बोन्साई मान्छे

केही समय यता बोन्साई मान्छेलाई मैले कतै देख्न सकिनँ । बोन्साई अर्थात् मालीले काँटछाँट र स्वभाविक हुर्काइ संकुचन गरी तयार पारेको सानो वनस्पतिको पोथ्रा ! कहाँ गयो होला ? तर यो कथा उसको होइन । कसैको होइन । कारण, यो शब्द-संयोजन कथा होइन ।

दिनको मन्द आलस्यले कहिले यो प्रश्न मेरो रित्तो मगजको किलामा झुण्डाइदिन्थ्यो । सायद त्यो कमजोर मान्छे कुनै आफन्तको शरणमा गयो अथवा कतै छुट्टी मनाउन गयो, थाहा भएन। ग्रहण लागेको आकाशमुनि पहेँलो स्ट्रिट लाइटमा आफ्नो लुरे छाँया हेर्दै स्वचालित रूपमा फर्किरहेको बेला हिजो अचानक त्यसलाई ‘मिस’ गरेँ, नियास्रो महसुस भयो त्यो देखिरहेको अपरिचित प्रति। कसैको अनुपस्थिति अनायासै महसुस भैदिन सक्छ। त्यसको पृष्ठभूमिमा अति साधारण दृश्यले केही नवीनता उघारिदिन्छ।

त्यो बोन्साई म्यान, बादलग्रस्त मनभरि अन्तहीन एकालापहरु लिएर हिँड्थ्यो र एकदिन आफैसँग झोँक चलेपछि आफूलाई कुनै फोहोरको झोलाजस्तै गरी सुटुक्कै कतै मिल्काउने विचारले पुरानो डेरा छोडेको थियो कि ? र समय र त्यसको बहावमा आफूलाई बेवारिसे मिल्काइदिएको थियो कि ? किनभने हामी समयको बोझ बिसाएर हलुका हुने अचेत इच्छाले पनि बाँचिरहन्छौँ! परबाट देखेको र सुनेको हुँ । चिनेजानेका मान्छेहरु भेटिँदा बडो कूटनीतिक मुस्कान र प्रचलित संवाद बोल्थ्यो । बडो विनम्र थियो । लाग्थ्यो अरुलाई पन्छाउने यत्नमा त्यो अभिनय गर्थ्यो । आफूलाई ऊसँग साटिदिन्थेँ । बिना प्रयास आफूलाई उसमा देख्थेँ । ईश्वरको आस्था र संसारको मोह दुवैमाथि चाहेर पनि निर्धक्क आफूलाई छोड्न नसक्ने खालको अन्यौलग्रस्त मान्छे थियो ऊ । या म?

आफ्ना सांसारिक दाबीहरु मनैमन त्यागिसक्दा पनि ऊसँग स्वयंप्रतिको पर्याप्त स्पष्टीकरण थिएन । किताबमाथि अलिकति विश्वास भएपनि त्यो आधिकारिक विश्वास भने थिएन । मजस्तै साथीहरु भेटेर फर्किँदा ऊ आफैँलाई खिसी गर्थ्यो । सोच्थ्यो, मान्छेबीच केवल ऐकान्तिकता मात्र संवाद गर्ने रहेछ ! आफ्नो ऐकान्तातिकतालाई सहज लिइदिने र प्रेमले स्वीकार गरिदिने अर्को मान्छे भेटिनु र ऊसँग जीवन बिताइदिनु कति राम्रो हुन्थ्यो ! तर भर्खर एउटा नछेडिने पर्खालसँग ठोक्किएर आएँ – सोचेर हाँस्थ्यो, आफू पर्खाल भइदिएकोमा पनि। असल र खराबको कुरा गर्न छोडेको थियो, आलोचना र गुनासो पनि । त्यसको प्रभावहीनता देखेर । किनभने मान्छे कहिल्यै पनि क्रान्तिकारी अर्थमा परिवर्तन हुनै सक्दैन भन्ने उसको जब्बर सोचाइ बनेको थियो, भोगाइको पथ्थरले घोटिएर । ऊपनि भर पर्न नसकिने कमजोर स्वार्थी जनावर हो र अरु सबै पनि उही हुन् भन्ने थाहा पाएपछि ऊ आर्दशको सम्मोहनबाट बाटोको गन्धकीमा ओर्लिएको थियो, मजस्तै !

त्यो बोन्साई मान्छे कता गयो होला ? आजकल मेरो पछिपछि लत्रिने छायाँमा त्यो मान्छे पनि छैन । एउटा रित्तो केही छ जसलाई ग्रहणको विकिरणले पनि छेडेर बिथोल्न सक्दैन । एउटा पर्खाल, एउटा हाँसोलाग्दो ऐकान्तिकता जो सीमान्त व्यक्तिको संसारिकता बँचाइराख्ने त्यान्द्रो मात्र हो !

***

वैराग्य प्रभाव

कपडा फेरेजस्तो जीवनको दृष्टिकोण फेर्न सकिने भए धेरै चोर साधु र धेरै साधु चोर भइसक्थे । यस्तो विरलै हुन्छ । निर्लिप्तता या डुब्न सक्ने मन महत्वपूर्ण रहेछ । संसारबाट मन हटेपछि र ईश्वरको दर्शनदेखि आस्था टकटकिएपछि मान्छे आफैँलाई चपाउन थाल्छ । त्यसैले संसार जस्तो छ त्यस्तै स्वीकार गर्न सक्ने हुनुपर्छ । डुब्न सक्नुपर्छ यसमा । मन वैरागी भयो कि सब खत्तम भयो । पैसा, सुविधा, ऐश, नाम, अर्थात् शक्ति! यिनमा डुब ! सकेसम्म डुब ! वैराग्य भावना आएपछि पनि दुःख हट्दैन । देउताको खोजी गर्दै जाँदापनि तिमी आफैँबाट लुटिन्छौ । केही पाउँदैनौ । सायद साधारण हुनु र केहीको शाश्वत अर्थ हुँदैन भनेर बुझ्नु नै वास्तविक प्राप्ति हो ! जीवनप्रति आशक्त बन ! सकेसम्म निर्लिप्त होऊ ! भोलि हुन्छ/हुँदैन के थाहा ? गुमाउन केही नरहने गरी आजै तन्नम होऊ !

***

स्वेच्छिक गरिबी

गरिबीसँग डर लागेन । कारण, गरिबीमा खास स्वतन्त्रता हुन्छ र छुट्टै मीठास । गरिबलाई कसैले झूटो सम्मान गर्दैन । बेवास्ता नै गरिबको सहजता हो । अरुबाट सम्मान खोज्न छोडेपछि अद्भुत हलुकापन उम्रिन्छ चेतनामा । खुब रुचाएको छु चिन्तक हेनरी डेविड थोरोको ‘स्वेच्छिक गरिबी’। आफैले रोजेको गरिबी बोझिलो हुँदैन । कुनैपनि चीजको खास मूल्य त्यसलाई अनुभूति गर्न सक्नुमा छ । उपभोगको मात्रा होइन सन्तोषको अनुभूति नै वास्तविक मूल्य हो । जीवित अनुभूतिको तीक्ष्णता नै मूल्यको मानक हो । जसरी पनि बाँचिरहन्छु सीमान्त जीवन । आफ्नो सीमान्त जीवनमा फराकिलो खुलापन महसुस हुन्छ । आफूले नभ्याउने कुराको आकर्षणको दबाबले थोपर्ने वेदना रहँदैन । आफ्नो ‘थ्रेसहोल्ड’ मा सीमित जीवन बाँच्नु नै खासमा सबै मान्छेको साझा यथार्थ होइन र ? यसलाई बुझेर यसमा सहजता महसुस गर्नुमा नै निहित छ जीवनको निश्चित सन्तोष र मनको शान्ति ।

***

सामान्य एक साँझ

कहिलेकाहीँ भक्तपुर जान्छु । सानुदिदीको चिया घरमा । पुरानो प्रिय अन्तर्मुखी दोस्तलाई भेट्छु । मोटाएछ । मीठो मुस्कान र रहस्यमय मौनता उही । सुरुमा सुकुमेलले सुगन्धित उही प्रिय चियाको मज्जा, अनि सोध्छु, “कुनै दिलदार सम्पादकले स्तम्भकार बनाए भने तिमी के लेख्छौ ?”

चुप लाग्छ । उसको पश्चिमा संगीत र फिल्मको ज्ञानको आलोकमा ऊ पछिल्लो ‘साइन्स फिक्सन’‘फान्टसी’ का प्लटहरु सुनाउँछ । नवीनता सोच्छ । उत्साहित छ- नेपाली साहित्यमा अहिले सर्रियालिज्म अर्थात् अतियथार्थवाद आइरहेछ । भन्छु “लेख यार ।” ऊ हाँस्छ ।

साँझ म गल्लीमा हुनैपर्छ । म यो झरीले भिजेको साँझ कोठामा बसेर गुमाउन चाहन्नँ ।” हाँस्छ।

गल्लीमा निस्कन्छौँ । बुढाहरु सत्तलमा बसेर गफ गर्दैछन् । मानिसहरू आउँदै/जाँदै छन् । पुराना मल्लकालीन घरहरु बीचका साँघुरा गल्लीहरुमा उभिएर चोइटा आकाश हेर्दा चीसो तर उन्मुक्ति महसुस हुन्छ । ऊ नेपालको कलात्मक इतिहास सम्झिएर ‘नोस्टाल्जिक’ हुन्छ । कलाको नजरले वर्तमान हेर्छ । म आजकल अस्पष्ट उदासीले नेपाली समाज र यसलाई छोएर ब्युँझाउने कलात्मक साहित्य सोच्छु र अल्मलिन्छु । ऊ ‘मल्टिपल युनिभर्स’ सोच्छ र ‘क्याप्टेन अमेरिका पार्ट टु’ को थिमबारे आफ्नो धारणा दिन्छ । म गाउँमा उज्यालो ल्याउने साहित्यिक बहाना सुनाउँछु । हुन त भइरहेको नै छ – संकुचित राजनीतिक मगज भुटाइकै बीचमा पनि सौन्दर्य सिर्जनाले वैकल्पिक चेतना निर्माणको इमानदार प्रयास । जे होस् हाम्रो कुरा उन्नाइसौँ शताब्दीको ह्रासवादी साहित्यकार एड्गर एलन पोको कारुणिक र असामयिक मृत्युको सेरोफेरो घुम्छ । ताजा दुःखले डस्छ र पनि आजको दुनियाँमा ‘पो’को दुःखद अन्त्य बुझ्ने र त्यसलाई अनुभूति गर्ने नेपाली युवा पाठकसँग भेटेर रमाइलो लाग्छ । नेपालमा साहित्यिक मान्छेहरुको हविगत देखेर रुने थोरै पाठक छन् ।

कमेन्ट्री शैलीमा भन्छ- ‘पल्पसा क्याफे’ ले युद्धको नमीठोपनद्वारा सुषुप्त भएको पाठकलाई फेरि जगायो । ‘समर लभ’ ले छरितो र सतही भाषामा अल्छी आधुनिक युवा युवतीलाई तान्यो । ‘दामिनी भीर’ ले राजनीतिक चेतना खोल्यो । ‘खुशी’ र ‘चिना हराएको मान्छे’ले संस्मरण-लेखनद्वारा नेपाली साहित्यको पाठक बढाए । ‘लाटो पहाड’ ले हँसाइहँसाइ पहिचानको पीडादायी संकट पढायो । ‘फेरिँदो सौन्दर्य’ पढेर गम्भीर पाठक जन्मिए । नगरकोटीको साहित्य पढेर अंग्रेजी साहित्यमा मास्टर्स गर्नेहरुले फेरि काफ्का र सर्रियालिज्मको मीठास नेपाली भाषामा चाखे प्लस कवितात्मक कल्पनाको नेपाली भाषामा नै अलग मीठास पाइयो । तरपनि संस्कृति र दर्शनको सन्दर्भमा हामीले गम्भीर रुपमा सोच्न अबेर भएको छ । यहाँ सबथोक नौलो रुपमा सुरु गर्नु पर्ने हुन्छ ।

अचानक आकाश बर्सन्छ । अँध्यारो बढ्दै छ । मलाई पारिजातको कुनै उपन्यासमा अनुभूति हुने साँझको रमाइलो लाग्छ । उल्लेखित दोस्त धाप मारेर ठाडो घाँटी लगाउने इशारा गर्छ । अनुहारमा दुवैको मुस्कान फैलिएको हुन्छ ।

***

फेरि निस्सारता

बिहान उठ्दै गर्दा रन्थनिने गरी निर्रथकता बोध हुन्छ । कतै जाँदै गर्दा, केही सोच्दै गर्दा, चिया पसलमा बस्दै गर्दा, कताकताबाट गहिरो वाकवाकीले आएर समात्छ, मगज झन्न हुन्छ, अनुहारमा विकार आउँछ र जुरुक्क उठेर हिँडिदिन्छु । कति वर्ष भयो ? चार, पाँच, छ ? कति ? कहीँ जानु छैन तर हिँडेको हुन्छु कारण नहिँड्ने मान्छेलाई अरु मान्छेले कीरा मारेझैँ मार्छन् बोली र व्यवहारले । अस्तित्व लम्पसार परेको छ आँखाअगाडि । थाहा छ, केही अर्थ छैन केहीको पनि, तर पनि दोहोर्‍याएर हिँड्छु अरुले सुन्न चाहने चल्तीका कुराहरु । कहीँ नबिझाउन, कसैबाट ‘इन्भ्यालिड’ (अयोग्य) साबित नहुन, सामाजिक प्राणी भइदिन । खोक्रो आदर्श, रित्तो अभिनय, जबर्जस्तीको जिजीविषा भारी बोकेर अलिकति खुसीको याचनामा सकिन्छ सबको कथा । कहाँ खर्च गर्ने यी सेकेन्ड, मिनेट, घण्टा, दिनहरु ? कति समय लाग्छ सकिन ? चेतना निवृत्त भइदिए ! टकटकिएर झरे ! अस्तित्वको सीमान्त तहमा यस्तो वाकवाकीले भरिएर जब गल्लीमा हिँड्छौ- कुनै ‘फ्लानेयर’ भएर, हर दृश्यमा एक थकित युग हेरेर, गतिरुद्ध हुन्छ, चेतनामा गुरूत्व सम्पूर्ण सघन हुन्छ र लाटिन्छौ, तब मेरा शब्दको अर्थ थाहा पाउँछौ । तर यस्तो नहोस् । बहावमा बगिरहू । समयबद्ध रहू, प्रिय दुनियाँ !

***

छोडेपछि

सहजता खोज्न छोडेपछि, आनन्द खोज्न छोडेपछि, घरको अनुभूति खोज्न छोडेपछि, न्याय खोज्न छोडेपछि, मान्छेबाट विवेकसम्मत व्यवहार खोज्न छोडेपछि, निरपेक्ष सत्य खोज्न छोडेपछि, अरुबाट सम्मान खोज्न छोडेपछि – डर हराउँदै गएको छ, संसार पराइ लाग्न छोडेको छ, मनमा केही बिझाउन छोडेको छ । बस् एपिसोडिक जीवन क्लासिक पाराले रमाइलो लाग्न थालेको छ – टैगोरको उदास यात्री ‘आफ्नो बाटो हिँड्दै जानेछ, जेजे हुन्छ हेर्दै जानेछ’ झैं मीठो लाग्न थालेको छ ।

***

ह्रासवादी मनस्थिति

कला/साहित्यमा ह्रासवादी धारको आफ्नै हस्तक्षेपकारी भूमिका रहेको थियो उन्नाइसौँ शताब्दीको सुरुमा । फ्रान्सेली चार्ल्स बोद्लेयर र कार्ल ह्युस्मन्स र एड्गर एलन पो अमेरिकी साहित्यकारले आधुनिकताको विरोध गर्दै विशुद्ध सौन्दर्यको वकालत गरे । ह्रासवादी कलाचेतले आजको जटिल समयमा सार्थकता राख्छ। ह्युस्मन्स र पो पढ्दै आफ्नो समयको प्रगति सन्देह गर्दैछु । बोद्लेयरको कला समालोचना इङ्गित गर्छ – आज व्यक्ति झन् पराई भएको छ स्वयंसँग र समाजसँग । म पनि मरिरहेको छु हरेक दिन देशको असङ्गत प्रहसन अनि स्वयंको लाचारीसँगै ।

लाग्छ, नीत्से र काफ्का अब नेपाली साहित्य र संस्कृतिको सन्दर्भमा बढी सान्दर्भिक हुनेछन् । संस्कृतिको ह्रास भई मूल्यगत अन्यौलताको अवस्थामा, किङ्कर्तव्यविमूढ उभिएको आजको समाजमा नीत्सेले भनेको संकट मुखरित भएको छ । हिन्दू पुराणमा वर्णन गरिएको कलियुगका विशेषतापनि यही बताउँछन् । सदाचार, असलपन, विवेक र न्यायको क्षयिकरण हुन्छ कलियुगमा । आसुरी तामसिक मूल्यको बाहुल्यता रहन्छ । हरेक कुरामा अज्ञानी अँध्यारो छाउँछ, ज्ञानीको प्रभाव निस्तेज हुन्छ । त्यसैले सबैभन्दा भ्रष्ट र परपीडक मान्छे आज सम्मानित भएका छन् र आम मानिसको अन्तर्यमा दुष्टताप्रति केवल सतही घृणा हुन्छ किनभने ऊपनि अवसर मिलेसम्म परपीडा र दुष्टताको भर्‍याङ चढ्न चाहन्छ ।

काफ्काले आफ्नो साहित्यमा उजागर गरेको न्यायको अभाव र सत्ताको अस्पष्ट लवजले अस्तव्यस्त तुल्याइने व्यक्तिको अर्थहीन दुःख आजको यथार्थ हो । यस्तोमा साहित्य या त आक्रोशको चिच्याहट या नैराश्यको निश्वास हुन्छ । असङ्गतिलाई देखेर कोही काल्पनिक चिन्तनले मानसिक दबाब व्यवस्थापन गर्छन् साहित्य मार्फत । जसलाई पढेर पाठक केही समय उपायहीन यथार्थको कुरुपताबाट उन्मुक्ति महसुस गर्छ । अहिले नगरकोटी र गनेस पौडेलले अगाडि बढाएको सर्रियालिस्ट साहित्य यसको उदाहरण हुन् । यिनको आफ्नै सकारात्मक महत्व अवश्यपनि रहेको छ । तर यो ह्रासवादी साहित्य निकट छ ।

कला र साहित्यमा यथार्थवाद नेपाली सन्दर्भमा कति उचाइमा पुगेको छ भन्न सक्दिनँ । यथार्थलाई सकेसम्म दुरुस्तै प्रतिविम्बन गर्दा मान्छे ब्युँझिन्छ चेतनामा । रमेश विकल र गुरुप्रसाद मैनाली अनि लैनसिंह बाङ्देल यथार्थवादी साहित्यकार थिए । तिनको साहित्य यसर्थ निश्चित समयको हाम्रो समाजको चित्र हो । हाम्रो समाज अहिले कहाँ छ समाजशास्त्रीसँग सोधौँ । यथार्थ पर्याप्त निराशापूर्ण छ भने यथार्थवादी साहित्यले पाठक थाक्छन् कि ?

कोही भन्छन् – आजको नेपालमा विशुद्ध कला र सौन्दर्यको कुरा गर्न सुहाउँदैन । कारण, हामी अझै धेरै हदसम्म आदिम छौँ , विशुद्ध सौन्दर्य आधुनिक विचार हो! यो विचारणीय छ । ध्यानी नगरकोटी विशुद्ध सौन्दर्य खोजिरहेका छन् । उनको आख्यान आकर्षक छ । उनका थोरै सहरीया पाठकले फरक स्वाद चाखेका छन् । दुःखद कुरा हो कि सबैले यथार्थको कुरुपता जितेर विशुद्ध कलात्मक सौन्दर्य खोज्ने दिन निकै टाढा छ ! हामी आम नेपाली ठेला उठेको हातमा किताब समाउँदैनौँ – रक्सीको गिलास र बच्चा समाउँछौँ । नगरकोटीले धेरै युवालाई किताब समाउने मीठो लोभ जगाउने सत्कर्म गरेका छन् । तर अधिकांश हाम्रा विवश हातले काम खोजिरहेका छन् । जे पनि गर्न आतुर हाम्रा हातले विदेशीको बन्दूक र ज्यावल समाउन आफ्नै जमिन र जहान परिवार छोडेर प्रदेशसम्म भौंतारिएका छौँ । हामीलाई सौन्दर्यको हक अहिले नै मिलिसकेको छैन । तर पनि थकित म ह्रासवादी साहित्य सोच्छु र माक्सिम गोर्कीप्रति अलिकति ग्लानीले पोलिन्छु ! अनि नगरकोटीको कथ्य-विचरणमा आराम गर्छु ।

***

असल र दुष्टताको घामछाँया

मान्छेको स्वभाव र आचरणको विषयमा पत्याइनसक्नु कुराहरु पढियो, देखियो, केही हदसम्म भोगियो पनि । तरपनि यसको निर्क्यौल छैन ।

पश्चिममा दार्शनिक सोक्रेटस, रुसो, अनि पूूूर्वमा बुद्ध र अद्वेतवादी विचारकले मान्छे स्वभावैले असल हुन्छ भनी मानेका छन् । तर बाँच्ने क्रममा विभिन्न कारणले मान्छे भ्रष्ट हुन्छ । त्यस्तै टमस हब्स, मेकियाभेलि, नीत्से जस्ता चिन्तक मानिसलाई स्वभावैले हिंस्रक तथा आत्मकेन्द्रित स्वार्थी भन्छन् । व्यवहारगत मनोविज्ञानका लामो समय लगाएर गरिएका अध्ययनहरूले मिश्रित निस्कर्षहरु पेश गर्छन् । हुन त फराकिलो नजरमा दर्शन आफैँ विभाजित छ – मान्छेको साझा नियति/प्रकृति हुन्छ र हुँदैन भन्नेमा । मान्छे जन्मँदै असल/खराब/मिश्रित हुन्छ भन्ने सारवाद (एस्सेन्सियालिजम) र मान्छेको पूर्वनिश्चित कुनै सार हुँदैन बरु अस्तित्वगत हुनु पहिलो घटना हो जसको पश्चात् संस्कृति र स्वचयनले मात्र मान्छेले आफ्नो सार ग्रहण गर्छ भन्ने अस्तित्ववाद । यी दुवैमा उत्तिकै तर्क छन् ।

दार्शनिकहरुले नीतिशास्त्र र सदाचारको मूल प्रश्न ‘असल’ र ‘दुष्टता’ लाई मान्छन् । सबैजसो सांगठनिक धर्मले मानिसलाई ‘असल’ बन्न प्रेरित/त्रसित गर्छन्, ती आत्मकेन्द्रित अहंलाई दुष्टताको प्रमुख कारण मान्छन् । अनि हामीलाई अहं-शून्य हुने नैतिक आदेश दिन्छन् र उपाय बताउँछन् । आध्यात्मिक हुनुको सही अर्थ हरेक रुपले सन्तुलित मानसिकतामा रहनु हो जसले फराकिलो रुपमा जीवनको बोध हुन सकोस् । धर्मको आफ्नो रीति हुन्छ जसलाई निःशर्त पालना गर्नुमा मात्रै यसबाट अपेक्षित लाभ प्राप्त हुन्छ । त्यसैले धार्मिक र आध्यात्मिक हुनुमा तात्विक भिन्नता छ ।

आध्यात्मिकले असल र खराब दुवैलाई बुझ्दछ र यी दुवैभन्दा माथि र पर रहन्छ । राजनीतिक व्यक्ति कहिल्यै आध्यात्मिक हुन सक्दैन । कारण, आध्यात्मिक व्यक्ति सदाचारको नियमहरु आवश्यक नहुने उच्चतामा बाँच्दछ । तर राजनीतिक व्यक्तिले मानवीय अहंको अति घिनलाग्दो शक्तिपूजक खेलमा निर्लिप्त हुनैपर्ने हुन्छ । जस्तै आध्यात्मिक गान्धीको आदर्श राजनीतिले माग्ने मूल्यगत इमानदारिता यथार्थमा आजको दिनमा एउटा भद्दा काल्पनिकी लाग्छ, व्यावहारवादी सुभाष बोषको राजनीति यथार्थमा राजनीति हो जहाँ दुष्टता र असलको गोधूलि तुवाँलो छ ।

त्यस्तै बौद्धिकहरु कलम र जीवनको तादात्म्य मिलाएर बाँच्ने, जनताको आवाज भएर सत्ताको खबरदारी गर्ने यथार्थ र आदर्शको सन्तुलित विवेकको उज्यालो हुनुपर्ने हो तर हाम्रो परिस्थिति गोधूलिको हो । तुँवालोग्रस्त । अँध्यारो-उज्यालोको खिचडी !

***

मात्र एउटा स्थिति

बिहानको प्रथम स्वर कुनै चराको थियो– प्रफुल्ल, स्फूर्त !
नरम भोरको निर्मल न्यानो घाम बिस्तारै अनुभूतिमा ओर्लियो । पर्दाहरू खोलिदिएँ । लुकाउनु नै के छ र ! र चल्मलाउँदै गरेको जीवन हेर्न थालेँ । मानिसहरु बाँच्छन्-एउटा स्थिति, मात्र एउटा !

थाहा छ, प्राय आफैँलाई भन्छु- मृत्यु निश्चित सत्य हो । मर्नुपर्छ मैले, समय सीमित छ । के मात्र गरुँ यो छोटो पलमा ? अपलक धीत मरुन्जेल आकाश नियालूँ, या आभासभरि पोखिन कसैको प्रेममा डुबूँ; आन्दोलनमा मुठ्ठी अनि नारा बनूँ या गहिरो हृदयगीतको अन्तरा गाऊँ ? आफन्तहरुको विश्वासिलो नाता खोजूँ, या विरागमा आफ्नै ईश्वर खोजूँ ?

यो छोटो पलमा, यो चुट्कीभरको स्वरमा एउटा स्थिति- मात्र एउटा – जो म बाँचिरहेछु र कोठाको मौन भित्ताहरु मलाई नियालिरहेछन् ! उभिएको झ्यालबाट बिहानको प्रथम स्वर कुनै चराको थियो- प्रफुल्ल, स्फूर्त ! म सोचिरहन्छु या बाँचिरहन्छु- एउटा स्थिति, मात्र एउटा !

***

साँझको नाममा

साँझ मुर्झाएर डेरा फर्किने दिनहरु आजकल किन व्यथित छन् ? म भन्न सक्दिनँ, यो एक्लोपन आजकल किन अस्पतालका रोगी शैय्याहरु हेर्न पुग्छ; एउटा प्रेमी पतिको आँखामा प्रिय पत्नीको रक्त क्यान्सर हेर्न पुग्छ । हर साँझ बेड नम्बर एक सय चौध मा पुगेर ढोकाबाट चुपचाप गाढा उदास फर्किन्छ यो हृदय । अथवा घाटमा धुँवा भई उडिरहेका भ्रमहरु हेर्न पुग्छ; खरानी भइरहेका अहंहरु हेर्न पुग्छ । म भन्न सक्दिनँ, यो एक्लोपन आजकल किन ‘आत्था/ ऐय्या’ हरु हेर्न पुग्छ !

***

डायरीको खरानी

पुराना डायरीमा किरमिर कोरिएको- वर्णसङ्कर अस्तित्व कवि, प्रेमी र सन्यासीको ।
कुनै विरानो दिनको उच्चाटमा, पोलेर आएथ्यो इतिहासको घाटमा ! आजभोलि कुन्नि कसका प्रेतहरु साउती मार्छन् – रोज उसका बिहान साँझहरुमा ।
निस्तब्धतामा लपेटिएका दिग्मिग सोचहरु बनेर, अर्धनीँदो चिसा रातका निश्वासहरुमा -आजभोलि डायरीका फुस्रो खरानीहरु रङमगाउँछन् – उसको मगजभरि नजरभरि !

उसको कवि मर्यो
उसको सन्यासी मर्यो
उसको प्रेमी पनि मर्यो
जो बाँकी छ उभित्र
को बाँकी रह्यो ?

***

झर्को

धैर्य भइ आफू सुनी बस्नुपर्छ । स्थितिहरु झर्कोलाग्दो गरी बोल्छन् । आत्तिएर समयदेखि परिवेशहरुमा शिक्षक खोज्नेपनि उमेर हुँदो रहेछ ! झर्कोभन्दा पर छैन विवेकको कानेखुसी । आफ्नै मगजको आडमा चिर्नुपर्छ अन्धकार । नौलो कुरा होइन – बसहरुमा, सडकमा, कार्यालयहरुमा- स्थायी छ मान्छेको आदिम संस्कार- बिनसित्ति गुम्सिएका विस्फोटक अहंहरुमा ! जिजस र बुद्धलाई गोजीमा पट्याएर हिँड, ओ आदर्शवादी ! अस्थायी पलायनहरुलाई पाइतालामुनि ओछ्याएर हिँड, ओ सहनशील ! झगडियाहरु माझको शान्त सोक्रेटस, न्यायाधीशको अचल आँखाहरु, रगतमा मन्द बगिरहेको स्पिनोजाको सदाचार, लाओत्जुको मौन मुस्कान अनि खचाखच बसमा कुनै युवतीको अँगालोमा शिशुको तृप्त कुनै अनुहार पनि भीड र झर्कोभन्दा पर छैन !

***

पलायन बोध

बर्सिन नसकेर अत्यासलाग्दो थियो काठमाण्डौँको आकाश हिजो । परिचित तर त्यो मेरो आफ्नै शहर रहेनछ भन्ने बुझियो । तराई मेरो होइन रहेछ, काठमाण्डौँमा म परचक्री रहेछु । पहाडको मेरो जन्मघर बिर्सिएको एउटा सन्दर्भहीन इतिहास । सरकार र राजनीतिको टिप्पणी गर्न छोडियो । वाद र विचारको पूर्वाग्रह पनि त्यागियो । न देश न विदेश आफ्नो हुन्छ । सार्त्र भन्थे अस्तित्व शब्दहरु र अर्थहरुमा होइन तिनका पछाडि पो हुन्छ । सायद जहाँ पनि मान्छे उस्तै हुन्छन् – अस्तित्वको निरन्तरतामा अति व्यस्त, अति दुष्ट, अति विवश, अव्यक्त असलपनले सताइएको ! फूलहरु राम्रा छन् र आकाश अनि रूखहरू प्रिय लाग्छन् । तर मान्छे ? मान्छेदेखि भाग्न सकिन्न !

***

अनि स्वीकृति

दिनको आफ्नै मौनता हुन्छ । दृश्यहरूको भीडमा अजीवको एउटा सन्नाटा व्याप्त पाउँछु । आकाश बेमतलब खुल्छ र बादलले छोपिन्छ । सडक लम्पसार र व्यस्त तन्किएको छ । यो हतारको लस्करमा बेपत्ता दौडिरहेका मान्छेबीच म किन मिसिन सकिनँ ? मौनता र गतिहीनतामा जीवनको कुन अर्थ खोज्दैछु ? जीवन सबैको एउटै ढर्रामा चल्नैपर्ने वैश्विक नियमको अधिनायकवाद पनि छ र ? हाँस्छु, बडो सन्तोषले । दिनको अनुगुञ्जनमा मगज लठ्याउने शुष्क मृत्यु भोगिरहेकाहरू पनि होलान् । अनि अन्धो जीवनको उत्ताल आनन्द भोग्नेहरू पनि होलान् । अजीवको छ अस्तित्व ।

हिजो बोन्साई मान्छेलाई फेरि देखेँ । मान्छेहरू उसको लासलाई एम्बुलेन्समा राख्दै थिए । लाग्यो, उसको अनुहार सुन्दर र शान्त मुद्रामा जवाफ दिइरहेको थियो- ‘ओ आदर्शवादी, स्वीकार गर । तिमी र म उस्तै छौँ ।’ र अचानक आफूभित्र मैले थाहा पाएँ – म कुनै नौलो होइन । मभित्र एउटा स्पष्ट हलुकापन छाएको छ । अस्ताउँदो घाम हेरेर उभिएको छु । बाँच्ने काउकुती लागिरहेको छ । मलाई यकिन छ यो आवाज मेरो आफ्नै आवाज हो – ‘स्वीकार छ जिन्दगी ! चियर्स !

***

Facebook Comments

You may also like

error: Content is protected !!