सामान्यतः हामी संगीत भन्नासाथ गीत बुझ्छौँ तर शास्त्रानुसार, “गीतं, वाद्यं च नृत्यं त्रयं संगीत मुच्येते” हुन्छ ।
“ अर्थात गीत, वाद्य र नृत्य यी तीन कुरा नै संगीत हुन् । तसर्थ, संगीत भन्नासाथ हामीले तीन कुरा बुझ्नपर्दछ । संगीत उत्पतिको स्थान र काल किटानीसाथ उल्लेख गर्न नसकिएपनि यसको इतिहासलाई हामी केलाउन सक्छौँ । यस लेखमा भारतीय शास्त्रीय संगीतलाई केन्द्रमा राखि चर्चा गरिनेछ ।
शास्त्रीय संगीतको इतिहास
संगीतको उत्पति सामवेदबाट भएको मानिए पनि ऋग्वेदमा नै यसको उल्लेख गरिएको छ । आर्यहरुको आमोद–प्रमोदको मुख्य साधन संगीत रहेको प्रमाण ऋग्वेदमा भेटिन्छ । सामवेदमा उच्चारणका दृष्टिकोणले ३ र संगीतका दृष्टिकोणले ७ स्वरको चर्चा गरिएको छ । उत्तरवैदिक कालको ग्रन्थ रामायणमा वीणा, मृदंग तथा घटम् जस्ता वाद्य रहेको प्रमाण भेटिन्छ । महाभारतकालीन समयमा त झन् बाँसुरीको प्रयोग र कृष्ण लीलाका सयौँ किस्साहरु छन् । तैत्तिरीय उपनिषद, शतपथ ब्राह्मण तथा नारदीय शिक्षामा पनि संगीतको वर्णन गरिएकोछ । चौँथो शताब्दीसम्म आइपुग्दा भरत मुनिले ‘नाट्यशास्त्र’ लेखी छैटौँ अध्यायमा संगीतको वर्णन गरेका छन् । भारतमा मुगलको प्रवेश सँगै शास्त्रीय संगीत दुई भागमा विभाजन हुन्छ । उत्तरी भेग जहाँ मुगलको शासन रह्यो, त्यहाँको संगीतमा फारसी तथा अरबी संगीतको प्रभाव देखिन्छ र हिन्दुस्तानी शास्त्रीय संगीतको उत्पति हुन्छ । मुगल कालमा विशेषतः राग दीप र मेघ को जादुमयी प्रभाव रहेको पाइन्छ । तानसेन सोही समयका साधक हुन् । यसरी नै दक्षिणी भेगमा मुगलको प्रभाव रहँदैन र त्यहाँको संगीत अहिलेको कर्णाटक शास्त्रीय संगीतको रुपमा विकसित हुन्छ । नेपालको हकमा वर्तमानमा अभ्यासमा रहेको संगीत हिन्दुस्तानी शास्त्रीय संगीत हो ।
कर्णाटक तथा हिन्दुस्तानी शास्त्रीय संगीत
दुबै संगीतको मूल भारतीय शास्त्रीय संगीत नै हो । दुबै रागमा आधारित छन् । यिनिहरुको सैद्धान्तिक नियम लगभग एकै भए तापनि यी फरक धार बनिसकेका छन् । हिन्दुस्तानी शास्त्रीय संगीतमा फारसी र अरबीको प्रभाव परेकोले प्राचीन आर्यहरुको संगीतको नजिक कर्णाटक शास्त्रीय संगीत मानिन्छ । उही रागलाई यी दुई धारका चलन अनुसार गाउँदा माधुर्यमा फरकपन भेटिन्छ । हिन्दुस्तानीमा ध्रुपद र ख्याल गरि दुई शैलीको रागको गायन हुन्छ भने कर्णाटकमा कृति, वर्णम्, पदम्, तीलाना आदी तरिकाले रागको गायन हुन्छ । वाद्यका हिसावले हिन्दुस्तानी शास्त्रीय संगीतमा तबलाको प्रयोग हुन्छ भने कर्णाटकमा पखावज वा घटम् को प्रयोग हुन्छ ।
शास्त्रानुसारका वाद्य
भरत मुनिले वाद्यलाई चार भागमा विभाजन गरेका छन् ।
१. तन्तुवाद्य– तारको कम्पनबाट ध्वनी पैदा हुने वाद्य तन्तुवाद्य अन्तर्गत पर्दछन् । तन्तु वाद्यलाई पुनः तत(नखज) वाद्य र वितत वाद्यमा विभाजन गरिन्छ । तत वाद्य औँलाले तारमा कम्पन गराई ध्वनी पैदा गरिने वाद्य हुन् भने वितत वाद्यमा तार रेट्ने सामाग्रीको प्रयोग हुन्छ । सितार, सरोद र वीणा तत वाद्यका उदाहरण हुन् भने सारङ्गी, भ्वाईलिन वितत वाद्यका उदाहरण हुन् ।
२. सुषिर वाद्य– हावाका अणुहरुको कम्पनबाट ध्वनी पैदा हुने वाद्य यस अन्तर्गत पर्दछन् । शंख , बाँसुरी, हार्मोनियम, सहनाई, सुषिर वाद्यका प्रमुख उदाहरण हुन् ।
३. अवनद्ध वाद्य– सामान्यतः चर्मले ढाकिएका र पिटेर बजाइने वाद्य यस अन्तर्गत पर्दछन् । तबला, मृदङ्गम्, खन्जीरा, पखावज यसका उदाहरण हुन् ।
४. घन वाद्य– धातु, माटो वा काठजस्ता ठोस पदार्थबाट निर्मित वाद्य यस अन्तर्गत पर्दछन् । घटम्, मोर्सिब, करताल र मन्जिरा यसका उदाहरण हुन् ।

Indian Classical Music; Musical Instruments
सप्तक परिचय
संगीतमा स्वर ‘सा’ लाई ‘मध्य सा’ भनिन्छ । यदि ‘मध्य सा’को आवृत्ति दुई गुणा पार्ने हो भने उक्त ‘सा’ ‘तार सा’ बन्छ । यिनै मध्य र तार सा बीचको आवृत्ति अन्तरलाई नै सप्तक भनिन्छ । यसमा सात स्वर क्रमशः षड्ज, ऋषभ, गान्धार, मध्यम, पञ्चम, धैवत र निषाद पर्ने हुँदा यसलाई सप्तक भनिएको हो । सप्तक मन्द्र, मध्य र तार गरि तीन प्रकारको हुन्छ । व्यक्तिको प्राकृतिक ध्वनि आवृत्तिमा यी सात स्वर गाइन्छन् भने त्यो मध्य सप्तक हो । सोही मध्य सप्तक गाउँदाको आवृत्ति आधा गरेर गाउँदा मन्द्र सप्तक र दोब्बर गर्दा तार सप्तकको निर्माण हुन्छ । गायनमा ‘मध्य सा’ देखी गाउँदै ‘तार सा’ सम्म पुगिन्छ भने त्यो आरोह हुन्छ र ‘तार सा’ देखी झरेर ‘मध्य सा’ सम्म फर्कनुलाई अवरोह भनिन्छ । स्वर चर र अचर गरि दुई प्रकारका हुन्छन् । ‘सा’ र ‘प’ अचर हुन् भने ‘रे’, ‘ग’, ‘ध’ र ‘नी’ को कोमल प्रकार हुन्छ । कोमल स्वर शुद्ध स्वर भन्दा कम आवृत्तिको हुन्छ । यसरी नै स्वर ‘म’ को तीव्र रुप हुन्छ । तीव्र स्वरको आवृत्ति शुद्ध स्वरको भन्दा अधिक हुन्छ । शास्त्रीय संगीत गायकले मन्द्र सप्तकको पछिल्लो आधा स्वर, सम्पूर्ण मध्य सप्तक र तार सप्तकको अघिल्लो आधा स्वर मात्र गाउन सक्छन् । बडो यत्न र अभ्यास गर्ने साधक अपवाद ठहरिन्छन् । मन्द्र सप्तक गाउन सक्ने जीवित साधक मध्ये एक परवीन सुल्ताना हुन् ।
संगीतमा अलङ्कार
संगीतमा अलङ्कारको विशेष महत्व हुन्छ । जसरी एउटी युवतीले आभूषण लगाउँदा र शृङ्गार गरि सजिँदा उनी आकर्षक देखिन्छिन् उसरी नै गीतलाई मृदु बनाउनका लागि अलङ्कारको प्रयोग गरिन्छ । ती मध्ये निम्न अलङ्कार प्रचलनमा छन् ।
१. मीण्ड– यदि एक स्वरबाट अर्कोमा जाँदा प्लुतः उच्चारण गरिन्छ वा वक्र बनाएर गाइन्छ भने त्यसलाई मीण्ड अलङ्कार भनिन्छ । राग शुद्ध कल्याणमा ‘सा’ देखी ‘ध’ र ‘ध’ देखी ‘प’ मा मीण्डको प्रयोग गरिन्छ । गीतको उदाहरण लिने हो भने फिल्म ‘रङ्ग दे वसन्ती’ को गीत “तु बिन बताए….”मा बताएको उच्चारणमा मीण्ड अलङ्कार भेटिन्छ । उदाहरणमा शास्त्रीय संगीतको उदाहरण नदिईकन चल्तीका गीतको उदाहरण दिनु बुझ्न सरल होस् भन्ने अर्थमा हो ।
२. खट्का वा गीतकारी – सप्तकका स्वरको रोक लिँदै उच्चारण गरिन्छ भने त्यो खट्का वा गीतकारी अलङ्कार हुन्छ । नेपाली गीत “जुन खोलीमा पानी छैन…..” मा खोलीको उच्चारणमा रोक लाग्छ, त्यो नै खट्का वा गीतकारी अलङ्कार हो ।
३. जम्जमा– जम्जमा अरु केही नभएर खट्काकोअर्को रुप हो । यदी गायनमा प्रशस्त खट्काको प्रयोग हुन्छ भने त्यो जम्जमा अलङ्कार बन्छ । महाराष्ट्र र पन्जावी लोक गीतमा जम्जमाको प्रयोग भेटिन्छ । पन्जावको अर्धशास्त्रीय गायकी जस्लाई टप्पा गायकी भनिन्छ, त्यसमा जम्जमाको अत्याधिक प्रयोग भेटिन्छ ।
४. मुर्की– यदि गायनमा दुई वा सोभन्दा बढी स्वरलाई एकैसाथ उच्चारण गरिन्छ भने त्यो मुर्की अलङ्कार हुन्छ । गीत “तुझे संग बैर लगाया ऐसा” मा संग को उच्चारणमा मुर्की अलङ्कारको प्रयोग गरिएको छ । शास्त्रीय संगीतमा भने मुर्कीको अत्याधिक प्रयोगलाई रोक लगाइएको छ किनकी यसले रागको गतीमा प्रभाव पार्दछ ।
५. आन्दोलन– स्वरहरुको ढिलो बहाव नै आन्दोलन अलङ्कार हो । गीत “पुछो न केसे मेने रैन बिताए”मा ‘बिताए’ को गम्भीर उच्चारण नै आन्दोलन अलङ्कार हो ।
६. गमक– भारतीय शास्त्रीय संगीतमा अत्याधिक प्रयोग हुने र महत्व राख्ने अलङ्कार गमक हो । जुनसुकै रागको बन्दिशको उदाहरण दिई गमकलाई प्रष्ट पार्न सकिन्छ । उदाहरणका लागि राग विहागको बन्दिश “बाजत मोरी पायल ….” मा स्वरलाई कतै छायाँमा पारिन्छ त कतै उठाइन्छ, यो नै गमक अलङ्कार हो । कर्णाटकमा भने कम्पित गमकको समेत प्रयोग भेटिन्छ ।

Sangeet ma Alankaar; India Art
राग परिचय
राग अरु केही नभएर स्वरहरुको समूह हो । रागमा प्रयोग हुने स्वरका आफ्नै नियम छन् । जस्तै, प्रत्येक रागमा कम्तीमा पाँच स्वर हुनुपर्छ । स्वर ‘सा’ हरेक रागमा अनिवार्य छ । रागका स्वर भन्नासाथ वादी र संवादी स्वरहरुको कुरा आँउछ । रागमा प्रयोग भएका जम्मा–जम्मी स्वर मध्ये कुनै स्वरले प्रमुख महत्व राख्दछन् । ती प्रमुख स्वर नै वादी स्वर हुन् भने विशेष स्वर संवादी स्वर हुन् । उदाहरणका लागि राग वृन्दावनी सारङमा पाँच स्वर छन् । ती क्रमशः सा, रे, म, प र नी हुन् । यहाँ स्वर सा को महत्व प्रमुख रहेकाले यो वादी स्वर होर स्वर म विशेष भएकाले संवादी स्वर हो । बाँकीका स्वरहरु अनुवादी स्वर हुन् । रागको आफ्नै जाती हुन्छ । यदि आरोहमा र अवरोहमा पाँचपाँच स्वर छन् भने त्यो औडव–औडव जाती राग हुन्छ । राग भूप सोही जातीको राग हो। यदि ६/६ वटा स्वर छन् भने त्यो षाडव–षाडव जाती राग हुन्छ । ७/७ स्वरले मिलेर बनेको रागलाई सम्पूर्ण–सम्पूर्ण जाती राग भनिन्छ । अनौठो कुरा यो छ कि, एकै प्रकारका स्वरहरु मिसिएर अनेक राग बन्दछन् । उदाहरणका लागि राग मार्वा र सोनीमा एकै प्रकारका स्वर छन् । उसो भए एकै स्वर भएका राग एकअर्कासँग कसरी भिन्न भए ? यहाँनेर राग गायनको चलनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । दुबै रागमा आरोह र अबरोहमा ६/६ गरि बाह्रवटा स्वर रहेका छन् । ती क्रमशः आरोहमा ‘सा’, ‘रे’, ‘ग’, ‘म’, ‘ध’, ‘नी’ र ‘सा’ हुन् भने अबरोह मा ‘सा’, ‘नी’, ‘ध’, ‘म’, ‘ग’, ‘रे’ र ‘सा’ हुन् । मार्वा रागको गायनमा गायक ‘रे’ र ‘ध’ मा तूलनात्मक रुपमा बढि समय रोकिन्छ । तर सोनी राग चञ्चल राग हो । यसको गायन गति तीव्र हुन्छ । यसरी एकै स्वर भएतापनि चलन अनुसार राग एकअर्का देखि भिन्न ठहरिन्छन् । राग गायनमा अलङ्कारको प्रयोग महत्वपूर्ण हुन्छ । शास्त्रीय संगीतको कार्यक्रममा घण्टौँसम्म एउटै राग गाइरहेको हामी देख्छौँ । वास्तवमा राग गायनको विधि के हो र रागलाई कसरी विस्तार गरिन्छ भन्ने कुरा संगीतको श्रोता वा दर्शकले बुझ्नपर्ने हुन्छ । राग गायनलाई हामी चार भागमा विभाजन गर्न सक्दछौँ ।
१. आलाप– आलाप रागको मन्द विस्तार हो र यसबाट नै रागको गायन सुरु हुन्छ । आलापमा प्रायः वर्ण ‘आ’ लाई मन्द गतीमा विस्तार गरिन्छ । यसलाई आकार आलापी भनिन्छ । तर सम्पूर्ण आलापलाई आकारमा गाँउदा कर्णप्रिय नहुने हुँदा आलापका अन्य रुप प्रयोगमा आँउछन् । नोम–तोम आलाप यस्तैएउटा रुप हो। यो आलापमा अर्थहीन शब्दको गायन गरिन्छ । इकार वा उकारबाट सुरु हुने शब्दहरु यो खालको आलापीमा गाइन्छ । ध्रुपद गायकीमा नोम–तोमको प्रयोग अत्याधिक हुन्छ । यसरी नै, अर्थयुक्त शब्द वा बन्दिशको अंश गायन गरि रागको विस्तार गरिनु नै बोल आलाप गायन हो । रागको विस्तारमा सरगमका स्वरको प्रयोग गरिन्छ भने त्यो सरगम आलाप हुन्छ ।
२. बन्दिश– निश्चित राग र तालसँग मिलाएको गीत नै बंदिश हो । सामान्यतः आलाप पश्चात बन्दिश शुरु हुन्छ । उदाहरणका लागि राग ‘यमन‘ र ताल ‘तीनताल‘ को नियममा बाँधिएर लेखि एको गीत ‘हेरि आली पिया बिना, सखेरी आली पिया बिना’को गायन नै बन्दिश गायन हो । तर बन्दिशमा गीत नै गाइनु पर्छ भन्ने छैन । यसमा गीतका शब्द भन्दा राग र तालसँगको सम्बन्धलाई हेरिन्छ । अर्थहीन शब्द राखी वा सरगमको पनि बन्दिश निर्माण गर्न सकिन्छ ।
३. लयकारी– रागको अंशलाई कुनै लयमा गाउनुलाई लयकारी भनिन्छ । रागको अशंलाई आलापमा मन्द रुपले गाइन्छ भने लयकारीमा यसको गति तीव्र हुन्छ । आलाप र लयकारी बीचको प्रमुख भिन्नता यहि हो।
४ तान– अति द्रुत गतिमा राग गाउनुलाई तान भनिन्छ । प्रायः शास्त्रीय संगीतको कार्यक्रममा गायन मन्द गतिबाट सुरु भएर द्रुत गतिमा पुग्छ र सोही चक्र निरन्तर चलिरहन्छ । त्यहि द्रुत गतिको राग गायन नै तान हो । तान सरगम तथा बन्दिशका शब्दहरुको प्रयोग गरि गाउन सकिन्छ ।
रागको गायन यी चार तहको चक्रिय आवृत्तिसँगै सकिन्छ । राग गायनसँग सम्बन्धित अनौठा किस्साहरु सुन्नमा आउँछन् । जस्तै, उषःकालमा गाउने राग कुशल गायकले सन्ध्या कालमा गायो भने प्रकृतिमा प्रभाव परि सीत पर्न थाल्दछ । तानसेनले दीपक राग गाएर बत्तिको सुठोमा अग्नि पैदा गरेका थिए । राग गाएर नै भित्तामा चित्र कोरेका कहानीहरु पनि प्रशस्त सुनिन्छन् ।

Tansen performing Raag: Deepaka !
ठाट परिचय
सयौँका संख्यामा रहेका रागलाई स्वरको आधारमा विभाजन गरि समूह निर्माण गरिन्छ । उस्तै खाले स्वर भएका रागको समूह नै ठाट हो । यसैलाई थाट पनि भनिन्छ । हिन्दुस्तानी शास्त्रीय संगीतमा दशको संख्यामा ठाट रहेका छन् । उदाहरणका लागि, सबै शुद्ध स्वर प्रयोग भएका रागहरुको एउटै समूह निमार्ण गरिन्छ र त्यो समूह बिलावल ठाटको रुपमा परिचित छ । यसरी नै अन्य स्वर शुद्ध रहेका तर म को तीव्र रुप प्रयोग गरिने राग समूहलाई कल्याण ठाट भनिन्छ ।
ख्याल परिचय
ख्याल राग गायनको एउटा रुप हो । यो बडा र छोटा गरि दुई प्रकारको हुन्छ । यी दुबैखाले ख्यालमा ‘आलाप‘, ‘बन्दिश‘, ‘लयकारी‘ र ‘तान‘ को प्रयोग गरिन्छ । उसोभए यिनीहरु बीचको भिन्नता के ? भिन्नता केवल लयमा छ । यदि विलम्बित लयमा राग गायन गरिन्छ भने त्यसलाई बडा ख्याल भनिन्छ । यसरी नै द्रुत लयमा राग गायन गरिनुलाई छोटा ख्याल भनिन्छ ।
वर्तमानमा चल्तिमा रहेको राग गायनको रुप ध्रुपद हो । ध्रुपद १४औँ शताब्दीमा चलनमा आएको विधि भनेर विश्वास गरिन्छ । ध्रुपदको विकासमा महत्वपूर्ण योगदान तानसेनले पुर्याएको पाइन्छ । तर मुगल कालको ध्रुपद गायन र अहिलेको ध्रुपद गायनमा भिन्नता छ । ध्रुपदमा प्रयोग हुने आलाप नोम–तोम हो । ध्रुपद शैलीमा स्वरका आधारलाई महत्व दिइने हुनाले यो गायनमा रुद्र वीणाको प्रयोग हुन्छ ।
यस लेखमा गीत र वाद्यलाई महत्व दिइएको छ भने नृत्यबारे चर्चा गरिएको छैन । कमसेकम शास्त्रीय संगीतका श्रोता वा दर्शकलाई संगीतका आधारभूत पक्षसँग परिचित गराउनु लेखको प्रमुख उद्देश्य हो । संगीतमा प्रयोग हुने शब्दहरु जस्तै, स्वर, सरगम, आलाप, राग तथा ठाट के हो भन्ने जानेर हामी शास्त्रीय संगीतको कार्यक्रममा उपस्थित भयौँ भने हामीले भिन्न प्रकारले आनन्दको अनुभव गर्न सक्छौँ । साधकको गायकी सुनेर मात्र मदहोस हुने श्रोता यी पक्षबारे अवगत रहेमा लोपोन्मुख शास्त्रीय संगीतको विकासमा समेत टेवा पुग्छ ।

त्रिवेणी
यस लेखको अध्ययन-अनुसन्धानका लागि लेखक त्रिवेणी भारतको वाराणसीसम्म पुगेका हुन् ।