समयलाई बित्नै हतार छ । बितेको पत्तै हुँदैन । मिलेर बस्न खोज्दा खोज्दै नमिलेर एउटै मेसेजमा छिन्नभिन्न भा’को पनि हिजो/अस्ति जस्तै लाग्छ । हेर्दा हेर्दै दशैँ आयो–गयो, भर्खर त भूकम्पमा आफ्नोभन्दा बढी माया लागेको, छिनछिनमा टेक केयर भनेको भन्यै गरेको त आँखै अगाडी छ, मनमै छ, मस्तिस्कमै छ, कस्सम !
खासमा के भने, साँढे चार बर्षदेखि उनी मलाई औधी माया गर्दै आइन्, म पनि ठ्याक्कै तेत्तिनै समयदेखि उस्तै माया गरिरहेँ, गरिरहेँ, गरिरहेँ…..। नेप्से सुचांक जस्तो हाम्रो मायामा हप्तैपिच्छे उतार चढाव भने भइरह्यो ।
पछिल्लो समयको कुरा हो । उनी बिहानै रातो स्कुटीमा आउँथिन् । रातो रङ्ग उनको फेभरेट थ्यो, पछि मेरो पनि भयो । मलाई पछाडी बसाउँथिन् । “एकपटक हग गरिस्यो न” भन्थिन् । म पछाडीबाट कस्सेर उनलाई हग गर्थेंँ । उनको “थ्याङ्क यू बाबा” पछि हामी कफी पिउन जान्थ्यौँ । वास्तवमै यहि कफी त थियो हामीलाई नजिक्याउने । म कफी पिउन थालेपछि २/३ पटक थपी थपी नपिई त चित्तै नबुझ्ने, खास यसो भएछ किन भने उनको त्यही बानी रहेछ, जो म मा पनि सरेको रहेछ । खासमा हामी सँगै काम गर्थ्यौँ । भन्छन् नि सहकर्मी कि के ! त्यस्तै ! त्यसमाथि कफी-भोगी, अझ अम्मली नै भनौँ । हामी बिच बोलचाल.. फोन…. एस.एम.एस.. हुँदै हुँदै आई लभ यू …..आई लभ यू टू सम्म पुग्यो अर्थात् मुटुसम्मै पुग्यो ।
बिहान हामी घण्टौँसम्म गफिन्थ्यौँ, रातमा देखेका सपनाका कुरा गर्थ्यौँ । उनी मेरो सपनाको अर्थ लाउँथिन् र हामी शुभ—अशुभ छुट्याउँथिम् । उनले एकदिन गज्जपको आइडिया सुनाइन् “यदि हजुरले मलाई सपनामा देखिस्यो भने, सिरानी उल्टाइस्यो उता, म पनि सेम त्यही सपना यता देख्छु” । यसरी हामी सपनामा पनि सँगै हुन्छौँ । हम्म्म् … दाम्मी आइडिया थियो त्यो । हाम्रा सुनौला दिन बित्दै थिए, हामीलाई दिन, रात, हप्ता, महिना, बर्ष बितेको पत्तै थिएन । चिन्तन चौतारी, मनशान्त क्याफे, फन एण्ड फुड भिलेज, गो गार्डेन, शान्तीवन हामीले समय बिताउने प्रेमिल भूमीहरु साक्षी थिए हाम्रा ती प्रेमिल पलहरुका ।
घण्टौँ गफिनु, आफैलाई बिर्सेर हराउनु, समय स्थिर भएको अनुभव गर्नु, र यि सबलाई ब्ल्याक कफिमा घोलेर त्यसमै डुबुल्की मार्नु त हाम्रा दैनिकी नै भए । ब्ल्याक कफिमा माया घोल्नु, मायामा ब्ल्याक कफिको स्वाद मिसाउनु यी दुवै अनुभव साक्षी थिए हाम्रा प्रेमिल पलहरुका । के चाहिँ पो गरिएन होला र खै……
अबदेखी एक अर्कालाई मन नपर्ने काम/कुरा नगर्ने कसम खाइयो, (यो नगर्ने भनिएको कुरा गरियो कि गरिएन ?) झुट नबोल्ने बाचा भयो, भेट्न मन लाग्ने बित्तिकै भेटिहाल्ने योजना भयो, उनी ठुस्किँदा मैले फकाउने, म बिच्किँदा उनी नम्र हुने सिस्टम बन्यो, कल इग्नोर नगर्ने, कि रिसिभ/कि कट गर्ने, र यी सबभन्दा ठुलो त, सँगै मर्ने सँगै बाँच्ने कसम खाइयो, कुनै पनि हालतमा साथ नछोड्ने वाचा गरियो, यस्तै यस्तै । प्रेमका नियमहरु बनाइए, नियम पालना गर्न भनेर कसम खाइयो, ब्ल्याक कफीको । ब्ल्याक कफी फुरुङ्ग थियो, अस्ति भर्खर मिस युनिभर्स जित्ने साउथ अफ्रिकन सुन्दरीभन्दा पनि फुरुङ्ग थियो सायद त्यस दिन ब्ल्याक कफी, आफ्नो नाममा कसम खाइँदा…(पछि उसैलाई पनि खाइदिँदा कुन्नि त्यति खुशी थियो थिएन !)
मैले सबभन्दा पहिला उनको नाम ‘अनि की’ राखेँ (उनको बिच्च-बिच्चमा थेगो जस्तै, ‘अनि की’ भन्ने बानी थियो) । उनले ‘नाइँ, काली भनिस्यो न’ भनिन् । त्यसपछि काली, जानु, जुम्री, राम्री, रानी, पोक्ची, टोक्ची, नानु, बोक्सी, बेबी, हुँदै हुँदै ….. जे भने पनि मि टु…मि टु भन्ने उनको बानी नै भएपछि त उनको नामै मिटु राख्दिएँ । उनलाई खुब मन पर्यो यो नाम “मिटु” । सायद, ‘मुटु’ जस्तै सुनिएर हो कि ? उनले पनि त के के राखिन् राखिन् भन्न पनि लाजै लाग्छ, तर उनको मुखबाट सुन्दा वाह ! आनन्दै आउने भन्या । उनले स्टुपिड भन्दा समेत सुनौँ सुनौँ लाग्ने । एवं रितले हाम्रा प्रेमिल समयहरु बित्दा भए, बित्दै थिए ।
एकदिन उनको मेसेजको घण्टी मेरो मोबाइलमा बज्यो , अचानक भने होइन । सधैँझैँ नै बज्यो, बज्नलाई । अहिले सम्झिँदा अचानक लागिदिन्छ । “वि आर नट मेड फर इच अदर, प्लिज मैले दिएका… मेरा याद आउने सबै चिजहरु जलाइदिनु, मलाई बिर्सिदिनु” मेसेज आयो र यसरी हिर्कायो र गयो पनि । हामी मेड फर इच अदर नभएको घोषणा गरेर उनी गइन् । नेप्सेको परिसुचक जस्तो उतार-चढाव भइरहने सम्बन्ध अब स्थिर भयो । स्तब्ध भयो । हाम्रो यो उतार-चढाव परालको आगो भएन, हुनलाई हामी जोइपोइ हुनै नपाइ हाम्रो आइ लव यू— आइ लव यू टू, अन्ततः आइ लव यू टू “मच” भइगयो । टुङ्गियो । (टुङ्गिगयो ? उनको लागि त टुङ्गियो तर मेरो लागि ?)
त्यसपछि आजकल, त्यही शान्तीवनको ब्ल्याक बिन्स क्याफेमा घण्टौँ कुरिबस्छु, शान्त भएरै बस्छु । कोही यो मेरो शान्ती बिथोल्नकै लागि आइदिन्छ कि भन्ने आशमा, यो मान्छे ओस्सिने चिसोमा, उस्तै चिसो मुटु छातीभित्र चेपेर अतितका न्याना याद घुलेको, प्रचण्ड तापसहितको उही ब्ल्याक कफी पिउँदै रोज पर्खिबस्छु । तर म ढुक्क छु, निर्धक्क छु, मेरो निम्ती यो कठ्याङ्ग्रिँदो बिहानमा यो कुहिरोको सेतो पर्दा चिर्दै, रातो छाता ओढेर कोही आउँदैन । सायद, पर्खाइ मेरो स्वादको विषय हो । सायद, कहिल्यै फर्केर नआउने कसैको पर्खाइमा छु । सायद, अब यो एकान्तको क्याफेमा यही ब्ल्याक कफी मेरो आफ्नो हो । यो सँगको कसम जो निभाउनु छ !

The Rain