छम गुरुङका तीन कविता | नवीन पुस्ता | काव्यालय - Kavyalaya

छम गुरुङका तीन कविताहरू :

गोरखामा जन्मिएका कवि  छम गुरुङ हाल काठमाडौं बसोबास गर्दै आइरहेका छन् । 

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र (स्नातकोत्तर) अध्ययनरत गुरुङका पोर्टर बा  (कविता संग्रह, २०६९), उत्तरी गोर्खाको तमु जातिमा प्रचलित तुङलुङ : एक अध्ययन (लोेक साहित्य, २०७४), प्रज्ञा नेपाली मिथक कोश, २०७४ (तमु मिथक, संयुक्त संकलन), फुटकर कविता, तमु–क्हे (मातृभाषा) मा कविताहरू प्रकाशित छ । साथसाथै उनको विभिन्न राष्ट्रिय पत्रिका एवं अनलाइन/ जर्नलहरूमा संस्मरण एवं लेख रचनाहरू प्रकाशित हुँदै आइरहेको छ ।

प्रस्तुत छ, कवि छम गुरुङका तीन कविताहरू :



विद्रोह

पाउँछु जब म छोरीलाई 
मेरो छेउ
फुच्चे टेबलमाथि घर बनाइरहेको 

सिंहदरबार

यत्तिका उमेर काटिदियो 
सुकुम्बासी टहराले 
डेराले सम्झेर

त्यो घरको रङ्गिन धर्साहरू
सदियौं बन्द ढोका देखेर
एउटा मधुरो धर्सोमा सपना मेटिएर

एक्कासि च्यातिदिन्छु 
झिनु आवाजमा 
एकै खेपमा
त्यो घर !



उपचार 

घाँस खाने आमा
अर्थात् यो गाईको राज्यमा
के साँच्चै,
हाम्रा आमा, दिदी–बैनीहरू, छोरीहरू 
‘बधुशिक्षा’का नयाँ संस्करणहरूबाट मुक्त भइसके त ?
योगमायाहरू, राममाया च्यामिनीहरू,
चुनु या उमाहरू बाँधिइएका छैनन् ?

पृथ्वीनारायणहरूको ‘फूलबारी’
‘गुराँसबारी’ न हो, खासमा !
त्यो भन्दा बढी त 
हामीलाई थाहै छ,
कि मुलुकी ऐन, थरगोत्र प्रवरावली, 
‘नेपालमा शिक्षा’ प्रतिवेदन, संविधानहरू…

बिसे नगर्चीहरू
लखन–गंगालालहरू
सुपति–रामप्रसादहरू
भीमदत्त–दुर्गानन्दहरू

अनेकौं विद्रोहहरू…

साथै यतिखेर, 
भी.सी. कुलवीर–थमनहरूका 
ती सुदूर पीडामा 
हाम्रो पनि इतिहास दुख्छ

हामी ढुङ्गाको, माटोको
अर्थात् ढुङ्गाहरूको देशको बासिन्दा 
कहिल्यै मानिसहरूकै ‘नेपाल’ हुन्छौँ ?
तैपनि न्याय बोल्छौँ, लेख्छौँ
(अ)नेपाली नै तुल्याइरहे पनि

हिजोसम्म म्लेछ मानिएको थियो,
तिनीहरूको त भव्य स्वागतार्थ
हरसाल जसो,
‘पर्यटन दिवस’हरू थमाइरहेकै छन्
तर, बिर्ता–जागिरको देशमा
‘‘..ईश्वरको छोरा, मान्छेको भाइ..’’ कमलु सदाहरूको देश कहाँ छ ? 
के देश भनेको पर्खाल हो ?

एउटा विशाल घैंटाभित्र, मानौँ, 
हेर्नलाई दुईचार छिद्रहरू पनि पारिएका छन्,
हाम्रो टाउको कैद गरिएको छ

शताब्दी–शताब्दी देखिन्
यो स्वयं ‘नेपाल’को टाउको कैद पारिनु पनि हो
यात्रा गाह्रो छ यसरी त !

हत्या गर्नु नै खाँचो नहुने थुप्रै विकल्पहरू पनि छन् 
लोक–कथामा जस्तो घाँटी छिनाउने हाम्रो समाधान हैन,
बस् त्यो विभेदकारी घैंटो मात्र फुटाउन चाहन्छौँ
यत्ति हो,
कि उज्यालो, सहअस्तित्व र समानताकै सवाल हो
घैंटोमा संसार कैद किन गर्ने ?

राज्य त हाम्रो पनि हो,
जेहोस्,
यो घैंटो—मतलब—एकलिकरण हो !

तिमीलाई जसरी यो महामारीमा
आफ्नै आदेशहरू, केही उर्दीहरू समेत
कर्फ्यु–बन्दी सहनु पर्दा
कुनै षड्यन्त्र नभए पनि, 

आफ्नै जीवनकै लागि भए पनि
केही निश्चित मिटरको भौतिक दूरी पालन गर्न ज्यादै कठिन
सडकमा भोक–रोगको कुरा त छोडौँ
कोठाभित्र टहलिरहन, सुतिरहन पनि दिक्कै छ
कति भयानक सन्त्रास छ, 
कति झिँजो लाग्दो छ
आक्रोश विष्फोटिन खोज्छ, 

खडेरी–छटपटी हुन्छ
जर्बजस्ती तोकिएकै सीमाभित्र
स–साना पाइलाहरू चाल्नु पनि कति अत्यास लाग्छ 
यो कोभिड–१९ कर्फ्युकालमा 

उसरी नै हामीलाई
जुगौँ भो,
हाम्रा लागि,
यी भाइरसहरू हुन्— एक भाषा, एक संस्कृति, एकै भेष….
इतिहासभरि महामारीमा धकेल्दिएका हुन्
अल्मल्याइदिएका थिए

हामी सबैको,
इतिहासको पनि
उपचार जरुरी छ है !



पहिचान

मैले आकाश छोएँ
सिन्काले पनि सुस्तरी कोतरिदिएँ
घाम, तारा, चट्याङ, बादल, चरा, हवाइजहाज, इन्द्रेणी सब छोइदिएँ
चर्काइदिएँ पनि पटक–पटक

बर्खा बेला सालाङ-८ मा
आँगनको झिनो खाल्टो–तलाउमा
जुम्ले हत्केलामा पनि राखेर चलाएँ, चलाइरहेँ
खेल्दै खेलिरहेँ

सुक्दै–सुक्दै जान्थ्यो क्रमशः
मेरै अनुहार र आकाश
सँगसँगै घाम, तारा, चट्याङ, बादल, चरा, हवाइजहाज, इन्द्रेणी
ती सब घरिघरि हातमै
र खाल्टोमै सुकेर पातलो हिलोमा बिलाइजान्थ्यो
बच्चाकालमा

आज यतिखेर 
म मेरो नातिनीसँग समुद्र छेउमा छु
यस्तो उमेरमा छु
कि दुवै आँखा करिब–करिब मरिसकेका छन्
हत्केलामा ती हिजोका कुनै पनि चीज उपस्थित रहेनन्
दाहिने हात नातिनीको हातमा छ
बायाँ हातले लट्ठी डोहोर्याउँदै छ
तर म अझै पनि
उही झिनो सुखद् तलाउकै खोजीमा छु !



 

Facebook Comments

You may also like

error: Content is protected !!