ब्ल्याक कफीको प्रमिस- ४

इभोकेसन (EVOCATION)

ब्ल्याक कफी र फिक्सनको मिश्रणसँगै उदाएकी थिइन् उनी ।
गाडीमा भेटेर पनि लप पर्छ र ? भन्ने उखानै भएको बेलामा जस्ताको त्यस्तै गाडीमै भेट भएको त हो नी ! किन र , कहीँ न कहीँ त भेट हुनै पर्यो नि, लप कलेजमै पर्नु पर्छ र ? कि कतै साथीकै बिहेमा भेट्नु पर्छ ? एनि वे , जहाँ भए पनि भेट्नु त पर्छ नै ( फेसबुक च्याटमा लप परेका कैयौं उदाहरण यथावत रहेमा ) नम, थर ठेगानाका चर्चै नगरी उपन्यास र तिनका पात्रका लाइक र डिसलाइक सुरु भएपछि मैले उनलाई लाइक हानेको स्वीकार गर्न चाहन्छु । मपनि कति हुस्सु भन्न मन लाग्यो । एक दुई थान पात्रको पछि लागेर उनको फोन नम्बर समेत माग्न भुलेछु । तर याद रहोस् बातों बातों में नाम तो छिन् हि लिया था । पल, घडि, दिन, महिना गुज्रा…………………, चलन चल्तिको फेसबुकमा उनको अनुहार देखियो र प्रोसेस पार गरेर हामी इ-साथी भयौँ , र एकदिन पानी बाराबार मै पुग्यौँ । वास्तवमा यात्रा यात्राबाटै सुरु हुन्छ । गाडीमा एउटै सिटमा परेपछि, दुइटै पढनदास भएपछि, मचाहिँलाई, ऊचाहिँले बोलाएपछि ( म ज्यमराज छु (रे) नबोलाइ नबोल्ने वाला) । जिन्दगीको यात्रामा, गाडीको यात्रा हुँदै हुँदै यो कथानाक यात्राको दर्दनाक कहानी सुरु हुन्छ ।

मुख उनैले फोरेकी हुन, सुरुमा । यहि वार्तालाप भयो भनेर होसै भएन । तर जबदेखि होस छ, हामी भारतिय मोटिभेसनल लेखकका लेखनशैली हुँदै हुँदै मेरै लिडें ढिपीमा नेपाली फिक्सनका पात्र सम्झिँदै , रुम्मलिँदै थियौँ । इफ आइ एम नट रङ, त्यो गाडी पूर्वबाट पश्चिमतर्फ लाग्दै थियो । तर हाम्रो सम्बन्ध ( पछि सम्बन्धहीन भनिनेछ ) भर्खर उदाउने तरखरमा थियो । कहिले उदाउने ? कहिले पश्चिमतिर लाग्ने ? र अस्ताउने पनि टुङ्गै नभई लाली चढ्न थालिसकेको थिएछ । पछि मात्र चाल पाइयो ।

गाडी गुडिरहेछ, उत्रिने उत्रिरहेछ, चढ्ने चढिरहेछ । हाम्रो सिटले भने नयाँ ग्राहक/पेसेन्जर/यात्री पाउने छाँटकाँटै छैन । लेखकले जन्माएका पात्रसँग रिसाइयो पनि , चित्त पनि बुझाइयो । म भएको भए यसो गर्थेँँ भन्ने सम्मका वार्तालाप हुँदै गर्दा भाडा माग्न आइपुग्यो कालो वर्ण, कर्लि कपाल भएको भाइ । अलिकपछि जस्तो दुईजनाको भाडा एकै जनाले तिर्ने वातावरण ग्रिन ग्रिन नभएकै बेला आफ्नो आफ्नो गन्तव्य उच्चारण गरेर निर्धारित रकम, कर्लि कपाल भएको काले भाइ ( मायाले भनेको )लाई हस्तान्तरण गर्यौँ । यहि क्रममा के चाहिँ था भइहाल्यो भने, मेरो यात्रा टुङ्गिसक्दा पनि उनको यात्रा भने चलि नै रहने रै’छ । वा गन्तव्य आउन बाँकी नै हुने रहेछ ।

बिस्तारै बिस्तारै/शनैः शनैः ई–साथीको हद पार गरेर कफी टेबलको आमने–सामनेमै आँखा जुधाउने हैसियत बनायौँ । समयले ओल्टे–कोल्टे फेर्यो/मडारियो/छटपटायो र टिक…..टिक…टिक……….टिक………..टिक………. दौडिरह्यो/लम्किरह्यो/घस्रिरह्यो ।
त्यसपछि…………………………………………………………………….।

प्राईम टाइम

त्यसपछि चेतन भगतको हाल्फ गर्लफ्रेण्डलाई साक्षी राखेर म हाल्फ ब्वाइफ्रेण्ड भएँ । र कालान्तरमा मुस्ताङको मुक्तिनाथलाई छक्क पार्दै, पोखराको बेगनाश ताल र फेवातालको रोहवरमा फूल ब्वाइफ्रेण्ड हुँदैहुँदै आलङ्कारिक पद/नामहरुले विभुषित हुँदा भएँ । अन्तः कालमा ताप्लेजुङको पाथिभरामा चढाइएको ऐना, काइँयो बरु उनलाई दिएको भए, हगी ? भन्नेसम्म लाग्न थालेपछि पक्का भयो “वी आर मेड फर इच अदर ।”

त्यसपछि हाम्रो अण्डरस्ट्यान्डिङ कहिल्यै मिस भएन । उनको भक्ति जहिले अन्ध रहिरह्यो । अनि मेरो ब्ल्याक कफीमा उनको मुस्कान मिसाइयो, कहिले ठुस्कान मिसाइयो, कहिले पर्खाइ, घुर्की, ईर्ष्या, मोह, स्याक्रिफाइस ……………..अहो ! कफीमा मिसाउन यति धेरै नशालु चिज छन् ? मलाई थाहै थिएन ! अझ लिपिस्टिक फ्लेवरको कफी त कमै कफी मानवले भोगेका हुनन् । ती सुनहेरा दिनमा उनलाई उनको संसारबाट फुत्काउनु थियो र मेरो ब्रह्माण्डमा/उनकै स्वरमा पिंजडामा भित्र्याउनु थियो । अझ आजको उनको भाषामा त पखेटा काट्नु थियो ।

सुनहेरा दिनमै ढुङ्गाको अपग्रेड भएर उहाँ भगवान हुनुभयो । आजकल ह्वाँलाई खोजिरहेछु, बसेर कफीगफ गरे के बिग्रेला त, हगी ?

भर्टेक्स (VERTEX)

घस्रिरहेको समय समयसँगै कोल्टियो/कोल्टे फेर्यो ।बिस्तारै उनका चालचलनमा मयुरको छनक आउन छोड्यो । विश्वास नामको सम्बन्धको बंकरमा शंकाका सेनाहरुले हमला गरे । पृथ्वी गोलो छ, हैन चेप्टो छ । मलाई खिर मन पर्छ, हैन खिर भन्दा हलुवा मिठो, अझ गाँजरको हलुवा त खत्रै मिठो ! एकदिन उनले मलाई उनको हातको गाँजरको हलुवा खुवाउने भइन् । जुन मेरोवाला स्वाद थिएन । उनी, उनको रेसेपी र आवश्यक सामाग्री मेरो डमेस्टीक किचनमा उपस्थित भए । उनको जादु सुरु हुनै लागेको थियो, उनको मोबाइल फोनमा भाइब्रेसनले ध्यानाकर्षण गरायो । उनलाई अचानक जानु पर्ने भयो, कारण– मुल्तबी । त्यसपछि म आजपनि गाँजरको हलुवाको स्वाद भन्न नपाउने अवस्थामा छु ! गाँजरको हलुवा र उनी मेरो लाइफटाइम ट्रेजेडी हुन वास्तवमा । मप्रति उनका गहिरा गहिरा असहमति थिए, हुन त उनका यी तमाम असहमतिप्रति मेरो घोर असहमति थियो । मेरा विरुद्ध उनका चरणबद्ध आरोपपनि छँदै थिए ।

म उत्साहहीन पुरुष मध्यको एक अजीव प्राणी हुँ । आफ्नी प्रेमिका भेट्न जाँदा हाफ पेन्ट पहिरिएर, चप्पल पड्काउँदै जान्छु, खाली हात जान्छु । एकपटक उनले एउटा भेटमा किन्डर जोय ल्याइदिन भनेकी थिइन्, मैले बिर्सेँँ भेट्न/भेटिनको हतारमा सायद । सम्मुखमा खाली हात थिएँ । उनी त्यो भेटभरि रिसाइरहिन्/ठुस्किरहिन्/फुल्लिरहिन् । मैले फकाइनँ, खासमा मलाइ फकाउनै आउँदैन । उनको रिसको भुङ्ग्रोमा सेकिएर, मेरो पछुतोमा डुबेर हामी छुट्यौँ त्यसदिन । पछि मैले कफीको सुर्कोमा आफूलाई कुल बनाउँदै टेक्स्ट गरेँ – “रिस मर्यो भने भन् है अनि कल गर्छु ।” टेक्स्ट मेसेजले ३ दिने एनिभर्सरी (प्रतीक्षाको घडि १ दिन पनि १ वर्ष लाग्ने रहेछ ) मनाएपछि उनले मेसेज गरिन्, “आइन्दा हजुरसँग क्यै माग्दिनँ ।”

म खासमा बर्थ डे यादै गर्दिनँ, याद भएपनि विस गर्दिनँ । म एकदम बोरिङ टाइप्सको छु, बोरिङ मानव, लगायत यस्तै यस्तै ………….। उनका यी चरणबद्ध आरोप उनलाई हाम्रो फेयरवेलका कारण बने भन्ने भयंकर भ्रम छ । फेयरवेल नै वेल डिसिजन हो भन्ने उनको अन्तिम घोषणाले म बोरिङ मानव हुँ भन्ने लगभग पक्का भइगयो । म बोरिङ मानव हुँ, सादा जिनिस हुँ, ब्ल्याक एण्ड ह्वाइट आत्मा !

टाइप्स अफ इग्नोर

“दाइ ह्याँ रोक्नु त, एउटा उत्रिने मान्छे छ ।” उनले मैतर्फ इँगित गर्दै सफारी अटो रिक्सा रोकाएपछि म चुपचाप उत्रिएर भाडा तिर्न दायाँ हात जिन्सको दायाँ पछाडि पकेटमा घुसारेँ । उनले फेरि भनिन् क्रमशः “आफ्नो मात्र तिर्नु !” म त्यसै गरेर साइड लागेँ र रिक्सालाई ओझेल नपरुन्जेल ताकिरहेँ । मायालाग्दो अनुहार त पक्कै भयो होला मेरो, उनको कस्तो थियो खै, उनले फर्केर हेरिनन् ।

अनौपचारिक रिस, मनमुटाव, गल्ती नामाकरण गरिएका व्यवहार लगायत लगायतले दुखेको चित्तमा हरियो बत्ती बल्छ कि भनेर उनको फेरो मार्न नछोडेको म, प्रकार प्रकारले इग्नोर्ड हुँदा थिएँ– प्रेमको हिउँद कालमा । हरेक दिन म उनको घरछेउको गल्लिमा चोरझैं लुकेर बस्थेँ । उनको घरबाट निस्केर चोक/बजार/कलेजतर्फ लाग्ने कमसेकम चारभन्दा बढी नाका थिए । त्यहि भएर घरछेउमै बस्नु बाध्यताझैं थियो । उनी कलेज जाँदा–फर्किँदा, काममा जाँदा–फर्किँदा, साँझ ट्युसन जाँदा–फर्किँदा छेलिएर टुलुटुलु हेर्ने नियमित नियतीझैं बनाएथेँ आफ्नो । बिहानै आउथेँ– उनी क्लासमा, काममा, ट्युसनमा व्यस्त भएको बेला ब्रेकफास्ट, लन्च, स्न्याक्समा व्यस्त हुन्थेँ मपनि । बिहिबारे हटियाको दिन आमासँग झोला बोक्न हटिया जाँदा होस् वा दुध किन्न छिमेकको पसल, हरेक पल सिसी क्यमेरालेझैं उनलाई नियाल्नु इज माइ लभ, झैं थियो मेरो लागि ।

म उनलाई रिसिभ नहुने कल गर्थेँ, रिप्लाई नहुने मेसेज गर्थेँ । कुनै कुनै दिन त उनको फुर्सदवाला मौका पारेर अचानक भेट भएझैं भेटिन जान्थेँ बाटोमा । हाइ हेल्लो गर्थेँ । कफीको प्रस्ताव गर्थेँ, मानौँ मेरो कुनै प्लान नै छैन त्यसरी भेटिनुमा । कुनै कुनै भेटमा त उनले भन्थिन्, “लु ! लु !” र कफीन तयार हुन्थिन् । मलाई युद्ध जितेको भान हुन्थ्यो, तर त्यो भानलाई दबाउनु अनिवार्यझैं थियो त्यसबेला । खासमा हदसम्मको इग्नोरको साक्षी बस्नु पर्थ्यो, ब्ल्याक कफीसँगै । जल्दा जल्दा गरेर कोइला (ब्ल्याक कफीभन्दा रंगमा ज्यादा कालो ) भइसक्दा समेत शितल अनुहार देखाउथेँ, लाइक अ कुल गाइ । तर उनको अनुहारमा राँपिलो आगो बलिरहेको प्रस्टै देखिन्थ्यो ।

मग रित्तिँदा नरित्तिँदै उनको वाणी आउँथ्यो, “भयो हैन ! अब जाउँ ?” म उनको अनुहार हेर्थेँ । उनी मेरो जवाफको कुनै आशै नगरी बाटो लागिसक्थिन् । म चार-पाँच दिनको अन्तराल पारेर जम्काभेट भएजस्तो बनइरहन्थेँ माहोललाई । तर कुनै कुनै कृतिम जम्काभेट मात्र कफी टेबलसम्म लम्किन सफल हुन्थे । कफी पिएपनि नपिएपनि उनका इग्नोरका प्रकार भने सदाबहार तरोताजा हुन्थे, कायम भइरहन्थे ।

कफी बसाइँका इग्नोरका प्रकारहरुमा विभिन्न आयाम हुन्थे । कुनै बसाइँ एक शब्द ‘चुँ’सम्म नबोली रित्तिन्थ्यो ब्ल्याक कफीको मग र यो ब्ल्याक कफी लभरको मनपनि ! सिधा कफीको मगमा एकोहोरो घोरिएर टुङ्गिन्थे कति बसाइँ । एउटा बसाइँमा यस्तो पनि थियो जहाँ उनले, “दाई चुरोट छ?” भनी वैटरलाई सोध्दा म दङ्ग खान्थेँ, उहि ब्ल्याक कफीसँगै । यो चुरोटको तलतल नभएर इग्नोरको टाइप्स् थियो भनेर बुझ्न म अभ्यस्त भइसकेको थिएँ । यस्ता टाइप्स अफ इग्नोरसँग बितिरहेको मेरो दैनिकी जो थियो ।

यस्तैमा उनको ह्यप्पी बर्थडे टु यु आयो, मैले इग्नोर खप्ने अर्को दुस्साहस त गर्नु नै थियो । “ह्याप्पी बर्थडे टु यु, मेनी मेनी ह्याप्पी रिटर्नस अफ दि डे” रिप्लाई आयो– “अनि के भो त ?” यो इग्नोरको अन्दाज पहिल्यै थियो र थामेँ आफूलाई । गुड मर्निङमा गिफ्ट प्याक गरेर जम्काभेटमा भेट्न दौडिएँ । तर उनी भेटिइनन् उनको गल्लीमा । टेक्स्टको रिक्वेस्टमा नो, नो नो रिप्लाइ गरिरहिन् । फाइनल टेक्स्ट गरेँ – सधैँको क्याफेमा गिफ्ट छ, आएर लिए है । – बट नो रिप्लाई ।

यी इग्नोरको डोज थाम्न कफीको डोजपनि भढाउन पर्ने भयो । डब्बल सट एस्प्रेसोको नाममा टेबल ओगटेँ । दुई राउण्डपछि धैर्यताले लिग छोड्नै खोज्दा, निक्कै ठूलो रेक्टर स्केलको भुइँचालो आयो बायाँ पकेटमा, मोबाइलको भाइब्रेशन ! “जस्ट आउँदैछु, हद पार नगरेस् ।” मेसेजमा क्लिक गरेपछि देखिएको इनबक्समा यी अक्षर मलाई गिज्याइरहेका थिए । “के म यी अक्षरलाई पाहा पछारेजस्तो पछारुम् ?” “होइन, कूल ब्रदर कूल !” आफैले आफैलाई थपथपाएर कूल बनाएँ । र हद पार नगर्ने अनेकौं तरिका सोच्दै एस्प्रेसो घ्याम्पेका घ्याम्पे हानेँ ।

उनको अनुहार अनि बिस्तारै बिस्तारै उनीपनि आइपुगिन्, पिंक कलरको कालो फूलवाला बुट्टे, फुल बडी साइज्ड जामामा ! यति राम्री सजिएर आउँदापनि उनलाई जान नै हतार थियो, यता मेरो वाक्य मरिगए फुटेन । चुपचाप गिफ्टिएँ, संकोच मान्दै के हो यो भनिन् । “प्लिज रिसिभ इट” भन्दा नभन्दै पोक्याएर जस्ताको त्यस्तै हिँडिन् । “ल ल म गएँ” भनेको समेत परबाट मधुरो सुनियो ।

दिउँसोको घडी चार फन्को जति घुमेपछि घडीमा साँझ बज्यो । मोबाइलमा मेसेज थियो “ममीले त्यसलाई नभेट भन्या छ” । उनका अनअफिसियल व्यवहार/आनी/बानीले तिक्त्याएपछि एक दिन “स्टे टु, स्टे फ्री ” भन्दिएपछि उनको यस्ता यस्ता स्वरुपहरु बहुतै झेलेँ । उनको यो स्वरुप, फेरिएको प्रकृति/व्यवहारले म विरक्तिएँ, हाम्रो प्रेमिल भेटले छुट्टि पायो । म हेर्न लायकको अवस्थाबाट गुज्रिँदा भएँ । त्यसपछि मैले पिउने कफीका प्यालाहरु गन्तीमा आउनै छोडे । मनभित्रको तिक्ततालाई कफीको तितोले मेट्ने विफल प्रयास बनिरह्यो । उनको दोषरहित अस्तित्वको कामना गरिरहेँ । कास यो/त्यो उनी नभएर उनको कुनै अर्कै अस्थायी स्वरुप थियो/होओस् ।

नडुब्ने यादहरु

गेट अप क्याफेमा डब्बल सट एस्प्रेसो र एक्सप्रेस नगरिएका/गर्न नपाइएका भावनाएं घुटुक घुटुक निल्दै भेटिँदा भएँ प्रायः त्यसपछिका दिनहरुमा म, एउटा बहिष्कृत प्रेमी । मैले उडाउन थालको धुवाँ र पिउन थालेको ब्राण्ड महान जिग्री टाइप्सका हुँदा भए कालान्तरमा । टोह्लाउनलाई चिसो हिउँद या प्रचण्ड गर्मी कुनै माइकालालले नछेक्ने भएपछि टोह्लाइदिएँ । मौसम, बेमौसम, कुमौसम सबै सबैकाल ! दिनभरिको ब्ल्याक कफीको ह्याङ उतार्न रातभरी ब्ल्याक कफी । र रातभरिको ब्ल्याक कफीको ह्याङ उतार्न दिनभरी ब्ल्याक कफी । ब्ल्याक कफीमा उत्रिएको नन लिभिङ एउटा बोरिङ आत्माझैं महसुस गरिरहेछु आजकल ।

यी यादहरू दिन रात केही नभनी आउँछन्, समय काल घडीको पछि नदौडिएको पनि जन्मौं भएछ । खाने पिउने सुत्ने उठ्ने समयको माग हो र ? यदि सबैको समय हुन्थ्यो त म हरेक साँझ तिम्रो यादमा डुब्थेँ तिम्रो यादमा पौडी खेल्थेँ अनि तिम्रो याद नओभाई ओछ्यानमा पल्टिन्थेँ र पल्टिरहन्थेँ कथित बिहानहरूमा पनि ब्युँझिन्न थिएँ र चिर निन्द्रामा तिम्रा सपना देख्दै हजार जुनी बिताइदिन्थेँ । हामीले सँगै पिएका ती तमाम ब्ल्याक कफीको प्रमिस !!!

Facebook Comments

You may also like

error: Content is protected !!