बुख्याचा म्यान

बुख्याचा सिम्प्ली, यु मीन क्रो स्केयर्ड,

हरेक वर्ष म बुख्याचा बन्नु पर्थ्यो। यो कथा सजिब भै जन्मेको, निर्जीवझैं बाचेको अजीव मनुवाको कथा हो। कथा भनौँ वा संस्मरण तपाईं जे बुझ्नुस्। आज म ५५ के.जि को ज्यान, २०६ हड्डि , केही लिटर रगत बाहेक एउटा अजीव जीवन जुन म बाँचे, एउटा सुन्दर समयको स्मरण गराउने अनुमति चाहन्छु।

यो कथा न्यारेट गरिरहँदा म झण्डै १०० रोपनी क्षेत्रफल जग्गामा फैलिएको मकैबारीको डिलमा छु। जेठको अन्तिम साता मकैहरुले धानचामल हालिसकेका छन्। पुड्के र जुनेली मकैले घोगा हालिसके, अनि तिनको टुप्पोमा जुँगा पलाइसक्यो।  अनि आजबाट नै मैले आफ्नो काम सुरु गर्नुपर्ने हुन्छ। म बुख्याचा बन्नुपर्छ अर यु मीन मङ्कि स्केयर्ड।

आज बिहानै मात्र मैले धुलौटे लागेको काठको आल्मारी खोलेर सबै सामान जुटाएँ। जस्ट लाइक पेन्डोराज बक्स्। १५ वर्ष अघि बा’ ले ती सामान जुटाइदिनु भएको थियो। ती सबै हजुरबा’का पेवा थिए। सायद बा’ले पनि मैलेझैं कैयौं वर्ष बुख्याचा बन्नुपरेको थियो। हजुरबा आसाममा लाहुरे हुँदाको कम्ब्याट कोट मैलोले त्यसमा अरु टाटा थपिएका थिए, पुरानो सादा खद्दरको पाइन्ट, घुडासम्म आउने पानीजुत्ता ती सबै मैले जतन गरी राखेको थिएँ। ती सबै बुख्याचाका लागि आवरण थिए। १४ वर्षको हुँदासम्म मैले टाउकोमा मकै भुट्ने खोतिया (हाडी) लगाउनु पर्थ्यो।  त्यसो गरेन भने बाँदर ( हाम्रो तिर लाखु भन्ने चलन छ) डराउँदैन्थ्यो। बा’को हुकुम शिरोपर गर्नै पर्थ्यो। १४ वर्ष यता बा’ले बनेको चोयाको ह्याट लगाएर बस्ने गरेको छु।

म ९ वर्षको हुँदा बा’ले बेंसीमा गोठ बनाउनु भयो। परिवार भनेकै बा र म थियौँ। हाम्रो गोठ एकान्तमा थियो। घरमाथि चिलिम डाँडाको वन, घर अगाडि पुरै खेत थियो। आधा घण्टामुनि नेवारको फाँट अल्लि पर कार्कीको टहरो थियो। धेरै टाढा केही मगरका घर थिए। बा’ले बाख्रा चराउनु हुन्थ्यो अनि गोठ वरिपरि चैतमा मकै र साउनमा धान रोपाइँ हुन्थ्यो। जेठको अन्तिमसम्म सबै कुरा बा’को अधिनमा हुन्थ्यो तर जब मकैले घोगा हाल्ने समयमा लाखुले आतंक मच्चाउँथे अनि मेरो पालो आउँथ्यो बुख्याचा बन्नुपर्ने। जेठ  १५ देखि लगभग असारको महिना प्राय हरेक वर्ष  विद्यालय बर्खे बिदा हुने गर्थ्यो। अनि मेरो काम सुरु हुन्थ्यो। 

पहिलो पटक बुख्याचा बन्दा म ५ कक्षामा पढ्थेँ। गोठ सरेपछि मैले आधा घण्टा जङ्गलको बाटो हुँदै लगातार अर्को आधा घण्टा फाँटमा हिँडेपछि बल्ल स्कुल पुगिन्थ्यो। तर बर्खे बिदाका ४५ दिन म बुख्याचा बनेर खेतको डिलमा तैनाथ हुनुपर्थ्यो। स्कुलसँग मेरो अगाध प्रेम थियो। त्यसमाथि झन पुस्तक भनेपछि म हुरुक्कै। असली कथा अब सुरु हुन्छ।

जेठका चिसा दिनहरु बिहानैदेखि तुवाँलोले खर्लप्प ढाकेको हुन्थ्यो साबुनको फिँजझैं कोमल सेता बादलहरु ओल्लो डाँडा र पल्लो डाँडा नाच्थे। सिमसिम पानी र आकाश गड्गडाइ राख्थ्यो। गोठबाट मकैबारी र फाँटबाट बग्ने सिस्ने खोला बाहेक केही देखिँदैन्थ्यो। पानी पर्दा ओत लाग्न बा’ले स्याखुको छानो हालेर छाप्रो बनाइदिनुहुन्थ्यो। अनि पानी पर्दा छाप्रोमा नत्र बुख्याचाको कपडा लाएर दिनभर खेतको सबै छेउ चक्कर मार्नु पर्थ्यो।

मसँग त्यतिबेला कोही साथी हुँदैनथे । त्यसैले, मैले जिन्दगीकै सुन्दर साथीहरु भेटेँ। हरेक दिन तिनीहरु मसँग मिठामिठा गफ गर्थे जतिबेलै वरिपरि हुन्थे।ती सबै अहिलेसम्म पनि मेरो मस्तिष्कमा नाचिरहेका छन्। नोस्टाल्जियाका पुराना बाकसमा भएका केही साथीहरू सम्झिन चाहन्छु झर्को नमान्नुहोला।

बुख्याचाकालको मेरो सबैभन्दा पहिलो साथी थियो प्याखोभ। तपाईंहरुले पक्कै पनि चिन्नुभयो होला बुढा टाल्स्टायको पात्र। अझै चिन्नु भएन जमिनको लागि दिनभर दौडँदा रगत छादेर लड्ने लोभी बूढो। ७ कक्षाको नेपाली किताबमा मैले प्रिय बुढोलाई फेला पारेँ। मलाई ऊ अति मन पर्यो। कहिलेकाहीँ  त ऊ मलाई आफ्नै बाउजस्तो पो लाग्न थाल्यो गाँठे। मेरा बा’को र उसको दौडधुप उस्तै उस्तै हुन्थ्यो। त्यसपछि अङ्ग्रेजी किताबमा झन् मेरै उमेरका दुई साथी भेटिए। तिनैले मलाई अनेकौं किताब पढ्न हौसाए । जसको कारणले मैले मेरो जीवनका हजारौं घण्टा बुख्याचा बनेरै किताबमै घोत्लिएर बिताइदिएँ।

एकपटक यो सबै बिर्सेर कल्पना गर्नुस् त मकैबारीको डिलमा एउटा बुख्याचा किताब पढ्दै छ व्हाट ननसेन्स बाँदर छाडेर किताब ? बाल्यकालका ती मेरा साथी रामे, श्यामे वा फलाना तिलाना थिएनन्। त्यतिबेला ती कसका पात्र थिए मलाई मतलब थिएन। अहिले पो बुझ्छु जड्याहा बाउसँग नदी किनारमा आइसोलेट जीवन बाँच्ने त्यो काले केटो मिस्टर हक उर्फ हक्लुबेरी फिन रै’छ । उसको र मेरो दिनचर्या एउटै लाग्न थाल्यो । त्यसैले ऊ मेरो प्यारे भयो। मार्क ट्वेन बुढालाई मेरो सलाम मलाई मेरो दोस्त ल्याइदिएकोमा। अनि अर्को केटो नि। बिचरा त्यो नोकर केटो निकै हन्डर खाएको। त्यसको बेचैनीले मेरो मन नै पगाल्यो। त्यो केटोको नाम ओलिभर टुइस्ट थियो। धेरैपछि मलाई थाहा भयो त्यो सब दुःख दिने त चार्ल्स डिकेन्स भन्ने बुढो रै’छ खैर तिमीलाई पनि  छड्के सलाम!  त्यसपछि साथीहरुको ओइरो पहिरो सबै चल्न थाल्यो। मान्छे बनेर भन्दा बुख्याचा बनेर संसार सुन्दर लाग्न थाल्यो।

क्रमशः जीवनमा केही कपोकल्पित चरित्रहरु जोडिन आइपुगे । तिनले मलाई संसारकै खुसी दिए हुँदाहुँदै भ्यागुतो शुद्ध मेरो बेस्टफ्रेण्ड बन्यो आइ मीन भक्तप्रसाद भ्यागुतो। पढ्नु भा’छ कनकमणी दीक्षितको भ्यागुतो लाई? भयो टाउको नदुखाउनुहोस् ।हरेक वर्ष  दुई गुणा चार गुणा हुँदै भयंकर पढेँ मैले । त्यसबेला मैले पढ्ने सरकारी स्कुलमा रुम टु रिड परियोजना अन्तर्गत राम्रो लाइब्रेरी बनेको थियो, त्यसपछि म चोर बनेँ, चोर्दै किताब पढ्न थालेँ । यो नसोच्नु थुइक्क साले चोरको कथा के पढ्नु ? याद गर्नुस् चोरेर पढेको पाप लाग्दैन। चोरेरै पढे मैले निला डल्फिनहरुका टापु, रुसि महावीरहरुको कथा, पञ्चतन्त्रका कथाहरु, सेतो बाघ, मुनामदन, शेक्सपियरका नाटकहरु आदि आदि। म त फसिसकेछु किताबको दुर्व्यसनीमा । त्यसपछि फेरि मलाई कहिल्यै मान्छे बन्न मन लागेन बुख्याचा बनेरै म पुरै जिन्दगी बिताउन सक्छुझैं लाग्यो। लाग्यो बर्खा कहिल्यै नसकियोस्, मकैले कहिल्यै घोगा नहालुन् मकैको खेती कहिल्यै नसकियोस।  यसरी नै करिब ५/७ वर्ष त बिते होलान्।

नअत्तिनुस यस्तो झुरपट्यास पनि कथा  हुन्छ। क्लाइमेक्स खै त? बुख्याचाकालको एक वर्ष मेरो जीवनमा अजीव बनेर आइदियो । क्लाइमेक्स नै भन्दिउँ है त ?

त्यस्तै ०५९ साल होला म ९ कक्षामा पुगेथेँ । देशमा जनयुद्धको ठूलो लहर चल्दै रै’छ। बिस्तारै हाम्रो गोठतिर पनि चहलपहल बढ्न थाल्यो। हप्ता दश दिनमा हाम्रोमा बाख्रा लिन मान्छेहरु आउन थाले, उनीहरु बासँग लामो कुराकानी गरेर फर्किन्थे। कहिलेकाहीँ दुई तिनजना बस्ने गरी आउँथे हाम्रोमै खाना खान्थे। बासँग उनीहरु रातभर गफिन्न्थे। फेरि बर्खा लाग्दै थियो त्यो वर्षपनि। बैशाखमै स्कुल सुरु भयो। पहिलो दिन पढाइ नहुने  हुँदा सबै घर गए, हेडसर अघि नै निस्किए । त्यही मौकामा मैले पालेदाइलाई बा’को नयाँ ढाकाटोपी दिएर सुटुक्क लाइब्रेरी छिरेँ । हतार हतार लाइब्रेरीमा भएको टेबलबाट तीनवटा किताब उठाएर तुफान भागेँ। खुसी भएँ, यति भए अहिलेको बर्खा बुख्याचा बन्न कुनै समस्या छैन।

बेलुका बा घर फर्किनु भयो ।  लौ अचम्म ! बा’का हातमा पनि किताब जस्तो देखिने झोला थियो। म मनमनै खुसी भएँ । मैले आफूले लगेका किताबहरु खुसुक्क बुख्याचाका कपडा भएको आल्मारीमा लुकाएँ , खेतमा बल्ल मकैका टुसा उम्रेका थिए। केहीदिन यता  बा घरमै बसेका हुन्थे । म स्कुलबाट फर्कँदा बा हातमा किताब जस्तो वस्तुमा एकोहोरो टोलाएका हुन्थे। बा खासै बोल्न छाडे। मैले आल्मारी खोलेर किताब हेरेँ तर त्यहाँबाट एउटा किताब  गायब थियो। मलाई अनुमान लगाउन गाह्रो भएन, बा’ले मैले नै चोरेर ल्याएको किताब पढ्दै थिएँ । म आफैलाई थाहा थिएन त्यो कुन किताब थियो।

दिनहरु बित्दै गए। एकदिन बा’ले मलाई बोलाउनु  भयो। उहाँको हातमा मोटो किताब थियो। “कहाँबाट ल्याइस् यो किताब  ? कसैले उस्काएर दिए कि आफै ल्याइस् ।” मलाई अल्लि डर लाग्यो, चोरेर ल्याएको भन्नुपनि भएन, ढाकाटोपीसँग साटेक भन्नु पनि भएन बडो फसाद पर्यो। म केही बोलिनँ। “पढेर सकिस् कि नाइँ ?” बा’ले फेरि सोध्नुभयो । “नाइँ “ मैले टाउको हल्लाएँ। 

ठिकै गरिस् । तेरो यस्तो किताब पढ्ने बेला भा’छैन बुझिस्, ठूलो भएपछि पढेस् । तर किताब बहुत अच्छा छ।” बा ले भन्नुभयो। “अनि अरु पनि हो कि यत्ति ल्याछस् ?” “अरु दुईटा छ।” मैले आल्मारीबाट किताब झिकेर बा’लाई दिएँ । त्यो दिनदेखि बा’मा अचम्मको परिवर्तन आयो। गम्भीर हुन थाल्नुभयो। बेलुका घरमा अनौठो भेला हुन थाल्यो। अनेक मान्छेहरु आउन थाले। बा’ले बारम्बार मैले ल्याएका किताबहरु देखाउँदै के के कुरा गर्नुहुन्थ्यो । 

एक बिहान अचम्म भयो। मेरो बर्खे बिदा सुरु भइसकेको थियो। बा’ले मलाई  निकै मायाले बोलाउनु भयो। बा’ले भन्नुभयोहेर केटा अब तँपनि बुझ्ने भइछस् । धेरै पढ्नु पर्छ। अब सधैँ यसरी गोठालो भएर हुँदैन। तैँले ल्याएका किताबले मेरो जीवन बदलिदियो । हामी त अहिलेसम्म जीवन बाँचेकै रै’नछौँ। हामीलाई त क्रान्ति आवश्यक रै’छ। परिवर्तन आवश्यक रै’छ। अब म यो सबै तेरो जिम्मा लगाएर क्रान्तिको लागि जान्छु। यो लगाएको मकैसम्म जोगाएस् । यो पाली धान नरोप्ने। तँ राम्रोसँग पढेस्। ठूलो मान्छे बन्नुपर्छ । सायद म आजभोलि मै निस्किन्छु। हाम्रो सेल्टर यहीँ वरिपरि चिलिम डाँडा र नेपानेमा हुन्छ। म तँलाई भेट्न आइराख्छु बुझिस्, छोरो मुन्छे भएपछि हिक्मतिलो हुनुपर्छ लाटा !”

भोलिपल्ट बिहान सबेरै म बुख्याचाका कपडा बोकेर मकैबारीतिर निस्किन लागेको थिँए। बा’सहित केही मान्छेहरु आँगनमा बसेका थिए। छिर्केमिर्के कपडा लगाएर उभिएका थिए। एउटाको हातमा राइफल थियो। बा तम्तयार हुनुहुन्थ्यो । बा’को हिँड्ने छनक देखियो। म केही बोलिनँ। जानेबेला बा’ले बोलाउनु भयो। झोलाबाट तिनवटै किताब झिकेर एउटा मात्र दिनुभयो। “ला यो तँलाई । अरु पछि पढ्लास् । हेर्छस् , ला हेर मात्रै नि।” मैले बल्ल आफूले लाइब्रेरीबाट चोरेका किताब ध्यान दिएर हेरेँ । कम्युनिस्ट मेनिफेस्टो– कार्ल मार्क्स र एंगेल्स, छापामार युद्धकला- चे ग्वेभारा अनि बा’ले मलाई दिएको किताब थियो आमाम्याक्सिम गोर्की । 

त्यसदिनपछि म गोठमा एक्लै भएँ। दिनभर बुख्याचा बनेर किताबमा घोत्लिन्थेँ। त्यो वर्ष कतै लाखु (बाँदर) देखिएनन् । सायद जङ्गलमा मान्छेको बिगबिगी बढेको थियो। यत्तिकैमा असारको अन्तिम आयो। मकै पनि पाक्न थाले। बिचमा बा एकपटक आउनुभयो आफ्ना छुटेका सबै सामान लिएर जानुभयो । जानेबेला कपडाको पोको दिँदै भन्नु भोबिचमा कतै टाढा जानुपर्छ होला मार्चपासमा। पचास हजार छ। मिलाएर मास्। अरु केही चिन्ता न ले बस् पढ् !” त्यो दिन बा हिँडिहाल्नु भो। 

एकसाता बित्यो। एकदिन म बारीको डिलमा बसेर बुख्याचा बन्दै थिएँ, नेवारको फाँटबाट लस्करै एक फौज माथि उक्लिँदै थियो। मैले चिनिहालेँ, तिनीहरु आर्मी थिए। म लुसुक्क कुनामा टाँसिएं हातमा बा’ले छाडेको ‘आमा’ किताब थियो। त्यसलाई  बिस्तारै नदेखिने गरी पिडौलामा घुसारेँ। केहीछिनमा तिनीहरु चिलिम डाँडातिर उक्लिए। मलाई झलक्क बा’को याद आयो। बेलुका भयो म निकै डराएँ। मध्यराततिर फाइरिङ सुरु भयो। ड्याम् ड्याम् ड्याम् ड्याम्…… आधा रातमै म बेहोस भएर ढलेँ। 

भोलिपल्ट बिहानै मेरा आँखा खुले। रातीको आवाजले मेरो मुटु अझै चिसो थियो। खाना बनाइवरी खाएर बारीतिर निस्किन मात्र के आँटेको थिएँ अचानक फाइरिङ सुरु भयो। मैले झटपट आल्मारी खोलेँ, त्यो रित्तो थियो। म झसङ्ग भएँ । खै त बुख्याचाका सामान ? म बारीतिर दौडिएँ बारीमा पहिल्यै बुख्याचा खडा थियो। मेरो सातो गयो। फाइरिङको आवाज झन् झन् नजिक आउन थाल्यो। म  असमन्जसमा परेँ के गरुँ गरुँ ? सोच्न पाउँदा नपाउँदै मेरो कान चर्कियो । ड्याम्मै बुख्याचाको बिच छातिमा गोली बज्र्यो । छातिबाट एक भुल्को रगत उड्यो। अनि बुख्याचा गर्लम्मै ढल्यो। फाँटका एक हुल बकुल्ला एकैपटक उडे। म कान थुनेर त्यही पछारिएँ । थाहाछैन म कतिबेला ब्युँतिएँ । चारैतिर बारुदको गन्ध सिबाय केही थिएन ।

भुइँमा ढलेको बुख्याचा मुर्तिवत थियो। मैले बिस्तारै घोप्टे परेको त्यसलाई पल्टाएँ । अनुहारभरि रगत पोतिएको बा’का आँखा घामतिर पल्टिएका थिए ।

पहिलो पटक सबै खुसी दिने किताबको कारणले सबै गुमेजस्तो लाग्यो। बा’ले वीरगति प्राप्त गर्नु भयो। सायद त्यसदिन मैले लाइब्रेरीबाट ती किताब नचोरेको भए बा अहिले फाँटमा बाख्राको पछिपछि हुन्थे होलान् । बा’को ठूलो रहर थियो म पढेर ठूलो मान्छे बनेको हेर्ने। त्यसैले मैले स्कुल छाडिदिएँ । गणितका सूत्रहरुले मलाई कहिल्यै जीवन सिकाएनन्, न विज्ञानका सिद्धान्तले खुसी दिए । मान्छेभन्दा त बुख्याचामै बरु जीवन पाएँ । अनेक पात्र र चरित्र पाएँ । तिनीहरु सबै मेरा जीवनभरका असल साथी बने ।  किताब मेरो संसार बन्यो।

अनि मैले जीवनभर आफ्नो कथा सबैलाई सुनाएँ, आज तपाईं  मेसोमा पर्नुभयो । मैले बा’को सपना पूरा गरेँ । ठूलो मान्छे बनेँ, खुसी मान्छे बनेँ, जीवन्पर्यन्त म, बुख्याचा म्यान बनेँ।

Facebook Comments

You may also like

error: Content is protected !!