BEGINNING

{ समय, रात ! 
उसले किचेन र्याकबाट कप निकाल्छ । कफीको भाँडो निकाल्छ । चिनीको भाँडोलाई केहीबेर यताउती खोज्छ । भेट्छ । कपमा अलिकति कफी हाल्छ अनि त्यति नै मात्रामा चिनी पनि खन्याउँछ । एक चम्चा जति पानी हाल्छ र टि-स्पोनले पानी-चिनी-कफीलाई फिट्न थाल्छ, उभिएरै ।

चुल्होमा पानी उम्लिँदै छ । ऊ कपमा कफी फिट्दै छ । पानी उम्लिन्छ । ग्याँस बन्द गर्छ । केहीबेर कफीलाई फिटिसकेपछि तातो पानी कपमा खन्याउँछ । तातोपानीका केही थोपा उसको हातमा पर्छ । मुख बिगार्दै हात झट्कार्छ । पोलेको ठाउँमा फु..फु.. गर्छ । पुनः पानी खन्याउन थाल्छ कपमा । कप भरिन्छ । टि-स्पोनले घोल्छ । कालो कफी तयार हुन्छ ।

कफि लिएर ऊ कुर्सीमा बस्छ । कफीलाई टेबलमा राख्छ । टेबलमा मैनबत्ती बलिरहेको छ । टेबलको कुनामा केही किताबहरु मिलेर बसेका छन् । छेउमै ल्यापटप मस्त निदाइरहेको छ । ल्यापटपलाई ब्युँझाउछ । केहीबेर स्कृनमा घोरिन्छ । किबोर्डमा औंलाहरु राख्छ । औंलाहरु चल्न मान्दैनन् । ल्यापटपलाई सुताइदिन्छ ।

किताबहरुको चाङबाट एउटा कापि निकाल्छ । आफू अघि खाली पन्ना पल्टाउँछ । गिलासमा उभिरहेका कलमहरुबाट एउटा कलम लिन्छ । खाली पन्नामाथि कलम राख्छ । केही सोचे जस्तो गर्छ । उसको सन्मुख सफेद पन्ना तेर्सिएको छ । ढलिरहेको छ, कलम । उसले कफीको एक सुरुप लिन्छ । मुख मिठ्याउँछ । मुस्कुराउँछ । कलम हातमा लिन्छ । सफेद खाली पन्ना मिलाउँछ ।

केहीछिन टोलाउँछ अनि लेख्न थाल्छ ओठमा हल्का मुस्कानसहित । बिस्तारै कालो अक्षर हिँड्न् थाल्छन् सफेद पन्नामा । केही शब्द लेख्छ । मुख बिगार्दै त्यसलाई केर्छ । पन्नालाई च्यात्छ । पोको पारेर पछाडि हुत्याउँछ । अर्को सफेद पन्नामा घोप्टिन्छ । केही शब्द लेख्छ । सायद फेरि चित्त बुझ्दैन । त्यसलाई नकेरी च्यात्छ । पोको पार्छ र पछाडि फ्याँक्छ ।

खाली पन्नालाई नियाल्छ । कलम केहिबेर हातमा खेलाइरहन्छ । कफीको चुस्की लिन्छ । कलम दौडाउँछ, पन्नामा । केहीबेर लेखिरहन्छ । मनमनै पढ्छ । फेरि चित्त बुझ्दैन । केर्छ । पन्ना च्यात्छ । पोको पारेर फ्याँक्छ । उसको पछाडि कागजका डल्लाहरु मृत देखिन्छन् । कलम पन्नामाथि छोडिदिन्छ । आफ्नो दुबै हात तन्काउँछ । लामो सास लिन्छ । फ्याँक्छ । कपलाई ओठमा टसाउँछ ।

कलम हातमा लिन्छ । हातमा खेलाउँदै सोच्छ । कलम टोक्छ । पुनः कफीको चुस्की लिन्छ र लेख्न थाल्छ । }

शब्दहरु मलाई बडो मायावी लाग्छन् । खै, किन थाहा छैन । अरुलाई नलाग्न पनि सक्छ । सबै मान्छेको मुटुको धड्कन कहाँ मिल्छन् र ? रगतको चाप कहाँ उहीँ हुन्छन् र ? सास फेराइको गति पनि कहाँ मिल्छन् र ? र, यदि मिल्न जाँदैमा पनि मान्छेहरुका चाहना, चेतना, भावना, कल्पना, विपना कहाँ मिल्छन् त ? कहाँ उस्तै हुन्छन् र ? आँखा सबैको उस्तै हुँदैमा नजर कहाँ उस्तै हुन्छन् र, होइन त ?

{ कफिको चुस्की लिन्छ । }

मैले भनेको हो नि, शब्दहरु बडो मायावी हुन्छन् । म के लेख्न खोज्दै थिएँ, कहाँ पुगेछु ।

{ हल्का मुस्कान चुहिन्छ । }

यो शब्दहरुको भुलभुल्यौमा म झण्डै हराएछु । कहिलेकाहीँ यिनीहरुले भ्रम पैदा गरिदिन्छन् । छल गरिदिन्छन् । रुवाइदिन्छन् । हसाइदिन्छन् । शब्दहरु यस्तै हुन्छन् । म खास खोज्दै थिएँ, तिमीलाई सम्बोधन गर्ने शब्द । हुन त खोजेको कुरा सबै कहाँ पाइन्छन् र ?

{ कफिको चुस्की लिन्छ । आफुले लेखेको शब्दहरुलाई केहीबेर हेर्छ, मुस्कुराउँछ । पुनः लेख्न थाल्छ । }

माया !
हाय, यो माया शब्द झन् आफैमा मायावी छ । बयान, बखान गरेर कहिल्यै सकिँदैन । भनिन्छ, यसको परिभाषा नै छैन किनभने माया आफैमा एउटा भाषा हो जसलाई सबैले बुझ्न सक्छन्, बुझाउन सक्छन् ।

म अहिले बुझ्न सक्छु, महसुस गर्न सक्छु त्यो निर्मम समयलाई जसले तिमीलाई एक्लो बनाइरह्यो, अधुरो बनाइरह्यो । एक प्रकारले तिमीलाई तड्पाइरह्यो । ती बिस्तारै हिँडिरहेका पलहरु म सब्बै-सब्बै महसुस गर्न सक्छु, माया । तिम्रो एक्लोपन ! तिम्रो तड्पन ! तिम्रो मन ! सब्बै-सब्बै !

तिमीलाई लागेको त्यो प्रेमको भोक, तिर्खा अहिले मलाई लागेको छ । तिमीले कटाएकाझैं अनिँदा रातहरु मैले नि कटाइरहेको छु । उत्सवझैं लाग्ने दिनहरुलाई उत्साहहीन भएर मेटाउँदैछु ।

म त्यो समय बहकिएको रहेछु । हराएको रहेछु । आफैमा रमाएको रहेछु । थाहा थिएन म भित्रभित्रै यति खोक्रो भइसकेको रहेछु । जलिरहेको रहेछु । मलाई एक प्रकारको श्राप लागेको हुनुपर्छ तिम्रो मायाको, त्यागको, प्रतीक्षाको ।

ती आँखाले बोलिरहेको भाषा कसरी बुझ्न सकिनँ मैले । ती इशारा कसरी सम्झिन सकिनँ । म साँच्चै नै बुद्धु रहेछु । महाबुद्धु रहेछु म, माया !

{ मुस्कान फुस्किन्छ । कफीको सुरुप लिन्छ । र, पुनः लेख्न थाल्छ । }

कथाकारले लेखेको कथा जस्तै नहुँदो रहेछ जिन्दगी । कविको कविता जस्तै नबग्दो रहेछ जिन्दगी । संगीतकारले रचेको संगीत जस्तै सुमधुर नहुँदो रहेछ जिन्दगी । जिन्दगी रहस्यमय छ, माया । यो अनपेक्षित छ । अप्रत्याशित छ । कहिलेकाहीँ कैयौं समय लाग्छ केही बुझ्न, कहिले कत्तिपनि लाग्दैन ।

{ अनुहार मलिन हुन्छ । }

हो, तिमीलाई बुझ्न मलाई समय लाग्यो । तिम्रो माया बुझ्न मलाई समय लाग्यो । तिमीले त्यो गीत पक्कै सुनेकी हौली, हाउ मेनी रोड्स मस्ट अ म्यान वाक डाउन बिफो यू कल हिम अ म्यान ? म पनि बेला-कुबेला यहि कल्पन्छु, कसैको प्रेमी बन्न, हुन कति रात अनिंदो कटाउनु पर्छ ? उसले कति प्रतीक्षा गर्नुपर्छ ? कति सपना देख्नुपर्छ ? कति कल्पनामा डुब्नु पर्छ ? कति कामना गर्नुपर्छ ? कति भावना मिल्नुपर्छ ? कति विपनामा तड्पिनुपर्छ ?

एउटा हिन्दी डाइलग छ नि, “जब मायुश होता है तो महेसुस होता है !” म साँच्चै नै अहिले महसुस गर्दैछु । म एक्लो छु, माया । अधुरो छु । हामीबिचको यो दूरीलाई हटाउन मन छ अब सधैँको लागि । यत्ति बुझ, यो चिठी हामीबिचको पुल हो ।

मलाई अरु समय खर्चिनु छैन अब । मलाई अब तिम्रो अंगालोमा बाँधिन मन छ । तिम्रो प्रतीक्षालाई अन्त्य गर्नु छ । तिम्रो कामनालाई पूरा गर्नु छ । अधुरो तिमीलाई पूरा गर्नु छ । एक-अर्काको एक्लोपनलाई मेटाउनु छ । तिमीमा हराउन मन छ । तिमीमै भेटिनु छ ।

म आउँदैछु माया ! आउँदैछु !
तिमी त्यस्तै मुस्कान लिएर मलाई स्वागत गर्नु है, जस्तो मलाई पहिलोपटक देख्दा तिम्रो ओठमा फुलेको थियो, झुलेको थियो !

तिमीसँग जिवनको नयाँ अध्याय शुरु गर्न म तयार छु । तिमीमा सधैँ-सधैँका लागि समाहित हुन म तयार छु !

म तिमीलाई स्वीकार्छु !

{ ऊ केही भावुक हुन्छ । आँखा रसाउँछ तर ओठ मुस्कुराउँछ । कप ओठमा टसाउँछ । मैनबत्ती पग्लिएर सकिँदैछ । कलम चिठीमाथि राख्छ । बिस्तारै कुर्सीबाट ऊ उठ्छ ।

उसको आँखा रसाएकै छ । ओठमा मुस्कान मुस्कुराइरहेकै छ । ऊ सरासर अघिबाट छेउमै बसिरहेको मुढामाथि चढ्छ । ऊ आफैले तयार पारेर राखेको सिलिङमा झुण्डिरहेको पासोमा आफ्नो गला पसाउँछ । मुढालाई एउटा खुट्टाले हटाउँछ । मुढा लड्छ । उसका खुट्टाहरु झुण्डिन्छन् । केहीबेर छट्पटाउँछन् ।

बिस्तारै खुट्टाहरु मौन हुन्छन्, निभ्छन् । टेबलमा बलिरहेको मैनपनि मौन हुन्छ, निभ्छ । }

* से नो टु सुसाइड *

Facebook Comments

You may also like

error: Content is protected !!