ब्ल्याक कफिको प्रमिस !

मग बाहिर सादा रङ्गमा क्रिसमस ट्रि का विभिन्न स्वरुपहरु गाढा रङ्गले पोतिएका छन् । निश्चित एउटा प्वाल छ मगमा । माथिपट्टिको त्यो प्वालबाट कफिको बास्ना सँगसँगै तातो बाफ उडिरहेछ । यो मेरो डमेस्टिक सयन कक्ष हो । डिसेम्बर महिनाको अन्त्यतिर क्रिसमस ट्रिले वरिपरि पोतिएको लार्ज साइजको मगमा बत्तिस दाँत र एक जिब्रो लगायतलाई साक्षि राखि मेरो डोमेस्टिक मुखबाट स्ट्रङ कफिलाई पेटमा खन्याइरहेको छु ।

–०.५ को चस्माले आँखा छोपेर ति पूराना दिनहरुलाई हेर्दैछु । कालो उनीको टोपी भित्रको मेरो टाउको प्लस दिमागमा रिल घुमेझैँ घुमिरहेको छन् अतितहरु । मैले अतितको ठिक अगाडी ‘कालो’ छुटाएको हुनुपर्छ । का…..लो अतित !

एकछिन है ! डिसेम्बरले चिसो बतास ल्यायो, मैले झ्याल बन्द गर्नुपर्छ । झ्याल मतलब सिँगै घर बनाउँदा पूर्व नियोजित पारिएका प्वाल मध्येका जुनियर, जसमा ढकनी लगाइएको हुन्छ र आवश्यकता अनुसार खोल्न र बन्द गर्न मिल्छ । बन्द गरिदिएँ । ढिला गर्ने दुस्साहस मबाट भएन । म कफिलाई पिउँदै छु । बिस्तारै मग रित्तिँदै छ । मलाई कसैले धुवाँ उडाइरहेको देख्नु हुने छैन । म धुवाँ उडाउन सौखिन छैन । यसमा मेरो आफ्नै मान्यता छ ।

वेटर छैन ??? ए ! यो त मेरो डमेस्टिक रुम हो क्यारे ! मग रित्तिएको छ । रित्तो मगसँग बसेर त म बोर मात्र हुन्छु । मग भर्ने र रिल घुम्ने गति तिव्र भइरहेछ ।

त्यो साँझ ! मलाई यत्ति याद छ ।हामी ठूलो मानव पुर्खा….(डार्विनका अनुसार ढेडु/ बाँदर/बन्कर/मंकी) को प्रतिमावाला प्वाल उर्फ गेटबाट छिरेका हौँ । मेरो आची धुने हात तिम्रो कम्मरमा थियो अनि तिम्रो लिपिस्टिक दल्ने हात मेरो काँधसम्मै थियो । मलाई याद रहनु स्वभाविकै हो । तिमिलाई मन पर्ने क्याजुअल कपल पोज यहि नै त हो । कति अनपेक्षित रुपमा बित्छ जीवन/समय/काल….!

कास ! मैले यो दिन आउँछ भन्ने थाहा पाएको भए….? म पल-पल स्मरण/याद गर्ने थिएँ । हेर त तिमीले तिम्रो तर्फबाट भूतपूर्व लगाइसक्दा पनि म तिमीलाई सिर्फ प्रेमिका भन्न रुचाइरहेको छु । मलाई हाम्रो अन्तीम भेटसँग खुलेर चित्त बुझेको छैन । खुलेर भनौँ, चित्तै बुझेको छैन । त्यो गर्मी मौसमको साँझ, हामी सँगै थियौँ । मेरो रोजाइको कोल्ड कफी पिउन तयार हुन तिमीले धेरै बाहाना बाजी गरेको र मैले कष्ट उठाउनु परेको थियो । त्यसबेला तिमीलाई फकाउने बाहानामा म तिम्रो अनुहारमा एकोहोरिन सक्थेँ । तिमिले स्यान्डल खोलेकी थियौ । तिम्रो खुट्टामा निश्चय नै १० वटै औँला थिए । तर, हुन सक्थ्यो ! नौ या एघार पनि हुन सक्थ्यो । तर, म गुनासो यस कुरामा गरिरहेको छु कि तिमीले मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ति औँला गन्ने थिएँ । के अर्थ हुन्छ औँला गन्नुको? खै? जान्दिनँ । अफसोस ! मलाई त तिम्रो स्यान्डिलको रङ समेत याद भएन ।

दरी ओछ्याइएका छन् भुइँमा । त्यसमाथिका चकटीमा तिमी र म छौँ । कफी टेबललाई साक्षि राखेर माथि एउटा पंखा रिँगटा लाग्ने डर नै नभएझैँ घुमिरहेछ र तिमीलाई शंकै छैन त्यो पंखा हाम्रो टाउकोमाथि खस्छ भनेर ।

क्याफेको सिंगल रुममा हामी छौँ । या भनौँ, चिन्तन क्याफेको सिंगल रुममा कपल छौँ । आँखीझ्यालबाट बाहिरको दृष्यलाई मेरो आँखामाथिको –०.२५ को सिसाले घरिघरि नियाली रहेको छु । तिम्रा आँखाहरु निर्वस्त्र छन् ।

समय धेरै घर्किसकेछ, तिमीलाई खै सुनाउन पाएँ ? जुन संसारमा तिमी र म, सँगसँगै –०।२५ ले हेर्थ्यौं, आज एक्लै –०।५० ले हेरिरहेको छु । तिम्रो कपाल, अनुहारमा म्याच गर्ने कोठि, झलक्क हेर्दा देखिने आकर्षण । आज मेरो गुनासो छ त्यो भेट अन्तिम भएकोमा । त्यस्ता भेटहरु धेरै भए तर अन्तिम नभएका ति भेटहरुसँग मेरो कुनै गुनासो छैन । तिम्रो भुतपूर्व म, तिम्रो कपालको लम्बाई जाँच्न चाहन्थेँ, तिमीले भन्थ्यौ नि ! तिम्रो अनुहारमा थुप्रै कोठिहरु छन् । तिम्रो अनुहारमा न एकोहोरिएको त होइन । तर हरेक एकोहोराइमा म तिम्रा आँखाको गहिराइ नाप्ने सूरमा रहन्थेँ । तर म तिम्रो अफिसियल अनुहारमा एकोहोरिएर ति कोठिहरु गन्ने थिएँ यदी मलाई भुतपूर्व बनाउने पूर्व योजना बताएकी भए ।

बाहिर चिसो बतास/हावा चलिरहेकै छ। मैले ज्याकेट खप्टिएँ र मफलरले मसिनो घाँटी बेरेर छोपेँ । माथि….माथि…. लेकहरु सेताम्मे फूलेका होलान् हिउँले । ति अन्तर्मुखी पहाडहरु चिसो हिउँ सहिरहेकै होलान् । कस्तो विडम्बना हगी ! चर्को घाम लागे पनि चिसा हिउँहरु परे पनि त्यहि चुचुरो/टाकुरो/पहाड….

बाहिर गेटको ढेडुको प्रतिमाले सिगरेट पिइरहेको अझै याद छ मलाई । सिगरेट पिउने कि, खाने कि उडाउने कुरामा म कन्फ्युज्ड छु । जे होस त्यस्तै झल्किन्थ्यो, पीइरहे झैँ । तिम्रो हातमा अक्सर (स्मरण रहोस बायाँ हात) सेतो चुरा बेरिन पाउँथ्यो । त्यो साँझ मैले दुस्साहस गरेँ कि त्यो सेतो चुरा किन मेरै रोजाइको नहोस ? छिरेँ, एक कस्मेटिक पसल र त्यहाँ बसेकी बार्बी डलसँग मागेँ, एक थान (कि दर्जन पो भन्छन् ?) चुरा ह्वाइट कलरमा । बार्बी डल ले अड्कल गरी- ‘Gift हो ?’ ‘ हन्ड्रेड पर्सेन्ट हो।’-म जवाफित भएँ । लुसुक्क भित्र पसी/अन्तर्ध्यान भई र बेरमै एउटा झिलमिल बक्स सहित प्रकट भई । उसको मस्काई हेर्न लायकको थियो । के उसैलाई गिफ्ट दिउँ ? नाँइ नाँइ ! यो त मेरो प्रेमिकाको लागि हो र मैले पत्तै न पाएको/अपेक्षा न गरेको अन्तिम भेटको चिनो हो ।

“सेतो चुरा गिफ्ट दिएको अर्थ अर्कै लाग्छ, प्लिज यो सेतो चुरा मलाई नदिनुस् !” यो तिम्रै वाणी हो । बाइ द वे, तिम्रो सुझावले म पानी-पानी/पसिना–पसिना भएँ ।

खै के अर्थ लाग्छ ? के अर्थ लाग्यो ?
सायद यो भेट अन्तिम नभएको भए म लगायत…. जानकार हुने थियौँ कि ? खैर, त्यो सेतो चुरा अझै पनि तिम्रो भुतपूर्व प्रेमीसँग नै छ ।
के यसलाई धोका भन्न मिल्छ ?

मैले सोध्ने तिम्रा फोटाहरु फगत हाँसिरहन्छन् मानौँ ती फोटाहरुलाई/तिमीलाई केही थाहै छैन । मैले भनेथेँ कुनै दिन, तिम्रा यी तस्वीरहरु मसँग बात गर्छन, हाँँस्छन, मलाई एक्लै हुन दिँदैनन् । यी फोटाहरु साक्षि छन् । तर यतिबेला यी फोटाहरु मलाई गलत साबित गरिरहेका छन् । बोलुँला झैँ तिम्रा तस्वीर आज किन अन्जान छन् ? तिम्रो मनको र यी तस्वीरको के सम्बन्ध छ हँ ? हिजो मोनालिसा उपमा पाएका तिम्रा यी तस्वीरहरु आज भुत/डायन/प्रेत/किचकन्या झैँ लागिरहेका छन !

बट ! मेरो ब्ल्याक कफिको प्रमिस, म धोका भन्दिनँ । बस ! गुनासो त्यही भेटको, जसलाई तिमीले, एकलौटी/जबरजस्ती/खुदखुसी ढङ्गले अन्तिम बनायौ ।

Black Coffee Promise

Black Coffee | Image Source: Tumblr

Facebook Comments

You may also like

error: Content is protected !!