बुधौउवा

यो कथा हो । नहुन सक्छ । तर, लेख्न खोजेको चाहिँ कथा नै हो । कथा सुरु हुनुभन्दा अघि कथाकार  (?)  एउटा जानकारी के दिन चाहन्छ भने, यी कथाका पात्रहरूको संवादमा पात्रहरूको कुरा सायद पचास प्रतिशत जति होला बाँकी पचास प्रतिशत आफ्नै कुरा भिडाउने रोगबाट कथाकार मुक्त हुन सकेको छैन ।

दृश्य एक:

गर्मीले उम्लिरहेको मधेस, पसिनामा निथ्रुक्क भिजेका मान्छे, वर्षौं वर्ष पछि नेताका गोजीहरूबाट बल्ल बल्ल चुहिँदै, सकी नसकी बजेटका फाइलहरूबाट हुत्तिँदै, बल्ल बल्ल बनेको पीच रोड। चप्पल लगाएर हिँड्दा अलकत्रासँगै चप्पल पनि चप्कने अवस्था छ ।

केही वर्ष अघि बर्खामासमा कि त लडिया कि त ट्याक्टर, हैन भने चप्पल हातमा राखेर नङ्गा पाउ मात्र हिँड्न सकिने यो बाटोमा अहिले अलकत्रासँगै चप्पल टाँसिदा मान्छेहरू पिर मान्दैनन् बरु खुसी हुन्छन्- पीच रोड भनेको त यस्तो पो हुँदो रै’छ भनेर।  पहिले यस्तै धुलोमा चप्केर बसिरहेने भोला र शुद्ध प्लसका खोस्टाहरू पनि अचेल त गाडीको वेगले गर्दा उन्मुक्तिको उडान भर्छन् कहिले यता, कहिले उता । त्यतिकैमा यही बाटो हुँदै गेरुवापन हराइसकेको गेरू वस्त्र लगाएर , ठूलो डन्डीवाला साइकलमा यो कथाको मुख्य पात्रको इन्ट्री हुन्छ; बुधौउवा ।

त्यो साइकल जसले कथाकार भनौँदोलाई कैंची चलाएर साइकल सिकेको बाल्यकाल सम्झाउँछ, त्यसलाई बुधौउवाले तल घरको टाँटीमा सोझ्याउँछ।
“अरे बाउ! एक गिलासा चाय पिलाओ !”
गाँजा तान्दा तान्दा पहेला भएका अगाडिका दाँत ङिच्च देखाएर हाँस्दै एउटा अस्पष्ट बोली बोल्छ। अनि धोद्रो स्वरमा गाउन थाल्छ-

o ए सब हे झुट्ठा
o मेरे राम
o मनमन्दिर मे
o बस्जाओ
o सब जन्जाल झुट्ठा

त्यतिकैमा,
हावाले उडाउलाजस्तो पातलो, बाँसजस्तो अग्लो शरीर भएको एउटा स्वाँठ केटो “जय शम्भो” भन्दै बुधौउवाको अघि पर्छ। “जय शम्भो”को अर्थ एउटै छ जुन बुधौउवाले बुझिहाल्छ र पातलो कपडामा बेरिएको चिलिम जुन उसकै शब्दमा “सारे परेसानी के हल” हो त्यो स्वाँठ केटोलाई थमाउँछ । नाकदेखि फोक्सोसम्म उकुसमुकुस पार्ने धुवाँको बादलले चिया पसल घेर्छ ।
“अरे बुधौउवा, मर्देसामी तनिक बाहर जाके, फुक नही मार सक्ते?”
एउटा खोकिरहेको आवाज त्यो बादल चिर्दै बुधौउवाको कानसम्म आइपुग्छ ।
“ए चीज हे ना, बाह्र रोगके दवा हे ।”
बुधौउवा फेरि आफ्ना पहेंला दाँत देखाउँछ। खै, कोबाट हो उसले गाँजा बाह्रवटा रोगको औषधी हो भन्ने सुनेको रै’छ, अचेल जसले पनि उसलाई गाली गर्दा यही डाइलग फर्काइदिन्छ र ङिच्च हाँसिदिन्छ।

“तेरा टाउकामा कनिका बान्ने ! त्यसको लागि पहिले रोग पनि लाग्न परो नि, डाँका!”
यसको उत्तर दिनलाई बुधौउवासँग कुनै पनि डाइलग बाँकी छैन, गाँजाले ध्वस्त पारेको फोक्सो घ्यारघ्यार हुने गरी हाँसी मात्र दिन्छ।

कथाकार बुधौउवाबारे एउटा फन फ्याक्ट थप्छ। बुधौउवासँग एउटा अनौठो ट्यालेन्ट छ । कमसेकम गिनिज बुकमा नाम लेखाउन सक्ने । यदि कसैले फ्रिमा खुवाउने हो भने, ऊ दिनभर चिया मात्र खाइरहन सक्छ। अझ भन्ने हो भने फ्रीमा पनि दिनु पर्दैन, उधारो मात्र दिए पुग्छ । किनकि उसलाई पनि थाहा छ र उधारो दिनेवालालाई पनि राम्रोसँग थाहा छ । बुधौउवाले उधारो खान मात्र जानेको छ। तिर्न? त्यो त बोलो से……ता…….राम… त्यसैले यदि कोही स्पोन्सर मिल्दो हो त, सायद नेपालको थप एउटा नाम गिनिज बुकमा लेखिने थियो । बुधौउवालाई नै कोट गर्ने हो भने,
“म मेरो लाइफटेम भरि सिर्फ चिया मात्र खाएर जिउन सक्छु “
(नोट: एकपटक खै को अङ्ग्रेजी पढेको ठिटोले जडीबुटीको लयमा मस्त लीन भएर उसलाई जिन्दगी भनेको लाइफ हो भनेर सिकाइदिएछ , अचेल सन्दर्भ मिलोस् नमिलोस् उसले बोल्दा खेरी वाक्यमा लाइफ शब्द प्रायघुसाएकै हुन्छ ।)

“हैन बुधौउवा गोरूले हौदीबाट पानी खाए जस्तो यति विधि चिया किन खान्चस् हँ? ”
यो प्रश्नको जवाफ बुधौउवाले कहिल्यै दिएन। तर कथाकारको सामान्य अनुमान भने यस्तो छ:
“भोले बाबाको प्रसादलाई चियाको गुलियोपनाले अझ ईफेक्टिभ पार्न ”
कथाकार गलत पनि हुनसक्छ। तर सारा संसार गलत होस् , पाठक कहिल्यै गलत हुँदैन । त्यसैले पाठक महोदय, अनुमान गर्दै गर्नोस् ।

बुधौउवा जो आफूलाई सन्यासी हुँ भन्छ, जुन सन्यासी जीवनप्रतिको ठूलो ठट्टा हो, जो व्यक्ति आफ्नो कर्ममा रतीभर पनि निष्ठावान् छैन । जो व्यक्ति कुनै हालतले विशिष्ट छैन, कथाकार भनौँदोले यो जस्तो व्यक्ति नदेखेको पनि हैन्, कैयन् देखेको छ, सङ्गत नगरेको पनि होइन, जीवनका अनेकन् कालखण्डमा पटक पटक सङ्गत गरेको छ । यो पात्र भन्दा धेरै विशिष्ट, भद्र, सन्त सन्यासीलाई नचिनेको पनि होइन । प्रश्न उठ्ला यही व्यक्ति नै किन कथाको मुख्य पात्र?
कथाकार भनौँदोको एउटा रेडीमेड हाँसो हावामा मिस्सिन पुग्छ । एक छिनमा लामो सास तानेर ऊ भन्छ-
“अचेल ग्रे सेडवाला क्यारेक्टरको एकदमै बोलबाला छ नि, त्यही भएर ।” ‘
बुधौउवा’ उर्फ बुधइलाल जयसवाल यो कथाको मुख्य पात्र हो तर नायक कदापि हैन । बुधौउवाकै अफिसियल स्टेटमेन्टलाई मान्ने हो भने पाँच वर्ष भो, ऊ साधु बनेको ।

बुधौउवाले किन आफूलाई सन्यासको गेरूवश्त्रले छोपे जस्तै गर्छ ? गाउँका मान्छेहरूको उत्तर,
“गर्ने बेलामा गर्न हुने नहुने पाप जत्ती सप्पै गर्यो, साँझ पर्यो कि खाना हुने नहुने सब खान्छ, अझ आफूलाई सन्यासी हुँ भन्छ त्यो पापी, मुर्दार !”

कथाको पहिलो दृश्य सकिँदै छ।  सकिनु अघि कथाकार पाठकलाई एउटा एडिसनल
इन्फरमेसन चढाउँछ:
“उसको नाम? नाम? थियो केही बचपनमा, बचपनमा राम्ररी चारी खेल्न नपाउँदै, वनजङ्गल चाहर्न नपाउँदै, तालको धमिलो पानीमा पौडी खेलेर शरीरभरि खटीरा आउन नपाउँदै उसको शादी भो, शादी गरेर ऊ ससुराल आई, उसलाई सबैले ‘बुधइन’ भन्न थाले, ऊ बुधइन भई एक वर्षपछि विरेन्दर जन्मियो, सबैले उसलाई विरेन्दरकी माई भन्न थाले, ऊ ‘विरेन्दरकी माई’ भई, मानौँ उसको त केही अस्तित्व नै छैन, ऊ त केही पनि हैन, यदि केही हो भने फगत बुधौउवा र विरेन्दरको परछाइ। “

दृश्य दुई :

चालीस वर्षको देखिने एउटा मान्छे, जसको खास उमेर पच्चीस वर्ष हो; कथाकारको सामुन्ने छ । उसको अनुहार बुधौउवासँग मिल्ने किसिमको
छ। बीस रूपैयाँमा एक पाऊ आउने मौवाको (अर्ग्यानिक?) ठर्राको ह्वास्स आइरहेको नमिठो गन्ध कथाकारको नाकमा परिरहेको छ। तर, कथाकार सुनिरहेछ उसका कुरा । ‘ऊ’ अर्थात् बुधौउवाको बेटवा विरेन्दर! विरेन्दर भन्छ,
“मेरा पिता ‘पिता’ होइनन् पातकी हुन् ।” 
कथाकार सोच्छ, पिता भन्ने प्राणी पातकी नहुनुपर्ने, हुँदैनन् पनि ! तर पातकी प्राणीहरू पिता भए होलान्, त्यसमा कसको नै के लाग्छ र ? सायद त्यस्तै भयो होला।

ऊ बोल्दै जान्छ-
एक दिन म भैँसी चराउन खोलापारिको जङ्गलमा गएको थिएँ । त्यो दिन बहुतै गरम थियो । सही नसक्नु भएपछि मैले खोलामा गएर झ्याम्म फुङ्गाले । मेरो बगलमा आठ दस वटा भैँसी पनि डुबेर बसेका थिए, तिनलाई पनि गरम भएर होला (ऊ हाँस्छ) । त्यो पानी गन्धा भए पनि ठन्डा थियो । बहुतै मजा लागिरहेको थियो मलाई त्यहाँ। एकछिन पछि घाम ताप्दै भटवामा म कपाल सुकाइरहेको थिएँ । त्यही बखत तीन चार वटा कुकुर डोराउँदै दस जाना जति कुमाल टोलाका केटाहरू जङ्गल पस्दै थिए । त्यहाँ मसँगै पढ्ने रामहरि पनि थियो । ऊ बोल्यो,
“अरे विरेन्दरवा ! चल जङ्गल गोहोरो पकडी !”
“जङ्गलमा भैँसी चरिरहेका छन्, म जान मिल्दैन” भनेँ ।

उसले के मान्थ्यो?
साला कति डराउँछस् , भैँसी यही चर्दै बस्छन्, कतै हराउन्नन् । मर्द जस्तो बेओरा देखा न, छकडीके कान !
बाह्र वर्षको थिएँ होला म, जवानी चढ्दै थियो । हो त नि, भन्दै म पनि उर्लिएर जङ्गलमा पसें। एक घण्टा बित्यो, कुकुर भुकीरहे तर एउटा पनि गोहोरो भेटिएन, बरू जङ्गलमा जामुन मस्त फलेका रैछन् अघाउनसम्म जामुन खाइम् । जामुन खाइसकेर त्यसको गेडा कल्ले सबसे दुर फाल्न सक्ने भनेर कम्पिटिसन नै भयो । बीच बीचमा बडेमानका सिमलका रूखहरू देखिन्थे, जसमा मौरीले टन्नै घारा हालेर बसेका थिए ।

हुलबाट एउटा बीस वर्षजतिको केटो बोल्यो
“दुई तीन दिनपछि राति आएर मह काढ्नु पर्छ ।”
हामी जङ्गलको धेरै नै भित्र पस्दा पनि गोहोरो भेटेने कुनै छाँटकाँट देखिएन। झमक्क साँझ परिसकेकाले म आत्तिएँ । एक घण्टामा हुन्छ भनेको यत्रो टेम लायो । डीयाँबाच्छा कता गए होलान् । बाउले मार्ने भो। एउटा केटोसँग तीन सेलवाला टर्च रैछ । त्यो बाहिर स्टिलले घेरेको टर्चको बत्ती पन्छ्याउँदै हामी जङ्गलबाट निक्लिम् । झमक्कै रात परिसकेको थियो  खोलाको छेउछाउ, यताउति हेरेँ, भैँसीको नामोनिसाना थिएन । “मरगए साले !”

मलाई छटपटी भइरहँदा पनि गुडुङ्ग खोला शान्त थियो । त्यसलाई हाम्रा भैँसी हराएको के थाहा? थाहा पाए पनि के मतलब? अब के गर्ने भनेर मलाई रून मन लाइरयो, डराई डराई म घर गएँ । घरमा कसैलाई पनि देखिनँ। माई कता गइन् होली? सोच्दा सोच्दै म अलमल्ल परेको थिएँ। आधा घण्टापछि एउटा साइकल घण्टी बजाउँदै आएको आवाज सुनेँ। त्यो घण्टी बाउकै साइकलको थियो । मेरो होसहवास उड्यो। कुन सुरमा थियो कुन्नि बाउले साइकल घरभित्रै पसाल्यो। डेरीमा अड्याउन के लागेको थियो साइकलसँगै बाउ पनि गिर्यो । म दौडिएर उठाउन जाँदा मलाई ढकलेर उता जा भन्यो । त्यतिले नि चित्त बुझेन छ, तीनबार लोट्यो होला तैपनि मेरो पास आएर दुई झापड हान्यो। त्यसपछि म चुपचाप बसेँ। दारू टन्नै धोके पनि बाउ भोकै रहेछ, कराउन थाल्यो,
“त्यो र*डी खै ?” र भान्सामा गएर भाँडाकुँडा बजार्न थाल्यो । सरसामान यताउति फाल्न थाल्यो । केही बेरपछि माई घरमा आएकी मात्र के थिइन्, बाउले जगल्टा समातेर माईलाई पिट्न थाल्यो । कोसित सल्किन गएकी थिईस हँ र*डी ?”

माई रोइरहेकी थिइन् । बाउले माईलाई कुटिरह्यो । त्यतिखेर मलाई बाउलाई पिट्दिम् पिट्दिम् भइरहेको थियो, तर खडा खडा उभिने बाहेक अरु केही गर्न सकेनँ । अहिले भा’ दुई चार चमाटा लाउने थिएँ त्यो पापीलाई। विरेन्दर रिसाउँदै बोलिरहेको थियो । भित्र दादी सुतिरहेकी रै’छन्, उठेर बाहिर आइन्, “अप्नी मेरारूको काहे….” भन्न मात्र के लागेकी थिइन् बाउले दादीलाई पनि झापड हान्यो । र दुई’टा दाम्लाले मेरी माई र आफ्नी माईलाई दुईटा खाँबामा बाँध्यो। कहिले अझ कराउँछेस् भन्दै दादीलाई पिट्थ्यो । कहिले र*डी भन्दै माईलाई पिट्थ्यो । दस मिनेट पिटिसकेपछि लखतरान परेर बाउ भित्र गई खटियामा फालियो। मैले माई र दादीका दाम्ला फुकाल्दिएँ । दुवैका शरीरभरि नीलडाम र आँखाभरि आँसु थिए । माईका आँसुलाई धोतीको सप्कोले पुछ्दै
दादीले भनिन्,
“यस्तो राक्षस पोईसँग किन बस्चेस? बरु कसैसँग पोइला जा।”
माई केही बोलिनन् । रोई मात्र रहिन् ।

साँझसम्म पनि म भैँसी लिएर नफर्किएपछि, माईले दादी र चार भाइबैनालाई दिउँसोको भात भुटेर खान दिइछन्, भाइबैना र दादीलाई सुत्न लगाएर मलाई खोज्न गाउँभरि गएकी रैछन् । मैले गर्दा मेरी माई र दादीले त्यत्रो मार खानु पर्यो। एकछिन पछि माईले सोधिन्,
“कता गा’थिस् ?”
“भोक लाग्या होला, एकछिन पख् म भात पकाउँछु।”
त्यो दिन मलाई भात बिल्कुलै निक लागेन, कस्तो अर्कै नुनिलो लाग्यो । सायद त्यस्तै नुनिला माईका आँखाका आँसु पनि थिए । बिहान उठ्दा घाँटीका घण्टी बजाउँदै भैँसी घरबाहिर कराइरहेका थिए।

दृश्य तीन :

“खोज्न जान पर्दैन कहीँ, कुरा काट्न गई होली गाउँटे बुढिया !”
माईले दादी साँझ भैँसी चराएर नफर्किएपछि खोज्न जान्छु भन्दा बाउ करायो । म स्कुल गएकाले दादी भैँसी लिएर तर्कियानपुरको जङ्गलमा चराउन गएकी थिइन् । त्यो रात छानो चुहने गरी पानी पर्यो। घरको टाँटी पनि पुरै भिजेर ढल्छ कि जस्तो भो। यस्तो बर्सातमा सासु कता गइन् होली भनेर माई निदाउन सकिनन् । बिहान पख पानी रोकियो, भैँसीहरू घर फर्किए तर दादी फर्किनन् ।
“भैँसी त्यसै छाडेर गाउँ मात्र डुल्न जान्ने, त्यो बेयोरा नभा’की बुढियालाई सम्पत्तिको पिरै छैन !”
बाउ साइकल चढ्दै गर्दा करायो। उता माई भने सासु किन घर आइनन् भन्ने पिरलोले तड्पिरहेकी थिइन् । अर्को दिन शनिक्चर भएकाले म स्कुल गइनँ । जङ्गलमा भैँसी चराउन पनि मलाई मन लागेन। भैँसीलाई पराल हालिदिएँ र कुँडो पकाइ दिएँ।

दादी कता थिइन् त्यसको कुनै ठेगान थिएन । साँझ पख दुई’टी आइमाई आए र माईसँग कुरा गर्न लागे, म पनि बगलमै थिएँ।
“हेर विरेन्दरकी माई तेरी सासु त बितिछन् !”
यो सुन्ने साथ मलाई चक्कर आए जस्तो भो। मेरै आँखा अगाडि माई भुइँमा पछारिइन । त्यो बेला के भइरहेको छ मैले आधी आधी मात्र थाह पाइरहेको थिएँ। म पनि ढलेछु । सारा संसार अँध्यारो लागि रहेको थियो । एकछिन् पछि होसमा आउँदा आँगन भरि मान्छे थिएँ। माई मुर्छा परिरहेकी थिइन् । आइमाईहरूले लोटाबाट पानी हातमा राख्दै छ्यापिरहेका थिए । बाहिर गोठालाहरू कुरा गरिरहेका थिए
“बुढी मान्छे अस्ति भैँसी लेर वन जाँदा झ्याङको काँडामा धोती अल्झिएछ, नराम्रोसँग बजारिछन् । टाउकोबाट कति खुन बग्यो होला । रातभरि पानी परेकाले शरीर सुन्निएको थियो रे !”
” बिचरी आमै ! पानी पनि भन्न पाइनन् ।”
“कति जाती थिइन् बुढी मान्छे ।”
“धन्न एउटा गोठालोले झ्याङतिर जाँदा बुढीको लास देखेछ । नत्र अझ कति दिनसम्म कस्सैलाई थाह हुन्थेन ।”

दृश्य चार:

राति छिटो सुतेर होला, कथाकार आज बिहान छिट्टै उठ्यो। छिटो उठ्दा के गरम, कसो गरम  भएर होला, ऊ निस्कियो डुल्न । बिहान बिहान हिँड्ने मान्छेहरूको भीड देखेर उसलाई लाग्यो, अल्छी त केवल ऊ मात्र रहेछ। यस्तै हिँड्दै गर्दा, ऊ तालको बाटो के गइरहेको थियो त्यता थुप्रिएको भीडले उसको ध्यान खिच्यो । ऊ त्यतै तिर लाग्यो । भीडलाई छिचोल्दै, ऊ ताल अघि पुगेको मात्र के थियो उसले  तालमा विरेन्दरको लास तैरिरहेको
देख्यो । मान्छेहरू कराइरहेका थिए,
“राति धोक्नुसम्म जाँड धोकेको थियो रे, बाटो पनि चिप्लो थियो, साइकलसँगै तालमा खसेछ ! निस्किन नि नसकी, मरेछ डुबेर!”

(अन्तिम इन्ड )

क्रेडिटवाला दृश्य:

दिउँसो राम्रै पानी परे पनि त्यो रात पानी रोकिएको थियो । विरेन्दर रक्सी खाएर लोटान परेको थियो ।  ऊ साइकल डोराउँदै तालको बाटो घर फर्किदैं थियो ।  त्यतिकैमा एउटा स्वाँठ केटो आएर “जय शम्भो”  भन्यो । विरेन्दरले पनि “जय शम्भो” फर्कायो । स्वाँठ केटो बोल्यो
“बाबा अत्ति भा’छ यस्सो प्रसाद तानम न !” 
विरेन्दर करायो,
“म  गाँजा खान्न, दारू मात्र खान्छु। गाँजा खाने बाबा त मेरो बाउ हो । “
“धेरै हैन के यस्सो एक चिलम मात्र तान्छु के,”
स्वाँठ केटोले फेरि पनि अड्डी कस्यो ।

“म हैन भनेँ  त,”
विरेन्दरले रिसाउँदै हातले ढकल्यो । स्वाँठ केटो हिलोमा पछारियो । त्यसपछि ऊ उठ्यो र लात्तीले साइकललाई हान्यो। साइकलसँगै  विरेन्दर पनि तालमा खस्यो ।
“चुतिया साला हिरो बन्न खोज्छ !”
स्वाँठ केटो हल्लिँदै आफ्नो बाटो लाग्यो !

Facebook Comments

You may also like

error: Content is protected !!