छन्द मीमांसा

“कस्तो छन्द-न-बन्द को मान्छे/कुरा ?”

कसैले अमिल्दो/अव्यवहारिक किसिमको कुरा गरे, हामी सामान्यतया यही भन्ने गर्छौँ । यो सामान्य देखिने वाक्यभित्र गहन कुरा छिपेको छ । छन्द-न-बन्द भनेर हामीले दैनिक जीवनको दौडधुपका बिच सामान्यरुपले गर्ने गरेको यो टिप्पणीलाई केलाउने हो भने त्यसको अर्थ यसरी लगाउन सकिन्छ । छन्दविनाको कुरा अर्थात् अमिल्दो कुरा, मेल नखाने, नसुहाउने कुरा वा असुन्दर कुरा । अव्यवहारिक कुरा अर्थात व्यवहारमा उतार्न/अपनाउन नसकिने कुरा ।

अब साहित्यमा छन्द शब्दको अर्थ त्यसै अनुरुप लगाउने हो भने के निष्कर्ष निस्किन्छ त ? छन्दोबद्द साहित्य, त्यस्तो साहित्य जसका अङ्गहरु मिलेका होउन्, सुन्दर होस् (पक्कै पाटपुर्जा मिल्यो भने नै कुनैपनि कुरा समग्रमा सुन्दर देखिने हो) र जसलाई व्यवहारमा उतार्न सकियोस् ।

यहाँ प्रश्न उठाउन सकिन्छ, साहित्यलाई व्यवहारमा उतार्न सकियोस् भनेको के ? दूरदृष्टीले हेर्ने हो भने, त्यस्तो उपदेश समेटिएको साहित्य जसले व्यवहारिक ज्ञान देओस् । जीवनको यात्राका क्रममा आइपर्ने परिस्थितीसँग सफल साक्षातकार गर्न त्यसले मद्दत गरोस् । जस्तो; गीता ! लघुदृष्टी लगाउने हो भने भन्न सकिन्छ कि व्यवहारमा उतार्न सकिने साहित्य भनेको गाउन सकिने, लय हालेर आवाज दिन सकिने साहित्य !
यस हिसाबमा छन्दलाई साहित्यिक अर्थमा सुन्दर र लयात्मक भनेर बुझ्न सकिन्छ ।

अब छन्दको उत्पत्तिका विषयमा इतिहासले के भन्छ त ?

छन्दलाई वेदसँग जोडेर हेरिने प्रचलन छ । कति विद्वानले त छन्द नै वेदको अर्को नाम हो पनि भनेका छन् । त के हो त छन्द ? र कहाँबाट उत्पन्न भयो ?

हो, छन्दको वेदसँग गहन सम्बन्ध छ । तर छन्द नै वेद वा वेद नै छन्द हो भन्न भने पक्कै मिल्दैन । किनभने, वेदको दायरा छन्दको भन्दा व्यापक छ । छन्द वेदको एउटा अङ्ग भने अवश्य हो । शिक्षा, व्याकरण, कल्प, निरुक्त, ज्योतिष र छन्द मिलेर बल्ल वेद पूर्ण हुने हो । सरलसँग बुझ्नका लागि, वेदलाई शरीर मान्दा, छन्दलाई वेदको एउटा विशेष अङ्ग मुटु मान्न सकियो । विद्वानहरुले पनि यसै अर्थमा छन्द नै वेदको अर्को नाम हो भनेका हुनसक्छन् । तर छन्द मात्रै वेदको एकाङ्की अङ्ग हो भन्नु फगत भ्रम हो ।

र वैदिक दर्शनका आधारमा भने छन्द शब्दले आनन्द दिनु, प्रफुल्लता प्रदान गर्नु भन्ने अर्थ जनाउँछ । र पुनः काव्यका प्रयोजनमा यस अर्थ (आनन्द/प्रफुल्लता प्रदान गर्नु)लाई गेयात्मकतासँग जोड्न सकिन्छ । ऋग्वेदका अधिकांश सुक्तहरु गायत्री छन्दमा भएको मानिन्छ भने यजुर्वेदमा पनि छन्दबारे चर्चा गरिएको मानिन्छ । र सामवेदबाट संगीतको समेत उत्पत्ति भएको मानिरहँदा छन्दको उत्पत्ति पनि वेदबाटै भएको र छन्द वेदको एउटा अभिन्न अङ्ग भएको कुरा स्वीकार्न सकिन्छ ।

इतिहास खोतलेर हेर्ने हो भने ११औं शताब्दीका विद्वान यादवप्रकाशले छन्दको अलौकिकता पेश गर्दै पिङ्गलसूत्रको टिका लेख्ने क्रममा यसो लेखेको पाइन्छ-

“छन्दको ज्ञान सर्वप्रथम भगवान शिवलाई भएको हो । शिवबाट क्रमशः यो ज्ञान विष्णु, इन्द्र, वृहस्पति, माणडव्य, सैतव, यास्क हुँदै पिङ्गलसम्म पुगेको हो ।”

यिनै पिङ्गलले छन्दको सूत्र निर्माण गरी छन्दलाई ३ भागमा विभाजन गरेको कुरा इतिहासमा उल्लेख छ । हामीले सामान्यतया जान्दै आएको १) वार्णिक छन्द, २) मात्रिक छन्द, ३) वर्णमात्रा छन्द पिङ्गलले विभाजन गरेका छन्दका ३ किसिम मानिन्छ । उनै पिङ्गलले छन्दका अङ्गहरु समेत विभाजन गरेका छन् । चरण, वर्ण, मात्रा, संख्या/क्रम,गण, गति, यति, र तुक गरी उनले छन्द अन्तर्निहित आठ अङ्गको संरचना-सूत्र निर्माण गरेका हुन् । छन्दका विषयमा पिङ्गलले रचेको भनिएको यस पिङ्गलछन्दसूत्र तर्कगत, अर्थपूर्ण र उपयोगी भएतापनि पिङ्गल स्वयमंले छन्दको परिभाषा वा प्रकार उल्लेख गरेको नपाइँदा धेरैले यसलाई एउटा अलौकिक मिथक वा विश्वास मात्रको रुपमा पनि लिएको बुझिन्छ ।

पिङ्गलछन्दसूत्र अलौकिक किंवदन्ती मात्र हो भने छन्दको लौकिक उत्पत्तिको आधार के त ?

लौकिक जगतभित्र र प्रयोगगत हिसाबमा हेर्ने हो भने, छन्दको पहिलो प्रयोग महर्षि वाल्मीकिद्वारा भएको तथ्य इतिहासमा पाइन्छ । महर्षि वाल्मीकि, एकदिन तमसा नदीमा स्नान सकेर आफ्ना शिष्यहरुका साथमा कुटीमा फर्कँदै गर्दा एक शिकारीले प्रेमालापमा मग्न पन्छीको जोडीलाई ताकेर वाण हान्दा जब भाले पन्छीको ठाउँको ठाउँ मृत्यु हुन्छ, र पोथी शोकमा चित्कार गर्न थाल्छे, महर्षिलाई यो दृश्यले भाव-विह्वल तुल्याउँछ र त्यही भावमा डुबिरहँदा तत्कालै उनी एउटा श्लोक भन्न पुग्दछन् जुन विना कुनै प्रयास, प्राकृतिक रुपमा नै छन्दोबद्द हुन पुगेको थियो, जो यस प्रकार छ-

मा निषाद ! प्रतिष्ठात्वमगमः शाश्वतीः समाः
यत्क्रौयञ्चमिथुनादेकमवधीः काममोहितम् ।

जसको अर्थ हुन जान्छ-

हे चणडाल व्याधा ! तैँले काममोहित यी पनछीका जोडीमा एकलाई मारिस्,
यसबाट तैँले कहिल्यै सुख र प्रतिष्ठा हासिल गर्न नसकेस् !

र त्यस घटना उप्रान्त छन्दमा बोल्ने, लेख्ने कर्मको विकास भएको मानिन्छ । र तिनै महर्षि वाल्मीकिद्वारा अनुष्टुप छन्दमा रामायणको रचना भएको इतिहासमा पाउन सकिन्छ जसलाई पछि कवि भानुभक्त आचार्यले शास्त्रिय छन्द अन्तर्गतका विभिन्न छन्दहरु (जस्तै; शार्दुलविक्रीडित, वसन्ततिलका, स्रग्धारा, मालिनी, शिखरिणी, ईन्द्रवज्रा, द्रुतविलम्बित आदि) प्रयोग गरेर लेखे जो त्यतिबेलाका नेपालीहरुको जनजिब्रोमा प्रख्यात थिए ।

छन्दका प्रकारहरु के के हुन् त ?

विभिन्न आयामलाई आधार मानेर छन्दलाई अनेकौं तरिकाले विभाजन गरिएको छ । जस्तै; मात्रा र वर्णका आधारमा १) सम छन्द, २) विसम छन्द, ३) अर्धसम छन्द । त्यस्तै, संरचनागत नियमका आधारमा १) स्वतन्त्र छन्द, २) मिश्रित छन्द । यति मात्र नभएर, छन्द साहित्यमा प्रयुक्त ‘यति’का आधारमा पनि छन्दलाई विभिन्न प्रकारमा बाँडिएको छ र वेदभित्रको प्रयुक्ति वा गैर-प्रयुक्ति(वेदमा प्रयोग गरिएको ‘छ’ वा ‘छैन’)का आधारमा पनि छन्दलाई वैदिक र लौकिक गरी दुई प्रकारमा छुट्याइएको छ ।

यस हिसाबले, छन्दको प्रकारका बारे उल्लेख गर्नुपर्दा लहरो तान्दा पहरो खस्न सक्ने अवस्था सिर्जना हुन पनि सक्छ । तसर्थ यहाँ भने साहित्यमा हुने प्रयोगका आधारमा हेर्नुपर्दा पिङ्गलछन्दसूत्र नै सबैभन्दा पुरानो र उपयोगी ठहरिन आउने हुँदा त्यसैको चर्चा गरौँ ।

पिङ्गलले दिएका सूत्र अनुरुप २५ प्रकारका छन्द साहित्यमा प्रयोग गर्न सकिन्छ । ती मध्ये अनुष्टुप, वसन्ततिलका, शार्दुलविक्रीडित, शिखरिणी, पञ्चचामर, मन्दाक्रान्ता, भुजङ्गप्रयात छन्दहरु साहित्यमा प्रख्यात छन् भने विद्युन्माला, ईन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्वागता, स्रगविणी, तोटक, द्रुतविलम्बित, मालिनी, चित्रवतीहरिणी, चित्रलेखा , स्रग्धारा, आर्या, शालिनी, ललिता, पृथ्वी, मञ्जुभाषिणी जस्ता छन्दहरु साहित्यमा प्रयोग भइकन पनि तुलनात्मक हिसाबमा कम चर्चा पाएका छन्द हुन् ।

अनुष्टुप
यस छन्द संस्कृत भाषाको एउटा अति-प्रसिद्ध वार्णिक छन्द हो । श्रीमद्भग्वद्गीता, श्रीसुक्तम, गायत्री कवचम्, विष्णु सहस्रनाम आदिको रचनापनि यही छन्दमा भएको मानिन्छ । माथि उल्लिखित वाल्मीकिले उच्चारित पहिलो छन्दोबद्द सुक्त पनि यही अनुष्टुप छन्दमा नै छ ।

वसन्ततिलका
१४ अक्षरको सङ्ख्या लेखिने यस छन्द साहित्यमा सुप्रसिद्ध छन्द मानिन्छ । त, भ, ज, ज गरी ४ गण हुने यस छन्द, अन्त्यमा दुई ‘गुरु’को प्रयोगले पूर्ण हुन्छ । भानुभक्तिय रामायणमा समेत वसन्ततिलका छन्दको प्रयुक्ति पाइन्छ ।

शार्दुलविक्रीडित
जम्मा १९ अक्षरको प्रयोग हुने यस छन्द पुरातन कालदेखि अहिलेपनि उत्तिकै प्रयोगमा रहेको छन्द हो शार्दुलविक्रीडित । यसमा १२ र १९ पाउपछि विश्राम लिइन्छ भने म, स, ज, स, त, त गरी ६ गण को प्रयुक्ति सँगै अन्त्यमा एउटा ‘गुरु’को प्रयोगले यो छन्द पूर्ण हुन्छ । यो छन्द भानुभक्तले रामायणमा विशेष प्रयोग गरेको छन्द हो ।

शिखरिणी
यसमा जम्मा १७ अक्षरको प्रयोग हुन्छ भने ५ गण य, म, न, स, भ को प्रयोग भई एक ‘गुरु’को प्रयोगले पूर्ण हुन्छ । यो पनि भानुभक्तिय कालदेखि हालसम्म प्रचलनमा रहि आएको छन्द हो ।

पञ्चचामर
कुल १६ अक्षरको प्रयोग हुने पञ्चचामर छन्द मा ज, र, ज, र, ज गरि ५ गण र साथमा एक ‘गुरु’ को प्रयोग हुन्छ । यस छन्द रावणद्वारा सिर्जना गरिएको मानिन्छ भने शिवको ताणडवमा समेत यसको प्रयुक्तिको उल्लेख गरिएको चर्चा इतिहासमा पढ्न पाइन्छ ।

मन्दाक्रान्ता
१७ अक्षरको मात्रा नै रहने मन्दाक्रान्ता छन्दमा पनि ५ गण म, भ, न, त, त को प्रयोग हुन्छ र त्यसलाई पूर्ण गर्न २ ‘गुरु’ले पछ्याउँछन् । योपनि पुरातन कालदेखि नै हालसम्म पनि जनमानसमा बस्न सफल छन्द हो ।

भुजङ्गप्रयात
कविता र गजल विधामा समेत उत्तिकै परिचित भुजङ्गप्रयात छन्दमा केवल १२ अक्षरको प्रयोग हुन्छ भने चारवटा ‘य’ गणमा पूर्ण हुने यो छन्दमा लेखिएको काव्य गाउँदा सुललित सुनिन्छ ।

छन्दका यी प्रयोग प्रख्यात प्रकारको संक्षिप्त चर्चासँगै पुनः यो कुरा जोडिहालौँ कि छन्दको उत्पत्ति वेदबाट भई तथ्यगत प्रयोग महर्षि वाल्मीकिले पहिलोपटक गरेका हुन् जुन सुगठित र सुललित हुनुका कारण नै यसको विकासक्रम अघि बढ्न मद्दत पुग्यो र छन्दोबद्द साहित्यको रुपमा हामीले कविता, गीत र गजल गेयात्मक ढाँचामा आजपर्यन्त लेख्न/गाउन पाइरहेका छौँ ।

र यति भनिरहँदा अलौकिक किंवदन्ती नै सही, पिङ्गलछन्दसूत्रविना आज साहित्यमा छन्दको मिठास यसरी पक्कै छाउन सक्ने थिएन । तसर्थ, छन्दमा लेख्ने र छन्दलाई बुझ्ने कोसिस सबैले गरौँ, छन्दलाई लोप हुनबाट जोगाउन हामी सबै साहित्यपारखीहरुको कलममे कुनै न कुनै किसिमको भूमिका खेलोस् भन्दै छन्द दिवसको सबैलाई शुभकामना !

Facebook Comments

You may also like

error: Content is protected !!