नाट्यसम्राटका तीन कविता | Vintageखोज | काव्यालय-Kavyalaya

नाट्यसम्राटका तीन कविता

बालकृष्ण सम अर्थात् बालकृष्ण शमशेर जङ्बहादुर राणा (१९५९ साल माघ २४, काठमाडौंको ज्ञानेश्वर – २०३८ साल साउन ६, पशुपति आर्यघाट, काठमाडौं) नेपाली साहित्यका नाटककार, चित्रकार एवं कवि हुन् । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले ‘शमशेर जङ्बहादुर राणा’ हटाई ‘सम’ थपेका थिए । उनी जनरल समर शमशेरका पुत्र थिए ।

औपचारिक रूपमा उनले आई.एस्सी. सम्मको मात्र अध्ययन गरेका भए तापनि आफ्नै अध्ययनबाट उनले पूर्वीय एवं पाश्चात्य कला, साहित्य, धर्म, दर्शन, विज्ञान, इतिहास आदिको गम्भीर विवेचना गर्ने सामर्थ्य प्राप्त गरेका थिए ।

बहुमुखी प्रतिभाका धनी बालकृष्ण समले कविता, नाटक, कथा, प्रवन्ध, निवन्ध, जीवनी आदि विभिन्न क्षेत्रमा कलम चलाएका छन् । समलाई नेपाली साहित्यमा नाट्यसम्राट्को विशिष्ट सम्मान प्राप्त भएको छ । नेपाली साहित्यलाई बौद्धिकताको छाप दिने सम चित्रकार, अभिनेता, वक्ता र दार्शनिक चिन्तक पनि थिए । उनी रेडियो नेपालका निर्देशक र गोरखापत्रका सम्पादक पनि भएका थिए। दश वर्षमा कविता लेखी साहित्यिक यात्रा सुरु गरेका समको वि.सं. १९७७मा लेखिएको ‘तानसेनको झरी’ प्रथम नाटक हो भने प्रथम प्रकाशित नाटकचाहिँ ‘मुटुको व्यथा’ (१९८६) हो । यसरी सुरु भएको उनको नाट्ययात्रा वि.सं. २०३५ सम्म चलिरह्यो । उनले नाटकका अतिरिक्त कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन् । कवितालाई बढी रुचाए पनि उनी नाटककै कारण प्रसिद्धिको शिखरमा पुगेका हुन्।


प्रमुख कृतिहरू

  • मुटुको व्यथा (१९८६) 
  • मुकुन्द-इन्दिरा (१९९४) 
  • प्रह्लाद (१९९५)
  • अन्धवेग (१९९६)
  • भक्त भानुभक्त (२०००)
  • प्रेमपिण्ड (२००२)
  • अमरसिंह (२०१०)
  • स्वास्नीमान्छे (२०३३) 
  • बोक्सी
  • नालापानीमा
  • बिरामी र कुरुवा
  • रणदुल्लभ
    …आदि । 


    सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले सम नेपाली नाटकका सर्वोच्च प्रतिभा वा नाट्यसम्राट् हुन् ।कवितात्मक वा गद्यात्मक, संयोगान्त वा दुःखान्त, एकाङ्की वा पूर्णार्ङ्की, जुनैमा पनि सम सबल देखिन्छन् ।


लघुनाटक (एकाङ्की) देखि प्रेमपिण्ड जस्तो महानाटक दिएर नेपाली साहित्यलाई समृद्ध पार्ने सम बहुमुखी र नेपालीले गर्व गर्न लायक प्रतिभाशाली साहित्यकार हुन् । आधुनिक नेपाली नाटकका प्रारम्भकर्ताका रूपमा पनि उनको उत्तिकै ख्याति छ । नेपालका विश्वकोष मानिने समको साहित्यिक योगदानलाई कदर गरेर उनलाई रोयल नेपाल एकेडेमीका (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य र पछि उपकुलपतिसमेत बनाइयो । उनको नाममा ‘बालकृष्ण सम फाउन्डेसन’ नामक साहित्यिक संस्था पनि स्थापना भएको छ ।

प्रस्तुत छ यिनै नाटकका सम्राट बालकृष्ण समका तीन कविताः


मृत्युपछिको अभिव्यञ्जना

मेरी प्रिया, अब मलाई राम्रै निको भयो,
झरेको फूलको थुँगोभन्दा पनि
जीउ अझ शतशः हलुको भो,
अझ किन तिमी त्यस्तरी असार बजार गरी
रोएकी धत्,
मुटु कति घाइते भयो होला ।

देख्दिनौ वायुका सूक्ष्म तरङ्ग
तिम्रो विलापको आघातले टुट्दै चकनाचुर हुँदै छन्,
म त कण–कण देख्न सक्छु,
छियाछियामा घुस्न सक्छु
चुप लाग प्रिया,
मलाई माया गर्ने मान्छे, चुप लाग,
रुवाइलाई बौद्ध शून्यमा बिसाऊ ।

अब मलाई सन्चो भयो,
कुनै शूलले पनि घोच्दैन,
मेरो शत्रुले तीखो त्रिशूल लिएर
घोच्न आयो भने पनि
त्यो वृथा मेरो बीचमा धूवाँझैं बत्तिनेछ,
किनभने अब म साह्रो ऐनाजस्तो होइन
आकाशजस्तै कोमल पारदर्शक भइसकेकोछु,
मेरो हात हावाकै मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थेँ
तिम्रा आँखामा चुम्बन पोसेर
आँसु भुलभुल आउनेप्वाल टाल्थेँ
तर म आकाश भइसकेँ।
हेर्ने ऐनामा पनि म आफ्नो अनुहार देख्दिनँ,
प्रकृतिको ऐना पोखरीमा निहुरी हेर्छु
त्यहाँ म आफूलाई आकाश मात्र देख्छु ।

प्रिया, के मलाई ‘मर्यो्’ भनिदियौ—
मर्यो भनिठान्यौ?
हो?
साँच्चै, म त्यस्तै तिम्रो निम्ति
काम नलाग्ने भएँ कि क्या ?
केही विशेष घटना घट्यो होला पनि
परिवर्तनको अनुभूति हुन्छ,
अग्निपरीक्षामा उत्तीर्ण भएको झझल्को लाग्छ,
हो, अब मलाई कतै पनि दुख्दैन
मेरो मन पनि दुख्दैन—
मन राख्ने ठाउँ नै कहाँ छ र—
सब उदाङ्ग/निर्वाङ्ग ।—

मेरा इन्द्रिय जे–जेमा पर्छन्
त्यहीँ–त्यहीँ तल्लय हुन्छन्,
म पात देख्नासाथ पातै हुन्छु,
त्यसको सुस्केरामा डुब्छु,
फूलको वर पर्नेबित्तिकै त्यसको सुवासमा बास बस्छु,
जुनसुकै रङ्गमा पनि मिल्ने
मेरो यस्तो गति भइसक्यो—
उडेको छारोभन्दा मैदा—
वाष्पभन्दा पातलो—
तेजभन्दा मसिनो—
हावाभन्दा पनि मिहिन ।
एक बिन्दु पानीको बेग्लै अस्तित्व थियो,
सरोवरमा सरोबरी हुनासाथ
त्यो सरोवर भयो।
म आकाश भएँ।—

बादल फाटेको नीलनभ सङ्लिएतुल्य
म तङ्ग्रिएँ,
म निको भएँ।
तिम्रो वरिपरि रुने अरू पनि
मेरा बान्धव इष्टमित्र छन्,
ओहो, त्यो किन त्यस्तरी रोएको
ममा त्यसको त्यति माया रहेछ, मलाई थाहै थिएन,
बरु अर्को त्यो जति रुनुपर्ने हो उति रोएको छैन


बहुलाहा’ले

सुख !
तँ भागी रहेछस्, म खोजी रहेछु ।
पगाले सुनको लाप्सा, डाडूले भित्र खोतली
खारी रहें; माछापुछे पागोको लप्का हावामा
छट्पटाइरह्यो, अनि रिसायो; कालको कालो अनुहारमा
बाहिर निस्केको सेतो दाह्रा रातो आँखा सुन्तलारङ्गी
जिब्रो भने हने ती ज्वालाले आपसमा धक्का मार्दै
पुरा तातो गराई क्रमसंग सहजै त्यो खरानी बनाए ।
धनी सुख !
केलाएँ कति वर्ष वर्ष लहरै सानो खरानी पनि,
फोडे, भिन्न गरें, हुँदै फुकि फुकी हावा तुल्याए अनि;
दौडे पछि पछि,
सुख !
तँ भागी रहेछस्, म खोजी रहेछु ।

गीत !
स्वर कँपाएँ, चढाएँ, गला भित्र रेटें,
सबै यी नसा तारजस्तै वजाएँ;
प्रेमसागरमा आँसुको लहरी उठाएँ गाएँ, वियोगमा
बादलमा हाँसोको मेघ गर्जाएर गाएँ,
आँखाबाट झिकी चरक्क बिजुली
छातीमा बज्र पारेर गाएँ; अजविलाप गाएँ,
रतिविलाप गाएँ भमराको पखेटाको बाजामा,
पुतलीको पखेटाको तालमा, माया गाएँ,
निर्माया गाएँ, आशा गाएँ, निराशा गाएँ;
स्वर बस्यो,
रमाइलो सुख !
तँ टाढा पुगिस् व्यर्थमा अल्मलाई,
यहाँ रोगले रोक्न लाग्यो मलाई,
नफा भनू भने यही नयनको स्नान भयो !
सुख !-
तँ भागी रहेछस्, म खोजी रहेछु ।

रक्सी ! रक्सी ! रक्सी !
चीसो पग्लेको मानिक, वा पुष्पराज, वा हीरा, बर्फ !
दुःखी-
दुःखी यो दुनियाँ यसै बगिरहोस् भन्दै थिएँ जोशको
त्यो तेजाब; ढलें, मरें, मरिसकी ब्यू झेर यो होशको
शिक्षा एक लिएँ- ‘कहाँ , सुख मिल्यो ? बिर्सेर एकै छिन
सम्झें दुःख … …
बिर्सिनु नहुनु होइन, मर्नु नभोग्नु होइन ।’
मीठो सुख ! –
तँ त्यागी रहेछस्, म लागी रहेछु ।
सुख ! –
तँ भागी रहेछस् म खोजी रहेछु

अत्तर गुलाफको कोपिला !
सुख कहाँ छ ?
मलाम भनिठानेर चुसें चुम्बनले रस,
निलेँ, छाती दुख्यो, घाउ बिसायो, –
– – – – – – – रस वा विष ?
राम्रो सुख ?
मानिस मरेपछि उसको हिस्सी हराएजस्तै त हराइस् ?
शून्य सुख !
जति खोजिन्छस् उति पर पर उछिटिन्छस्,
जति खोजिन्नस् उति उति … … ?
देखेँ देखेँ !
सुखी सुख !
बिराएँ !
तँ भित्रै रहेछस् उसै यो भनेछु,
“सुख !-
त भागी रहेछस्, म खोजी रहेछु ।”


(शारदा, १६, कार्तिक १९६३),

शारदा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो । यो पत्रिकाको सम्पादन कार्य ऋद्धिबहादुर मल्लद्वारा भएको छ । यो पत्रिकाको प्रकाशक ऋद्धिबहादुर मल्ल हो । यसको प्रकाशन काठमाडौँमा मासिक अवधिमा हुन्छ । यसको पहिलो प्रति १९९१मा प्रकाशित भएको थियो ।


स्वर्ग र देवता

झरीको एक दिन थियो,
रुपौला किनारे विद्धुत सितारे रेशमी
बादलको घुम्टो हाली
पृथ्वी धुरु धुरु रोइ रहेकी थिइन,
जगबन्धु सूर्यले त्यो देखे ।
अनि उनले आफ्ना कोमल करले सुस्त उघारि त्यो घुम्टो
चियाए ।
सँधैकी सुत्केरी पृथ्वीका
गढेका कन्चट बसेको गाला खोक्रा कोखा सारामा
अश्रु सागर महासागर भरी भरी भै उर्लिरहेका,
आँखा-सजल खाल्डाबाट अश्रु नदीहरु बही रहेका,
सुस्ती वायुका हात खुट्टा पनि जलकणले सब भिजी रहेका,
जङ्गली कपाल, चट्टान-मस्तक, झम्के परेला बुटा बुटी,
शरीरभरका तृण-रोमकूप समेत आँसुले निथ्रुक्क भएका,
शैलशिखर निधारमा
अस्ताचलबाट हिंड्ने बेला हिजो बेलुकी पख मात्रै
आफूले लाइदिएको झल्कने सिन्दूर रङ्का
टीका सुद्धा मेट्टीरकेका ।

सूर्यले सोधे- “किन प्रिया ?
किन ? किन यसरी रोइरहेकी ?“
पृथ्वीले भनिन् कोकिल कण्ठले- “मैले सघाउन सकिनँ प्रिय,
हाम्रा बालकहरुलाई फकाउन फुल्याउन सकिनँ,
करोडौं मुहानबाट दुग्धामृतको फोहरा म चलाइरहेछु,
दूध पिउन छोडी ती सहोदरको
रगत चुस्न घोक्रोमा दाँत गाड्छन् !
छातीमा एकातिर
एक बालाको मृतलाश तेर्स्याई
अर्कातिर
अर्को स्तनपान गराइनँ भने मैले-
पुत्रशोकमा वक्षःस्थल सुकाउन लागेँ भने मैले
अर्को भोकै मर्दछ,
त्यसैले म मरेकालाई संझी रुन पनि भ्याउन्न
सबलाई पिठ्यूँमा बोकेर प्रिय सेवामा घुमी रहेछु,
एकछिन पनि फुर्सद छैन ।
हृदयमा दाह छ, कहिले कहिले ज्वालामुखबाट सुस्केरा
निस्कँदा पनि कैयन् सन्तान छटपटाई मरिदिन्छन् ।
मेरो यस्तो अवस्था छ, पुत्र पुत्रीहरु भने
धेरै जसो-
प्रायः –
चकचक गर्छन्, नाना लगाई धक्कु पिंजाईकन हिँड्दछन्,
खलबल गर्छन, झगडा गर्छन्, अनि पापाको निम्ति
लुछाचुडी खोसाखोस गर्छन्, अनि बाझ्छन्, जुध्छन्,
हात हालाहात गर्छन्, अनि चाचाको निम्ति
यस्तो खेल खेल्छन् जुन खेलहा हुन्छ रक्तपात लाखौंको ।
बालुवाकै घर बनाई
मन्दिर-मस्जिद-गिर्जा भन्दै
विभिन्न ममता बोकी मत्त भै
झगडा गर्छन्,
अनि मरुभूमिमा परेको आफ-आफ्नो पाइला-छापका निंति
स्वदेश स्वजाति स्वधर्म भनीकन
आँखा चिम्ली तगडा गर्छन् –
यस्तो खेल खेल्छन् जुन खेलमा हुन्छ रक्तपात लाखौंको !

अदृश्य वस्तुको त्यै सैकतकणमा
कोही भिन्न भिन्न कल्पित रुप खिच्छन्,
कोही खिच्देनन् ——- यत्तिकैमा –
अप्रमाणिक कुराहरुमा
एउटा विश्वास गर्छ अर्को गर्दैन – – – – यत्तिकैमा –
एउटा त्यो – – – – – खान्छ
एउटा त्यो – – – – – खाँदैन
यत्तिकैमा
मेरो छाती माथि रातो गङ्गा बहाउन आपसमा
काटाकाट मारामार गर्छन्,
यिनीहरुलाई सँझाउन
म असमर्थ भएँ,
शान्ति छ केवल एक थरीले हतियारमा साँद लाउन्जेल,
नत्र भने छ सदैव घृणाको भित्र भित्रै सल्किरहेको
आगो !-
मैले निभाउन सकिनँ ।
मेरो सिधा बच्चा पनि जन्मे
तर –
करोडौं पुच्छर डाँकामा थोरै सज्जनका बोली
त्यसै बिलाउँछन्, ती के गरुन् !
अधैर्यले म बौलाही भइसकेँ !
प्रिय, आई मलाई चुम्नोस्,
अनि आफ्ना छोराछोरी आफ्नै जिम्मा लैजानोस् !
मलाई लप्काले अँगाल्नोस् !
‘तमसोमा ज्योतिर्गमय ? “

सूर्यले –
“प्रिया, नरोऊ, धैर्य गर,
बालकहरु यस्तै हुन्छन्;
चाँडै यिनीहरु हुर्कलान् (हामी नमर्दै )
खेल र झगडा छोडी शान्तिसित पढ्लान्, जान्लान्
वैतरणीमा पौडी पौडी दुःखको पारि पुग्लान,
जसरी जल-अणुभित्र घुसी हाइड्रोजन अक्सिजन पाए,
जसरी हाइड्रोजनभित्र पसी प्रोठन र ईलेक्ट्रन पाए,
फेरि प्रोटन भित्र छिरी न्युटन र पोजिटन पाए,
उसरी नै इलेक्ट्रनको नाभिकण च्याती त्यस जगत् भित्र पसी
पक्री मूल विध्युत तत्वलाई आँगनमा नचाउन जान्नेछन्,
अनि प्रकाशको मूल तत्व फोटन फटाउन सक्नेछन्,
यस्ता शक्तिले विजय प्राप्त गरी हाइड्रोजन ध्वंसावशेष
सृष्टि किरणका सैन्यहरु तिनको अधीन भए पछि
हाम्री नातिनी जन्मली– दिवा !

स्वर्ग!
पृथ्वी, तिमी चाउरी परेकी छौ छ्याकटी छौ,ऊ चाहिँ,
मखमली आरुको सतह भएकी पोटिली चिल्ली होली,
तिम्रो अनुहार कच्याक कुचुक्क छ, ऊ अत्यन्त राम्री होली,
तिमी थोती छौ, उसको दन्तहार स्फटिक नगर लहर होला,
तिम्रा स्तन कति शुष्क छन्, उसमा खनजोतै नगरी
कल्पवृक्ष लहलहाउलान्, उसमा सधैँ प्रसन्न ऋतु होला,
तिमी यस्ती रोगी दुःखी, ऊ निरोगी सुखी होली,
तिमीमा मृतका प्रतिमा छन्, उसमा जीवित अमर मूर्ति होलान् ।
जब कोटि सूर्य समप्रभ अर्कै सूर उल्लाई वर मिल्ला
त्यहाँ हाम्रा पनाति देवताहरु जन्मलान्,
उनको आयु इलेक्टनकै जति अथवा इच्छामरण होला
जसको अगाडि रेडियमको आयु सत्र शय थोरै जँच्ला,
त्यो बेला ती सच्चिदानन्द भै सुख समाधिमा डुब्ने छन्,
अथवा हाम्रो कल्पनाभन्दा अनन्त गुना अगि बढ्ने छन्,
यसरी हाम्रा सन्तानले विकसित हुँदै हुँदै निरन्तर
कोटि कोटि जगका ब्रह्माण्डहरु कोरल्नेछन्,
बुढेसकालमा हामीलाई सन्तोष दिने छन्,
धन्दा नमान प्रिया !

नयाँ ……….. ‌
‘………….. सूर उदिते ……… !”
ती सब गाउन सक्ने छन् ।
पश्यम शरद्: शतम् !
जीवेम शरदः सहस्रम ।
भवेम शरदोर्बम् !
भूयसीः शरदो नन्तात् !’
‘सर्बे सन्ति नरामयाः !’
त्यो बेला ती हामीलाई स्वर्गको काखबाट देख्ने छन्,-
फुलेकी बूढी आमा पृथ्वी आफ्नी बहिनी चन्द्रमासित
बदली दोलाई ओढी
पुराना कुराहरु गरी रहेकी !
पिता म चीसो बूढो सूर्य त्यो नयाँ घाम तापिरहेको !
प्रिया, तसर्थ
स्वर्गको जन्मोत्सव मनाउने दिन
घर आउँदै छ !
पर्ख ।
अहिले –
कृष्ण राम अशोकहरू जस्ता तेजिला छोरा पायौ,
बुद्ध गाँधी ईशा जस्ता साधु पुत्रहरु पायौ,
फ्राई नाइटिङ्गेल हरितताराझैं जाती छोरी पनि पायौ,
शेक्सपियर मार्क्स आइन्स्टाइन् जस्ता प्रतिभाशाली कति पायौ
यी थोरै नाम हुन् यस्ता कतिले ससारमा रोई रोई
दिँदै आफ्ना जीवन परिचय माताको शङ्का धोई
हाम्रो नाम राखेको सम्झी
चित्त बुझाऊ !
आँसु पचाऊ !
सहू !
रहू !
है !”
यति भनी गालाको आँसु पुछिदिन लागे जब सूर्य
हिमाल दाँत देखाई पृथ्वी हाँसिन छर्दै माधुर्य ।


(नोटः
पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)


 

Facebook Comments

You may also like

error: Content is protected !!