भाषा र भेदभाव

केही समयअघिको कुरा, फेसबुकमा म रुमलिँदै गर्दा, एउटा ‘कन्फेसन’मा गएर आँखा अडिए । ‘कन्फेसन’ गर्नेले आफु साहित्यको विद्यार्थी भएको लेखेकी थिइन् । त्यो ‘कन्फेसन’ पढिसकेपछि मैले कमेन्ट गरेको थिएँ –“साहित्यको विद्यार्थी भन्ने पढ्दा लागेको थियो ‘कन्फेसन’ अङ्गेजीमा हुन्छ तर नेपालीमा रहेछ !”

कमेन्ट गरेको केहीक्षण पश्चात एक अपरिचितको म्यासेज आयो- “के साहित्य पढ्ने भन्ने बित्तिकै अङ्ग्रेजीमै बोल्नु पर्ने हो र ? के भाषा भनेको आफ्नो बिचार राख्नका लागि प्रयोग गरिने होइन र ? भाषा जे भए पनि एकले दिन खोजेको सन्देश अर्कोले बुझ्नु नै ठूलो कुरा होइन र ?

उसका कुराको उत्तर मैले दिन पाइनँ । म्यासेज नै पठाउन नमिल्ने बनाइसकिछिन् । कारण त मसँग थियो । तर के त्यो सही कारण थियो त ? सायद थिएन । मैले किन त्यो ‘कन्फेसन’ अङ्रेजीमा खोजिरहेको थिएँ । मन अमिलियो । पश्चताप भयो ।

***

विचार र भावना साट्ने सञ्चारको माध्यम नै भाषा हो । भाषामा लिपि र ध्वनिको व्यवस्था हुन्छ | भाषामा व्याकरणको पनि व्यवस्था हुन्छ । कनै पनि भाषाको शब्द र वाक्यका रुप र संरचना अनि तिनका शुद्धता नाप्ने साधनानै व्याकरण हो । व्याकरण बिना भाषा अधुरो छ ।

अनेकौं सभ्यतासँगै भाषाको पनि विकास भएको पाइन्छ । वा भनौँ कुनै पनि सभ्यताको विकासमा भाषाको ठुलै हात रहेको हुन्छ । यहि कारणले पनि भाषाको ज्ञान सर्वपरि भएको छ । अहिलेको जमानामा राष्ट्रिय भाषा र मातृभाषाको ज्ञान मात्र काफी हुँदैन, यो सत्य हो । अन्तर्राष्ट्रिय भाषाको ज्ञान पनि आवश्यक भएको छ ।

मानौँ तपाईं कुनै एउटा यस्तो ठाउँमा हुनुहुन्छ जहाँको भाषाको ज्ञान तपाईंलाई छैन । यस्तो अवस्थामा तपाईं त्यहाँका मान्छेसँग कसरी बोलचाल गर्नुहुन्छ ? सांकेतिक भाषा प्रयोग गरेर ? कतिबेरसम्म सम्भव होला र ? वार्तालापका लागि सामान्यतया वैश्विक भाषा- अंग्रेजी प्रयोग गरिन्छ । अंग्रेजी संसारका प्रायः हरेक कुनामा बोलिने भाषा हो । यहाँसम्म कि राष्ट्रिय भाषा अंग्रेजी नभएको कुनै पनि देशमा पनि अंग्रेजी भाषाको प्रयोग गरिन्छ । त्यस्ता देशहरुमा अंग्रेजी धुमधामका साथ पढाइने गरिन्छ । एकप्रकारले भन्ने हो भने अंग्रेजी भाषा नसिक्नु अभिशाप जस्तै भएको छ । अहिले अन्तराष्ट्रिय जगतमा व्यापारका लागी अंग्रेजी भाषाकै आवश्यकता पर्छ । यिनै आवश्यकताहरुले गर्दा एकप्रकारको भाषिक भेदभावको उत्पति भएको छ । भाषाका कारणले भएको यो भेदभाव समाजमा छ तर खासै मान्छेहरुको नजरमा भने पुगेको छैन ।

अब नेपालकै कुरा गरौँ । नेपालको राष्ट्रिय भाषा नेपाली हो । नेपाली सहित नेपालमा १२३ मातृभाषा भएको सन् २०११ को जनगणनाले देखाउँछ । अन्य देशहरुमा जस्तै नेपालमा पनि अंग्रेजी भाषालाई ‘महत्त्वपूर्ण भाषा’को नामपत्र दिइएको छ । नेपालका विद्यालयहरुमा आजकल धेरै भन्दा धेरै महत्व दिएर अंग्रेजी भाषाको पठनपाठन हुन्छ । कैयन निजी विद्यालयहरुमा त नेपाली विषयको कक्षामा बाहेक अरु कुनै कक्षामा नेपाली बोल्न सम्म बन्देज लगाइएको छ । अंग्रेजी भाषाको केहि न केहि प्रभाव नेपाली भाषामा परेको छ भनेर भन्नु गलत नहोला । अंग्रेजी भाषाले नेपाली भाषालाई पुरै दबाएको त छैन तर भेदभाव भने उत्पन्न गरेको छ ।

अङ्ग्रेजी भाषाको कारणले कसरी हुन्छ त भेदभाव ?

अलि समय अगाडि प्रकाशित कान्तिपुरको कोसेलीमा ‘हारुहितो नोजु’को अन्तरवार्ता छापिएको थियो । उनी जापानिज-नेपाली अनुवादक हुन् । उनले भनेका छन– “अंग्रेजी बोल्न जान्ने उच्चस्तरीय, नजान्ने निम्नस्तरीय ठानिन्छ नेपालमा ।” उनको यो कथन कुनै पनि हालतमा झुटो हैन । हो, यस्तै हो भाषाले उतपन्न गरेको भेदभाव । कुनै पनि कुरामा भिन्नताको भाव उत्पन्न हुन्छ भने त्यो भेदभाव हो ।

नेपालमै मात्र नभएर भाषिक भेदभाव अन्य देशहरुमा पनि छ । मुख्यतः ती देशहरुमा जहाँका नागरिकहरुको मातृभाषा अङ्ग्रेजी हैन । अङ्ग्रेजी बोल्दा उच्चारण गर्ने शैली र व्याकरणलाई लिएर भेदभाव हुने गरेको छ । कसले कस्तो शैलीमा अङ्ग्रेजी बोल्यो, कत्तिको सहि व्याकरण प्रयोग गर्यो, यी कुराहरु ध्यान गरेर अङ्ग्रेजी जान्नेले नजान्ने लाई जिस्काइरहेका हुन्छन् । कुनै समाजिक सञ्जालमा अङ्ग्रेजीमा केही लेख्दा हिज्जे र पुनः व्याकरणलाई लिएर पनि भेदभाव हुने गररेको छ । भाषालाई आधार बनाएर समाज खण्डित गर्ने हो भने अहिले हाम्रो समाज दुई खण्डमा बाँडिएको छ, अंग्रेजी बोल्न जान्ने र नजान्ने ।

यो भेदभावको मुख्य माध्यम बनेको छ सामाजिक सञ्जाल । समाजिक सञ्जालमा सर्वप्रथम फेसबुककै उदाहरण लिऔँ । फेसबुकमा कुनै पनि कुरा अंग्रेजीमा गलत हिज्जे/व्याकरणका साथ पोस्ट भएमा टिप्पणी खण्डमा टिप्पणी दिनेहरुको लाम लागिरहेको हुन्छ । कोहि निन्दा गर्न टिप्पणी गर्छन् त कोही साँच्चै सिकाउने हिसाबले टिप्पणी गर्छन् । यिनीहरुलाई म ‘ग्रामर नाजी’ भन्न रुचाउँछु ।

“अंग्रेजी आउँदैन भने पोस्ट नगरे भैहाल्यो नि ।”

“उः त्यो तेस्रो वाक्यको दोश्रो शब्दको अघि ‘द’ को प्रयोग हुन्छ ।”

“यो सब कुरा छोड, जाऊ पहिला अङ्ग्रेजी सिकेर आऊ ।”

यी कुनै काल्पनिक वाक्यहरु हैनन् । यिनीहरुलाई मैले फेसबुकमै देखेको छु । तपाईंहरुले पनि फेसबुकको कुनै ‘पेज’मा, कुनै ‘ग्रुप’मा वा कसैको ‘अकाउन्ट’मै देख्नुभएको होला । देख्नुभएको छैन भने आइन्दा ध्यान दिनुहोला कतै न कतै पक्कै देख्नु हुनेछ ।

अब अर्को सामाजिक सञ्जाल, युट्युबको कुरा गरौँ । करिब करिब ६ बर्ष अगाडि हालिएको एउटा २० सेकेन्डको भिडियो छ युट्युबमा, नेपाली नायिका रेखा थापाको अङ्ग्रेजी अन्तरवार्ताको । त्यस भिडियोको टिप्पणी खण्डमा त्यस्ता आलोचनाका उदाहरणहरु प्रशस्तै भेट्न सकिन्छ ।

अङ्ग्रेजी भाषामा सही हिज्जे र व्याकरणको प्रयोग गर्नै पर्ने तर नेपाली भाषामा भने नगर्दा पनि हुने त पक्कै होइन होला ? नेपाली भाषामा पनि त हिज्जे हुन्छ । व्याकरण हुन्छन् । उच्चारण गर्ने तरिका हुन्छ । तर त्यसको ख्याल कसैलाई किन हुँदैन ? नेपालीमा हिज्जे बिगारेर लेख्दा, बोल्दा किन भनिँदैन – “तिमीलाई त नेपाली नै आउँदो रहेनछ । पहिला गएर नेपाली सिकेर आऊ ।” वा “बरु आउँदैन भने नबोल्नु । किन गलत बोल्नु ?” वा किन सच्याइँदैन नेपालीमा बिग्रिएको हिज्जे र व्याकरणलाई ? अङ्ग्रेजीमा आलिकति पनि व्याकरण र हिज्जे बिग्रन नपाइने ? अनि नेपालीमा चाहिँ मनखुशी ? त्यति मात्र हैन अङ्ग्रेजी उच्चारणमा बिस घटेर उन्नाइस हुन नहुने । नेपाली चाहिँ बिगारेर बोल्ने पाइने ?

यो भेदभाव नभए के हो ?

‘ग्रामर नाजी’हरु भन्न सक्नुहुन्छ “हामीले त बस् सिकाएका मात्र हौँ ।” तर सत्य त्यो हैन भनेर तपाईं आफैलाई पनि थाहा छ । हो, एकादुई यस्ता पनि हुन्छन् जसले मनमा कुनै पाप नराखी सच्याउने कोसिस गरेका हुन्छन् अरु त उही पानी मुनिको ओभानो बन्न खोजेका मात्रै हुन् । अंग्रेजी भाषामा आदरार्थीको प्रयोग गरिँदैन । आफु भन्दा ठूलालाई होस् या सानालाई ‘यु’ भनेर बोलाइन्छ र बोलेको शैलीले आदर देखाइन्छ तर नेपाली भाषामा आदर जनाउने शब्दहरु छन् । यिनै शब्दहरुको प्रयोगले आफूभन्दा ठुलोसँग कसरी बोल्ने, सानोसँग कसरी बोल्ने भनेर सिकाउँछ । अर्थात, गलत शब्द छनोटले हाम्रो संस्कार र आफु भन्दा ठूलालाई गरिने सत्कार नै दायाँबायाँ हुने सम्भावना हुन्छ । तर यसको वास्ता कसैले गर्दैन । आजकल बोल्ने शैली फेरिएको छ । ‘म गर्छ’ , ‘बाबाले बोलाको छ’……. यसरी बिगारेर बोलिन्छ । यस्तो भएको खण्डमा किन कसैले केही भन्दैन ? र त्यहि कुरा अङ्ग्रेजीमा बिग्रँदा कटाक्षले किन प्रहार गरिन्छ ? यो अङ्ग्रेजीका कारणले उत्पति भएको भेदभाव नभए के हो ?

नेपाल बहुभाषिय देश पनि हो । नेपालमा नेपाली भाषा बोल्नेको संख्या सर्वाधिक रहेको पाइन्छ । साथै, नेपालमा हिन्दी भाषीहरु पनि छन् । हिन्दी भाषाको कुरा गर्दा यहाँ राष्ट्रियताको (खोक्रो/भरिएको) कुरा पनि निस्किन्छ । निजले हिन्दी बोल्दा उसलाई भारतीयको दर्जा दिईने गरिएको छ जबकी सन् २०११ को जनगणना अनुसार नेपालमा हिन्दी भाषालाई मातृभाषा मान्नेको जनसंख्या ०.२८% रहेको छ । उपेक्षा पनि गरिन्छ । तर त्यही निजले अङ्ग्रेजी बोले किन उसलाई केही भनिँदैन ? यस्ता उपेक्षाको शिकार बाट स्वयं प्र.म. के.पी. ओली पनि बच्नुभएन । केही वर्षअघि उहाँले एक भारतीय पत्रकारलाई दिएको अन्तरवार्तालाई लिएर उहाँको आलोचना भएको थियो । त्यो अन्तरवार्ता युट्युबमै भेट्न सकिन्छ र ती आलोचनाहरु पनि त्यहि अन्तरवार्ताको टिप्पणी खण्डमा देख्न सकिन्छ ।

अब फेरि सामाजिक सञ्जालाकै कुरा गर्दा फेसबुकमा भएका यस्ता कति ग्रुपहरु छन् जसको नियममा साफसाफ लेखिएको हुन्छ – “हिन्दी भाषामा लेख्न, पोस्ट गर्न वा टिप्पणी दिन नपाइने ” । कसैले हिन्दी भाषामा लेखे, पोस्ट गरे वा टिप्पणी दिएमा ठाडै ग्रुपबाट वञ्चित गरिन्छ । तर अङ्ग्रेजीमा लेख्दा, टिप्पणी दिँदा कहाँ हराउँछन् यिनीहरु ? के यो भेदभाव भाषाका कारणले भएको भेदभाव हैन ? वा कतै छिमेकी देशप्रति मनमा गडेको घृणा हो ? वा आफ्नै देशको भाषा बचाइरहेका छन् ? यिनिहरुको ‘खोक्रो देशभक्ति’ ! अङ्ग्रेजी पनि त हाम्रो भाषा होइन जस्तो मानेको थिएँ मैले । हिन्दी प्रयोग गर्न नपाइने हो भने त अङ्ग्रेजी पनि त प्रयोग गर्न नपाइने होइन र ?

के अङ्ग्रेजीकै कारणले मात्र भाषिक भेदभाव हुन्छ त ?

उत्तर-होइन । 

फेरि नेपाल र नेपाली भाषाकै उदाहरण लिऔँ । एक किसिमले भन्ने हो भने नेपाली भाषाले पनि भाषिक भेदभाव जन्माएको छ । शहरीकरणले गर्दा भएको बसाइँ-सराइँका कारण अनेक जातीहरु, जसको भाषा फरक हुन्छ, उनीहरु एकै समाजमा बसोबास गर्ने गर्छन् । यस्तोमा सञ्चारका लागि सबैले प्रयोग गर्ने भाषा नेपाली हो । आफ्नो मातृभाषा त खाली घरभित्र वा आफ्नै जातीसँग सिमित रहन्छ । समयको अन्तरालसँगै मातृभाषा नआउने संख्यामा वृद्धि हुँदै जान्छ । उदाहरणका लागि तामाङहरूलाई ‘तामाङ’ भाषा बोल्न नआउने, नेवारहरूलाई ‘नेवारी’ भाषा बोल्न नआउने पनि हुन्छ । कतिले त आफ्नो मातृभाषा बोल्न पनि जान्दैनन् अनि बुझ्दा पनि बुझ्दैनन् । नेपाली भाषालाई महत्व दिँदा कतै आफनै मातृभाषा त लोप हुँदै छैन ? यो प्रश्नमा बेलैमा ध्यान दिनुपर्ने हुन्छ । यसमा न त कुनै मान्छेको दोष छ न त भाषाकै । नेपाली भाषा नभई नहुने भएकोले नेपाली भाषा अरु भन्दा माथि उठेको छ र अरु भाषा तल झरेका छन् । यो चाहिँ भाषाले भाषामाथि गरेको भेदभाव हो । त्यहाँमाथि नेवारहरुले नेपाली बोल्दा उनीहरुलाई नजिस्काइएको कहाँ हो र ? मधेसीले नेपाली नजान्दा उसलाई नजिस्काइएको कहाँ हो र ? हेला नगरिएको कहाँ हो र ? यस्ता भेदभाव चाहिँ भाषालाई माध्यम बनाएर मान्छेले जातीलाई गर्ने भेदभाव अन्तर्गत पर्छ ।

भाषामा पूर्ण रुपले दक्षता हासिल गर्न सकिँदैन । केही न केही सिक्न बाँकी नै हुन्छ । एउटा भाषाको महत्व छ भन्दैमा र कुनै व्यक्तिले त्यो भाषा जान्दैन भन्दैमा उसलाई हेला गर्नु उचित हुँदैन । आलोचना गर्नु उचित हुँदैन । भेदभाव गर्नु उचित हुँदैन । यसको मतलव यो हैन कि अङ्ग्रेजी वा अरु कुनै भाषा सिक्नै हुन्न । भाषा जति धेरै जान्यो त्यति राम्रो । जानेको छु भनेर नजान्नेको आलोचना गर्नु चाहिँ नराम्रो । भाषालाई संचारको माध्यम बनाऔँ, स्तरको मापन यन्त्र वा भेदभावको साधन हैन ।

तिनै महिलाले भनेको जस्तै, भाषा सञ्चारको माधयम हो । एकले बोल्दा अर्कोले बुझ्नु नै भाषाको मुख्य काम हो । बाँकी रह्यो हिज्जे र व्याकरणका कुरा, यि जान्दा धेरै राम्रो । जानिँदैन वा आउँदैन भने पनि केही छैन, तपाईंले बोलेको कुरा वा दिएको सन्देश अर्कोले बुझ्नु नै ठूलो कुरा हो ।

मेरो चेत खुलाइदिएकोमा म्यासेज गर्ने नारीलाई धन्यवाद दिन चाहन्छु र कन्फेसन गर्नेसँग माफी माग्न चहान्छु ।

Facebook Comments

You may also like

error: Content is protected !!