कामूको कोरोना

अल्बेयर कामू ( Albert Camus ) साहित्य पठन/लेखन र विचार-दर्शनमा रुचि राख्नेहरुका लागि चिर-परिचित नाम हो । सन् १९१३ मा फ्रान्सको (तत्कालीन) उपनिवेश अल्जेरियामा जन्मिएका कामू दार्शनिक साहित्यलेखनका लागि विश्वप्रख्यात छन् । उनले जीवन र जगतको सधैँ विरोध गरिरहे, संसारलाई सारहिन भनिरहे तर बाचुन्जेल संसारमा बसेर अर्थपूर्ण कामहरु भने गरी नै रहे ।

कथा, उपन्यास, निबन्ध, नाटक र गैर-आख्यानमा पनि उत्तिकै कलम चलाएका उनी विशेषगरी आफूलाई विसंगतवादी भन्न रुचाउँथे भलै उनका कृतिहरुमा अस्तित्ववादको सुगन्धपनि चर्कै महसुस गर्न सकिन्छ । राजनैतिक मतान्तरका कारण जाँ पाल सार्त्रसँग मित्रतामा खटपट आएतापनि, कामूको नाम यी अस्तित्ववादी दार्शनिकसँग जोडिएरै आउने गर्छ । जीवनको पूर्वार्धमा सार्त्रसँग मिलेर उनले अस्तित्ववादी दर्शनको प्रवर्द्वन समेत गरेका हुन् । त्यसैकारण, कतिले उनलाई विसंगतवादी र कतिले भने अस्तित्ववादी भनेर पनि चिन्ने गरेका छन् ।

कम उमेरमा प्रथम विश्व युद्धमै बाबु गुमाएका कामू अनीश्वरवादी थिए र उनको त्यही अनीश्वरवादले द स्ट्रेन्जर उपन्यासमा चित्रित ‘मर्सोल्ट’ जस्ता पात्र जन्माए र साहित्यको संसारमा विसंगतवादको बीज छर्ने काम गरे । त्यस्तै उनको ख्यातिप्राप्त निबन्ध मिथ अफ सिसिफसले पनि एउटा अनीश्वरवादी पात्रले संघर्षको नाममा पाएको निस्सार पीडामार्फत विसंगतवादको चर्चा गर्दछ ।

The stranger & The myth of Sisyphus by ALBERT CAMUS

The stranger & The myth of Sisyphus by ALBERT CAMUS

त्यस्तै, एक रोमन राजाकाे इतिहासमाथि आधारित उनको विश्वप्रसिद्ध नाटक क्यालिगुलाले समेत ईश्वरप्रति अनास्था राख्ने पात्र र उनकी प्रेमिकाको मृत्युपश्चात देखिएको उसको विसंगत मनस्थितीका कारण सिङ्गो राज्यमा नै पर्न गएको विसंगतिपूर्ण असरको विस्तृत चित्रण गर्दछ । र यी ३ कृतिलाई कामू स्वयंले विसंगतका चक्र (Cycle of the Absurd) नाम दिएका छन् ।

CALIGULA by Albert Camus

CALIGULA by Albert Camus

तर आज, यस बसाइँमा हामी, कामूको विसंगतवादलाई केलाउने छैनौँ । न त केलाउने छौँ, उनले नकार्दा नकार्दैपनि उनका कृतिमा महकाउन आइपुग्ने अस्तित्ववादको सुवासलाई नै । न त उनको व्यक्तिगत जिन्दगीभित्र हामी चिहाउने नै छौँ । आज हामी चर्चा गर्नेछौँ महामारीका विषयमा । कोरोनाको विषयमा, जसलाई अल्बेयर कामूले २०औं शताब्दीमै लेखिसकेका थिए ।

हो, जसरी ‘पारिजात’ले निर्मला हत्याकाण्डलाई ‘परिभाषित आँखाहरु’मा आजभन्दा ३ दशक अघि नै लेखेकी थिइन् त्यसरी नै कामूले पनि २०औं शताब्दी (सन् १९४७)मा लेखेको कोरोनाको नाम हो ‘द प्लेग’ । कामूको प्लेग, हाल कोरोनाझैं विश्वभरी फैलिएको त थिएन तर यस्तै महामारी अल्जेरियाको ओरानभरी फैलिएको थियो । र उसैगरी मरेका थिए मानिसहरु जसरी मरिरहेका छन् लाखौं लाख यतिबेला कोरोनाको प्रकोपमा परेर ।

खैर, सन्तानको मृत्यु जसैगरी, जे कारणबस भएतापनि एउटी आमाका लागि उस्तै र उत्तिकै पीडादायी हुने भएजस्तै प्लेग होस् वा कोरोना, गौणदृष्टीले हेर्ने हो भने तिनले फैलाएको महामारीको स्थितीले एउटा यस्तो मिलनविन्दू भेट्टाएको छ जहाँ मृत्युको भय, वियोगको शोक र मानवतामाथिको प्रश्न समुन्द्रको पानीझैं देखिएका छन् जसमा हेरेर छुट्याउन सकिँदैन कि पानीको कुन बुँद प्लेगजन्य हो ? वा कुन बुँद कोरोनाव्याप्त ? महामारी, महामारी नै हो । मृत्यु, मृत्यु नै र मानवता, मानवता नै हो !

‘आगो ताप्नु मुढाको र कुरो सुन्नु बूढाको’ भन्ने त चलनै छ । धेरै कुराहरु हामीले कपाल फुलिसकेको बूढो समय अर्थात् इतिहासलाई पल्टाएर पनि त सिक्न सक्छौँ । भवितव्य हो, मान्नुपर्छ । तर कमसेकम के ‘गर्नु’ जरुरी र के ‘नगर्नु’ आवश्यक भन्ने कुरा त हामी इतिहासमा लेखाजोखा गरिएको गल्तीबाट पनि त सिक्न सक्छौँ । र त्यसमा पनि साहित्यको इतिहासले त हामीलाई खतराको खबरदारी नै गरिरहेको हुन्छ, तर पनि हामी चुकिरहन्छौँ यिनको इशारा बुझ्नलाई र भोगिरहन्छौँ एउटै पीडा र भागिरहन्छौँ बारबार कहीँपनि पुग्न नसक्ने भगाइ, एउटै समस्याको जाँतोमा पिसिन ‘सिसिफस’जस्तै ।

के समानता छ कामूको प्लेग र आजको कोरोनाबिच ?

आजको अध्ययनले देखाए अनुसार यो कोभिड-१९ नामक कोरोना भाइरस चमेराबाट मानिसहरुमा फैलिएको हो । र कामूको प्लेगले, हिजो मुसाबाट मानिसमा फैलिएर महामारीको रुप लिएको थियो । चमेरा होस् या मुसा, कोरोना होस् या प्लेग मानिसमा हानिकारक भाइरसको सङ्क्रमण जनावरबाटै फैलिएको कुरा मिल्दोजुल्दो छ ।

जसरी आज कोरोनाका कारण लकडाउन भइरहेको छ संसारका विभिन्न देशहरुमा, त्यसैगरी कामूको द प्लेगभित्रपनि सङ्क्रमित शहर ओरानमा लकडाउन भएको पाउन सकिन्छ । र लकडाउनका कारण मानिसहरु जसरी हाल विचलित भइरहेका छन्, ओरानमा पनि उस्तै विचलित देखिन्छन् मानिस, शहर बन्द हुँदा र कति त क्वारेन्टाइनबाट भाग्छन् पनि ।

अर्को समानान्तर पक्ष के छ भने, त्यहाँ पनि महामारीको सुरुवातमा सर्व-साधारण र चिकित्सकहरु समेत उति गम्भिर भएका देखिँदैनन् । जबसम्म मृत्यु हुनेको सङ्ख्या अपत्यारिलो पुग्दैन मानिसहरु मृतकको सङ्ख्या गन्नमा मजा लिइरहेका थिए । जस्तो अहिले(कोरोना-कालमा)पनि कम प्रभावित देशहरुतिर भइरहेकै छ ।

उपन्यास द प्लेगभित्रपनि कति पात्रहरु यस्ता देखिन्छन् जसलाई सुरुवातमा लाग्दै लाग्दैन कि आफू पनि मरिएला । हुनपनि, जबसम्म आफैलाई पर्दैन, तबसम्म कसैले अन्दाज गर्न सक्दैन कि अरुमा के बितिरहेको छ । जबसम्म आफ्नै आफन्त वा प्रियजनको मृत्यु हुँदैन मानिसहरु यही सोचेर खुशी हुन्छन् कि, “मर्ने त अरुहरु हुन्, हामी त मर्नेहरुमा पर्दैनौँ ।”

उपन्यासमा एउटा पात्रले भन्छ, “यो प्लेग हुनै सक्दैन । सबैलाई थाहा छ, प्लेग एकपटक पश्चिमबाट निर्मूल भइसकेको हो ।” र व्यङ्ग्यपूर्ण प्रतिउत्तरमा अर्कोले भन्छ, “हो, सबैलाई थाहा थियो, मर्नेहरुलाई बाहेक !”

अर्को कुरा, जब ओरानमा मृतकको सङ्ख्या अपत्यारिलो किसिमले बढ्न थाल्यो तबमात्र मानिसहरुलाई आफूपनि मरिएला कि भन्ने भयले छोप्यो । र लकडाउन र आइसोलेसनको नियम भंग गर्दै गिर्जाघरमा प्रार्थनाकालागि उल्टै हजारौंको सङ्ख्यामा मानिसहरु एकै ठाउँ भेला भए जसले महामारीलाई घट्नको सट्टा अझ फैलनमा मद्दत गर्यो । र उस्तै इतिहास (गल्ती) दोहोरिरहेको कुरा त आजपनि कोरोनाको महामारीबिच सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘मरिजा काण्ड’ले पनि साबित गरिरहेकै छ ।

अब, काण्डकै कुरा उप्किसकेपछि ‘तातोपानी काण्ड’लाई पनि थोरै स्पर्श गरिहालौँ । थाहाछैन, यी सम्भ्रान्त वर्गका मानिसहरुको गिदीको आधारभूत संरचना, आम मानिसको भन्दा कसरी भिन्न हुन्छ या यिनीहरु सम्भ्रान्त देखिन कै लागि मात्रै आफू यसरी (So-called Cool पारामा) सोचेको भ्रान्ति छर्दा हुन् ?

कामूको ‘द प्लेग’ भित्रपनि सम्भ्रान्त वर्गको एउटा पात्र छ, सङ्क्रमित शहर ओरानको शहर-प्रमुख (The Prefect) जसले ‘महामारी रोग खतरनाक भाइरल सङ्क्रमणका कारण फैलिरहेको छ, यसले कल्पना गर्न नसकिनेगरी ठूलो रुप लिन सक्छ र यसलाई प्लेग भनिन्छ’ भनेर पत्ता लागिसक्दा पनि, महामारीलाई सामान्य रुपले हेर्ने दुस्कृत्य गरिरहन्छ र रोगलाई प्लेग भन्न नरुचाई “विशेष प्रकारको ज्वरो” भनी सम्बोधन गरिरहन्छ । उता शहर-प्रमुखले ‘विशेष किसिमको ज्वरो’ भन्नु र यता राष्ट्र-प्रमुखले ‘तातोपानीले हात-मुख धोए पुग्ने रुघाको विशेष प्रकार’ भन्नुलाई एउटा कटु-संयोग मान्न सकिन्छ ।

खैर, कोरोनाअघि उनीहरुले एकपटक मात्रपनि कामूको “द प्लेग” पढेका हुन्थे भने आज यस्ता काण्ड(गल्ती)हरु नदोहोरिन सक्थे ।

निस्सारवादी कामूको ‘द प्लेग’को सार के त ?

जब लामो महामारीपश्चात ओरान शहर सङ्क्रमणको खतराबाट मुक्त हुन्छ र ओरानबासी प्लेगलाई जितेको खुशीमा विजयोत्सव मनाउँछन् तब न्यारेटरमार्फत अल्बेयर कामू भन्छन् “यो वास्तविक विजय हुँदै होइन । प्लेग कहिल्यै पनि मर्दैन । यो त पर्खिरहन्छ धैर्यतापूर्वक, विस्तारा, भुइँकोठा, कमिज, रुमाल र पुराना पत्रिकाहरुमा र एकदिन पुनः फर्कन्छ कुनै राम्रैसँग भरिपूर्ण शहरमा आक्रमण गर्न ।”

१७औं शताब्दीमा फैलिएर ५ करोड यूरोपेलीहरुलाई मारेको प्लेग जसलाई ब्ल्याक डेथ भनेर चिनिन्छ, कामूले त्यही प्लेगको अध्ययन गरेर यो खबरदारीको कलम चलाएका हुन् । उनले यो उपन्यासमार्फत मानिसको स्वार्थी स्वभाव, अह्म, अल्पज्ञान र मानविय संवेदनाको मृत्यु र आपतको घडीमा तिनले स्थितीलाई अझ विकराल तुल्याउन सक्ने तितो यथार्थको सजीव चित्रण गरेर मानवता र मानविय एकताको महत्ता औंल्याएका छन् । र साथै, महामारी फेरि आउन सक्ने र आउँदा गल्तीका इतिहासहरु भने नोदोहोरिउन् भन्नेमा जोड दिएका छन् ।

हो, पक्कैपनि !
जुन महामारी हिजोको संसारले भोगेको थियो, रुप परिवर्तन मात्र भएको छ तर आजपनि उस्तै महामारी हामी भोगिरहेका छौँ, पटकपटक । कामूले भनेझैं यी महामारीका भाइरस निर्मूल भएको बहाना गरी फेरिपनि कतै लुकेर बस्ने छन्, पुरानो खाटमा उडुस लुकेझैं र पुनः हामी मस्त निद्रामा मिठो सपना देखिरहेका बेला निस्किने छन् प्रकोप लिएर । यसको गमनको सिलसिला रोक्न त सकिएला नसकिएला तर हामी मान्छेहरुले साच्चै मान्छे भएर सोच्ने हो भने हरेकपटक यसको सङ्क्रमणको कालमा दोहोरिरहने गल्तीको सिलसिला भने पक्कै रोक्न सकिनेछ ।

कामूको यो खबरदारीको कलम फ्रेन्चबाट (प्रकाशित भएकै वर्ष ९ भाषामा) अङ्ग्रेजी, हिन्दी लगायत विभिन्न भाषामा अनुदित भइसकेको छ । आशा छ, यसको नेपाली अनुवादपनि छिटै पढ्न पाइनेछ र सबै नेपाली (कथित आम एवं सम्भ्रान्तहरु पनि) अनिश्चित भविष्यमा आइपर्ने यस्तै भवितव्यका लागि खबरदार रहनेछन् कम्तिमा आपतकालिन परिस्थितीमा वर्ग, वर्ण, देश, भेष, जात, धर्मभन्दा माथि उक्लिएर असलमा मान्छे हुनेछन् र एकजुट भई पुराना गल्ती नदोहेर्याई स्थितीको सामना गर्नेछन् ।

The plague by Albert Camus

The plague by Albert Camus

Facebook Comments

You may also like

error: Content is protected !!