धोका
चुलोले आगो बालिरहे
वा चुलोमा आगो बलिरहे
घर जल्ने खतरा धेरै हुन्छ
त्यो भन्दा उत्तम –
चुलोलाई धोका दिएर आगो निभ्नु
के सहि होइन ?
के सहि होइन
पृथ्वीलाई धोका दिएर
सूर्य बाह्र-बाह्र घण्टामा अस्ताउनु ?
के सहि होइन
धर्तिलाई धोका दिएर
आकाशले केही ऋतु बाहेक
अरु ऋतुमा पानी नखसाल्नु ?
के सहि होइन
हजारौं शुक्रकिटलाई धोका दिएको
कुनै एक शुक्रकिट
हजारौं अण्डलाई धोका दिएको
कुनै एक अण्डसँग मात्र मिल्नु ?
त्यसैले म भन्दछु, जोडजोडले भन्दछु
धोका दिनु-
कुनै अवस्थामा सबैभन्दा राम्रो विकल्प हो
धोका दिनु –
कसैप्रतिको भयानक समर्पण हो, दिगो प्रेम हो
र धोका दिनु –
कसैमा हुनुपर्ने सबैभन्दा गहिरो समाधिस्त हो !
धोका दिएरै
के जीवन एकदिन मृत्युमा समाधिस्त भएको छैन ?

Newcastle Contemporary Art | Abstract
पिछा
निकै दिन भो
केही परिचित लाग्ने छायाँहरुले
मेरो पिछा गरिरहेको!
म प्रमाण दिएर भन्न सक्छु-
यी तिनै आकृतिहरुका छायाँ हुन
जुनजुन आकृतिहरुको निर्ममतापूर्वक
कतल मैले गरेको हुँ
जस्तो कि
यी मध्यको एक छायाँ आकाशको हो
जो प्रत्येक साल किसानहरुको आत्महत्यामा झनझन निलो हुँदै जान्छ
जस्तो कि
यी मध्यको एक छायाँ चराहरुको हो
जो जहिल्यै उडिरहन्छन् धरातल बिर्सिएर
आकाश छुन
र जहिल्यै छोइरहन्छन धरातल
आकाश छुन नसक्ने सत्य थाहा पाएर
जस्तो कि
यी मध्यको एक छायाँ बाहरुको हो
जो कहिल्यै फर्काउदैनन आमाहरुलाई
आफ्नो रहरको घर बाट
जस्तो कि
यी मध्यको एक छायाँ सहरको हो
जो चुपचाप एक कुनामा दिनदिनै थुपारिरहन्छ झुपडीहरु
निकै दिनदेखि
यी र यस्ता थुप्रै परिचित लाग्ने छायाँहरुले
मेरो पिछा गरिरहेका छन्
तर म डराउन छोडिसकेको छु !
किनकि मैले अझै यस्ता धेरै आकृतिहरुको
कतल गर्नै बाकी छ ।
जस्तो कि
म हिँडिरहेको छु सूर्यको कतल गरेर
जो सर्बदा फनफनी घुमाइरहन्छ पृथ्वीलाई
आफ्नो वरिपरि
जस्तो कि
म हिँडिरहेको छु कालको कतल गर्न
जो जलाएर वा गाडेर फरार भइरहन्छ सधैँ
यसरी आकृतिहरुको एकपछि एक कतल गरेर
उनीहरुको छायाँलाई आफ्नो पिछा लगाइरहनु छु !
हिँडिरहनु छ !

Valley of Shadow by Salvador Dali
परिचय
हतारमै सहि
तिमीले मेरो परिचय माग्यौ – को हौ तिमी ?
अबदेखि सधैँ पानी पर्नुभन्दा
केही समय अघि हेरिसक्नु आकाशमा
त्यहाँ तिमीले अवश्य देख्नेछौ – केही किरणहरु !
सतर्क भएर, बडो ध्यान दिएर हेर्नु
ती मध्य एउटा किरणलाई
जो गुजुप्प परेर बसेको
कालो बादल चिरेर निस्कन
अति नै जिद गरिरहेको हुनेछ, अति नै !
सम्झनु –
त्यो जिद मेरो हुनुको सप्रमाण हो
र त्यो किरण म हुँ !
त्यसपछि हरेक पटक एकछिन गम्भीर भएर सोच्नु –
कहीँ त्यो मेरो कोठासम्म आउने किरण त होइन ?
जसले ब्युझाइरहन्छ मलाई – आफैबाट !
जसले बचाइरहन्छ मलाई – आफैबाट !

Ray of Hope by Surya C G