युवा


१) युवा (वसन्ततिलका)

तिम्रा भुजा सबल वक्ष हिमालतुल्य
सिक्छाै पढे अमर शास्त्र कला अतुल्य ।
पर्दैन जान धननिम्त विदेश फेरि
मिल्दैन शान्ति मनमा जननी नहेरी ।।

बत्ती समीप छ प्रफुल्ल सफा मुहार
स्वामी झुकून् बरु हुँदैन यथार्थ हार ।
उद्देश्य भेट्नु छ तिमी शिर देश धानी
सन्त्रास दु:ख कहिल्यै मनमा नमानी ।।

श्री देशभक्त प्रतिभा छ अदम्य माथ
लाएर हार जितकाे हतियार साथ ।
छानाे रुँदैन घरकाे अब भै अनाथ
बन्नू सिङार्न कविता सम लेखनाथ ।।

बिर्सी भविष्य दिन बुद्धि कला सजाई
लाचार हुन्छ मन, रत्न समीप आई ।
गर्नू नकुल्च कमिला प्रभुतुल्य प्यार
खुल्दैन यत्ति नगरे पछि स्वर्गद्वार ।।

आऊन् बलिष्ठ रिपुकाे खुकुरी हजार
खाऊन् डराइ बरु ईश्वर दूर हार ।
चढ्नू बनी शिखरमा दृढ हाेसियार
टीका छ जन्मजननी गुरुकाे निधार ।।

२) कविता लेखूँ (शार्दूलविक्रीडित)

गाेर्खाली हुँ म हैन तुच्छ बबुराे माथा छ धाैलागिरि
देखाऊँ कि अनन्त चन्द्र सविता श्रीराम छाती चिरी ।
ठानी स्वर्ग अखण्ड बाह्र महिना नाच्छिन् वसन्ती परी
धूलाेले भरिपूर्ण हुन्छ ?´कविता लेखूँ स्वयं के गरी ।।

छन् भाषा प्रिय नृत्य लाेकलहरी संस्कार गङ्गा सरि
पुर्खाकाे अझसम्म रक्त पसिना बग्दैछ माटाेभरि ।
के गर्छिन् कुकुकूकु काेकिल चरी पग्लिन्छ काैवामन
‘भान्सा आज बिडाल सक्छ?’कविता लेखूँ गरी चिन्तन ।।

सानाे ठान्दिनँ देख्छु आँगन बसी नाैलाख तारा पनि
धर्तीकाे मुटु हाे मुनीन्द्र नगरी साैन्दर्यले झन् धनी ।
धब्बाकै उपचार हुन्छ मनकाे उम्रन्छ सञ्जीवनी
`देशै आज चिरा हुँदैछ ?´कविता लेखूँ म प्रेमी बनी ।।

शान्तिश्रेय समात्न पूर्वज सके सङ्घर्ष गर्दै कति
माटाेकाे भर नित्य अग्नि जलकाे पर्दैछ ढुङ्गाे जति ।
वैरी देखिनँ आजसम्म वनका डाँडा र पाखातिर
`ए अामा खुकुरी म लिन्नँ?´ कविता लेखूँ उठाई शिर ।।

आँखा खाेल्न सिकाइ ल्याउँछ सधैँ आदित्य नाैलाे दिन
शिक्षा दिन्छ हिमाल पाैरख गरी सीधा सिँढी उक्लिन ।
माटाे हुन् गुरुमा म शिष्य यिनकी आठाैँ जुनी भुल्दिनँ
`नेपाली हुँ लजाउँदैछु ?´कविता लेखूँ म आफैँ किन ।।

३) मन्दाक्रान्ता छन्द

जुट्दा रातै दिन इलममा छन् दुवै हात ठेला
शिक्षादीक्षा कम गरिबले राेगका झन् झमेला
आफ्नै प्यारा तनय तनया मातृबाटै छ हेला
यै पीडाले मनमुटु फुटी भिज्छ आँखा परेला ।।

भन्छन् साथी तँ किन जिउँदाे बाँच्न लाग्दैन लाज
छन् तेराे के असल जगमा श्वासकाे कामकाज ।
कुन् गल्तीमा सुख दिन अहाे लाेभिए देवराज
खै के गर्ने रुमलिन पुगेँ बाेलिदे काल अाज ।।

ढुङ्गामाटाे टुपुटुपु टिपी खानु पर्ने मलाई
काटी फालूँ कि म मुलुककाे याे प्रजातन्त्रलाई ।
याे सीमाकाे जरुरत बिना गर्छ कस्ले भलाई
हावा चल्दा पनि दनदनी बल्न सक्ला सलाई ।।

फाल्नै पर्ने रगत पसिना साहुकाे वारपार
पैँचाे मागे छ सय रुपियाँ तिर्नु पर्ने हजार ।
बाटैमा भाे कुन नियतिले फूलकाे तीक्ष्ण धार
आयाे कस्ताे कलियुग अहाे सत्यकाे हुन्छ हार ।।

ढाेग्दाढाेग्दै अबुझ अनदा साहुकाे पाउलाई
बच्चाबाटै मजदुर बने छैन केही कमाई
भाँच्याे खुट्टा भुज पनि गले कष्ट भाे बाँच्नलाई
चाँडाे लैजा अमरपुरमा ए विधाता मलाई ।।

मीठाे खाने गगनफल भाे देख्न पाएनँ मास
नाङ्गै दाैडी तर पनि भरेँ पेट खाई बतास ।
भाग्याे कीरा परपर परै चुम्न मानेन लाश
सुत्दैछस् के रिपु अब उठी मासु खा छैन सास ।।

Facebook Comments

You may also like

error: Content is protected !!