भूमि मरूभूमि
बालुवाजस्तै टल्कने
कंक्रीटका थुप्राहरू!
यो भूमि मरूभूमिभन्दा कहाँ कम छ र ?
यहाँ ऊँटजस्तै प्यासी छन् मान्छे !
भोगको प्यास, विलासको प्यास,
शक्ति र सत्ताको प्यास !
हुँदैन यहाँ शान्तिवर्षा
यो भूमि मरूभूमिभन्दा कहाँ कम छ र ?

On Torture by Pablo Picasso
टाउको दुखाई
म पत्रकार हुँ !
समाचार लेख्छु कमाउँछु ।
नलेख्न दबाब र कबाब आउँछन्,
खान्छु, रमाउँछु ।
मैले लेखे पनि, नलेखे पनि
खाए पनि, नखाए पनि
म रमाए पनि, नरमाए पनि
तिमिलाई के को टाउको दुखाइ ?
म पत्रकार हुँ !

Ressistance by Zehra Doğan
शहर
यो शहर
फगत मलाई व्यस्त तुल्याइरहेछ !
हरक्षण मेरो समय नास गरिरहेछ !
म फर्कन्छु आफ्नै गाउँ,
जहाँ मलाई एक कोश पार गर्न एक दिन लाग्दैन !

Traffic Jam by Trisha La Comber
समाजवाद !
हेर त्यो भिरमा, मेरो त संसारै चोइटियो
मलाई कालापानी र लिपुलेकको के सरोकार !
तिमी बनाउनु देश सिंगापुर र स्वीजरल्याण्ड
बिन्ती !
पहिले मेरो छोरो घर आउने बाटो बनाइदेऊ ए सरकार !
तिमीलाई हिउँ रमाइलो लाग्ला
नभुल्नु यी पहाड त मेरो दैनिकी हो !
तिमीलाई भरीया प्यारा लाग्लान् ।
सम्झ त ! यी मेरा सन्तती हुन् !
तिमी बनाउनु देश सिंगापुर र स्वीजरल्याण्ड
बिन्ती ! पहिले मेरो छोरो घर आउने बाटो बनाइदेऊ ए सरकार !
म जुन कष्टमा बाँचिरहेछु,
सक्छौ के, तिमी त्यो जीवनको कल्पना मात्र गर्नपनि ?
समानुभूतिको परिभाषा दिँदै गर्दा,
आऊ एक रात मेरो भान्साको छाक खान
सक्छौ के, तिमी आफ्नी छोरीलाई मेरो छोरो पढ्ने स्कुल पठाउन ?
तिमी बनाउनु देश सिंगापुर र स्वीजरल्याण्ड
बिन्ती ! पहिले मेरो छोरो घर आउने बाटो बनाइदेऊ ए सरकार ।
तिमीले गरेका चिप्ला कुरामा,
चिल्लो कारको स्वार्थ देख्छु म !
नत्र सक्छौ के तिमी,
मेरी स्वास्नीलाई पनि एउटा हेलिकप्टर किनिदिन ?
मेरो जीवनको क्षितिज अब धेरै लामो छैन !
कृपा गरेर मेरो काखे छोरोको भविष्य नछिन !
तिमी बनाउनु देश सिंगापुर र स्वीजरल्याण्ड
बिन्ती ! पहिले मेरो छोरो घर आउने बाटो बनाइदेऊ ए सरकार ।

German Alpine Scene Oil Painting of a Young Boy by Scandinavian Antiques | Incollect
प्रश्न !
यी निर्जन भिडहरूको मझधारमा
अनन्त ब्रह्माण्डको गहिराईमा
बसेर म सोच्दै छु जीवन के हो ?
अक्सर आर्यघाटमा देखिने रसरागमा
भावुकताले भरिएका चिच्याहटमा
अडिएर म सोच्दै छु प्रेम के हो ?
प्राकृतिक सानिध्यमा रमेका चराहरूमा
तोते बालकको मधुर कोकिलाहटमा
अल्झिएर म सोच्दै छु, ईश्वर के हो ?
म चाहन्छु मेरा यी उल्झनहरू समेट्न तिमी आऊ
प्रेम, जीवन र ईश्वर को बिम्व बुझाइदेऊ मलाई
कदाचित, मलाई उत्तर मिल्ने थियो कि मान्छे के हो ?

Painting by Andy Council | Pinterest
आर्यघाटमा प्रेमालाप
माेह फाल्न मन्दिर हिँडेकाहरू,
काम जगाउने कुना खाेज्दै थिए !
म झस्किएर यताउती हेर्छु
सपनाकाे ऐँठन भन्दा विपनाले पिरल्याे,
अहाे ! सत्यसँग साक्षातकार हुने याे कस्ताे संयाेग ?
एउटा फूल जलिरहेछ, अर्काे भूल फुलिरहेछ ।
यत्तिकैमा भस्मबाट खरानी खिसिक्क हास्याे ।
भन्दै, आर्यघाटमा याे कस्ताे प्रेमालाप ?
त्यत्तिकैमा,
एउटा चिताकाे लासले गिज्जायाे मलाई
के तस्वीर खिच्छस् आफ्नै भविष्यकाे ?

Cremate Burning | TheStraitsTimes
मौनता
म मौन छु !
किनकि, मलाई तिम्रा धेरै कुराहरू थाहा छ ।
म मौन छु !
किनकि म अथाह छु, समुन्द्र जस्तै !
तिमी बोल्छौ, बोलिरहु !
किनकि
यहाँ नजान्नेहरूको पनि बेग्लै कथा छ, खहरे जस्तै ।

Artist James Dive’s view of the parting of the Red Sea | Shutterstock
प्रमाण
म मन्दिरमा छु,
यी हेर, मैले ईश्वरसँग लिएको सेल्फी !
म मुर्दाघाटमा छु,
यी हेर, मैले भष्मसँग लिएको सेल्फी !
म दुर्घटनामा छु,
यी हेर, मैले घाईतेसँग लिएको सेल्फी !
म वासनामा छु,
यी हेर, मैले यौवनासँग लिएको सेल्फी !
म बाबासँग छु,
यी हेर मैले आइ.सि.युमा लिएको सेल्फी !
तिमिलाई मन परेरन् होला,
आऊ खिचौँ, मुखावृत्ति मिलेको अर्को सेल्फी !

Time for Glasses by Andela | Endmyopia
रंग
श्वेत त्वचाको उजागर क्रियामा
पुषे ठण्डीको पर्वाह गर्ने योद्धा होइनौ तिमी !
र,
हावामा त्यो शक्ति पनि छैन ।
जसले तिमीलाई रोक्न सकोस्,
आफ्ना भक्तहरूलाई, अवयवको दर्शन दिनबाट ।
तिमी चाहन्थ्यौ,
लत्रिएका ती नजरहरूले एक झल्को सन्तुष्टि पाउन् ।
त्यसैले त “ग्रन्च” पाइन्टमा सजिएकी थियौ तिमी !
भक्त र भगवानको लिला रोकिदिने !
कति निष्ठुरी रहेछ त्यो लेगिन्स र त्यसको कालो रंङ्ग !

Another Day | Cloundfront
पर्खाल
अचेल देख्छु शहरमा,
फराकिँदै छन् सडकहरू,
सडक फराक भएतापनि भत्किएनन् दूरीहरू !
अझै,
हामी बिचको दूरी
तिम्रो र मेरो आँगन बिचको पर्खालको निर्धारण गर्छ !
म चाहन्छु एक अर्को भुँईचालो,
भत्काउन हाम्रो मनको पर्खाल !
सुनेको थिएँ कतै,
सभ्य समाजलाई सुरक्षा घेराको खाँचो पर्दैन ।

People – Painting On The Berlin Wall by Gynt | FineArtAmerica