चक्रपथ | SATURDAYकलम | Kavyalaya - काव्यालय

चक्रपथ

बिहान भाले बास्ने बेलामा ढोका ढकढक गर्यो । राता मातिएका आँखा लिएर गुनगुन उभिएकी थिई। उसको अवस्था देखेर विचरीले राति बढी नै परिश्रम गर्नु परेछ जस्तो लाग्थ्यो। उसको देब्रे हातमा पनि केही भएको थियो सायद। कत्ति पनि हलचल थिएन।

एकपटक खाटबाट लडेर मेरो हात भाचिएको थियो। कतिको गर्धन मर्किन्छ, कोहीले भित्तामा टाउको ठोकियो भन्दै चोट लिएर आउँछन्। हप्ताभरमा साथीहरूका थरी थरी अंगका थरी थरी घाउ देख्न पाइन्छ । गुनगुनको हातमा पनि त्यस्तै चोट लागेको अनुमान मैले गरेँ।

के भएको हो भन्ने थाहा भएकै भावमा मैले सोधेँ, ‘के भो म्याडम?’ ऊ केही नबोली खाटमा गएर थचक्क बसी । उसलाई देखेर लाग्थ्यो उसले केही सुनेकी छैन, केही देखेकी छैन। मानौँ म कोठामा छँदै थिइनँ उसका लागि । कतै हराएकी थिई। कहिलेकाहीँ सोचेभन्दा बढी सुख मिल्दा यस्तै हुन्छ। म पनि यसरी नै हराउँछु। गुनगुन त्यस्तै सुखमा हराएकी थिई सायद। मैले त त्यस्तै बुझेँ। उसको देब्रे हात काखमा राखेर अर्को हातले शरीरलाई टेको दिएकी थिई। कोठामा मेरो उपस्थिति स्वीकार्नु अघि उसले एउटा लामो सास फेरी।
‘मेरो लप पर्‍यो यार।’
उसको मुखबाट पहिलोपटक यस्तो कुरा सुन्दै थिएँ। के भनेकी हो? सोचेरै भनेकी हो? त्यही भनेकी हो? पक्का गरेँ।
‘हँ?’ 
‘अँ’ 
मलाई पनि सँगै बसाली।
‘लप पर्यो क्या मेरो। माया बस्यो। प्रेम भयो। मोहब्बत कि के भन्छन् नि हो त्यही भयो।’

अलिकति पिएपछि नबुझिने कुरा गर्ने उसको बानी थियो । त्यसैले पनि रक्सी पिएको दिन उसँग कुरा गर्न छुट्टै रमाइलो हुन्थ्यो । तर मातेको बेलामा उसले यसरी लभको कुरा गरेको भने यो पहिलो पटक थियो ।
‘अनि?’ 
मेरो बोलीमा अविश्वास मिसिएको थियो। तर ऊ आफ्नै दुनियाँमा हराइरहेकी थिई। मेरो विश्वास या प्रतिक्रियाले उसलाई केही फरक परिरहेको थिएन। 
‘कति चढाएकी थिइस्? अझै तारा देखिराख्याछेस्?’
‘छैन यार पिएको। फ्रेश नै छु। उसैलाई मात्र देखिराखेकी छु।’
पत्याएको जस्तो गरिदिएँ तर उसले नपिएको कुरा कसरी पत्याउथेँ? 
‘फ्रेश छु पनि भन्छेस्, लभ पर्‍यो पनि भन्छेस्। त्यसो भए पागल भइस् त?’
जसका अघि माया प्रेमका कुरा गर्नु हुँदैनथ्यो। माया, प्रेम, विहे, घर, परिवार यी सबै कुरालाई ऊ बोझ मान्थी। सबै पुरुष उस्तै हुन् भन्थी। आफू मात्रै होइन उसँगग मिल्ने म लगायत अरू एक दुईजनाको सोचाइ पनि आफ्नोजस्तै बनाइसकेकी थिई। अनि विश्वास कसरी गर्ने उसैले आज यसरी माया प्रेमका कुरा गर्दा?
‘पागल भने भएको हुन सक्छु।’ लाग्थ्यो ऊ मलाई होइन, सिलिङको पङ्खालाई सुनाउँदै छे।

उसको देब्रे हातले आज अलि बढी नै स्याहार पाइरहेको थियो। 
‘अनि हात के गरिस्? मायामा त हात काट्ने चलन हुन्छ रे। ट्राइ गरिस् कि क्या हो? धार नभएको चक्कुले।’, मैले नै भनेर मै हाँस्नु राम्रो देखिन्थेन। तर गुनगुन हाँस्नु पनि त पर्यो।
‘तैँले बुझ्दिनस् यार, मायाका कुरा। बच्चै छेस्।’, मजाक मजाकमै भनेकी थिई त्यसैले जवाफ फर्काइनँ। हाँसिदिएँ।
ऊ हराइरहेकी थिई काखमा रहेको देब्रे हातमा आँखा गाढेर। लाग्थ्यो उसलाई भन्नु छ बस्, सुन्नु कत्ति छैन । 
 ‘तँलाई याद छ? अस्ति मैले भनेकी थिएँ एकजना केटा छ, भर्खरको जो मेरो दिनको समय मागिरहेको छ।’ हरेक दिन जसो कुनै न कुनै नयाँ मान्छेको विषयमा हामीबीच कुरा हुन्थ्यो। को-कोलाई मात्र याद गर्ने? मलाई याद थिएन ऊ कुन केटाको बारेमा कुरा गरिरहेकी छ। तर कुरा गर्न सहज होस् भनेर ‘अँ’ भावमा मुन्टो भने हल्लाएँ।
‘हो त्यही केटा।’ आँखा फेरि पंखामै झुण्डिए, ‘ढलको किरा भेनेकी थिएँ, नम्बरी हिरा रहेछ यार।’, शरीरलाई बिस्तारमा ढलाइ। म उसको सबै हर्कत हेरिरहेको थिएँ। आज उसले कुनै नयाँ स्वाद लिएकी छ भन्ने पक्का थियो तर स्वाद रक्सिको हो कि मान्छेको म अन्योलमै थिएँ।

एकछिनको शान्ति पछि जरुक्क उठ्दै भनी, ‘कथा सुन्छेस्?’, यसपाली अघि भन्दा अलि बढी ओठ तन्काइ।
‘कस्तो कथा?’
‘प्रेम कथा।’
उसको शरीरमा अचानक ऊर्जा थपिएको थियो।
‘प्रेम कथा? कसको? गुनगुन माताको?’
‘अँ’
‘ओहो, त्यस्तो सुअवसर कसरी गुमाउँला। सुनाइस्यो।’
‘ल सुन । सुरुबाटै सुन …’
उसले लामै कथा सुरु गर्न लागेझैं तयारी गरी मपनि उसको मुख देखिने गरी बसेँ।
‘एकादेशमा एकजना केटा थियो। थियो हैन हुन्छ। राजकुमार जस्तै। पावरवाला चस्मा, कोठे सर्ट, सिलाएको  पाइन्ट, अनुहारमा कलिला दाह्री, मायालाग्दो हाँसो। कद अलिकति बढी, मोटाइ अलिकति कम। त्यो एकदिन अप्सरा गुनगुनलाई खोज्दै स्वर्गमा आउँछ…’
‘हा हा हा…। स्वर्ग, अप्सरा। ओके…, अनि?’ हाँसो रोक्नै सकिनँ।
‘म हजुरको दिउँसोको समय लिन सक्छु? ऊ गुनगुनलाई सोध्छ। ’
‘गुनगुनले भन्छे, म दिउँसोमा भ्याउँदिनँ। रातिको समय लिन चाहनुहुन्छ भने भन्नुस् नत्र यहाँ अरु अप्सराहरू पनि छन्।’
अनि राजकुमार त्यहाँबाट जान्छ। अर्को दिन फेरि आउँछ। फेरि त्यही, ‘म हजुरको दिउँसोको समय लिन चाहन्छु।’
‘हिजै हुँदैन भनेको होइन?’ गुनगुन झर्किन्छे। ‘त्यही पनि माइन्ड चेन्ज गर्नुभयो कि भनेर’ ऊ त्यो दिन पनि फर्किन्छ।
यति मात्र होइन, त्यसको ३ दिन पछि पनि गुनगुनले राजकुमारलाई काउण्टरमा देख्छे। स्वर्गको काउण्टर। त्यो दिन त झन उसले घाम नउदाउँदैदेखि पर्खिरहेको हुन्छ। 
‘गुनगुनलाई रिस ऊठ्छ, मैले कति चोटि भने म भ्याउँ…,’ गुनगुनलाई बीचमै रोकेर ऊ बोल्छ।
‘हो। थाहा छ। तर….’, उसलाई बोल्न गाह्रो भइरहेको हुन्छ। थुक निल्छ घुटुक्क अनि बोल्छ, ‘बरु म दुई रातको पैसा एक दिउँसोमा दिन्छु। भन्नुहुन्छ भने त्यो भन्दा पनि धेरै। तर नाईं नभन्नु। आज हुँदैन भने पनि ठिक छ एकदुई दिन पछि…तर जसरी पनि..’ बोल्दा बोल्दै फेरि रोकिन्छ।

ओहो कस्तो माया लाग्दो अनुहार। गुनगुन पग्लिन्छे। हिउँजस्तै। सोच्छे, एक दिन त हो यार। के फरक पर्छ? कति वर्षपछि कसैले मेरै लागि जिद गरिरहेको छ। फेरि पैसा पनि त दुई रातको आउँदैछ। एक दिन आनन्दले सुतौँला कोठामै। यति सोचेर उसले ‘हुन्छ’ भनी।’ 
‘हुन्छ भनी? ओए, अनि गइस?’
म दिनमा एकदमै कम निस्केकी छु। तर बाहिर जाँदाको अनुभव भने राम्रै छ। राम्रो आय हुन्छ। ऊ भने कहिल्यै जाँदैन थिई। अब उसका कुरा पत्यार लाग्न थाल्यो। झन झन चाख लिएर सुन्न थालेँ। अब मलाई पनि जान्न मन लाग्यो गुनगुन कता गई, के के गरी। 
‘अनि के भो?’, मलाई जान्न हतार भो।
‘भन्दै छु त। किन आत्तेकी? सुन् न।’, ऊ फेरि कथा भन्न लागि, ‘हो, हुन्छ भनी अनि ऊ गई पनि। त्यही दिन केटाको पहिरन र बोलीले गुनगुनले अनुमान लगाइसकेकी थिइ त्यो पैसावाला मान्छे त हुँदै होइन। र पनि दोब्बर पैसा दिन्छु भन्दैछ। पक्का यो मन वाला मान्छे हो। पछि साला गुनगुनकै मनमा बस्दियो।’
‘अनि?’
‘अनि चक्रपथ घुम्यौँ।’
‘चक्रपथ?’
‘हाहा, सुन्दै हाँसो लाग्छ है? मलाई पनि लागेको थियो। तर कन्ट्रोल गरेँ।’ 
ऊ भन्दै गई,
‘पहेँलो कुर्ता दिएको थियो लगाउन भनेर अनि पावर नभएको एउटा चस्मा पनि।’
‘वाऊ। मलाई त अहिलेसम्म त्यसरी कसैले दिएको छैन यार। अनि त्यही लगाएर गइस्?’
‘कुर्ता चाहीँ लगाएँ तर चस्मा लगाइनँ। त्यत्रो ठूलो आँखा भएका चस्मा, आफैलाई बुढी जस्तो देखेँ। उसलाई चाहिँ बिर्सेछु भनिदिएँ।’
उसले भनेको जस्तो कपाल बनाइनँ, चस्मा लगाइनँ तर कुर्तामात्रै लगाएकोमा पनि दिन भर थ्यांक यू, थ्यांक यू भन्दै थियो। विचरा। चस्मा पनि लगाउनुपर्ने रहेछ जस्तो लागेको थियो पछि त।’

‘अनि घुम्यौ चक्रपथ?’
‘हिँडेर।’
हिँडेर?’
‘अँ त। हिँडेर। तर पुरै हिँडिएन। उसले हिँडेर चक्रपथ घुम्ने भन्दा मलाई कस्तो कस्तो लाग्यो। एकछिन हिँडेपछि किन आएछु जस्तो पनि लाग्यो। बुझेछ क्यारे, पछि यातायात चढ्यौँ।’
‘अनि त्यो चाहिँ कहाँ भो?’ समय माग्नुको उद्देश्य अरु के हुन सक्थ्यो? 
‘त्यही त भएन नि।’, उसले दाँत देखाउँदै भनी। ‘गाडी चढेपछि आफ्नो कथा सुनाउन थाल्यो।’
‘कथा? कस्तो?’

‘कलेज पढ्दा एकजना केटीसँग उसको लभ परेको रहेछ। डिप लभ भन्छन् नि, त्यही। तर एकोहोरो। त्यो केटीले माया गर्दिन भन्ने उसलाई पनि थाहा रहेछ तर आफूले माया मार्न सकेनछ।
भन्थ्यो,
‘म पनि चाहन्थेँ मेरो एउटा गर्लफ्रेण्ड होस्, उसँग समय बिताऊँ, तिता मिठा कुरा गरूँ, हात समातेर घुम्न जाऊँ, फिल्म हेर्न जाऊँ। अनि यो सबै कुरा उसैसँग गरेको कल्पना गर्थेँ। तर उसका लागि म उसको जोडी बन्न लायक थिइनँ। अनि उसँग जस्तै आकर्षित म कसैसँग पनि हुन सकिनँ, ऊ जतिको राम्री अरू कोही लागेन, उसलाई जस्तो माया गर्नको लागि कोही भेट्दै भेटिनँ।’
अनि म?’मलाई सोध्न मन लाग्यो। उतिखेरै सोधेँ। उसले भन्यो, ‘केही दिन यता सपनामा लगातार उसलाई नै देखिरहेको छु। हात समातेर कहाँ कहाँ हिँडेको। सपनाले गर्दा सधैँको लागि निदाइरहूँ जस्तो लाग्छ। काममा मन लागिरहेको छैन। केही कुरामा ध्यान छैन। आफन्त, साथीहरू के भयो भनेर सोध्छन्। भएको पनि केही होइन। जाबो सपना न हो। कसरी भन्थेँ र, सपनाले बिपना खराब गर्यो भनेर। मेरो यो अवस्थाको बारेमा एक जना साथीलाई मात्र थाहा थियो। उसले हजुरहरूको ठेगाना दियो। मेरो एउटा चाहना थियो । उसँग हात समातेर चक्रपथ घुम्ने। खै कसरी भयो। उसैसँग त अब सम्भव छैन। हजुरसँग…, मलाई अब सपनाबाट छुटकारा पाउनु छ, बस्।’

‘हात समात्नु मात्र कसैका लागि यति विशेष हुनसक्छ, सोचेकी थिइनँ। अहिलेसम्म कतिले हात समाते होलान कहिले वास्ता भएन, म त त्यो मात्र अरू कामको थालनी भनेर बुझ्थेँ। उसले सुरुदेखि मेरो हात किन समातिरहेको छ बल्ल बुझेँ। एकपटक उसले समातिरहेको हात हेरेँ। त्यहाँ अर्कै कुरा थियो। खै के। अनौठो थियो। 
‘ओए, तँलाई अहिलेसम्म कसैले त्यसरी समातेको छ? कसैले त्यसरी मायाले आँखामा हेरेको छ?’, गुनगुनले मलाई सोधी।
‘अहँ।’ अरु के भन्थेँ। मलाई त्यस्तो कसैले गरेको थिएन। सम्झिँदा दिक्क लाग्यो। त्यतिबेलै कल्पना गर्न थालेँ कोही मान्छे मलाई पनि त्यसरी नै खोज्दै आएको। हात समातेको, आँखामा हेरेको, अनि चक्रपथ डुलेको।
‘अनि? तँ नै चाहिँ किन रे नि?’
उमेरमा ऊ भन्दा म जवान थिएँ। रूपको पनि मेरो जति तारिफ उसको हुँदैनथ्यो। फेरि म किन परिनँ उसको नजरमा। भित्र कतै प्रश्न आएको थियो। ‘सोधेँ। म नै किन? यहाँ त अरूपनि धेरैजना छथिए। म भन्दा जवान। म भन्दा राम्रा। जाने बुझेका। म भन्दा असल। किन म नै?’ भन्थ्यो,  ‘म हजुरकै लागि भनेर त्यहाँ गएको थिइनँ। छिर्न त छिरेँ तर कहाँ सोध्ने, के भनेर सोध्ने केही बुझिरहेको थिइनँ। त्यस्तैमा हजुरलाई देखेँ, एक्लै मोबाइल चलाएर बसिरहनु भएको थियो। अनि के देखेर हो एक्लै हाँसिरहनु भएको। सायद संयोग होला, हजुरको र उसको हाँसो दुरुस्तै रहेछ। अनि अगाडि आएको कपाल कानमा सिउरिने बानी ठ्याक्कै मिल्ने। त्यसपछि हिम्मत आयो। हजुरको बारेमा सोधेँ। मैले हजुरको बारेमा सोधेपछि काउन्टरमा मलाई हजुरको सट्टा अरू कोहीको समय लिन आग्रह गरेका थिए। म जस्तोले हजुरलाई सक्दिनँ अरे। अनि के के। तर मैले हजुर नै रोजेँ। पटकपटक हुँदैन भन्दा पनि हजुर कहाँ नै जानुको कारण त्यही नै हो।’

‘सबैले भन्थे नि मेरो हाँसो भद्दा छ, बढी दाँत देखाउँछे, के के के के…। तर हेर त, उसलाई त्यही मन पर्यो। उसले बोलिरहँदा एक टकले हेरिरहेँ। त्यसपछि मेरो हात पनि आफै कस्सिन थाल्यो, उसको हातसँग। कति प्यारो छ ऊ।’
‘अनि थाहा छ के भयो?’ मलाई कसरी थाहा हुन्छ के भयो? ऊ आफै भन्दै गई।
‘आधा जति बाटो यातायात चढेपछि हामी फेरी हिँड्यौँ। मैले नै गाडी राकेर हिडौँ भनेँ। मलाई पनि हिँड्न मन लाग्यो। तँलाई पनि लाग्थ्यो बुझिस्।’ लाग्थ्यो नि किन लाग्थेन। पहिले त्यस्तो मान्छे भेटिन पनि पर्यो नि। मनमनै सोचेँ। 
‘अनि?’
‘अनि त्यसपछि पूरै बाटो हिँड्यौँ। बाटो छेउका डाँडा, मन्दिर देखाउँदै भन्थ्यो सपनामा आएको थियो रे यतै हात समात्दै। त्यो शिव मन्दिर छ नि, विहे गरेको सपना देखेको थियो रे। कस्तो माया लागेको थियो। पहिलो पटक कसैलाई ग्राहक भन्न मन लागेन। पहिलोपटक कसैसँग समय बिताउँदा घडी छिटो हिँडे जस्तो लाग्यो।’ अब गुनगुनको आवाजमा थोरै घमण्ड पनि मिसिन थालेको थियो।

‘हाम्रो हात कुनै जमाउने कुरा हुन्छ नि, त्यसले बलियोसँग जोडेको जस्तै भएको थियो। यो दिन लम्बिएर पूरै जीन्दगी नै यही एक दिनमा सकिए पनि हुन्थ्यो जस्तो लागेको थियो। तँलाई भएको छ त्यस्तो कहिले?’ म बोल्न सकिनँ। उसलाई थाहा थियो मलाई अहिलेसम्म त्यस्तो भएको छैन। भएको भए सबैभन्दा पहिले उसैलाई भन्थेँ। ऊ बोल्दै गई।
‘मलाई अंगालो हाल्यो र धन्यवाद भन्यो। दिन ढलिसकेछ। हाम्रो समय सकिइसकेछ। पाँच बजेसम्म भनेको थियो साढे ६  भइसकेको रहेछ। मलाई अत्तो पत्तो नै छैन।
‘मलाई तिमी मन पर्‍यो तिम्रो लागि रात बोनस भो।’ मैले होस मै भनेँ। धन्न भनेछु। ऊ पनि खुशी नै भयो। 

‘पत्याउछेस्? एउटै खाटमा सुतियो तर उसले किससम्म गरेन।’ उसका अंगअंगमा खुशी देखिन्थ्यो, ‘मेरो हात सिरानीमा राख्यो। एकटकले मलाई हेरिरह्यो। म भने लाजले आँखा जुधाउन पनि सकिरहेकी थिइनँ। यस्तो हुँदो रहेछ लाज लाग्दा। मैले त भुलिसकेकी थिएँ। कति मिठो मुस्कान। हेर्दा हेर्दै, मुस्कुराउँदा मुस्कुराउँदै ऊ निदायो। तर म रातभर निदाउन सकिनँ। आँखा चिम्म पनि भएन। ऊ निदाएपछि मात्र उसलाई राम्रोसँग हेर्न सकेँ। उसले सास फेरेको हेरिरहेँ। ऊ भुस भएको थियो। उसको निधारमा चुमेँ, गालामा चुमेँ। ओठ चुमेँ। अनि फेरि हेरिरहेँ। मेरो हातमा के छ र त्यस्तो मिठो निद्रा लाग्ने। कति मिठो निद्रा निदाएको।’, हात हेर्दै भनी।

‘यस्तो पनि कसैले गर्छ यार? पागल हो? तँलाई अचम्म लागेन? भन् न।’ म के बोल्नु। बोल्ने अवस्थामा त थिइनँ। संसारमा यस्तो मान्छे पनि हुन्छन् र? मलाई त शंकै लाग्छ। तर उसको कुरामा  विश्वास पनि लागिरहेको थियो। 
‘मेरो लभ पर्‍यो यार।’, फेरि हराए जस्तो देखिई।
‘केटोको नाम, नम्बर, ठेगाना केही लिइस् त?’ 
‘नाम समीप रहेछ। अरू त केही सोधिनँ। साँची समीपको अर्थ थाहा छ तँलाई?’
‘खै, नजिक हो क्यारे।’
‘हेर न नाम पनि कति प्यारो। नजिक…’
‘अनि उमेर?’
‘६ वर्षको अन्तर छ।’
‘जेठो?’
‘म भन्दा कान्छो ।’ के त्यो केटाको आँखा कमजोर थिए? उसका उमेरका कोही पाएन? जति पनि त थिए। म पनि त गुनगुन भन्दा चारपाँच वर्षले कान्छी नै छु।
‘तँलाई के लाग्छ ? उसले पनि तँलाई माया गर्ला ? कुरा सुन्दा त जिन्दगीभर त्यही केटीलाई मात्र सम्झेर बस्छ जस्तो लाग्छ।’  मैले सोधेँ।
‘तैँले पनि विचार गरेकी होलिस् हामीलाई कतै बाहिर बोलाउँदा उनीहरू छुट्टै जान्छन्, मास्क लगाउँछन्, बाटोमा सँगै हिँड्दैनन् कैयौंपटक एउटै सिरक ओढे पनि यो देखाउन खोज्छन् कि उनीहरू हामीलाई चिन्दैनन्। तर उसले दिनभर मेरो हात समातेर हिँड्यो। मास्क पनि नलगाई। गाडीमा चढ्यौँ, कति किलोमिटर हिँड्यौँ। मलाई चिनेका कति मान्छेले देखे होलान्, उसलाई चिनेका पनि कतिले देखे होलान तर उसलाई त्यसको मतलब नै थिएन। मलाई पनि मतलब छैन। उसले गरोस् नगरोस्। मैले त गरेँ। यतिका वर्षमा पहिलोपटक यति धेरै खुशी भएको छु। यही खुशीयालीमा आज मासु भात खानुपर्छ, बुझिस्। पख आज म खसीको मासु लिएर आउँछु। तँ पकाउने तयारी गर्।
अनि सुन्, आजदेखि मलाई गुनगुन नभन्। म अब पुरानै पवीत्रा हुँ।’ 
ऊ राता आँखा झिम्क्याएर बाहिर निस्की। म झस्केँ, ग्याँसमा केही डढे जस्तो लाग्यो। तर, ग्याँस त बन्द थियो। थाहा पाएँ, म भने डाहले जल्न सुरु गरेकी रहिछु, भित्रभित्रै।

Facebook Comments

You may also like

error: Content is protected !!