मौका

मलाई खोलीकै पानीमा
लुकामारी खेल्न दिनुस्,
एक्वेरियमभित्र निसास्सिएर
हजुरले आफ्नो चाहनाअनुसार हालेको
चारोले म अघाउदिनँ ।

हजुरको बैठक कोठाको एक छेउ सजाउन,
म आफ्नो प्राकृतिक गुणलाई कसरी बिर्सुँ ?
मलाई लुक्न दिनुस् ,बगरकै छेउका ढुङ्गाहरूमुनि
यात्राको आनन्द लिन दिनुस्,
लेउमाथि चिप्लिएर

पिउन दिनुस्,
विष नै मिसिएको भएपनि
खोलीकै पवित्र जल,
मलाई पानीको बहाव महसुस गर्न दिनुस्,
नजिकैबाट नियाल्न दिनुस्,
पानीमुनिका ढुङ्गाहरू खिइँदै गर्दाको रोमाञ्चक दृश्य !

मलाई अझै हेर्नुछ,
जिन्दगीबाट विश्राम लिन आइपुगेका शरीरहरू,
चिरनिद्रामा विलीन भएर,
सपना देखिरहेका बन्द आँखाहरु,
भर्खरै हावासँग ‘बोल्दिनँ’ भनेर
रिसाएको फोक्सोको हविगत ,
नशाहरूसँगको सहकार्य बिर्सिएर
सोचमग्न भएको मुटु ,
आजसम्म जति गल्ती गरेपनि
‘अब गर्दैनौँ’ भनेर शिथिल भएका हातगोडा
सिङ्गो संसारमाथि राज गरिरहेको,
एक शक्तिशाली मानव
जलेर बनेको धुवाँको मुस्लो र खरानीको थुप्रो ,

हजुरको कोठाको सानो एक्वेरियमबाट
म कहाँ नाप्न सक्छु र ?
सागरको गहिराई ,

निर्मल जलको सतहमा
ऐना हेरेर मुस्कुराइरहेको सगरको उचाई ,
कसरी अनुमान गर्न सक्छु ?

मलाई सुखी भएर भ्रम बाँच्नु छैन,
मेरै दुखको धरातलमा खुशी खोज्दै बाँच्न दिनुस्,
हजुरले देखाएको महानताको बाटो हिँडेर
भेट्नु छैन, सुकोमल फूलहरु
आफैले बाटो बनाउँदै हिँड्न दिनुस्,
केही हुल काँडाहरुले मलाई पर्खिरहेका छन्  !

मितेरी लाउने रहर छ,
सिउँडीका बुट्यानहरुसँग
पैतालाहरुलाई अभ्यस्त बनाउँदै छु,
अफ्ठ्यारोको टाउकोमै कुल्चिएर अघि बढ्न !

कटौती गरिदिएको छु,
केही थान आवश्यकताहरू
हजुरको भगवानको नाममा
बलि चढाइदिएँ, सपनाहरू
हजुरले झुक्न नपरोस्, भन्ने सोचेरै हो
हत्केलामै थापिदिएँ,
धर्ती छुने उत्साह बोकेर खसेका जूनका टुक्राहरू

यत्ति बुझेको छु,
म जे जसो गरेर पनि हजुरलाई खुशी पार्न सक्दिनँ
आफैलाई खुशी पार्ने एक मौका दिनुस्,
मलाई विश्वास छ, आफूमाथि
म असफल भएछु भनेपनि
पश्चाताप गर्ने छैन !

हजुरको सरकार

सर्कसको तालिमप्राप्त शेरजस्तो खुंखार
भनौँ कि
चोकमा उभिएको शालिकजस्तो निरीह !
वा भनौँ
आफ्नै सपनाको मलामबाट फर्किएको
एक महत्वाकांक्षी गरीब युवकजस्तो लाचार ?
एकटकले नियाल्छु
धेरै थोक पो सोच्छु त देखेर हजुरको सरकार !

दिन र रातको फरक छुट्याउनै मुस्किल
यो झिलिमिली शहरको
कुनै एक अँध्यारो कुनामा
क्रुरतापूर्वक बलात्कृत हुन्छन् हाम्रा किशोरी रहर
र निस्किन्छन् तिखा कारुणिक चीत्कार
तैपनि केही नसुनेझैं
गजक्क परेर बसेको छ
सायद बहिरो छ, हजुरको सरकार !!

वर्तमानका साझेदार भविष्यका कर्णधार
युवाहरूलाई
महंगो दाममा बेच्दै गर्दा राहदानी
भुइँचालोले च्यातेको घर
कुप्रिएको ढाडलाई चुनौती दिइरहेका बा’ आमा
विदेशबाट बाकसमा फर्किएका पतिलाई
स्वागत गर्न विमानस्थल पुगेकी
युवतीको आर्तनाद
बाबाले लिएर आउने खेलौना पर्खिएको काखे बालक
हजुरका नजरबाट सधैँ सधैँ ओझेलमा पर्छन्
लाग्छ,
पक्कै अन्धो छ, हजुरको सरकार !!!

पाँचतारे होटेलको रङ्गिन छानोमुनि बसेर
पिउँदै गर्दा ब्राण्डेड दारु
हजुरको सम्झनामा आएनन् र,
जीवनजल पिउन नपाएर जीवन गुमाइरहेकाहरू ?
सुसज्जित मञ्चबाट फलाक्दै गर्दा
आधारभूत मानवअधिकारहरू
हजुरको सम्झनामा आएनन र,
त्रिपालमुनि पानी पिएर भोकसँग लडिरहेका
निर्वस्त्र शरीरहरू ?
देशलाई दुखाएर मुस्कुराइरहन्छ हरेकबार
शंका लाग्छ,
कतै बहुलाएको छ कि, हजुरको सरकार !!!!

मैले आजसम्म नपुजेका भगवानसँग प्रार्थना गर्छु
हजुरको सरकारको पाषाणजस्तो छातीमा
मानवता उम्रियोस्
घृणा र तिरस्कारले टिलपिल आँखामा
प्रेम भरियोस्
कलिला फूलहरुले प्रयोग नगरुन् सुकोमल धार
वर्षौंदेखि मजदूरी गरिरहेका कठोर हातहरूले
उठाउन नपरोस् कुनै हतियार
अब चाँडै सरकारजस्तै बन्न सकोस्, हजुरको सरकार !!!!!

परिवर्तन

कुनैबेला मेरा विचारहरु खुब धारिला थिए
भर्खरै आरनबाट निस्केको
नयाँ तरबारजस्तै चम्किन्थे
टाढैबाट !

आज आफ्नै चेहेरा हेर्न डराइरहेछन्
कायर आँखाहरू
जो कुनैबेला
संसारबाटै अँध्यारो हटाउने सामर्थ्य राख्थे
आफ्नै रोशनीले !

समयसङ्गै गला यति बलियो भइसकेछ कि
जड पर्वत समेतलाई
गुञ्जायमान बनाउन सक्ने आवाजलाई
आफूभित्रै दबाएर राख्छ ।

खियाले छोपिएको छ सायद, जिब्रो
त्यसैले त
झुठो मुस्कानको पर्दा ओढेका ओठहरू
खुल्नै मान्दैनन् !

मनको त के कुरा गर्नु खै ?
आफै बोल्छ, आफै सुन्छ
रुन्छ एक्लै
र आफैले आफैलाई मनाएर चुप हुन्छ ।

लाग्छ मस्तिष्क मेरो विरुद्धमा
आन्दोलन गर्न गएको छ ।
मबाट धेरै टाढा
त्यसैले त मनको मनोमानी चल्दै छ जिन्दगीमा ।

संसार परिवर्तनशिल छ ।
भर्खर बुझ्दै छु,
संसारसँगै मपनि परिवर्तन भइरहेछु ।
म समझदार भएछु,
र पो स्वीकार गर्न सकेँ,
म अपांग हुँ ।
नाइँ, अब मेरो शरीरमा आँखा नदौडाउनुस् ।
मसँग सबै अंग सकुशल छन्,
कमी त
डरको पर्खाल नाघ्न सक्ने हिम्मतको हो,
कुसंस्कारको विपरीत हिँड्न सक्ने साहसको हो,
प्वाँख खोसिएका सपनाहरूको उडान भर्ने
हौसलाको हो !

Facebook Comments

You may also like

error: Content is protected !!