नेपाल मेरै भनेस्

नेपाल मेरै भनेस् (शार्दुलविक्रीडित)

हे डाँफे र मुनाल हो सगरमा बस्नू चनाखो बनी
कोही आउँछ भन्छ जोड बलले फूर्ती नदेखा भनी
ओढी रङ्ग गुँरासको हरघडी रङ्गी बिरङ्गी बनेस्
आफ्नै मान र शानले अब सधैं नेपाल मेरै भनेस्

हात्ती, बाघ र भालु चित्तल सबै जाओ सिमानातिर
आफ्नै हाड निकाल गाड बलियो नेपालका पिल्लर
बिच्छी, सर्प, र भ्यागुता सब उठी ढुङ्गा र माटो बनेस्
आफ्नै सिर्जनमा सदा खुस हुँदै नेपाल मेरै भनेस्

सल्लो, साल, चिलाउने, कटुस हो जाग्राम बस्नू उठी
यार्सा, दालचिनी, तिते र सतुवा उद्योग खोल्नू जुटी
गैंती, साबल, बाउसो, घन कुटो यी खेत बारी खनेस्
आफ्नै पुष्प परागले कुसुमले नेपाल मेरै भनेस्

तिम्रा कौशलदेखि शत्रु डरले भागोस् नआओस् यहाँ
तिम्रो मग्मग वासना पर पुगोस् आँखा नलाओस् यहाँ
आफ्नै पौरखले सुकार्य श्रमले हाँसेर बाँच्ने भएस्
आफ्नै हर्ष बढाइँंमा खुस हुँदै नेपाल मेरै भनेस्

किसान (शार्दूलविक्रीडित)

बाँझो फोर्दछु खेतको म विधिले डल्ला म नै फोर्दछु
काँडा पोल्छु सबै सबै दिनदिनै ढुङ्गा म नै फोर्दछु
पानी भन्दिनँ घाम भन्दिनँ म यो माटो पुजा गर्दछु
माटै आखिर बन्छ देह सहजै यै मट्टिमा मर्दछु

जैलेसम्म रहन्छ प्राण मुटु यो चाल्ने छु माटो सधैँ
मेरो भाग्य बनाउने श्रम गरी बाल्ने छु आगो सधैँ
मेरो कर्म यही म रात दिन नै जोतिन्छु यो खेतमा
मेरो मूल्य कहाँ छ यो सृजनको खोज्दै छु यो देशमा

मेरा हात र पाउको सृजनको लेखा कहाँ राखियो
मेरो भोक र रोगको गरिबको खाता कहाँ खोलियो
कस्ले पेट भ¥यो थप्यो घर तला को को रमाए कति
कस्ले राखिदियो हिसाब श्रमको मैले कमाएँ कति

छोरी पुत्र समान बाल मुजुरा हुर्काउने मै हुँ नि
चर्को घाम बतास वा जल सबै तर्काउने मै हुँ नि
तिम्रा बालकको दुधे मुख भरी मै हो बुझो लाउने
रोगीका मुख ओखती हरघडी मै हो बनी आउने

क्यै बोल्दैन हुँदैन यो मुलुकमा मैले नबोलेपछि
मेरो कर्म नलेखिने जुग बितोस् मैले नलेखेपछि
मेरै प्राण उडोस् जसै श्रम गरी धर्ती सिँगार्दै छु म
मेरो भाग्य म लेख्न आउँछु छिटो भाला तिखार्दै छु म

Facebook Comments

You may also like

error: Content is protected !!