मन्दिरहरु निर्माण गर्नेछन । कफीगडको मन्दिरको नाम ‘क्याफे’ हुनेछ कफी क्याफे । अमेरिकानेश्वर क्याफे ! एस्प्रेश्वर क्याफे ! ठण्डक कफेश्वर क्याफे ! पर्वत-जावेश्वर क्याफे ! यी ‘कफी क्याफे’हरु पवित्र स्थल हुनेछन् । कफीका दानाहरु सुनका असर्फीभन्दा अमूल्य मानिने छन् ।

कफीको रुख पवित्र रुख मानिने छ । युगको सुरुवात भएको विशेष दिन सम्झेर हरेक साल मनाउने चाडमा, चौतारीमा कफी रोपिने छ । कफी र चियाको विवाह गराइने परम्परा बसाइने छ । शुभकर्ममा नैवेदको रुपमा कफी फ्लेवरका अनेक क्याण्डी र क्याडबरीहरु चढाइने छ । भजनगानपछि भक्तजनहरुलाई पञ्चामृतको रुपमा ‘डबल सट एस्प्रेसो’ बाँडिने छ । अलिकति टाउकोमा छर्किएर त्यसलाई भक्तिपूर्वक आँखा चिम्लिएर पिउने छन् भक्तजनहरुले । भक्तजनहरुको माग पूरा गर्ने विश्वासिलो भगवानको रुपमा कफीगड प्रसिद्ध हुने कुरामा शंकै रहेन ।

भक्तजनहरु कफीगडको पवित्र मन्दिर ‘क्याफे’मा गएर कफीगडको मुर्तिमा कफीजल अर्पण गर्नेछन् । भक्तजनले क्याजुअल्ली दर्शन गर्दा नर्मल कफी अर्पण गर्लान्, केही स्पेसिफिक वरदान भए पक्कै ‘अमेरिकानो डबल’ लिएर आउलान् । अत्यन्त समस्यामा रहेका र कफीगडको कृपाले मात्र उनीहरुको समस्याको डुङ्गा पार लाग्छ भन्ने विश्वास गर्ने भक्तजनहरुले पक्कै ‘डबल सट एस्प्रेसो’ चढाउलान् वा चढाउने भाकल गर्लान् । क्यापचिनो टाइप्स कफीगडलाई खासै मन पर्दैन भन्ने थाहा पाउन कफीगडको महात्म्य पढेकाहरुले ‘कफीपुराण’ पक्कै सुनाउलान । या कतिले खोजी खोजी पढ्लान् ।

कफीगड महात्म्य सर्ट हेण्ड शैलिमा:

कफीगड बच्चैदेखि कफी पिउनु हुन्थ्यो रे । उहाँ पाँच वर्ष पुग्दा-नपुग्दै कफीस्वादको अम्मली भएसक्नु भा’थ्यो अरे । कफीको स्वाद चाख्न कफीगडले गरेको कफी यात्रा निक्कै रोमाञ्चक हुन्थ्यो रे ! सिर्फ (कुनै निश्चित स्थानको) कफी पिउनकै निमित्त मात्रै कफीगड ३/४ दिनको यात्रा तय गर्नु हुन्थ्यो रे र त्यहाँको कफी नसिध्याउन्जेल फर्किनु हुन्नथ्यो रे !

कफीगडले कसैलाई वाचा गर्नुपर्यो भने वा ढुक्क गराउनु पर्यो भने ‘ब्ल्याक कफीको प्रमिस’ दिनुहुन्थ्यो रे ! कफीगड कफी पिउन थालेपछि यस्तो पिउने, यस्तो पिउने, यस्तो पिउने कि ननस्टप पिउने रे ! कफीगडले कफी पिउने गिलासलाई प्याला भनिन्थ्यो रे ! रित्तो प्यालाले कफीगडलाई बोर मात्र बनाउँथ्यो रे ! एकदम कम बोल्ने कफीगड जो पायो उही मान्छेको सँगतै नगर्ने स्वभावको हुनुहुन्थ्यो रे ! कफी नपिउने मनुवाहरुसँग त गडको दोस्ती नै जम्दैन थियो रे !

किस्साज:

युवा भक्तजनहरुमाझ त कफीगडका अनेका उटपट्याङ किस्साहरु समेत फैलिएका भेटिन्थे । यतिसम्म कि, गडका दाह्री जुङ्गाले उहाँलाई कफी पिउनै छेक्थ्यो रे ।

एकपटक कफीगडकी असाध्यै सुन्दर प्रेमिका थिइन् रे । उनले गडलाई असाध्यै खुब माया गर्थिन् रे । तर गडको बहुला पाराको कफी पियाइ देखेर आजित हुन्थिन् रे । हुँदा हुँदा यही विषयमा दिनहुँ जस्तो हल्का हल्का भनाभन भनाभन भइराखेपछि उनले कफीगडलाई नै छोडि दिइन् रे । कफीगडका साथीहरुले प्रेमिकाले धोका दिएको जिनिस भनेर बहुत जिस्काएपछि, त्यसलाइ धोका भन्न मिल्दैन भनेर ब्ल्याक कफीको प्रमिस नै खानु परेको थियो रे ।

कफीगडसँग दोस्ती गर्न एउटा शर्त थियो रे– ‘कफी पिउनै पर्ने’!
एकदिनको कुरा रहेछ, एक महोतर्माले कति तितो कफी पिउनु हुन्छ, तितो कफी पिउँदा पिउँदा तपाईंको मनै तितो भइसक्यो । बरु रक्सी पिउनुस् भनेपछि गडलाई झन् तितो लागेछ, र जुरुक्क उठेर हिँडिदिनु भएछ । यस्तै यस्तै …..

कफीगड त लेख्दापनि कफीबाट बनाइएको विशेष मसीले लेख्नुहुन्थ्यो रे !

गडड्रिम्सः

कालान्तरमा आफ्ना कफी यात्रा, कफी जिन्दगी, कफी महात्म्य सुनाउन तथा संसारभरका कफीका स्वाद ती लोकका मनुवाहरुलाई चखाउन; हिमालको फेदमा, कफीको ठूलो जंगलको बीचमा एउटा ‘कफी भञ्ज्याङ’ बनाउनु भयो रे । कफीगडले आफू जिवित छँदै आफ्नो चिहान बनाएर त्यहीँ कफीशप खोलेको त महाचर्चा छ ।

कफीको फेदमा आफैँले बनाएको चिहानमा कफीको प्याला समाइराखेकै अवस्थामा गड समाधिस्थ हुनु भएकोले आजपनि त्यो कफी भञ्ज्याङ, त्यो चिहान र त्यहाँको कफीशपमा कफीगडका भक्तजनहरु जिन्दगीमा एकपटक पुग्नै पर्ने विश्वास राख्छन् । कफीगडका भक्तजनहरुका लागि गडको सबैभन्दा ठूलो धाम नै त्यै भन्ज्याङको कफीशप हो ।

नवयुगः

उता नवयुगमा कफीप्रति आस्था भएका शासकहरुले आफ्नो क्षेत्रको नामाकरणै कफीग्राम, कफीसिटी वा कफीपालिका भनी घोषणा समेत गर्ने छन् । साथै आफ्नो क्षेत्रका हरेक जनताको घरमा कमसेकम एउटा कफीको बिरुवा रोप्नै उर्दी नै जारी गर्ने छन् । भक्तजनहरुले त घरघरमा स्वेच्छाले ‘कफीमठ’ नै बनाउने छन् ।

कफीगडलाई बिहान पूजा गर्नु पर्दैन । भक्तजनहरु आरामले बिहानसम्म घुर्दै निदाउन वा काम हुनेहरु निजी काममा बिहानको समय खपत गर्न पाउने छन् । मध्यदिन, साँझ र मध्यरातमा भने कफीजल अनिवार्य चढाउने छन् । अझ कफीपुराणका अनुसार साँझमा गडको मुड बृहत खुशी हुने कुरा उल्लेख भएको हुँदा, साँझको समयमा भक्तजनहरुले विशेष पूजा आराधना गर्ने छन् ।

कफीगडको पूजा आराधना गर्न, व्रत लिन वा कफीजल चढाउन मुख धुनै पर्ने वा शुद्ध हुनै पर्ने जस्तो, त्यस्तो खास विधीविधान केही हुने छैन । बस् कफीजल चाहिँ विशेष तरिकाले तयार गरिनु पर्छ भन्ने सबै भक्तजनहरुको साझा बुझाइ हुनेछ ।

शुक्रवार कफीगडको प्यारो बार भएकोले भक्तजनहरु शुक्रबारलाई कफीबारको रुपमा मनाउँछन । आफ्ना आफन्त, नातागोताहरु भेला भएर विभिन्न स्वादका कफी पिउँदै रमाउँछन् । कफी जाज, कफी रक, कफी पप वा कफी लोक भाकाका भजनहरु गाउँछन्, रमाउँछन् । टाढा भएका श्रीमान, प्रेमीहरु वा श्रीमती, प्रेमिकाहरु एक-अर्कालाई फोनमा वा मेसेजमा कफी पियौ भनेर सोध्ने वा सम्झिने छन् ।

कफीगडलाई युवायुवतीले त प्रेमका देवता भनेर पनि श्रद्धा गर्नेछन् । प्रेमप्रति गडको उदारता, लगाव हरेक प्रेमी-प्रेमिकाको मन्त्र नै हुनेछ । गडका भक्तजनहरु महिनाको एकपटक कफीमसीले हातैले लेखेको प्रेमपत्र आफ्ना प्रेमी-प्रेमिकालाई टक्र्याउने छन् । शुक्रबारका दिन कफीशप (कफीगडको मन्दिर) मा कफीजल अर्पण गरेर आफ्ना प्रेमिका वा प्रेमी खुशी बनाइदिने वरदान माग्ने छन् । कफीगडलाई सबभन्दा मन पर्ने माग हुनेछ यो । भक्तजनको आँखा खुल्नै नपाई, आँखा चिम्लेर तथास्तु भन्नुहुनेछ गडले !

क्याफे जानै नपाएपनि शुक्रवार प्रेमी-प्रेमिकाको पवित्रबार, प्रेमबार भनेर सेलिब्रेशन गर्नेछन् । मन पराएका युवा-युवतीलाइ प्रेम-प्रस्ताव राख्छन् । शुुक्रवार अर्थात् कफीबार प्रेम प्रस्ताव राखे स्वीकार हुने र प्रेम अमर हुने कुरामा युवा-युवतीहरुको विश्वास रहने छ ।

नवयुगको कुनै प्रान्त, शहर, देशमा एउटा नदी बग्छ । जुन ‘कफीनदी’ उर्फ ‘काफे कोशी’को नामले प्रसिद्ध कहलिने छ । आफ्नो जीवनमा कफीगडको केही फेवरेट चिज थियो भने त्यो हो– ढुङ्गा । त्यस कफीनदीको गहीराइमा गडको फेवरेट ढुङ्गा भेटिने छ । कैयौं देशमा फैलिएका गडका भक्तजनहरु त्यस नदीमा घुम्न आउने छन् । नदीमा डुबुल्की मारेर ढुङ्गा निकाल्नु भक्तजनका लागि पवित्र कर्म हुनेछ ।

कफीगडको सम्मानमा नवयुगको कुनै देश जहाँ कफीगडका भक्तजनको व्यापक बाहुल्यता छ । त्यहाँ फेब्रुअरी महिनाको कुनै दिन ‘कफी डे’ घोषण गरिने छ र त्यो दिन जताततै सार्वजनिक बिदा हुनेछ । गडका भक्तजनहरु गडकी देवी खै त भनेर अनेक अनुमान लगाउने छन् । के कफीगडकी देवी थिइनन् त ? सम्झेर भक्तजनहरु च्वः च्वः च्वः गर्ने छन् । वा नवयुगका ‘बिन्दासी’हरुले कफीगड कति ‘बिन्दास’ वा ‘कुल गाइ’ रहेछ भनेर झनै धुरुन्धार भक्तीभाव देखाउलान् ।

र नवयुगमा कतै भक्तजनहरुले, कुनै कुराको पक्का पक्की गर्नुपर्यो वा वाचा-कसम खानुपर्यो भने “ब्ल्याक कफीको प्रमिस” भन्ने छन् !

कफीगडको जय हो !!!

Facebook Comments

You may also like

error: Content is protected !!