नेत्रावती डब्जोङ्ग गाउँपालिका ५, धादिङका गजलकार एंव मुक्तककार कल्याण सापकोटाका आधा दर्जन मुक्तकहरू:
पहिलो मुक्तक:
न त पहिले पहिले खायो न त अचेल खायो ।
भन्नुस् तपाईंको पढाइले कहाँनेर मेल खायो ।
दु:खमा दु:ख जोडेर कहिल्यै सुख भएन,
यो नाथे गणितको हिसाबले फेल खायो ।
दोस्रो मुक्तक:
जिन्दगीबाट नै ठूलो हरेस खाई स्वागत गर्नु पर्यो ।
यो मन जबर्जस्ती सम्झाई -बुझाई स्वागत गर्नु पर्यो ।
हिजो आँसुले आँखाको गाजल पखालेर बिदाई गरेथेँ,
आज सिन्दुर पखालेर मेरो हजुरलाई स्वागत गर्नु पर्यो ।
तेस्रो मुक्तक:
चाहे ट्याक्टर चलाऊ चाहे डोजर चलाऊ ।
जे जसरी हुन्छ आ -आफ्नो घर चलाऊ ।
मुखमा माड लाग्दैन सरकार कुरेर,
भोको पेट भर्न आफैले जाँगर चलाऊ ।
चौथो मुक्तक:
भाँजो हाली हाली बिथोल्ने त छोराहरू छन् ।
ढुङ्री, तिलहरी, फुली खोल्ने त छोराहरू छन् ।
बस् बोल्नेहरूकै कमी छ बुढेसकालमा मेरो,
म मरेको दिन पोल्ने त छोराहरू छन् ।
पाँचौं मुक्तक:
दियो धोका गर्यो छल एउटा मान्छेले ।
बिगार्यो पुरै मानसपटल एउटा मान्छेले ।
आँसु पुछौँ कि झुण्डी मरौँ दोधारमा परेँ,
अन्तिम चिनो पठायो सल एउटा मान्छेले ।
छैठौं मुक्तक:
बसौँ मान्छे सबै दलको, तयारी अवस्थामा ।
घडा बनाऊँ पित्तलको, तयारी अवस्थामा ।
मन्त्री ज्यू आउँदैछन् स्वागत गर्नु पर्छ,
राखौँ माला चप्पलको, तयारी अवस्थामा ।
कल्याण सापकोटा
नेत्रावती डब्जोङ्ग
गाउँपालिका ५
धादिङ