बिइङ्ग सुदर्शन पौडेल | SATURDAYकलम | Kavyalaya - काव्यालय

बिइङ्ग सुदर्शन पौडेल

यहाँ सत्य छ र यहाँ झुठहरू छन् । र कलाको काम सधैँ सत्य बोल्ने हो, झुठ बोलिरहँदा पनि ।

एक बिहान जब म असहज सपनाहरूबाट ब्युझेँ, मैले आफूले आफूलाई लेखकमा परिणत भएको पाएँ । अघिल्लो रात कामबाट थाकेर आएपछि मैले आमालाई कमाइ बुझाएको थिएँ । बाबा बिस्तारामै हुनुहुन्थ्यो । बाथरुम गएर फ्रेस भइसकेपछि म, आमा, र बहिनीले खाना खाएका थियौँ । कुगेल, मात्जो बल्स र चिकेन सुप – सधैँको स्वाद । खाना खाइसकेपछि ग्रिटाले भायलिन बजाउन थालेकी थिई । म संगीतको आवाजसँगसँगै निदाएको थिएँ ।

ब्यूझँदा म भूगोलको कुन कुनामा, कुन देशको कुन शहरको कुन कोठामा थिएँ; मैले थाह पाउन सकिनँ । सानो कोठाको सानो खाटमा भखर्रै ब्यूँझिएको त्यो सानो मान्छे को थियो पनि मलाई थाह थिएन । मलाई केवल यत्ति थाह थियो – बिहान भएको छ र जसरी पनि म काममा जानुपर्छ ।

म उठ्न खोज्छु । सकेको बल लगाएर त्यो शरीरलाई चलाउन खोज्छु, तर सक्दिनँ । म आँखाले उसको हात देख्न सक्छु । म चाहन्छु ऊ उठोस् र आफ्नो हात ढोकामा लगेर खोलोस् । तर उसले हात गुप्ताङ्गमा लैजान्छ । म आँखा चिम्लन्छु तर नदेख्न सक्दिनँ । म केही गर्न सक्दिनँ ।

केही मिनेटपछि ऊ उठ्छ । उठेर भित्तामा अडिएपछि मात्र म देख्छु कोठाको विवरण । मलाई महसुस हुन्छ – म लेखकको कोठामा छु ।

सानो छ कोठा, औसत जेलजत्रो । भित्तामा हल्का गुलाबी र हरियो रङ्ग पोतिएको छ । कोठाको पश्चिमपट्टि एउटा ठूलो झ्याल छ, जसमा पर्दा लगाइएको छ । उत्तरपट्टिको भित्तामा २ वटा टाँसीहरू छन् । एउटा टाँसी किताबहरूले भरिएको छ र अर्कोमा घडि र थुप्रै ट्रफीहरू छन् । मलाई ग्रिटाको सम्झना आँउछ ।

पूर्वतिरको भित्ताभरि प्रमाणपत्रहरू थिए । भित्ताको बीचमा एउटा ठूलो तस्बिर झुण्ड्याइएको थियो । त्यतिबेला मैले पहिलोपटक सुदर्शन पौडेलको अनुहार देखेँ । ऊ नराम्रो थिएन । तस्बिरको कपाल हेर्दा केही समय अघिको जस्तो देखिन्थ्यो ।

म कोठाको विचरणमा भुल्दै गर्दा उसको फोन बज्छ ।

यतिबेला मैले सत्य बोल्नुपर्छ – त्यो बेला बल्दै, बज्दै गरिरहेको यन्त्र देखेर म तर्सिएको थिएँ । त्यसलाई फोन भनिन्छ भनेर मैले जानेको त्यही दिन हो ।

उसले फोन उठायो र कुनै अञ्जान भाषामा एक स्त्री आवाजसँग बोल्यो । उनीहरू कुन भाषामा बोलिरहेका थिए म भन्न सक्दिनथेँ । तर अजिब कारणले म उनीहरूको संवादलाई बुझ्न भने सक्थेँ । त्यस बोधले मलाई केही संयमित बनायो ।

सुदर्शन पौडेल उसकी प्रेमिकासँग बोलिरहेको थियो । उनीहरू दुवै भर्खरै उठेका थिए । बोलीको भावलाई मुल्याङ्कन गर्दा संवादमा सुदर्शनभन्दा स्त्री बढी उत्सुक सुनिन्थी । फोन पनि उसैले गरेकी थिई ।

कुराकानीको निष्कर्ष यति थियो – उनीहरू एकअर्कालाई असाध्यै माया गर्छन् । उनीहरू एकअर्काबिना बाँच्न सक्दैनन् । हावालाई चुमेर सुदर्शन पौडेलले फोन राख्यो ।

म अन्यौलता र उत्सुकताको मध्यरेखामा उभिएको थिएँ । बाहिरी दुनियाँको आँखाबाट लुकेको यो सानो कोठाभित्रको सानो मान्छेका साना आँखाहरूबाट म सबथोक नियालिरहेको थिएँ । मलाई एक्कासि चुरोटको तलतल लाग्न थाल्यो ।

यतिबेला यो भन्नु जरुरी होला म चुरोट पिउँदिनँ । नो सर ! म ईश्वरको कसम खाएर भन्न सक्छु, मैले आजसम्म एकपटक पनि चुरोट ओठमा लगेको छैन । 

तर पनि अचानक म चुरोट पिउन चाहन्थेँ । यस्तो तलतल मलाई आजसम्म भएको थिएन । मुखभरि थुक आउन थाल्यो । बोत्तलबाट पानी पियो सुदर्शन पौडेलले तर पनि मेरो तलतल मेटिएन । यो बुझ्न मलाई समय लाग्यो कि मैले महसुस गरिरहेको तलतल सुदर्शन पौडेलको हो । उसैले लिओस् यसलाई मेटाउने जिम्मा । म फेसबुक हेरिरहेको थिएँ ।

केहीबेर पछि मेरो आँखा अगाडिको दृश्य फोनबाट भुईंमा पुग्यो । त्यहाँ कपडाहरू थिए । सुदर्शन पौडेलको हातले अन्डरवेयर टिप्यो र खुट्टाभित्र छिरायो । त्यसपछि भेस्ट, पेन्ट र अन्त्यमा टिसर्ट । बल्ल मलाई मान्छेको शरीरमा भएजस्तो लाग्यो ।

सुदर्शन पौडेल खुट्टामा उभिएपछि मलाई उसको उचाइको आँकलन मिल्यो । ऊ मभन्दा निकै होचो थियो । त्यस्तै, ५ फिट ६/७ इन्च । उसका खुट्टाहरूले मेरो दृष्टिलाई कोठाको दक्षिणी कुनाको टेबलमा लगे । त्यहाँ थियो एउट ल्यापटप, एउटा पेन्सिल होल्डर, केही किताब र डायरीहरू । छेउमा एउटा मग पनि थियो । मगको पिंधमा थौरै कफी र एउटा तैरिरहेको साङ्ला थियो । मलाई कफी पिउन मन लाग्यो ।

सुदर्शन पौडेलले ढोका खोल्दा म छक्क परेँ । म जहाँ थिएँ त्यहा मेरो घरजस्तो कुनै वातावरण थिएन । ढोका बाहिर अर्को घरको भित्ता थियो । पश्चिम दिशामा गाडीको बाटो र अरु दिशामा केवल भित्ताहरू ।

आवाज जस्तो केही पनि थिएन त्यो ठाँउमा । शुन्यता हैन, मात्र कोलहाल । टाढा कतै म मेसिनहरूको आवाज सुन्न सक्थेँ । कतै बच्चाहरू रोएको कर्कश ध्वनी । कतैबाट आइरहेको थियो मान्छेहरूको गाईंगुईंको आवाज । तर केही बुझ्न सकिँदैन थियो । सायद मान्छेहरू यसैलाई भन्छन् ह्वाइट् नोइज् ।

सुदर्शन पौडेलले बिहानीको नित्यकर्म गरिरहँदा मैले आँखा चिम्लन नचाहेको हैन । तर म उसका हरेक संवेगहरू महसुस गर्न सक्थेँ । केही मिनेटपछि ऊ कोठामा फर्क्यो, ल्यापटप खोल्यो र त्यसपछि मैले सुनेँ संगीतको धुन । ओटिस रेडिङ्ग गाइरहेको थियो;

“आइ’भ बिन लभिङ्ग यु टु लङ्ग

टु स्टप नाउऽऽ”

गीत सुन्दै उसले नेस्क्याफेको बट्टाबाट कफी झिक्यो । पानी उमालेर मगमा कफी पिउन थाल्यो । बेलाबेलामा उसको फोनमा उसका साथीहरू सन्देश पठाउँथे । ऊ हेर्थ्यो र बिना प्रतिक्रिया कफी पिउँथ्यो । केही कार्यक्रमहरूको निम्तो पनि देखिन्थे इन्बक्समा । उसले खासै चासो देखाएजस्तो मलाई लागेन । त्यतिबेला यो मान्छे विचित्रको प्राणी रहेछ भनेर मलाई महसुस भएको थियो ।

सुदर्शन पौडेलको आँखाबाट देखिने संसार मैले देखेको संसारभन्दा भिन्न छ । म दिनभर शहर डुलेर थाक्थेँ, ऊ दिनभर कोठामा बसेर थाक्दैन थियो । भोक लाग्दा खान्थ्यो, प्यास लाग्दा पिउँथ्यो, दिशा–पिसाब लाग्दा ट्वाइलेट जान्थ्यो र फेरि कोठामै फर्कन्थ्यो ।

साथी नभएका हैनन् सुदर्शन पौडेलका तर ऊ भिडमा एक्लो महसुस गर्छ । मान्छेहरूसँग बोल्दा मान्छे भएजस्तो लाग्दैन उसलाई । ऊ साच्चै अचम्मको छ । उसलाई उसकै आँखाहरूले नियालिरहँदा मलाई टाउन स्क्वायरमा एक्लै बर्बराइरहने बहुलाजस्तो लाग्छ । तर, ऊ बहुला नै हो भनेर म भन्न सक्दिनँ ।

कफी पिइसकेपछि ऊ कथा लेख्न बस्यो । ल्यापटपमा गीत बजिरहेको थियो । मलाई गीतको आवाजले ग्रिटाको भायलिनको सम्झना गराइरहेको थियो । तर म सम्झन मात्र सक्थेँ । हेर्न मात्र सक्थेँ सुदर्शन पौडेलको हातलाई जो पानामा अक्षरहरू कोरिरहेको थियो ।

त्यतिबेला ऊ एक रुन्चे कथा लेख्दै थियो । उसका हरेक कथाहरू यस्तै हुने गर्छन् । ऊ आफ्नो मनमा गुम्सिएका कुराहरूलाई अरु पात्रको मुखबाट बोल्न लगाउँथ्यो । आफ्ना घिनलाग्दा कल्पनाहरूको पाप पात्रहरूको थाप्लोमा बोकाएपछि ऊ यसरी मुस्कुराउँथ्यो जसरी अपराध गरेर नसमातिएको अपराधी मुस्कुराँउछ ।

त्यो कथामा उसले आफ्नो असफल प्रेमलाई सफल बनाउँदै थियो । बिनाकारण उसले छोडेको थियो एक युवतीलाई केही समयअघि । उनीहरू प्रेममा थिए अवश्य तर सुदर्शन पौडेल आफ्नै असुरक्षित मानसिकताले आक्रान्त थियो । तिरस्कृत हुने डरले उसले आफैलाई टाढा बनाउँदै लगेको थियो र एकदिन उसले अचानक आफूलाई एक्लो पाएको थियो ।

उसको वर्तमान प्रेमको कथा सुनाउन अर्को अध्याय लाग्ला तर त्यतिबेला उसले लेख्दै गरेको कथामा भने ऊ फेरि पूर्व प्रेमिकासँग भेटिरहेको थियो । उनीहरू वर्षौंपछि भेटेर एकअर्काको जिन्दगीको विवरण टिप्दै गरिरहेका हुन्छन् । उनीहरू हाँस्छन्, मुस्कुराँउछन् र आफू वर्तमानसँग सन्तुष्ट भएको बताँउछन् ।

यो सुनेपछि दुवै निराश भएको लेखेको छ सुदर्शन पौडेलले । साला ढोङ्गी ! मैले सक्ने भए त्यो कथा पूरै जलाइदिने थिएँ । तर म केही गर्न सक्दिनँ ।

कथा लेखिसकेपछि सुदर्शन पौडेल केही समयको लागि बाहिर निस्कियो । त्यहीबेला मैले त्यस ठाँउको माहोल बुझ्ने अवसर पाएको थिएँ । पोखराको नयाँबजारका गल्लिहरू छिचोलेर ऊ एक खाजाघरमा पस्यो; २ वटा परौठा खायो र एउटा चुरोट पियो ।

त्यही हो मैले चाखेको पहिलो चुरोट । थु !

ऊ कोठामा फर्कियो । ल्यापटपमा अर्कै गीत बजिरहेको थियो । उसले गीत सुन्दै अघि लेखेको कथा टाइप गर्यो । २–३ पटक सच्याएपछि लेखक साथीलाई कथा पठायो । खैर ! लेखकहरूको बनावटी बौद्विकताको बखान म यहाँ गर्दिनँ ।

मलाई थाह छैन कसरी तर मलाई थाह भइसकेको थियो, ल्यापटपमा फिल्म हेर्न सकिन्छ । मलाई चलचित्रको ठूलो सौख छ । सुदर्शन पौडेलले ल्यापटपमा एउटा अजिबको फिल्म चलाउन थाल्यो । म नहेरी बस्न सक्दिन थेिएँ ।

द लब्स्टर !

नाम पढ्ने बित्तकै मलाई अत्यन्त खुसी लाग्यो । त्यो खुसी मेरो थिएन भन्ने मलाई थाह थियो । मलाई लब्स्टर देखेर केवल भोक मात्र लाग्छ ।

त्यो चलचित्र नराम्रो थिएन तर जुन उत्साहले सुदर्शन पौडेल हेरिरहेको थियो, त्यति राम्रो भने थिएन । मलाई मानिसहरूको आर्टिस्टिक चोइस् देखेर वान्ता आउलाजस्तो हुन्छ । फिल्म हेरिरहँदा ऊ बेलाबेलामा प मिकाका सन्देशहरूको उत्तर फर्काँउथ्यो । बेलाबेलामा फेसबुक र ट्विटरका भित्ताहरू चहाथ्र्यो । मलाई चलचित्र र फोन दुवै देखेर रिङ्गटा लागिरहेको थियो ।

साँझमा उसले पहिलोपटक कोठाको पर्दा खोल्यो । घामका अन्तिम किरणहरू क्षितिजमा झुण्डिरहेका थिए । उत्तरमा बादल खुलेको थियो र माछापुच्छ्रे छर्लङ्ग देख्न सकिन्थ्यो । तर सुदर्शन पौडेलले खुसी मानेजस्तो लागेन मलाई । म भने प्रफुल्ल थिएँ । यति नजिकबाट हिमाललाई मैले आजसम्म देखेको थिइनँ ।

ऊफेरि बाहिर निस्क्यो र पहिलेकै खाजाघरमा एक प्लेट मःम र २ गिलास रक्सि पियो । मलाई उल्टी आइसकेको थियो तर सुदर्शन पौडेलले भने वाकेन । एउटा चुरोट पिएर ऊकोठामा फक्र्यो ।

मलाई यो सब भोग्नु छैन— मैले आफैसँग भनेँ ।

त्यस रात उसले आफ्नै कथाहरू पढ्यो । एक बलात्कारी कलाकारको कथा, मान्छेको मासु बेच्ने रेस्टुरेन्टको कथा, यौन गर्दा गर्दै प्रेमिका मारेको हत्याराको कथा, वेश्यालयको, घाटको कथा; उफ् ! यस्तो डरलाग्दो दिमागभित्र बस्दा बस्दा मलाई उकुसमुकुस हुन थाल्यो । म सक्थेँ भने त्यतिबेलै आतमहत्या गरिसक्थेँ । तर सुदर्शन पौडेल आफ्ना विकृत पात्रहरूसँग खुसी देखिन्थ्यो । मैले केही गर्न सकिनँ ।

आफ्नै कथाहरूसँगको शब्दमैथुन गरेर सुदर्शन पौडेलले दिनभरिका सन्देशहरूको प्रतिक्रिया लेख्न थाल्यो । म मानसिक रूपले निकै थाकिसकेको थिएँ । म आराम गर्न चाहन्थेँ तर ऊ सन्देश लेख्नमा व्यस्त थियो ।

उसका प्राय सन्देशहरू औपचारिक थिए । हस्, ओके, हुन्छ, सेम टु यु, थ्याङ्क यु ।

हस्त मैथुन गरेर कपडा खोलिसकेपछि ऊ नाङ्गै बिस्तारामा पस्यो । मलाई समलैङ्गिक असहजताले पिरोलिरहेको थियो । भगवानलाई सम्झेँ र मेरो इच्क्षा विपरीत नाङ्गो मान्छेको बिस्तारामा आइपुगेकोमा क्षमा मागेँ । म केही गर्न सक्दिन थिएँ ।

रातको १२ बजेसम्म सुदर्शन पौडेलको शरीरमा भएको मलाई याद छ । ऊ आफ्नी प्रेमिकासँग फोनमा बोल्दै थियो । एक्कासि मलाई निंदले छोप्दै गएको आभास भएको थियो । जब बिहान भयो तब म सुदर्शन पौडेलको शरीरमा थिइनँ ।

ब्यूझँदा म आफ्नै खाटमा थिएँ । मैले देखेको त्यो असहज सपना समाप्त भएको थियो । त्यस विकृत सोचहरूको खप्परबाट बाहिर निस्किएपछि म पहिलोपल्ट मुस्कुराएँ । ग्रिटाले भायलिन बजाउन शुरु गरिसकेकी रहिछ । एक्कासि ढोकामा आमाको आवाज सुनियो,

‘ ग्रेगोर ! ग्रेगोरऽऽ तिमी किन अझै सुतिरहेको छौ ? उठ ! ट्रेन छुट्ने समय हुन लागिसक्यो । काममा जाऊ ।’

म आमालाई उत्तर फर्काउन चाहन्थेँ, म उठ्न खोज्दैछु आमा । म उठ्दैछु । तर म आज काममा जान सक्दिनँ । म केही गर्न सक्दिनँ ।



Facebook Comments

You may also like

error: Content is protected !!