चुपचाप

चुपचाप यहाँ हुन्छ सारा
भएर बितेर जान्छ टाढा

त्यो सैतानी कालो छायाँ
पछाडीबाट आउँछ यहाँ
यसरी झम्टिन्छ घुरेर
जसरी लैजान्छ बाजले आहारा
शरीरमा त के नै हुन्छ र
दनदनी आगोमा जल्दछ आत्मा
चुपचाप यहाँ हुन्छ सारा
भएर बितेर जान्छ टाढा

सडकमा लुटिन्छ अस्मिता
सडकपनि काँप्छ डरले यहाँ
झर्दैन आँशु आँखाबाट
रगतजस्तै केहि खस्छ जहाँ
चुपचाप यहाँ हुन्छ सारा
भएर बितेर जान्छ टाढा

र मिल्दछ न्याय उसैलाई यहाँ
जो यसका निम्ती लड्दछ युद्ध
तर उसको घाउ बन्दछ अस्वत्थामा
जो लुकाउँछ आफ्नो घाउ आफैसँग

चुपचाप यहाँ हुन्छ सारा
भएर बितेर जान्छ टाढा

Image Source: indiatoday.in

घरको इज्जतको कुरा छ

बाँध तिमी आफ्नो आँखामा पट्टी
अनि लगाउ ताला आफ्नो मुखमा पनि
अँध्यारो रातमा,
थिचिएको, लुछिएको, लुटिएको, चिथोरीएको
तिम्रो शरीरको ति बीभत्स व्यथाहरुलाई
गाडिदेउ कतै पर लगेर
यो कदापी हैन कि त्यो पलहरु याद रहन्नन्
तर तिमी भुलाइदिनु
किनकी घरको इज्जतको कुरा छ

पिल्सिएको आत्मालाई आफ्नो हाँसो सँगै लुकाउ
शरीरको घाउहरुमा लाजको मल्हम लगाउ
जसरी मौन छु म
त्यही मौनताको पछ्यौरी ओड तिमीपनि
यो अन्धभक्त समाज पितृसत्ताको पुजारी
बेखबर यसको जात
तर जे भयो
त्यो सबै बिर्सिदेउ
अब घरको इज्जतको कुरा छ

उसका कुटिल हँसाइहरु
निर्मम उसका रोपाइहरु
दर्दनाक त्यो आफ्नो चीत्कार
अनि छातीभित्रको त्यो सकस
बिर्सिदेउ सबैसबै
जसले डोर्यायो तिमीलाई
नरकसम्म उसको
त्यो नियतिलाई बिर्सिदेउ
त्यो गोरेटोलाई बिर्सिदेउ
तिमीले सबै भुलाइदिनु
यहाँ घरको इज्जतको कुरा छ

जलाइदेउ समाजको आगोमा आफैलाई
बगाइदेउ अनि त्यहिँ आँशुको नदी
जसलाई कहिल्यै केहिको महसूस
हुनै नसकोस्
बनाइदेउ यसरी जिउँदो लाश स्वयमलाई
यो शैतानी सूर्यसँगै उदाउँछ
र बोलाउँछ दरिद्रताको कालो रात
अँध्यारोको साम्राज्य
त्रासदीको आतंक
अब तिमीले सबै भुलाइदिनु
घरको इज्जतको कुरा छ

Image Source: dnaindia.com

Facebook Comments

You may also like

error: Content is protected !!