विचारसँग विचार गर्दा

विचारसँग विचार गर्दा
“विचारको यात्रापथको कुनै गन्तव्य हुँदैन । यो त अनन्तसम्म चलिरहने सिलसिला हो” – लुसिफरबाबा

आधा घन्टाको हिँडाइमा पनि म हेडसेट कानमा ठोँसेर हिड्ने गर्छु । समूहमा हिँड्न भन्दा नि एक्लै हिँड्न मन पर्छ । साथी बनाउन नसकेको पनि होइन । साथीहरु बनाइयो, धेरै बनाइयो कोही टिक्छन्, कोही टिक्दैनन्।् । दुई दर्जन प्रेमिकाहरु मनमै बसाइयो । कसैले बोलाउदा बोलाउँदै गर्दा पनि आफूले वास्ता गरिदंैन । मानिसहरु त रुखका पातहरु जस्तै रहेछन्, सबै क्षणिक समयको लागि जीवनमा आउने । खैर छाडम् यी कुरा ।

एक्लै हिँड्दा विचारको गहिराइमा पुगेर डुबुल्की मार्न भने बडो आनन्द आउँछ । तुकका कुरा नि आउँछन्, बेतुकका कुरा नि आउँछन् । तर पनि विचारमा डुब्न भने छाडिया छैन । मन न हो, मन त जहाँ पनि पुुग्छ ।

अँ साच्चै यो विश्वमा मन जत्तिको चाँडो के भाग्छ र ? वायुभन्दा नि तेज छ यो मन । बरु वायु उत्तर दक्षिण पूर्व पश्चिम गरी बहिरहन्छ तर मन ? के मन उत्तर दक्षिण पूर्व पश्चिममै सीमित छ त ? के मन सागरको गहिराइमा पुगेको छैन ? के मन सगरको उचाइ नाप्न चेष्टा गरेको छैन ? के मन ब्लाक होलको गहिराइ नाप्ने प्रयत्न गरेको छैन ? मन कहाँ पुगेको छैन ? हिरोसिमा र नागासाकी पुगेको छ । बेबिलोनको ह्याङ्गिङ गार्डेनमा पुगेको छ । सम्पन्नशाली न्यु योर्कमा पुगेको छ । अफ्रिकाका पीडित ठाउँमा पुगेको छ । घरि यता घरि उता । अहो कता हो कता ।

मन यत्र तत्र सर्वत्र पुग्छ । मनको विशेषता बढा अचम्मको । छेपाराले झैँ रङ फेरेझैँ फेर्न मिल्ने । घरि दुःख सोच्छ घरि सुख सोच्छ । तर मनले कहिल्यै ठिक्क सोचेन । ठिक्क सोच्यो भने सायद मान्छे केही हदसम्म भए पनि सन्तुष्टि हुन्थे होला । फेरि मनले सोच्न छाड्यो भने के मान्छेले कुनै कदम उठाउँछ त ? अँह उठाउँदैन । मन न हो कसको पो सन्तुष्ट हुन्छ र ? कसैले फूल सोच्छ, कसैले काँडा सोच्छ जसरी सोचे पनि हुने । जे जे मन लाग्छ त्यहीं सोच्न पाइने । यहीं त छ फाइदा मनको । यसमा त छ खास मज्जा । आहा ! सोच्दा सोच्दै निष्कर्षविहीन भएर आउन पनि पाइने । कुनै खोयाँजस्तो निष्कर्ष लिएर आउन पनि पाइने । मन कस्तो गराउने आफ्नो–आफ्नो सोचको हिस्सा न हो ।

बाटोमा हिँडिराछुु । अहिले अधिकांश बाइकमै सरर गुड्ने गर्दछन् । आफू भने ठ्याक्कै उल्टो परियो । चढ्ने औकात नभएर हो कि मन नपरेर हो आफूले आफैलाई धेरै चोटि सोधियो तर उत्तर प्राप्त भएन । जिपहरु हर्न बजाउँदै आउँछन् । ड्राइभर दाइले पुुर्लुक्क मेरो मुखमा हेर्छन् कतै चढ्छ कि भनेर । मलाइ चढ्नुछैन यो जिप भन्ने जन्तुमा । ठुसठुस गन्हाउने दुुनियाँका वान्ताको दोकान ।

बाटोमा डोजर लगाएको छ । बाटोमा ढुङ्गा असरल्ल छाडिएका छन्।् । बाटो ठुलै खन्या छ सायद पिच गर्न होला । मैले जानेदेखि यो बाटोमा पाँच–सात चोटि डोजर लगाइसक्यो । जब डोजर लगाएको ठाउँमा नयाँ बिरुवा उम्रिन्छन्, माटो जाम हुन्छ, पहिरो जान रोकिन्छ फेरि उत्तिचाँडै डोजर लगाउँछन् । सुुरुमै ठुुलो बाटो बनाउनुु नि बरु । कमसेकम प्रकृतिको क्षय कम त हुुन्छ । अब दीर्घकालीन सोंच यहाँ कसको पो छ र फेरि ? नेताको कुरा गर्ने हो र ? भो भो नगरम् होला नाथे नेताको कुरा । ढ्वाङ्ग ढ्वाङ्ग डोजरको कर्कस आवाज आइरहेको छ । आफूलाई भने फिटिक्कै मन नपर्ने त्यो कर्कस आवाज ।

विकासका लागि बाटो नभइ नहुने फेरि । विकासको लागि बाटो खन्दा खेरि बरु यसो प्रकृतिको बारेमा पनि सोंच्नुु नि । पर्यावरणले हाम्रो जीवनमा कति प्रभाव पारेको छ भन्ने कुुरा सबैले नबुुझेर हो कि ? प्रकृति कसरी सहन्छिन् ? आफ्नो छातीमाथि सन्तानले खुँडा हानेको ? अचम्म लाग्छ, आफ्नो सन्तानको लागि उनले आफ्नो सारा खुसी सबै त्यागेकी छिन् । फेरि आणविक सन्त्रास कसरी सहेकी छिन् कुन्नि ? मनमा एक्कासि यो प्रसङ्गले तीर हान्यो, नराम्रोसँग झस्किएँ । एक हातले आफ्नो सन्तानलाई दुध चुसाउँदै अर्को हातले मरेको सन्तानमाथि कात्रो ओढाउँदै छिन् । प्रकृतिसँग यति धेरै सहने शक्ति छ, अलिकति सहने शक्ति मलाई किन नदिएको भन्दै प्रकृतिसँग गुनासो गरेँ ।

केही पर केकुलेको भिर छ ।
केकुलेको भिर देखेर सिद्दबाबा पढाउने एक जना सरले हाम्रो स्कुलमा आएर,“तल माथि ऐठने पहरा” भन्दै कविता वाचन गरेको सम्झिएँ । साँच्चै नै तल माथि ऐठने पहरा नै छ । बिचबाट बाटो खन्या छ, आजकल अल्लि ठुलो भएको छ । मजाले दुईवटा गाडी पास हुन सक्छ । कास मेरा मनमा आउने विचारका ठेलीहरु यहीं भिरबाट धक्काएर फाल्न पाए कति आनन्द हुुन्थ्यो होला । तर मनबाट विचारहरु कहिल्यै हट्न खोजेनन् । सायद मेरो एकान्तपनलाई साथ दिन होला । कतै यी मनगढन्ते विचारहरुसित मेरो अगिल्लो जन्ममा कुनै अन्योन्याश्रित सम्बन्ध थियो कि ?

आफ्नो अगाडि पहरालाई देख्छु । विशाल पहरा हलचल नगरी सदियौँदेखि आफ्नो ठाउँमा हलचल नगरी बसेको छ । पहरामा कति सहनशील क्षमता छ, ममा किन छैन ? किन उठ्छन् यी समुन्द्ररुपि भावनाहरु ? किन आउँछन् मनमा एक पछि अर्का मनगढन्ते विचारहरु ?

पहाड कति अडिग छ । कास मान्छेको मन पनि पहाड जस्तै अडिग भएर बस्न सक्ने भएको भए कति राम्रो हुन्थ्यो होला । आफूलाई पहाड बन्न नसक्ने र समय अनुसार अरुको लागि भएपनि परिवर्तन भएर हिँड्नुपर्ने कुरा पहाडलाई बताएँ ।

हिँडिरहेको छुु कानमा नारायण गोपालको ‘सम्झिने मन छ बिर्सुुँ कसरी’ नामक गीत बजिरहेको छ । म चाहिँ हुुन नसकेकी प्रेमिकालाई सम्झिराछु । म उसलाई धेरै चाहन्थेँ, अझै पनि चाहन्छुु । कसैलाई चाहनुु, उसलाई आफ्नो बनाउन खोज्नुु मानिसको इच्छा हुुन्छ । म पनि उसलाई आफ्नो बनाउन कुनै कसुुर छाडेको थिएन । मैले चाहेर पनि हुुँदैनथ्यो । उसको इच्छाअगाडि मेरा सबै प्रयास फिका थिए । जबर्जस्ती अरुलाई आफ्नो बनाउन सकिदैन । हरकोहीलाई आफ्नो जीवनमा आफै निर्णय गर्ने अधिकार हुन्छ । म कसरी अरुको निर्णयको खिलाफ हुनसक्छुु ? यहीं कुुरा सम्झेर नै म उसको पछि लाग्न छोडेको थिएँ । तर भित्री मनले भने उसको बारेमा साेंच्न छाडेन । एक किसिमले भन्नुपर्दा उ मेरो मनमा राज गरेर बसिरहेकी थिई ।

पाइला अलि छिटो–छिटो बढ्छन्। चौरमा समाजका मै हुँ भन्ने भलाद्मीहरुको बथान देख्छु । कम पढेका तर अनुभवले पनि बुद्धि नतिखारिएका जमातलाई पार गर्दै अगाडि बढ्छुु । बाटोमा एकजना जोगी भेट्छुु । पहिला हेर्दा लाग्थ्यो यो ढोंगी बाबा हो । मलाइ बाबाजीहरुप्रति त्यति विश्वास लाग्दैन । तर ती बाबाजी भने अलिक पृथक थिए । बाबाजीले चौपारीमा बसेर गाँजा तान्न थाल्छन् । बाबाजीको मुुख, घाँटी, फोक्सो हुुँदै धुुवाँ स्वतन्त्र भई आकाशमा हराउँछ । नशाले लठ्एिका आँखाहरु देखाउँदै बाबाजीले भन्छन्,“के तिमी आधुुनिक मानिसको गोप्यकुुरा थाछ ? सुुन्न चाहन्छौ ?” मलाइ फुर्सद जतिपनि थियो । घर नजिकै, बाबाजीलाई नकार्ने कुुरा भएन । फेरि आधुुनिक मानिसको गोप्यकुुरा सबैले कहाँ सुुनाउँछ र ? मौकामा चौका हान्नुुपर्छ भन्छन् मानिसहरु । मलाइ मानिसहरुको बारेमा जान्न मन लाग्छ । जसले गर्दा जीवनमा अनेक मानिसहरुको संगत गरेको थिएँ । उनीहरु एक किसिमका अनौठा खजाना जस्तै हुुन् । मलाइ मानिसहरुलाई नजिकबाट नियाल्न मन लाग्छ । बाबाजीको आधुुुनिक मानिसको गोप्यकुरा सुुन्न आतुुर थिएँ । बाबाजी आधुुनिक मानिसको गोप्यकुरा सुुनाउन थाल्छन् ।

“एक थान जिन्दगीमा अनेक समस्या बोकी हिँडिरहेको मान्छे जसलाई चिलले लखेटिरहेछ । वर्तमान जो स्वयम् कुनै चिलभन्दा कम छैन । चारैतिरबाट उ मर्कामा छ त्यहीं पनि आफूलाई बचाउने भरसक प्रयत्न गर्छ । उ आधुनिक जुगको मानिस हो । उसलाई एउट‍ा थोकले पुग्दैन । सधैं ती आवश्यकता पुरा गर्न दिनरात मरिरहन्छ, अनेक चिलहरुको पञ्जामा परिरहन्छ । आफू चिलकै छत्रछाँयामा रहेपनि आफूलाई स्वच्छ राख्न तम्सिन्छ । उसको धाक आकाश थाम्ने हुटिट्याउँको जस्तै छ ।”

“वास्तवमा उ केही गर्न सक्दैन । अबला छ, लाचार छ । त्यहीं पनि आफूलाई अरुभन्दा पृथक बनाउन सक्दो कोसिस गर्छ । अनेकन भ्रामिक अनुभव सुनाएर अरुलाई बलिको बक्रा बनाउन तम्सिने मानिस आफूलाई यो संसारकै उत्कृष्ट प्राणी भएको बताउन एक रत्ति पनि हिच्किन्न । मनमा अनेक समस्याको जालो बोकी बाहिर केही नभएको जस्तो गर्ने मानिस नाटकको कुनै पात्र भन्दा कम छैन । उसले देखाउने हरेक क्रियाकलाप फगत हुन् । उसका फोस्रा धाकहरु फर्सीको जरा जस्तै हुन्, फर्सीको जराले जति धाक लगाए पनि उसको जरा धेरै तलसम्म जान सक्दैन ।”

“हे मनुष्य कसरी भयौ तिमी यो दुनियाँको सर्वोत्कृष्ट मान्छे ? के पत्ता लगायौ तिमीले ? कहाँ पुग्यौ ? चन्द्रमा ? मङ्गल ग्रह ? के तिमी अफ्रिकाका गाउँमा पुग्न सक्यौ ?अणुबम बनाउने सूत्र त बनायौ ? के तिमीले सारा मानिसलाई सही बाटोतर्फ दौडाउने सूत्र प्रतिपादन गर्यौ ? के तिमी राजा इडिपस भन्दा अभागी छैनौ ? के तिमीले भगवानको अस्तित्व बारेमा केही थाहा पायौ ? सत्य के हो ? बुझ्ने कोसिस गर्यौ ? के थाहा पायौ सत्यको बारेमा ? अँह केही था छैन तिमीलाई । तिमी आफूलाई सर्वेसर्वा नठान । तिमी चुसेर फ्याँकिएको खोया हौ खोया, जो सुनौलो भविष्यको आशमा प्रत्येक दिन मर्छौ । तिमी फर्सीको मन्टा हौ जसले आकाश छेड्न खोज्छ । तिम्रा प्रत्येक क्रियाकलाप लाटीको म्वाइँ खाएजस्ता छन् । छाडिदेउ ती सबै कर्म आउ सहर्ष स्वीकार मानव जीवन खोयाँ छ खोयाँ ।”

बाबाजीका कुुराले मथिंगल हल्लायो । आधा बुुझेजस्तो लाग्यो आधा नबुुझेजस्तो लाग्यो । यस्तो लाग्यो कि बाबाजी अगिल्लो जन्ममा कुनै दार्शनिक थिए । बाबाजीको कुराले मेरो मनमा तीर हानिसकेको थियो । बाबाजीलाई सोध्न मन लाग्यो । ए बाबा ब्रो ? तिमी अगिल्लो जन्ममा के थियौ ? सबै संसार खाएछौ त ?

यसो चौतारीमा हेर्छु त बाबाजीले सुल्फा छाडेर अगि नै हिँडिसकेछन् । त्यो सुुल्फा चैँ मलाइ आफ्नो सम्झनाको लागि छाडेका हुुन सक्छन् । सुुल्फा निकै नै कलात्मक थियो । एक सुुन्दर नारीले आफ्ना स्तन समाएर बसेको आकृति कुुँदिएको थियो सुुल्फामा । कला सुुन्दर हुुन्छ । देवकोटाले त भनेकै छन् नि, “कला सुुन्दर छ जीवन सुुन्दर छैन, त्यही असुन्दर जीवनलाई सुुन्दर बनाउन कलाको उत्पत्ति भएको हो ।” म पनि कलाप्रेमी । मैले त्यो सुुल्फालाई छाडेर जाने कुुरा हुुँदैन । सायद बाबाजीले यो कलाप्रेमी हो भनेर सुुल्फा छाडेको हुुनपर्छ ।
बाबा ब्रो त मलाइ जीवनजगत चेताएर गए । मलाइ आफ्नो गन्तव्यमा पुुग्नुु छ । म मेरा पाइलाहरु गन्तव्यतर्फ दौडाउँछुु ।

बुुढोघर पुगेर हजुरबुबालाई भेट्छुु । सानोमा हजुरबुबाको अल्के चौकामा बसेर कथा खुब सुनिन्थ्यो । एकादेशमा एउटा राजकुमार थियो यस्तै यस्तै । अझै पनि हजुरबुबाले धार्मिक नैतिक शिक्षा दिनुहुन्छ । हजुरबुबा भन्नुहुुन्छ, “मानिस बिग्रियो, पापी भयो, गाउँ भाँडियो । ब्ला ब्ला ब्ला । तल भिरालो बारी सबै डोजरले खनेरै सकायो ।उता लामपाटामा नि उस्तै छ हाल । फेरि आउने रे । सक्ने भयो त्यसका बाको च्यान ।” म ट्वाँ परेर उहाँको कुरा सुनिरहन्छु । मन एकतमासको हुन्छ ।

माथि गणेशदाइको घर थामको टोंटोलाई दिनुपर्ने थियो हजुरबुबा मैले सशंकित भएर कुुरा गरेँ । बेकारमा अहिले त्यो घरले गर्दा सबैलाई पिरलो भएको छ ।
अलिकति पैसा तपाईंको नि चुना लाग्यो आदि कुरा पनि थपेँ ।
“चुप लाग् नाथे तँ धेरै जान्ने हुुन्छस् ? के त्यो टोंटोले छोएको धारामा मैले पानी खाने ? के म काकाकुल भएर मर्नु ? मैले अब धोती छाडेर हिँड्नु ?” जस्ता यावत कुराहरु सुन्नुपर्यो । यद्दपि मैले सम्झाउने कोसिस नगरेको भने होइन है । पुरानो जमानाको मान्छे ख्याल नि पुरानो आउँदो रैछ । धन्न त्यो चिम्सीसँग मेरो गहिरो पिरेम परेनछ । नत्र म सिधै घरबाट निस्किनुपथ्र्यो ।

घरमा पुगी पिँडीमा थ्याच्च बस्छु । आमाले भैंसी दुहुँन थाल्नुु भएको रहेछ । बाबु आइस तँ ? आमाको प्रश्न थियो । “हेर न भैंसीले दुध घटायो, बोक्सीले खाए भैंसीलाई । घिउ त पटक्कै लाग्न छाड्यो । अगि भर्खर दिगामे बुढाले आहत हेरेर गए । त्यहीँ राँडी रहिछे नि मर्न नसकेकी राँड ।”
मैले डिग्री पढ्दै गर्दा पनि आमालाई बोक्सी सोक्सी केही हुँदैन आमा भनेर सम्झाउन सकेको छैन ।

झमक्कै साँझ हुन आधा घडी बाँकी नै थियो । उता डाँडामा चन्द्रमा देखा परिन् शितलता प्रदान गर्दै । उहिल्यै निल दाजु चन्द्रमामा टेकेर आइपुगे ।
आमा अझै नि बोक्सी भन्नुहुन्छ भनेर आमालाई सम्झाउने चेष्टा भने गरियो ।
“छोराछोरीलाई अङ्ग्रेजी पढायो, आफैलाई सिकाउँछन् यो गाइ खाने विद्या । दुनियाँ बिगार्यो नि बरै यो गाइ खाने विद्याले”, आमा फलाँक्नुहुन्छ ।
म निस्तब्ध छु, लाचार छु, निरीह छु । केही भन्न सक्या छैन । आफूले आफैलाई प्रत्येक दिन प्रश्न माथि प्रश्न गर्छु । खै कैले दिने हो मेरो आत्माले मलाई जवाफ अनि
निसाफ ।

Facebook Comments

You may also like

error: Content is protected !!