तपाईंको सामान छुट्यो कि?

पाँच वर्ष भइसकेछ घरबाट राजधानीका लागि हिँडेको । शहरमा भविष्य खोज्न हिँडेको । आमाको अनुहारमा घाम झुल्काउन हिँडेको । मेरो खुशी टाल्दा टाल्दा फाटेका बा’का पैताला टाल्न हिँडेको । अँध्यारो घरको दलिनलाई उज्यालो पार्न हिँडेको । उम्, म हिँडेको हिसाब किताब एक दिन बुझाउनु छ, आमाको हातमा प्रगतिको खाता, जिन्दगीको रिपोर्ट कार्ड ।

राजधानीबाट घर पुग्न तीन दिन लाग्छ । महिनौं अगाडि लाइन बसेर घर जान टिकट हात पार्नु पनि ठूलै युद्ध जिते जस्तै हो । जब गन्तव्य, समय र प्रस्थान लेखिएको एक कागजको रंगीन पाना हात पर्छ मन स्वतन्त्र आकाशमा उडिरहेको चङ्गा हुन्छ । युद्ध जितेको सिपाही जस्तै भान हुन्छ आफूलाई। खेल जितेको खेलाडीजस्तै अनि चुनाब जितेको नेताको जस्तै । घर जाने रंगीन टिकट त हात पर्छ तर अझै जिन्दगीको गन्तव्यमा जाने रंगीन टिकट फेला पर्दैन । खासमा यही टिकट खोज्न शहर आइएको हुनुपर्छ । म खोजिरहेछु, यो टिकट कहाँ पाउँछ ? यो टिकट पाउने पसल कहाँ छ ? यो टिकट कसले बेच्छ? तपाईंले थाहा पाउने बिक्तिकै मलाई भन्नुस् ल ।

घरको यादले थिलथिलो भएको हृदय, थकाईले थिलथिलो भएको ज्यान , केही उमङ्गको आँशु त केही संघर्षका वेदनाहरू अनि केही आफ्ना कथा बोकेर पुगिन्छ घर । जब पुगिन्छ घर, लाग्छ सगरमाथाको बेस क्याम्पमा पुगेँ । अब एक पाइलो हिँड्दा खुशी भेट्टिने चोकमा पुग्नेछु । दुःख बिसाउने चौतारीमा पुगेँ । स्वागतमा बाटोसम्म आइपुग्छन् आमाका पैतालाहरू । आशिर्वाद दिन अगाडि आइपुग्छन् बा’का हातहरू । दाइ आएको खुशीले छिटो छिटो धड्किन्छ भाइ-बहिनीहरूको हृदय । अनि एकै पटक गुञ्जिन थाल्छ खुशीको स्वर, प्रेमको संगित अनि आत्मियताको धुन । त्यो बेला लाग्छ, म नायक हुँ । घर रंगमञ्च हो । परिवारका सदस्य दर्शक हुन् । गाउँ रंगमञ्चहरूले भरिएको शहर हो किनकी एक घर एक परदेशी त अवश्य भित्रिन्छ दशैंमा । त्यसैलै दशैंमा मेरो गाउँ शहर बन्छ । प्रत्येक घरहरू रंगमञ्च बन्छन्, जहाँ “खुशी” नामको नाटक मञ्चन भइरहेको हुन्छ । केही समयलाई पिर, व्यथा र दुःखहरूको भारी एक ठाउँमा राखिन्छ जसरी चौतारीमा भारी राख्छन् भरियाहरूले ।

मेरो घरमा म र दशैं पनि सँगसँगै आइपुग्छौँ । फरक भएपनि एक दुई दिनको होला । म घरमा पुग्ने दिन र दशैं मेरो घरमा पुग्ने दिनको बिचमा आइपुग्छ, मेरो जन्मदिन, मेरो उत्सव अर्थात महाअष्टमी । आशिर्वादमा बा’को कथा सुरू हुन्छ र भन्नुहुन्छ , “छोरा मान्छेले वचनमा अडिग रहनुपर्छ । छोरा भएर जन्मिएपछि कर्णाली जस्तै अविरल बग्नुपर्छ । नसुसाएर पनि आफ्नो अस्तित्वमा कहिल्यै प्रश्न उठाउन दिँदैन कर्णालीले । सुसाएर बग्दैन तसर्थ स्वर र आवाज ननिकालेर पनि गन्तव्यमा पुग्न सकिन्छ । खेल जित्न सकिन्छ । खहरे खोला भएर बग्ने होइन, घरि एक किनारमा बग्छ, घरि अर्को किनारमा बग्छ” ।

एकैछिनमा आमाले सम्झाउनुहुन्छ र भन्नुहुन्छ, “कहिल्यै लट्याउनु हुँदैन छोरा । लुकालको जस्तो दुईमुखे नबन्नु, साँपजस्तै दुई जिब्रे नबन्नु । आफ्नो बा’को इज्जतप्रति शंका नगर्नु, कसैको डाह नमान्नु, मातृत्वप्रति औंला नउठाउनु अनि विश्वासको बिरूवामा शंकाको पानी नहाल्नु । आत्मियताको चित्रमा दाग नलाउनु । अनि प्रेमको बोटमा अविश्वासको मल नहाल्नु । धेरै पढ्नु ।”

यी सबै आशिर्वादहरू हृदयको डायरीमा राखेको छु । मेटिएलान् कि भन्ने डरले पेन्सिलले होइन पेनले लेखेको छु । भाइ सम्झाउँछ, “दाइ, लेख्दा कहिलेकाहीँ पेन्सिलले पनि लेख्नु किनकी गल्ती हुँदा मेट्न सकिन्छ । पेनले लेख्यो भने गल्ती मेटाउन सकिन्न ।” म भाइलाई भन्छु, “भाइ, गल्तीहरू सकभर गर्दै नगर्ने । गल्ती गरिएन भने मेटाउन जरूरी हुँदैन ।” हाम्रो वार्तालाप जारी रहन्छ, डाँडाबाट उदाएको घाम जस्तै ।

मेरो जन्मदिन अनि दशैं दुवैका शुभकामनाका कोसेलीहरू घर आइपुग्छन् कुनै न कुनै माध्यमबाट । फुपूहरू आउनुहुन्छ, आत्मीयताको भोक बोकेर, मायाको पहाड बोकेर । दशैंमा फुपूहरू आउँदा पनि सूर्योदय हुने ठाउँमा पुगेजस्तो लाग्छ । जहाँ झुल्किन्छन् खुशीका रंगहरू, प्रेमका बाछिटाहरू अनि आफ्नोपनका किरणहरू इन्द्रेणी बनेर । घरको अनुहार उज्यालो हुन्छ । खासमा घरको अनुहारभन्दा हृदय झन् उज्यालो हुन्छ किनकी उसको संग्रहालयमा थप सम्झनाका तस्बिरहरू संग्रहित हुन्छन् । हामी आफ्ना लागि भए पनि समयका पानाहरू प्रदर्शनमा राख्छौँ । दशैंको बेला, खेतबारीमा लहैलह फलेका धानका बालाहरू धर्तिमा झुक्छन् हो त्यसैगरी घरमा हामी सानाहरूका टाउका आमाबुबा र बाजेबज्यै लगायत आफन्तका पाउमा झुक्छन् । झुकेर पनि केही चिज जित्न सकिन्छ भने झुक्नुपर्छ भन्नुहुन्थ्यो मेरो हजुरबा । त्यसैले, म पनि झुकेर जित्छु आमाको मन, बा’को गौरव ।

बहिनीले आफू पुतली बनेर गुडिया खेलेको हेर्न, भाइले पढाइको भन्दा दोब्बर मिहेनत गरेर डोरी पिङ्ग खेलेको हेर्न, साना भाइ-बहिनीले चौतारामा बाघचाल खेलेको हेर्न पनि दशैं आइपुग्नु पर्छ गाउँमा । बाटो कहिल्यै एक्लै हुँदैन, हरपल यसले आफ्नो छातीमा टेकेर हिँड्ने अधिकार हर मान्छेलाई दिएको हुन्छ । हरेक मान्छे बाटोको र माटोको छातीमा टेकेर गन्तव्यमा पुग्छन् । कुरा यति मात्रै हो कि कोही ढिलो पुग्छन् त कोही छिटो पुग्छन् तर एक दिन अवश्य पुग्छन् । यही बाटोको छातीमा टेकेर गन्तव्यमा सानो आशाको त्यान्द्रो बोकेर हिँड्ने बटुवाहरूको लाम पनि हेर्न लायक नै हुन्छ गाउँमा । मान्छेको चरित्र पनि गज्जबकै लाग्छ मलाई । सब मान्छे आलु हुन् किनकी आलु सबै तरकारीसँग मिल्छ । त्यस्तै मान्छे पनि सबै ठाउँमा ठिक्क हुन्छ । जस्तै, म राजधानी हुँदा गाउँको याद आउने अनि घर हुँदा राजधानीको याद आउने । दिमागमा सधैँ उही कोठा घुमिराख्ने, उही साथीहरू, उही समकालीनहरू । त्यसैले, इतिहास खोतल्दै जाँदा मानिसले आत्मीयता चाहिँ आलुबाट नै सिकेको हो की भन्ने लाग्छ मनको एक कुनामा । गाउँमा हुँदा एउटा कुरा बारम्बार सोच्छु । गाउँ गाउँ नै हो । जहाँ घरहरू टाढा टाढा हुन्छन् तर पनि मान्छेहरूका मन जोडिएका हुन्छन् तर शहरमा घरहरू जोडिएका हुन्छन् अनि मनहरू टाढा टाढा हुन्छन् । राजधानीमा बस्ने साथीलाई बेला बेला जिस्काएको याद आउँछ । उसलाई म भन्ने गर्छु, “तिमी र ममा फरक यति मात्रै हो, तिम्रो मूलगेटमा कुकुरदेखि होसियार लेखिएको छ अनि मेरो घरको मूल ढोकामा सुस्वागतम लेखिएको छ ।” यसो भन्दा मेरो साथीको मनमा चिसो पसेको अनुभव त गर्न सकिन्छ तर उसले मेरो कुरा हत्तपत्त नकार्दैन ।

तपाईंहरूलाई एउटा कुरा याद छ ? हामीलाई चोटपटक लाग्दा, गाह्रो साह्रो अफ्ठ्यारो पर्दा मुखबाट फुत्त निस्किने शब्द हो, “आमा, बा” । यसो हुनुको कारण हामी शुन्य हौँ । हाम्रो अगाडि बा’आमा आएर बस्दिन्छन् र हाम्रो मान बढ्छ । बा’आमा परीक्षा हुन्, हामी नतिजा हौँ । तसर्थ, हरेक परीक्षाको सम्बन्ध नतिजासँग हुने नै भयो । परीक्षा र नतिजा दुवैलाई जोड्ने डोरी हाम्रो सम्बन्ध हो । जब आमाको काख भेटिन्छ, आजसम्म भेटिएका मन्दिर फिक्का लाग्छन् । आजसम्म भेटिएका स्कुल कलेजहरू फिक्का लाग्छन् । आमाको काख त्यस्तो मन्दिर हो जहाँ हामीले भगवानको पूजा गर्नुपर्दैन उल्टै आमाले हामीलाई भगवान सम्झेर पुज्नुहुन्छ । आमाको काखले हामीलाई के सिकाउँदैन ? यसले संघर्षका कथा सिकाउँछ, दुःखहरूसित लड्ने क्षमताको बारेमा पढाउँछ । बानी व्यहोराको अध्ययन गराउँछ । कैयौं विज्ञान चेतनाका कुरा सिकाउँछ । त्यसैले आमाको काख सबैभन्दा ठूलो विश्वविद्यालय हो । आमाबिनाको घर, भोको पेट अनि रित्तो गोजीले हामीलाई आजसम्म कुनै गुरुले सिकाउन नसकेको कुरा सिकाउँछ । अहिले आएर सोच्छु । समय पनि कस्तो गज्जब हुँदो रहेछ । हिजो आमाको हातको रोटी खाँदा खाँदा वाक्क भइन्थ्यो आज आमाको हातको रोटी खान नपाउँदा वाक्क भइन्छ । हिजो आमाको काख पाउँदा पाउँदा रोइन्थ्यो त आज आमाको काख नभेट्दा रोइन्छ । त्यसैले, आमाको काखमा पयर खेल्न, गर्मी हुँदा शीतल बस्न पनि दशैं आउनुपर्छ, घर पुग्नुपर्छ । आमाको हृदय हाम्रो सुझाबपेटिका हो जहाँ हामी हाम्रा दुख, पिर, व्यथा, अभाव र संकटका गुनासाहरू सजिलै पेस गर्न सक्छौँ । ती गुनासाहरूको उचित सुनुवाइ आमाको दिलको अदालतबाट एक न एक दिन भएर नै छाड्छ । आमाले आफू हारेर पनि हामीलाई जिताउनुहुन्छ ।

समय बित्न धेरै समय लाग्दैन । समयसँग प्रतिस्पर्धा गर्दा समय लामो लाग्छ तर जब आत्मसमर्पण गरिन्छ तब समय छोटो भन्दा छोटो लाग्छ । बिदाको समय, फुर्सदको समय भनेको हामीले समयसँग आत्मसमर्पण गरेको अवस्था हो । यो बेला समय छोटो लाग्छ । दशैंले हात हल्लाउनै लाग्छ । डाँडापारिको डुब्नै लागेको घाम भइदिन्छ, दशैं । हो त्यही बेला हृयदमा डुब्नै लाग्छ, खुशीको घाम । सकिन्छ रमाइलोको ईन्द्रेणी अनि देखिन थाल्छन् उही जिन्दगीका दुःखका शितहरू । ओहो ! तिहार नमनाएको पनि धेरै भएछ । तिहारको बारेमा लेख्न छुटेछ । अर्को पानामा लेखुँला तिहारको बारेमा । जब दशैंले हात हल्लाइदिन्छ आफूले पनि घरमा हात हल्लाउनु पर्छ । एउटा काँधमा झोला, पिठ्युँमा जिम्मेवारीको भारी अनि अर्को काँधमा दायित्वको भारी बोकेर लागिन्छ शहर । उः ….टाढाको शहर । जहाँ फेरि बनाउनु छ, जिन्दगीको बाँकी जग । गर्नुछ, समयसँग प्रतिस्पर्धा र जिताउनु छ आफूलाई ।

फेरि हिँडिन्छ अर्को गन्तव्यका लागि । समयले यस्तो अफ्ठ्यारोमा पार्दिन्छ कि बाध्यताले फलामको चिउरा पनि चपाउनु पर्ने हुन्छ । यस्तै फलामको चिउरा चपाउनु हो घर छोड्नु भनेको, आमाको काख छोड्नु भनेको । घरको आँगनसँग बिदा माग्नु भनेको । मनमा कैयौं स्मृतीका डायरी बोकेर मन अमिलो पार्दै निस्किनुपर्छ घरबाट । आमाका आँसुहरूले परेली छोडिसकेका हुन्छन् । बहिनीका हातले फेरि छिटै आउनु दाइ भनिरहेका हुन्छन् । अनि भाइका हातले माया नमार्नु दाइ भनिरहेका हुन्छन् । बा’को अनुहारले आफ्नो ख्याल आफै गर्नु भनेरहेको हुन्छ ।

लामो यात्रा पछि झरिन्छ कलंकी भन्ने ठाउँ । काठमाण्डौंको मूल ढोका । त्यतिञ्जेल हृदयको कुनामा रहेका सम्झनाहरू बर्बराउँछन् । महङ्गीले गोजीका सपनाहरू बर्बराउँछन् । आत्मीयताका किरणहरू सल्बलाउँछन् । आशाका त्यान्द्राहरू छचल्किन्छन् । यी सबैलाई आफ्नै ताकतले मत्थर पार्नुपर्छ पानी छर्केर । गाडीको मूल ढोकाबाट निस्कँदै गर्दा सधैँ एउटा ठाउँमा आँखा पर्छ । जहाँ लेखिएको हुन्छ, “तपाईंको सामान छुट्यो कि ?” हो ,मेरो सामान छुट्यो तर फिर्ता गर्न नमिल्ने सामान । आमाको काख छुट्यो । भाइको आत्मीयता छुट्यो । बहिनीको स्नेह छुट्यो । बा’को सहृदयता छुट्यो । जन्मेको घरको आँगन छुट्यो । केही छुटेका अनुहारहरू त केही नयाँ भेटिएका अनुहारहरू पनि उतै कतै छुटे । छुट्नु नपर्ने चिज छुटे ।

✍भेष राज बुढाथोकी
बाजुरा

Facebook Comments

You may also like

error: Content is protected !!