बोन्साइ

अनुगच्दी प्रवाह:
प्रवाह सँग बग। बोध हुँदाको दिनदेखि म बगिरहेँ। कुनै अनकण्टारको मूलबाट सुरु भएको यात्रा चुलिँदै, पोखिँदै, बजारिँदै, थचारिँदै, पछारिँदै पुग्नु थियो अनन्त सागरमा। अनन्तमा हराउनु लक्ष्य थियो सायद, प्रकृतिको अपवाद थोपा थोपामा पोखिँदै मध्यतिर हराउँदै केवल अनन्तमा पुग्दा मसिनो धर्सो सिवाय केही रहेन। केवल मसिनो धर्सो!

मसिनो धर्सो दलदल थियो, म भासिएँ पूरै जीवन। जन्म र मृत्युबिचको ठूलो स्पेस । मृत्युभन्दा अगाडिको त्यो मसिनो धर्सो क-कसले अनुभव गरे म भन्न सक्दिनँ। तर मैले समय यात्रा गरेँ। मेरो आधा जीवनबाट मैले खोजेँ अनन्तको रहस्य । म अलमल्ल छु पृथ्वीमा छु या कुनै ब्रह्माण्डको ठूलो पिण्डमा तर म अनुभूत गर्न सक्छु, मेरो वरिपरि मन्द हावाका झोकाहरु बत्तिरहेका छन्, जमिनको अपार गन्ध, अनि समयको तरलता छ्वाङ छ्वाङ बजिरहेछ। मैले आफ्नो अञ्जुलीमा भरेको छु समयको तरलतालाई अनि हेरेको छु आफ्नो प्रतिबिम्ब, लाग्छ कति निरर्थक छ जीवन ! एकातिर तर्क, न्याय ,व्यवस्थाभित्र संचालित समाजमा मानिसको सुख पाउने प्रबल इच्छा र अर्कोतिर भावुक , लथालिङ्ग र असंगत समाजमा उसले बेकारमा सहनुपर्ने दुख, पीडा तथा अर्थहीन मृत्युबिचको अन्तर। घृणित छ मेरो अनुहार। मेरा आँखाका भृकुटीहरु, नाकका पोराहरु, ओठका कोमल छालाहरु, चिउडोको टाकुरो, पिलाका डल्लाहरु अनि पिपका बाक्ला झोलहरुले भरिएका छन््।

मेरो पुरै शरीर बाउठिएको छ, बटारिएको छ, डल्लिएको छ अनि पुड्किएको छ। मांशको ठूलो थुप्रोले मलाई थिचेर आफ्नै भार गह्रुङ्गो बनाएको छ। कहाँ छन् । खै, अस्थिपन्जरका थाँक्राहरु? सायद छुट्टिसकेको छ मेरो शरीर र आत्म दुई फ्कल्याँटोमा। म देख्छु मेरो शरीर कुरुप हुँदै पनि कति सुन्दर र लोभ्लाग्दो छ,  सायद मेरा हेर्ने दृष्टिहरु प्रिजममा ठोकिएका छन् अनि सुन्दरताका अनेक रङ्गीबिरङ्गी प्रकाशहरुले खर्लप्पै छोपेका छन्। मेरो शरीर सुन्दर बोन्साइ बनेको छ। म यसलाई के भनुँ, कालो छिद्रमा खाँदिएको मेरो शरीरको गुरुत्वाकर्षण अनन्तमा विलीन भइसकेको छ।

म मेरो जीवनको पुनरावृत्ति गरुँ ? खै, यो कुन काल, युग, र मिति चलिरहेछ। हजारौं वर्षको निद्रापछि म ब्युँझिएको छु। मलाई गलाएको थियो, अनन्तको प्रवाहले। मैले निदाएरै पुरै जीवन बिताइदिएँ। बिच बिचमा मेरो निद्रा खल्बलिएजस्तो लाग्यो, जस्तो कि म कुनै सोम्नाबुलिजम ग्रसित बिरामी हुँ। केही काल निद्रामै म चिबर वस्त्र धारण गरी हिँडेँ। हराएँ धेरै काल गुम्बज, स्तूप र चैत्यहरुमा। मेरा चिबर वस्त्रबाट केही विर्यका टाटाहरु प्रस्ट देखिन थाले, योनिका गन्धले मेरो पूरै शरीर छोप्न थाल्यो। मेरा बलिष्ठ पाखुराहरुले खोज्न थाले अनेक कामुकताका जराहरु। म फेरि निद्रामै फर्किएँ। अनेक रात म घरिघरि ब्युँझिएको छु। अनि फसेको छु अस्तित्वका ठूलठूला खाडलहरुमा। जेनतेन म निस्किएको छु ती भयङ्कर खाडलहरुबाट। अनि मैले सजगताकासाथ आफ्नो शरीर डोरीहरुले बेरेको छु। कुनै दिन मैले बेरेको थिएँ कैयौं डोरीहरुले मेरो घाँटीमा अनि झुण्डिएको थिएँ ठूलो पिपल वृक्षको हाँगोमा।

म मोक्ष, मुक्ति र निर्वाणको अनुभूतिमा नुहाउन चाहन्थेँ। केही सेकेण्ड म निस्सासिएँ, घोर पीडामा छट्पटाएँ तर त्यो अन्त्य थिएन। मैले देखेँ मेरा खुट्टाहरु कुनै बाँसको कलिलो तामाझैं हर्लक्क बढ्न थाले, तिनले जमिन टेके म झुण्डिनको लागि हाँगो र जमिनबिच कुनै रिक्त ठाउँ थिएन। मैले निराश हुँदै खोलेको थिए ती गाँठाहरू। कस्सिएका थिए ती बेस्मारी । तर मैले फुकाएँ। अनि फेरि घाँटीमा निलडामहरु बोकेर रुमलिएँ। आजपनि ती निलडामहरु चर्किन्छन् कहिलेकाहीँ । मलाई लाग्छ, म कुनै हिन्दु पुराणको श्रापित अस्वत्थामा हुँ या कुनै ग्रिक पुराणको श्रापित सिसिफस। तर पृथ्वीको कुनै भागमा पनि म सुखान्तमा छैन।

औंसीको निष्पट्ट रातमा ताराका केही अदृश्य प्रकाशले शितलता प्रदान गरेका थिए अनि त्यहि साँझ मैले त्यागेको थिएँ सांसारिक माया, मोह र सहानुभूतिका अनेक रुपहरु। त्यस्पछि फगत म एक्लिएको थिएँ। त्यहि कालदेखि मेरो वजन घट्दै गयो। बिस्तारै मांशका डल्लाहरु झर्दै गए। प्रकाशको गति भन्दा छिटो छिटो मेरो मुटु धड्किन थाल्यो। मैले देख्न छाडेँ आफ्नै शरीरको छवि आकृति, म विलीन हुन थालेँ। संगालेको थिएँ मैले आफ्ना सम्पतिका केही कोलाजहरु । त्यो थुप्रो सायद बढेको बढ्यै थियो, चुलिँदै चुलिँदै कुनै अजङ्ग पहाडझैं हुँदै थियो त्यो । त्यसको विकराल रुप अगाडि मेरो शरीर पातलिँदै पतालिँदै थियो। मेरो अस्तित्व शून्य शून्य हुँदै थियो। मैले आगो सल्काइदिएँ, त्यो हुर्हुर बल्दै, जल्दै गयो। राप बढ्दै गयो, ताप थपिँदै गयो। म चाहन्थेँ त्यो मलाई बिस्तारै बिस्तारै पगाल्दै जाओस्। अनि मेरो शरीर पग्लिएर जमिनमै हराओस्, आत्मको मुस्लो अनन्त आकाशमा उडदै उडदै जाओस्।

मैले हजारौं वर्ष खोलाहरुमा बिताएँ। लाग्थ्यो त्यो बग्न छाडोस् र कुनै तालझैं एकै ठाउँमा जमोस्। मैले अञ्जुलीका अन्जुली पानी तलबाट उबाउँदै माथि थप्दै गएँ । ती फेरि बग्न थाले, मैले अञ्जुलीमा पानी थप्न छाडिनँ । विना प्रवाह जीवन कति अर्थहिन छ। तर मैले कहिल्यै बग्न जानिनँ। अनि मेरा कर्महरु नि? उठ, खाऊ, पिऊ, लोभ गर, डाह गर, छलकपट, प्रेम, सम्भोग हरेक दिन बस् ती दोहोरिरहन्छन्। अनि के यो जीवनको अर्थपूर्ण व्याख्या हो?

कैयौंपटक मस्तिष्कमा आएका बिचारहरुलाई मैले बेवास्ता गरेको छु। ती कति उदेकलाग्दा छन्। न म ती कुराहरुलाई प्रश्न नै बनाउन सक्छु न उत्तर नै खोज्न सक्छु।

जीवनका केही काल मैले बन्दुक बोकेको छु अनि केही काल गुलाफका फूलहरु। कहिलेकाहीँ बन्दुकका नालहरुमा कोमल स्पर्शहरु अनुभूत गरेको छु अनि कहिलेकाहीँ गुलाफका तिखा काँडाहरु। म कसरी भन्न सक्छु कि बारुदको गन्ध सधैँ गन्हाउँछ अनि गुलाफको गन्ध सधैँ बसाउँछ। परिस्थिति अनुसार ती सबैलाई मैले आफूमा समाहित गरेको छु। मलाई लाग्छ, जीवन सधैँ बाच्नयोग्य रहेन र सँधै मर्नलायक पनि रहेन। म यसरी मसिनो धर्सोमा सदियौंदेखि भासिँदै आएको छु। त्यो मसिनो धर्सो पार गर्न कैयौंपटक बाउठा परेका हातखुट्टा फट्कारेको छु।

म देख्दछु आफूजस्तै खुम्चिएका बोन्साइका रुखहरु। प्रकृतिको अपवाद, थिचिएर, बटारिएर, ठिमृएर अरुको सौन्दर्यको लागि तिनको के अस्तित्व ? जमिनमा छताछुल्ल पोखिने कर्म भएका जराहरुलाई गमलामा सिमित खुज्मुजिनुको के बाध्यता ? पातालमा जता मन उतै फिजारिन पाउने हाँगाहरुलाई चार किल्ला, पर्खाल, अनि भित्ताहरुमा निहित हुन के बाध्यता ? जब कुनै सांसारिक प्राणीले तिनको छहारीको शितलता अनुभव नगर्नमा तिनको के अस्तित्व ? तर तिनमा रुख हुनुको अस्तित्व मूल्य त बाँचेकै होला नि? अनि यो सांसारिक जगतमा किन तिनै चर्का मूल्यका? म देख्छु आफ्नै प्रतिबिम्बित अनेक बोन्साइका रुखहरु। ती र म मा के फरक? मेरो थिचिएको शरीर अनि तिनका थिचिएका जराहरु, मेरो निसासिएको आत्म अनि तिनका ठिमृएका हाँगाहरु, ती केहीमा पनि आफू हुनुको शितलता, आनन्द र अनन्त सुख छैन।

हुनु र भइदिनुमै हाम्रो सन्तुष्टि र आनन्द छ। अरुले चाहेजस्तो बनिदिनुमा हामी पूर्ण बन्छौँ। अनि बिर्सिदिन्छौँ आफ्नो वास्तविकता र अस्तित्व। हामी दुबै बोन्साइ हौँ । वर्षौँदेखि अरुबाट बनाइएका, काटछाँट गरिएका, सुन्दर भनिएका तर अस्तित्व गुमाइएका, चर्को मूल्यमा बिकेका, सबैद्वारा अनेकौं प्रयोग गरिएका, मानव निर्मित धुपद्वारा बसाइएका………..

जीवनको महत्व मान्छे र अमान्छेका बिचको विरोधाभाषको ज्ञान प्राप्ती गर्नुमै निहित छ। हाम्रा परिश्रम सोच र चेतना यस्तै नबुझिने बाधाहरुको विरोधमा खर्च हुन्छन्। सारा कुरा निस्सार हुन्छन् तरपनि जीवनचक्र यसरी नै घुमिरहन्छ।

हामी दुवैमा न बाँच्नुको कुनै मूल्य छ न कुनै उधेश्य, न मृत्युमा मुक्ति छ न स्वतन्त्रता । विसँगत जीवन बाँचिरहेको एउटा रुख अनि एउटा मान्छे। अनि यी सोचहरु हरेकपल्ट दिमागमा आउने तर बेवास्ता, उपेक्षा गरेर मिल्काइएका खाली बेतुक, फजुल, निरर्थक र वाहियात हुन्।
इति………..

 

Facebook Comments

You may also like

error: Content is protected !!