लेखेर सबथोक हुनसक्छ ? | Anniversary Edition | Kavyalaya - काव्यालय

लेखेर सबथोक हुनसक्छ ?

लेखेर सबथोक हुनसक्छ ? जस्तो दु:खबाट मुक्ति, निराशाबाट छुटकारा ? या पीडाबाट केही क्षण, केही प्रहरको लागि बन्देज ? यो के साँचो हो ? लेखेर सबथोक भइरहेको छ ?

मानिलिउँ, यो सब भयो (अरे !) ! अब के ? अब खुसीका मुहान खनिएँ ? अब हर्षका इनार पींध भेटिए ? अब आनन्दका अग्ला फराकिला महल ठडीए ? के यो सब भयो ? यी सब सदासर्वदा रहिरहलान् ?

आयू ? यो सब चीजको छ ! यो एउटा सत्य हो ! या यो एउटा झुट पनि !
आयु ? कुनै पनि चीजको छैन ! यो अर्को झुट हो ! या यो एउटा सत्य पनि !
र, यी दुई बाहेक पनि अर्कोथोक हुनसक्ने र हुन नसक्ने दुवै सम्भावना अस्तित्वमा विराजमान रहन्छ !
यो सब कुरा बाहेक पनि अझ अर्को, अझै अर्को केही रहन सक्छ, रहन सक्दैन ?
बस्, प्रश्नहरूमा जेलिएको छु म !

र, उत्तर ?
उत्तर आफैमा प्रतिप्रश्न हो – अर्को प्रतिउत्तरको लागि !

उसो भए भन्न सकियो- ‘शृंखला हो सब कुरा ! चलीरहन्छ !’ हो, भन्न सकियो !
तर चलिरहेन भने ? बस्, अब यस क्षण, यहि प्रहर चलायामन शृंखला रोकियो भने ? गतिशिलताले आफ्नो गति गुमायो भने ?

जसरी दज्जाल (Dajjal) आउन बाँकी छ ! जसरी फिरौन ( Fir’awn) को लास कुहिन बाँकी छ ! जसरी विरुपाक्ष पशुपतिको ब्रम्हनाल नेरबाट फुत्कन प्रयासरत छ ! जसरी कावा (Kaʿbah)को पत्थर सेतो रंगमा ढल्न बाँकी छ ! संसार विध्वंश हुन या गर्न यसबाहेक पनि कैयन् मानव (यिनलाई दानव या दानवत्व म मान्दिनँ) जन्मन बाँकी छ, या उमेरका हुन बाँकी छन् ! यस्ता कैयन् बलशाली र नकारात्मक शक्ति कुन वास्तविकताको सूचक हुन् ? त्यो ५ हजार वर्ष कहिले आउँछ, जब बुद्धको शिक्षालाई समाज भुल्दै जानेछ ? गैर-अब्रहामिकहरूले बताएअनुसार कहिले आउँछ, त्यो समय जब मानव आत्माले आफ्नो बाटो भेट्नेछ र ऊ मुक्त हुनेछ !

नकरात्मकता के हो ? विरुद्ध या विरोध के हो ? किन केही कुराको विरोध हुन्छ ? किन कोही कसैको विरुद्ध जान्छ ?
सकारात्मकता आफैमा पूर्ण कुरा होइन, उसो भएन ! सकारात्मकता सकारात्मक हुन पनि त नकरात्मकता आवश्यक छ ! म असल हुन पनि त तपाईं खराब हुन जरुरी छ ! या उल्टोपाल्टो !

भनेपछि के ? मैले यी विचारलाई एउटा बाटो दिनुपर्छ ! र मस्तिष्कलाई शान्त बनाउनु पर्नेछ ! नत्र म भर्खर चक्कु निकालेर घाँटी रेट्न सक्छु ! नत्र म भर्खर झ्याल खोलेर बार्दलीबाट हामफ्याल्न सक्छु ! नत्र भर्खर म जे पनि गर्न सक्छु ! नत्र म भर्खर विरुपाक्ष बनिदिन सक्छु ! नत्र भर्खर म दज्जाल बनिदिनसक्छु ! नत्र भर्खर म फिरौनको लासमा आफ्नो टाउको फोड्न सक्छु ! बस्, मसँग यो सब बन्नुपर्ने/गर्नुपर्ने कारण हुनुपर्दछ ! मसँग आवश्यकता हुनुपर्दछ-केही पनि हुनको लागि ! केही पनि गर्नको लागि !

म जान्दछु, म सामर्थ्यवान छु कि एडवार्ड विर्थ्स बनौँ, ऑशविट्ज़ शिविर चलाऔँ र लाखौं मानिसको मृत्युको कारण बनौँ ! म सामर्थ्यवान छु कि म ‘चेंग काइ-शेक’ बनौँ र नाङ्किङ नरसंहारको कारक बनौँ ! म इदी अमिन बन्न सक्छु, म अगस्टो पिन्चेट बन्न सक्छु ! म महारानी म्यारी(पहिलो) बनौँ र हजारौं प्रोटेस्टेनट्सलाई जलाएर मारौँ ! म तिमुर, हिटलर, मुसोलिनी र माओ चेतुङ मात्र बने पनि पुग्छ ! म स्टालिन, लेनिन र जेंगिस खान मध्ये जो कोही बन्न सक्ने ल्याकत राख्दछु ! कारण एक मात्र छ- म मानव हूँ र विध्वंस मेरो रगतमा छ !

तर यो सब नगर्न पनि म सक्छु ! यस ठिक उल्टो गर्ने ल्याकत पनि छ त- मसँग नै ! म किन सक्दिनँ, मजदुरहरूको गुनासो सुन्ने मार्क्स बन्न ? म सक्छु ! बस्, मलाई आवश्यक लाग्न पर्छ- त्यो कुरा !

म बुद्ध बन्न सक्छु या म अम्बेडकर बन्न सक्छु ! म जोन रेबे बन्न सक्छु ! म ओस्कार स्कीण्ड्लर बन्न सक्छु ! म माल्कम एक्स बन्न सक्छु ! बस कारण आवश्यक छ ! बस आवश्यकता छ कि म के बनौँ ! म कस्तो बनौँ !

तपाईं भन्न सक्नुहुन्छ इतिहास किन दोहोर्याउने ? मलाई सरोकार छैन, देवकोटा सहि थिए या गलत ? र, मेरो प्रश्न यति मात्र हो- एउटा कुरा पटकपटक हुनुको कुनै औचित्य हुन्छ/हुँदैन ? मलाई लाग्छ हुन्छ ! देवकोटालाई लाग्थ्यो – हुँदैन ! उनी आफ्नो ठाउँमा सहि छन् भने म मेरो ठाउँमा सहि हुन पाउँछु ! पालुवा पलाइरहनु र पात पहेलिरहनुबीच के-कता लुके देवकोटा ?

म आफ्नै एउटा शेर याद गर्दैछु यतिखेर,
के आवश्यक छ ? किन आवश्यक छ ?
बस्, यत्ति हो कि आवश्यकता आवश्यक छ !

अँ ठिक छ- अब मलाई मेरो यो शेरले अलि शान्त गरायो ! सायद म भड्किएँ ! सायद होइन, पक्का म भड्किएँ ! विषय या प्रसंगदेखि ! मैले के भनेँ ? – ‘सायद ?’ .. ‘सायद’ गैरजिम्मेवारीपन हो ! ‘सायद’ दायित्वच्युत हुनुको एक अवस्था हो ! र सायद, ‘सायद’ यो सब केही पनि होइन !
किन ? किनभने आवश्यकता आवश्यक छ ! गैरजिम्मेवार हुनु पनि आवश्यक हुन्छ, जसरी जिम्मेवार हुनु आवश्यक छ !

***

अब विषयमा प्रवेश गरौँ !

प्रश्न थियो – लेखेर सबथोक हुन्छ ? यो मैले म आफैलाई सोधेको हो ?
प्रश्न अर्को पनि छ- म किन लेखिरहेछु उसो भए ?
प्रश्न अझ अर्को पनि छ- मैले लेखिन भने हुन्छ के ? मानौँ, अब मैले लेखिनँ- अब भइहाल्यो के ? बस्, यत्ति होइन- मैले लेखिनँ ! सामान्य कुरा हुन्छ, र त्यो यो कि मैले लेखिनँ !

तर होइन, जसरी मसँग लेख्नुको कारण थियो ! उसैगरी यतिखेर मसँग नलेख्नुपर्ने कारण पनि छ ! र, यो पनि एक सामान्य कुरा हो !

लेख्नेहरू संकुचित हुँदैनन् ? उनीहरू के पानी भित्रको माछा हुन् त ? जो बराबर जान्दछन्, पानी कति चिसो या कति तातो छ ! पौडीबाज मात्र हुन् लेखकहरू, माछा कदापी होइनन् ! उनीहरू घण्टौं पानीमा रहन सक्लान्, तर रहिरहन सक्दैनन् ! जुन क्षण पानी बाहिर निस्कन्छन् र लेख्न बस्छन पानी भित्रको आत्म गन्थन ! के साच्चैमा त्यहि भइरहेको हुन्छ त पानी भित्र-जो उनीहरू लेखिरहेका छन् ?

जे-जति भने पनि भोलि हो त अर्कै दिन ! या अर्कै समय ! या अर्कै परिस्थिति !
‘आज यस्तै भयो ! अहिले यस्तै भयो ! भोलि केही होला !’ यो लेख्नेहरू पनि लेखक हुन् !
“आज बाँच, अहिले बाँच ! भोलि कसले देखेको छ र ?” यो लेख्ने पनि लेखक !
कत्रो विरोधाभाष  ?

को हो लेखक ?
को हो साँचो ?
को हो इमानदार ?
को हो सच्चा समाज छाम्ने व्यक्ति ?
– यी सब लेखक हुन् ! कसले भनेको ?

हाय ! यो सरुवा रोग !
हाय ! यो दिर्घ रोग !
हाय ! यो विरोधाभास !

लेखन मानव सभ्यताको सबैभन्दा ठूलो आविष्कार !- गलत !
लेखन मानव खोपडीको कुख्यात हतियार !- सरासर झुट !
लेखन मानव हृदयको पवित्र आत्मविमोचन ! – एकदम बकवास !

पुस्तक समयको दाग मेट्दछ । एउटा पुस्तक प्रमाणित गर्छ कि मानिस जादूमयी छ ।- ठीकठाकको वाहियात कथन !
पुस्तक मानव चेतनाको संग्रह ! पुस्तक मानव हृदयको स्पष्ट कोलाज ! पुस्तक मानव विचारको मेला !- सब गफ !

म एक्लो थिएँ, किताब पढेँ ! एक्लो रहिनँ ! – मिठो झुट !
म थाकेको थिएँ, किताब पढेँ ! आराम मिल्यो !- रेडीमेड शब्दहरूको थुप्रो !
म आक्रोशित थिएँ, किताब पढेँ ! चैन मिल्यो !- डमी लाइन !

ऊ अर्नेस्ट हेमिंगवेको साथ अफ्रिका पुग्यो र भोलिपल्टै ठाकुरसँग भारततर्फ निस्कियो !
उनी नेरुदासँग प्रेममा थिइन ! अर्कोदिन डि.एच. लरेन्ससँग पार्कमा टेनिस खेल्न पुगिन !
तपाईं विजय मल्लसँग एउटा अदभूत घरमा छिर्नुभयो, र त्यहीँ बन्द हुनुभयो !
म शंकर लामिछानेसँग चंखुतिती बंखुतिती पुगे-एक अजंगको राक्षस भेट्न, बल्लतल्ल त्यहाँबाट ज्यान जोगाएँ, मुक्त भएँ !

यसले के हुन्छ ? यी सबले के भइहाल्यो ?

यात्रा ? अहँ- तैँले अफ्रिकादेखि भारतसम्म आउँदा समुन्द्रको पानी छोइनस् ! माछाहरू पौडेको देखिनस् ! बस मानिस् कि- हेमिंगवेसँग समुन्द्र पुग्दा माछा देखियो ! तेरो दिमागद्वारा निर्मित एक भ्रम ! बस यत्ति !

प्रेम ? अहँ- तिमीले डि.एच. लरेन्ससँग टेनिस खेलेको साँचो होइन किनकी उनी यस संसारबाट अलप भएको निकै समयपछि तिमी यस संसारमा प्रकट भएका हौँ ! बस, तिमी मान्छौ कि उनको कविताले तिमीलाई त्यहाँ पुर्यायो ! तिम्रो कल्पनाको एक क्षितिज ! बस् यत्ति !

डर ? मुटु कमाएर, पसिना सुकाएर बेफ्वाँकमा आफूलाई दु:ख दिनुभयो, होइन ? मल्लको दिमागको उपज थियो त्यो कथा ! या उनको सोचाइ र भोगाइको मिश्रित उपहार ! तपाईंले सोच्नुभयो कि म साच्चै त्यो अद्भूत घरमा कैद भएँ ! तपाईंद्वारा आफ्नो अस्तित्वमाथि एक खेलाँची ! तपाईंको एक अल्लारेपन- बस यत्ति !

मुक्ति ? गुफामा नपस्दा पनि त मुक्त थिएँ ! पसेर निस्कने बित्तिकै फेरि कस्तो मुक्ति ? मेरो शंकरप्रतिको श्रद्दा र उनीप्रतिको प्रेमको परिमाण ! म उनी त्यो गुफामा छिर्दा आफूपनि निसास्सिएँ ! तर म ननिसास्सिन पनि सक्थेँ ! तर शंकर सक्षम भए- उनले मलाई निसास्स्याउन सके ! यो उनको सफलता ! तर मेरो कायरता ! तर मेरो अनविज्ञता ! बस्, यत्ति !

लु श्यून साहित्यलाई ‘आत्माको साहसीक यात्रा’ बताउँछन् ! बताउन् ! यो उनको कुरा हो !

‘साहित्य, जीवनलाई बेवास्ता गर्ने सबैभन्दा सामान्य तरीका हो’, यो बताउने फेरान्डो पेश्वालाई पोर्चुगल आफ्नो देशको साहित्यहस्ती मान्दछ ! मानोस्, यो उनीहरूको निजि विचार !

‘औषधि मेरो कानूनी पत्नी र साहित्य मेरो मालिक्नी; जब म एकबाट थकित हुन्छु, म अर्कोसँग रात बिताउँछु !’- एन्टोन चेखब कति क्रुर भावार्थ प्रयोग गर्दैछन् ! गरुन्- यो उनको व्यक्तिगत मामिला !

मेरो लागि यो कुरा पक्का छ कि मैले नै कारण खोज्नुपर्दछ, मेरो लागि ! कारण- बाँच्नको लागि ! कारण- बोल्नको लागि ! कारण- सुन्नको लागि ! कारण- देख्नको लागि ! कारण- सबथोकका लागि ! कारणबेगर म केही गर्न सक्दिनँ ! आवश्यकताबेगर म केही हुन् सक्दिनँ !

फेरि मलाई मेरो त्यहि शेरको सम्झना:

के आवश्यक छ ? किन आवश्यक छ ?
बस्, यत्ति हो कि आवश्यकता आवश्यक छ !

***

अँ ! राज जी,  लेख्नुस् न भन्ने तपाईंको अनुरोध थियो ! मैले तपाईंको अनुरोध स्वीकारेँ ! तर एक-दुई कुरा तपाईंसँग पनि सोधिहालुँ ?

तपाईंलाई लाग्दैन- म लेख्दिनँ ?
तपाईंलाई लाग्दैन- मैले लेखेको छाप्न लायक छैन ?
तपाईंलाई लाग्यो ? भयो ! अब यो नछापौँ ?

तपाईंलाई लाग्छ- म लेख्छु ?
तपाईंलाई लाग्छ- मैले लेखेको छाप्न लायक छ ?
तपाईंलाई लाग्छ- ठिक छ ! यो छापौँ !

तपाईंले उत्तर दिनु पर्दैन ! कारण यी प्रश्नहरू आफैमा उत्तर हुन् ! मुखुण्डो लगाएका प्रश्नझैं देखिने उत्तरहरू ! तपाईं बरू मेरा यी उत्तरहरूमाथि प्रश्न गर्न सक्नुहुन्छ !

अझ एकछिन, अझ केही कुरा छन्, म बताइहालुँ !

मलाई लाग्थ्यो- म विश्व इतिहासबारे अज्ञान छु ! कुनै पनि देशका नक्सा किन यस्तो छ ? पहिले कस्तो थियो ? कुनै पनि देश किन एउटा भाषालाई मातृभाषा मान्दछ ? मानिएको मातृभाषाको शोषणद्वारा कुन-कुन तप्का र तहका मानिसको घरबास उठेको छ ? कुनै पनि देशको नक्सा किन एक-समान छैन ? कुनै पनि देशको इतिहासमा किन एकरुपता छैन ? अझ यो प्रश्न पनि थियो मसँग कि- यति धेरै देशहरू बन्नुपर्ने/बनाइनुको कारण केके थिए ? किन सात महादेश र सात महासागर बनाइयो र तिनलाई नाम दिइयो ?  किन देशको राजधानी र सदरमुकामहरू बनाइन्छन् ? यावत कुराहरू..र यस इतरका प्रश्नहरू बारे म यतिखेर लामो कुरा/लामो व्याख्या गर्न सक्ने भएको छु ! के यत्ति हुँदैमा म रमाउनु पर्छ ? के म यस पहिले रमाउन नसक्नुको कारण यहि मेरो अनविज्ञता या अज्ञानता(पनि भन्न सकियो) थियो ?

मलाई लाग्थ्यो- धर्मबारे जान्नुपर्छ ! साम्राज्य बारे जान्नुपर्छ ! जीव विकास र वनस्पति विज्ञानमा मेरो बलियो पकड हुनुपर्छ ! नैतिकता र स्वाभिमानता बारे म जानकार रहनुपर्छ ! किन ममिजहरूको चिहानघर बन्यो पिरामिड ? किन त्यहि पिरामिडमाथि देखिरहन्छ तीन तारा ? पिरामिड विश्वको मध्ये भागमा अवस्थित छ भन्ने कुरा साँचो हो ? या पिरामिडको चुच्चोदेखी सिधा धर्को तान्दा पृथ्वीको उत्तरी धुर्वलाई भेट्न सकिन्छ भन्ने कुरा साँचो हो ?

किन बेबिलोन साम्राज्यको सानो भइकन पनि इतिहासमा लामो व्याख्या छ ? ठूला विद्रोह र आक्रोश एवं समाज सुधारका नीति र नियमहरूको सुत्रपात किन मानियो त्यसलाई ?
किन जियान चरा एक पखेटा र एक आँखाको भरमा जिन्दग्गी काट्दै छ ?
किन काटियो पानी धेरै पिउने उसको स्वभावत: बानीका कारण उँटहरूलाई अष्ट्रेलियामा ?
किन एउटा हात्ती घाँटीमा बारुद पड्कँदा समेत पानीमा ३ दिनसम्म बाँच्न कठोर परिश्रम गरिरहन्छे ? कस्तो थियो उसलाई बारुदको फलफूल खुवाउने बौद्धिक मानव मस्तिष्कधारी मनुवाको अनुहार ?
किन हजारौंको संख्यामा सुंगुरहरू मारिन्छ ? के मानवले सुंगुरको मासु खपत गर्न नसकेको क्षण संसारका सुंगुरहरूले १४० डिग्रीको बाफमा (अझ नमरे गोली खाएर) आफ्नो देह त्यागिरहनु पर्ने हो ?
किन एउटा गुलाफको थुंगा भरपुर फक्रिएर झर्न पाउँदैन ?
किन ज्याकरान्डाको डालो दरबारको दैलोमा मात्र फुल्दछ ?
रछ्यानमा हुर्किएको तुलसीदेखि विष्णु अनुयायीहरूलाई यति वितृष्णा किन छ ?

मलाई लाग्थ्यो- समाज सुधार हुनुपर्छ ! समाज गतिशील हुनुपर्छ ! समाज चेतनशील हुनुपर्छ ! सचेत रहनुपर्छ ! विवेकी हुनुपर्छ ! सदव्यवहारी/सदगुणी रहनुपर्छ ! किन लाग्थ्यो मलाई ? किन ? म किन यस्ता अनेकन कुराहरू सोचिरहने गर्दथेँ ? मलाई किन यी कुराहरू सोच्नुपर्ने/जान्नुपर्ने/बुझ्नुपर्ने र बुझेको कुरा बारबार कसैलाई भनिरहनु पर्ने (भेटेर नभए लेखेर) भयो ? म किन सक्दिनँ-म केही नजान्न/केही नबुझ्न /केही नदेख्न/ केही नसुन्न/ केही नगर्न सक्दिनँ ? मैले यो गरेँ, त्यो गरेँ ! ठिक छ गरेँ ! अब के ? गरेपछि त सकियो ! जानेपछि त सकियो ! बुझेपछि त सकियो ! देखेपछि त सकियो ! सुनेपछि त सकियो ! सुँघेपछि त सकियो ! फेरि ?

यो हुनसक्छ ! नहुनसक्छ ! यो अनिश्चतता किन छ ? यो अस्थिरता कहिलेसम्म रहने हो ? यो अन्यौलता ? यो औपचारिकता ? कति बेलासम्म ? कुन प्रहरसम्म ?

यो हुनसक्छ! नहुनसक्छ ! लेखेर आफूलाई निको बनाउन सक्छु ? तर यतिबेला त्यसो भयो ! लेख्नु अघि नजिकै रहेको चक्कु देख्दा घाँटी सम्झिएको मैले यतिखेर नजिकै रहेको आँपलाई सम्झिरहेछु र त्यो अमिलो भएपनि खाइहालुँ लागेको मेरो अन्तरप्यासलाई सम्झिरहेछु ! भनेपछि ठिक छ, यस अघिझैं आजपनि लेखेर म आफूलाई ठिक ठाउँमा ठिक स्थितिमा र ठिक्कको मनोदेशमा उभ्याउन सकेँ ! के यतिबेला म सोध्न सक्छु, आफैलाई- यदि मैले यति लेख्न पाउदिनँ/या लेख्ने माहोल भेट्दिन थिएँ भने म यतिखेर के गरिरहेको हुन्थेँ ? तर यो प्रश्न यतिबेला निरर्थक भएको छ ! कारण- यतिबेला मैले लेखिसकेको छु र यसलाई टुंगाउन हतार गरिरहेको छु ! कारण ? म त्यो आँप खान चाहन्छु ! र त्यसपछि एक बटुको दही पनि ! र, सायद त्यसपछि म दुखेको घाँटी सुम्सुम्याउँदै ओछ्यानमा लड्ने छु !

शुभ समय ! अँ अब ठिक छ ! अब ठिक छु म ! बस्, यति हो चाहिएको ! बस्, यसकारण हो मैले लेख्ने ! बस्, यसकारण हो, मलाई लेख्न मन लागिरहने ! बस्, यत्ति हो !..यत्ति !

***

राज जी,
मानौँ ! सिङ्गो ब्रह्माण्ड उत्तर हो, त्यसो भए प्रश्न के हो ?
माथि प्रश्न गरेको थिएँ- ‘लेखेर सबथोक हुनसक्छ ?’ मलाई यो प्रश्न ब्रह्माण्ड लागिरहेछ !
अस्तु !

Facebook Comments

You may also like

error: Content is protected !!