विसर्जन | SATURDAYकलम | Kavyalaya - काव्यालय

विसर्जन

भर्खरै मैले एउटा बडेमानको ऐना फुटाएको छु । भुइँभरि टुक्राहरु तितरबितर छन् । हरेक टुक्रामा मेरा अंश बाँडिएका छन् । कुनैमा निधार छ, कुनैमा कान, कुनैमा आँखा मात्र । म टुक्राहरुमा बाँडिएको छु । तर कहीँ कतै मेरो पूर्ण अस्तित्व छैन । हरेक टुक्रामा म अलग-अलग छु ।

Broken Mirror by Inez Van Vuren

Broken Mirror by Inez Van Vuren

सायद अलग हुनु भनेको फरक हुनु हुँदो हो ।


म टुक्राहरुमा छँदै थिइनँ । मैले ‘मेरो’ भन्न सक्ने पुर्जाहरु थिए । तर ‘यो म हो’ भन्न सक्ने कुनै प्रमाण थिएन । जताततै मेरा पुर्जाहरु मात्र छरिएका थिए । अब ‘म’ तत्वलाई खोज्न म कहाँ जाऊँ ? मैले ‘त्यो म हो’ भन्न सक्ने तत्व के हो ? 

Metamorphosis FAA

Metamorphosis FAA

हामीले कहिले सोचेका छौँ ? कोहीसँग वार्तालाप गर्दा होस् या कसैलाई भेट्दा होस् । हामीले त्यहाँ जुन व्यक्तिको कुरा सुन्दै हुन्छौँ हामी उसमै लीन भएका हुन्छौँ । हामीले सम्पूर्ण रुपले आफूमा उसको अस्तित्व प्रवेश गराएका हुन्छौँ । अर्थात्, हामी उसको प्रतिबिम्ब बनेर खडा हुन्छौँ । अत: भनौँ हामीले पूर्ण रुपमा आफूलाई उसमा विसर्जित गर्दछौँ । शरीर हाम्रो हुन्छ, बोली हाम्रो हुन्छ, सूर, ताल सबै हाम्रै हुन्छ । हामी त्यहाँ हुँदैनौँ । हाम्रो ‘म’ तत्व त्यहाँ हुँदैन । त्यो अलग हुन्छ ।

Hypnosis by Moshe Hemain

Hypnosis by Moshe Hemain

सायद अलग हुनु भनेको फरक नहुनु हुँदो हो ।


यसरी हामी अलग भएर पनि फरक हुन सकिरहेका छैनौँ । हामी यस प्रकृतिलाई नै हेरौँ न,
– चरा उडानको बाहेक अरु भाषा किन बुझ्दैन  ?
– समुन्द्रले बग्नु बाहेक अर्को भाषा किन रोज्दैन  ?
– रुखले धर्ती छोडेर आकाशमा जरा गाड्न किन नखोजेको  ? 

Moon Metamorphosis

Moon Metamorphosis

यी चरा, रुख, हावा आदि सबैले आफ्नो धुन जानेका छन् । आफ्नो अस्तित्व के मा छ र आफूले आफूलाई खोज्नुपर्ने आवश्यक छैन भन्ने जानेका छन् । अर्थात् यो प्रकृति स्वयं नै आफूमै विसर्जित छ । आफ्नो धुन आफ्नै गहिराईमा भेट्यो भने अन्त अरुमा विसर्जित हुनुपर्ने आवश्यक देखिँदैन ।

त्यस्तै,
यदि कसैले आफूलाई आफैमा विसर्जित गर्‍यो भने/गर्न सक्यो भने ऊ हरेक दिन नयाँ हुन्छ । या भनौं उसले हरेक दिन काँचुली फेर्छ ।  मेटामोर्फोसिस घटित हुन पुग्छ । अहिलेको समयमा मान्छेलाई मेटामोर्फोसिसको जरुरी छ । हरेक दिन नयाँ हुन/नयाँपन अनुभूत गर्न निकै आवश्यक छ ।

यो प्रकृतिपनि सधैँ एकैनास रहँदैन । हरेक दिन नयाँ हुन्छ । प्रकृति कहिल्यै बूढो हुन जान्दैन । सधैँ जवान देखिनु भनेको नयाँ हुँदै जानु हो । हरेक दिन आफूलाई विसर्जित गर्दै जानु हो ।आजको ‘म’लाई त्याग्नु हो । अनि मात्र हामी सधैँ जवान बन्न सक्छौँ । हाम्रो आत्मा जवान राख्न सक्छौँ । आत्मा सधैँ जवान भयो भने मान्छे कहिल्यै बूढो हुँदैन । मान्छे जवानीमै बूढो देखिन सक्छ र वृद्ध हुँदासम्म पनि जवान रहन सक्छ । यदि उसले आत्मा जवान राख्न सक्यो भने, यदि उसले भय त्याग्न सक्यो भने । अभय हुन, आत्मा जवान राख्न, सधैँ नयाँ हुन अत्यन्तै जरुरी छ । अत: विसर्जन जरुरी छ ।

Spiritual Metamorphosis

Spiritual Metamorphosis

 

यो युगमा हामी सबै बूढा भएका छौँ । जवान कोहीपनि छैन । सबैलाई भयले भित्रभित्रै वृद्ध बनाएको छ । हामी वरिपरिबाट भयले घेरिएका छौँ । निर्भय पनि हुन सकिन्छ भनेर सबैले बिर्सिएका छौँ । ‘भय’ हाम्रो दिनचर्या बनिसकेको छ ।अब त हामीले कोही निर्भय मान्छे देख्यौँ भने हामी उसलाई पागल भन्ने छौँ ।

हामी भयले यति ग्रसित भएका छौँ कि हामी नकारात्मता बाहेक अरु केही देख्न/सोच्न सकिरहेका छैनौँ । भयले गर्दा नै हामी सुन्दरता पहिचान गर्न वञ्चित हुँदै आएका छौं । हामीले आफू हुनुको आधार मेट्दै जानुमा भय नै मुख्य कारण बनेको छ । त्यसैले आफू हुनुको प्रमाण देखाउन भयलाई विसर्जन गर्न जरुरी छ र आफूलाई/’म’ तत्वलाई भेट्न आफूभित्रै डुबुल्की मार्न जरुरी छ । आफूमै विसर्जित हुन जरुरी छ ।

ओशोले भनेका छन् ,
“तपाईंको कुनै अङ्ग तपाईं होइन । कुनै अङ्गमा तपाईंले ‘म’ भेट्न सक्नु हुन्न । जति गहिराईमा जानुहुन्छ त्यति सन्नाटा/शून्यता पाउनुहुन्छ । त्यो शून्यता परमात्मा हो ।”

Depth is not Dark

Depth is not Dark

परमात्मालाई भेट्नु नै ‘म’लाई भेट्नु हो । परमात्मालाई भेट्न विसर्जन आवश्यक छ ।

Whole is also a part, A part is also a Whole

Whole is also a part, A part is also a Whole

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!