जनकपुर – आजदेखि २२ गतेसम्म ४ दिन मिथिला नगरी जनकपुरमा ‘जनकपुर साहित्य महोत्सव’को दोश्रो संस्करण शुरु भएको छ । आयोजक संस्था नव मिथिला फाउन्डेसन, सह-आयोजक बुकहिल पब्लिकेसन र सानो पाइलाले आज राजधानीमा कार्यक्रम कार्यक्रमबारे जानकारी गराएका हुन् ।
महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायतका विषयका १५ सत्रमा ४५ जना वक्ताहरू सहभागी हुनेछन् । यी सत्रहरुमा १५ जनाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।
‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति यो महोत्सवले दूतको काम गर्नेछ’, घोषणा सभाको उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘जनक, जानकी, याज्ञवक्लव्य र विद्यापतिको सहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्द्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ ।’
महोत्सवका संयोजक मनिष झाले जनकपुर साहित्य महोत्सवको पहिलो संस्करणको सफलताले दोश्रो संस्करणसम्म ल्याएको बताउँदै जनकपुर चिनाउन र अपनत्वको अनुभूति गराउन महोत्सव सहायक हुने बताए ।
डिजिटल दुनियाँमा साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले उल्लेख गरे । महोत्सवमा नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता हुनेछ बताइएको छ । यसमा कवि, उपन्यासकार, पत्रकार, मिडिया व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञ लगायत क्षेत्रबाट सहभागिता रहनेछ ।
महोत्सवमा जनकपुरको सांस्कृतिक, समाजिक जीवनका झाँकी प्रस्तुत हुनुका साथै शहरका विभिन्न भागमा हुने कार्यक्रमले थप रौनकता थप्ने आयोजकको दाबी छ ।
मैथिल संस्कृतिको महत्व बुझ्दै र स्थानीय खानाका परिकारका स्वाद चाख्दै आफूलाई चिन्न जनकपुर साहित्य महोत्सवमा सहभागी हुन आयोजकले आग्रह गरेका छन् । महोत्सवको प्रायोजक ‘फोन पे’ रहेको छ ।