काठमाडौं – आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसर पारेर शब्द थिएटरले भानु भक्त आचार्यको कृतिमा आधारित नाटक प्रतियोगिताको आयोजना गर्ने भएको छ । बन्दा बन्दिमा सबै क्षेत्र बन्द रहेको कारण घरमै बसेर रचनात्मक कार्य गर्न प्रोत्साहन गर्ने उदेश्यले पथरी सनिश्चरे नगरपालिका मोरङको सहयोगमा उक्त प्रतियोगिता गर्न लागिएको हो ।
यस नाटक प्रतियोगितामा भाग लिन आदिकवि भानुभक्त आचार्यको कृतिमा आधारित रहेर नेपालको कुनै पनि भाषामा १० मिनट सम्मको नाटक तयार पारी एउटै फ्रेममा खिचेर एडिट नगरिएको भिडियो २०७७ असार २५ भित्र शब्द थिएटरको ईमेल shabdatheatre@gmail.com मा पठाउनु पर्ने छ । यसैको आधारमा आयोजकले नाटकको बिजेता छान्नेछन । नाटकमा प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रकमसहित प्रमाणपत्र प्रदान गरिने आयोजक टिम मध्यका कलाकार जीवन बरालले जानकारी दिए ।
आदिकविका रचनालाई घरमै बसेर नाटकका रूपमा मञ्चन गरी आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर हुनसक्ने बरालको भनाइ छ । यो नाटक प्रतियोगिताले कला र साहित्यलाई जोड्ने काम गर्ने छ भन्नेमा आफुहरु आशावादी रहेको अर्की कलाकार सुमन कुइकेलको भनाइ छ । नाटक सम्बन्धी पूर्ण जानकारीकोलागी ९८४९५६६४३० (जीवन बराल), ९८५२०८८९७६ (सरोज तिम्सिना), ९८५२०४१८८८ (पर्सुराम न्यौपाने), ९८४२०६८७०५ (सुमन कुइकेल) को नम्बरमा संपर्क गर्न सकिने छ ।