कुखुरो उर्फ मान्छे | ढिच्क्याउँ | काव्यालय-Kavyalaya

कुखुरो उर्फ मान्छे

भन्न त कसैले हामीलाई भेडा भन्छन् । गोरू बनेझैं गर्छौँ।

स्यालजस्तो धुर्त हुन, गधाजस्तो काम गर्न, सिंहजस्तो मान खोज्न चाहन्छौँ । कसैले केही बिगारे बाँदर भनिदिन्छौँ । कोही कसैका अघि पुच्छर हल्लाए, कुकुर । मोटोलाई हात्ती । पातलोलाई मच्छर । लुसुक्क आए बिरालो । वर्ण कालो भए भैंसी । सुतिरहे सर्प । कुरा फेरे छेपारो । आदि इत्यादि । लेख्ने हो भने एउटा मोटै पुस्तक तयार होला।

तर किन भन्छौँ/बोलाँउछौँ हामी एक अर्कालाई जनावरको नामले । के हामी मान्छे नै हौँ? “मान्छे” शब्द कसले? कतिबेला? कसरी? बनायो होला? के विज्ञानले भने जसरी अहिलेको रूपमा आइपुगेका हौँ? कि धर्मग्रन्थहरूले बताएझैं?

मलाई लागेको कुरो म भन्छु।

वर्णमालाको पहिलो अक्षर “क” नै किन भयो? रहस्यमयी लाग्दैन? नेपाली वर्णमाला जसलाई कखरा पनि भनिन्छ । जुन असलमा “कुखुरा” शब्द अपभ्रंश भएर बनेको भन्ने मेरो बुझाइ छ।

कुखुरी काँ बासी भात खा ! सानोमा घाँटी फुटुन्जेल गाइन्थ्यो । किन गाइन्थ्यो भनेर खोतल्दै जाँदा ठूलै रहस्य पो हात लाग्यो । संसारमा सबैभन्दा बढी बिक्ने मासुमा पनि दोश्रोमा सायद कुखुरा नै पर्ला । पहिलोमा त मान्छेको मासुको व्यापार सधैँ उस्तै छ हरेक युगमा । यो त थाहा नै होला, धेरै भनिनँ।

कुखुराका कुरा !

केही कुखुराका बथान आकाशमा डुल्दै गर्दा कुनै पोथीले पतल्याक्क पार्दिएको अण्डाजस्तै देख्छु म पृथ्वी र अण्डा भित्रका हामी चल्ला/चल्ली, कुखुरा/कुखुरी । कुनै-कुनै आख्यानकार, साहित्यकारले बेला-बेलामा भन्दै आएका छन् कि हामी सुलीबाट बनेका हौ । विश्वास नलागे छाला यसो कोतारेर सुँघ्नु । मेरो भन्नु चाहिँ हामी सुली गन्हाउनुको कारण स्वयं कुखुरा भएर नै त होइन ? किनभने हामी त्यस्तै फोहोरी छौँ । मानसिक र भौतिक दुवै रूपमा । अब म हामीलाई वर्गीकरण गर्छु ।

पक पक पक पक पक पक्याक पक पक पक पक पक्याक !

ए ! अँ साच्ची !
हामीले त आफ्नो भाषा पनि पो भुलिसक्यौँ । हामीले पछि विकास गरेको एउटा भाषालाई माध्यम बनाएर भन्छु ।

१) वनकुखुरो :


वनमै रमाउने, वनकै खाने । दुनियाँदारीको मतलब नभएको । बेला-बेलामा गाउँ या शहर पस्ने । बाँचे फर्किने । होइन भने कोदोको ढिँडोसंँग कसैको मुखमा चपक्क । स्वादमा मिठो । ट्वाक्क !

चिडीयाखानामा प्रदर्शनमा राखेर कसैले गाँठ कमाउने । तस्करीमा पर्ने । सिकार बन्ने । कि वनकुखुरो विकास समिति खोलेर कोही रमाउने । पाउने उनीहरूले केही होइन । जंगल घुम्न आउनेहरूका लागि एक नयाँ जीव/चरो । एक फोटो । रमाइलो । प्रकृति । लोप हुन लागेको भए कुनै संग्राहलयका लागि गरिमाको विषय । खोजको कुरो ।

पक पक पक पक पक पक्याक पक पक पक पक पक्याक !

२) लोकल कुखुरो: 

एकदम टाठो-बाठो । गाउँको माटोमा हुर्किएको । माटोको महत्त्व बुझ्ने । गाउँको हावापानी, खानपिले तन्दुरूस्त । स्वस्थ । बेला-बेला मालिकले काट्न खोज्दा भागेर शहर पस्न खोज्ने । पसिहाल्ने । देशै छोडेर परदेशसम्म पुगिहाल्ने । आफ्नो पसिनामा विश्वास राख्ने । साह्रै सोझा । हरकोहीले ललाइफकाइ गरेर ठगिहाल्ने । शहरकाहरू लोकल कुखुरा भनेपछि हुरूक्कै । काटिहाल्न पर्ने । खाइहाल्न पर्ने । अनि यी लाटा कुखुरा चाहिँ आफ्नो ज्यान दिएर अरूको एकछाक बनिदिने ।

यी लोकल कुखुराको खेती पनि अचेल निकै फस्टाएको छ । गाउँ-गाउँमा खोज्दै पुग्छन् बिचौलियाहरू । अनि पो आइपुग्छ तपाईंको भान्सामा बासमती चामल र लोकल कुखुराको मासुको सुगन्ध हररररर । कोही गाउँ घुम्दै जान्छन् । र उतै एकदुईको प्राण डकारेर आउँछन् । केही महिना अघाउँछन् । कष्टकर नै छ लोकल कुखुराको जनजीवन पनि !

पक पक पक पक पक पक्याक पक पक पक पक पक्याक !

३) गिरिराज कुखुरो: 

न लोकल न ब्रोइलर । न शहरको न गाउँको । या मुलघर गाउँमा भएपनि, शहर कोठा भाडामा लिएर पढ्न बसेको । गाउँ जान भुलेको/छोडेको । मनलागे एक दुईपल्ट पुगी पनि हाल्ने । विदेश जाने या सरकारी जागीर खाने इच्छा भएको । अलि-अलि ठग्न जानेको । झुटो बोल्न सिक्दै गरेको । भ्रष्टाचार गर्न जान्दै गरेको । कुराको जालमा फसाउन माहिर । नयाँ चलेका ट्रेन्डहरू पछ्याउने ।

ब्रोइलरतिर पनि आफन्त भएको । लोकलतिर पनि बाक्लै चिनजान रहेको । बजारमा भाउ पनि राम्रै  । दाना खाएको । आफै चर्न पनि जानेको ।

पक पक पक पक पक पक्याक पक पक पक पक पक्याक !

४) ब्रोइलर कुखुरो: 

शहरमा हुर्केको । प्रदूषणमा बढेको । सेतो सुकिलो । आमाको दुधभन्दा बढि ल्याक्टोजन र अनेकथरि डब्बाबाला दुध खाएको । जिन्सी वस्तुहरू बढि खेलेको । माटो र गाउँ देख्न नपाएको । गाउँ हेर्नै परे पर्यटक जसरी जान पर्ने । प्रकृतिका हरेक कुरा उसका लागि नयाँ र रोचक हुन्छन् । खोरमा धेरै बस्ने बानी जो हुन्छ । बिरामी परिरहने । एकदम कमजोर । उस्तै परे राम नाम ।

ठूला-ठूला रेस्टुरेन्टहरूमा पुग्ने । दाम सस्तो भएपनि परिकार धेरै बन्ने । चिल्ली, रोस्ट, कबाब, तन्दुरी, झोल, छोयला, सेकुवा, भुटुवा, अचार । मासंहारी पण्डितहरूले राखेका अनेकथरि नामै मात्र भेला पार्ने हो भने वर्ष लाग्छ भ्याई सक्न । देश अनुसार, स्वाद अनुसारका नाम । तर यिनिहरूले पनि यी नाम मरेपछि मात्रै पाउँछन् । हामी जस्तै ।

पक पक पक पक पक पक्याक पक पक पक पक पक्याक !

तपाईंलाई हामी स्वयं कुखुरा हौँ / थियौँझैं लाग्दैन? बिस्तारै विकास हुँदै हाम्रो यो स्वरूप तयार भएझैं लाग्दैन? मेरो दिमागले त यसै भन्छ कि हामी ‘क’ बाट कुखुरा थियौँ / हौँ।

यिनीहरूमा पनि भेदभाव छ वर्गीय / जातिय / धार्मिक । एक अर्कालाई ठुङ्न दौडिहाल्छन्, दुरुस्तै हामीजस्तै  । गड्यौला लुछाचुडी गरेको देखेको छु । लोभ पनि हाम्रै जस्तो त छ । हाम्रा हरेक घिनलाग्दा / राम्रा आनीबानी यिनिहरूसँग ठ्याक्कै मिल्छन् । होइन ?

पक पक पक पक पक पक्याक पक पक पक पक पक्याक ! 

 

 

जसो गर जे भन, जे जे नामले बोलाऊ मलाई
आखिर, यो ज्यान त मेरो  ‘प्याक’को लागि  ‘पकवान” नै हो ! 

Facebook Comments

You may also like

error: Content is protected !!