बार्दली र सिगरेटहरू


बाहिर एकोहोरो वर्षा भइरहेको छ। म सधैँझैं मेरो बार्दलीको कुर्सीमा एकलासले बसिरहेकी छु। म मेरो दृष्टिले झरीको आवाज निहारिरहेजस्तै एकोहोरो भएर बाटोको एउटा बेवास्ता गरिएको कुनामा आकाश र धरतीको विध्वंसकारक कामक्रिडा अवलोकन गरिरहिछु। हातमा काजान्तजाकिसको ‘जोर्बा’ धैर्यताका साथ मबाट आफ्नो सान्टुरी बजाउने अनुमति कुर्दैछ सायद। म उसलाई मेरो काखमा यसै लत्याएर टोलाउँदै रहिछु। दिनहरू यसरी एकनास बितिरहेका छन्। यो मौसममा, यो रिक्त छिमेकमा – सडकहरू यसै सुनसान लेटिरहेका हुन्छन्। कहिले घामको रापले र कहिले बादलको सन्तापले उनीहरूलाई स्पर्श गर्छन् अनि यसै यसै दिन र रात एकतमासले दोहोरी खेलिरहन्छन्।

मौसम बदलिनु अघि म झरी कुरिरहेकी थिएँ, मानौँ मेरो बाँच्नुको एक मात्रै सार भनेको यो वर्षको पहिलो वर्षा हेर्नु। तर अब त पानी पर्न थालेको कैयौं दिन भइसक्यो। पहिलो वर्षा हुँदा म कोठाभित्र थिएँ, केही कोस पर घरको युवक आफ्नो बार्दलीमा बसेर सिगरेटको धुवाँबिच आत्मीयता खोज्दै थियो। म मेरो पर्दालाई बिस्तारै हटाएर उसको एक्लोपनालाई चियाउँदै थिएँ। जब दिनको एकतमासको खामोशी बिथोल्दै वर्षाको सिमसिम आवाजले आयतन लिन लाग्यो, म झस्किएँ। म यस्तै बेला बेला आफूलाई युवक तर्फ नजानिँदो पाराले आकर्षित भइरहेकी भेटाउँछु। म दिनभर कोठाभित्रै कैदीसरह गुम्सिरहन्छु। बेला बखतमा जब युवक उसैगरी आफ्नो बार्दलीमा सिगरेट खान आउँछ, म मेरो सिरानी मुनिबाट सिगरेटको प्याकेट निकाल्छु र उसको एक्लोपनामा सामेल हुन खोज्छु, या आफ्नो एक्लोपनामा उसलाई सामेल बनाउन खोज्छु।

उसका हरेक सर्कोहरूमा म विराम लिन्छु र उसका विरामहरूमा म मेरा सर्कोहरू।

थाहा छैन म कहिलेदेखि यस्ती भएँ। मेरो हृदय मस्तिष्क एकदम चेतनाशून्य भएझैं लाग्छ। हरेक चिज निरस लाग्छ। म बडो सुखशयल र रोबरवाफ भएको घरानामा हुर्किएकी। मध्य वा निम्नवर्गीय बालबालिकाले गर्नुपर्ने चाहहरू मैले आफूभित्र लुकाउनु परेन, निरर्थक ढिपी, जिद्दी गरेर म रूनु परेन। मेरो चेत आउनुअघि नै बुबा परलोक भइसक्नु भएको थियो, त्यसैले त्यो पिर पनि मेरो हृदयले बेहोर्नु परेन। मुमाले बडो स्नेह र स्याहारले मलाई हुर्काउनु भयो, मेरा हरेक फुर्माइशहरू बिना आनाकानी पुरा गरिदिनुभयो – मलाई जीवनमा पिताको ईच्छा र आवश्यकता कहिल्यै भएन। म पढाईमा जेहेन्दार, खेलकूदमा स्फुर्त हुँदै हुर्किएकी; तर कुनै यस्तो अदृश्य बदलाव यति धिमा तवरले आयो जसले गर्दा म बिस्तारै निस्तेज र भावहीन हुँदै गएँ। अनि त्यो बरबादीको क्रम कहिल्यै रोकिएन। मलाई लाग्छ मेरो मृत्यु पनि त्यस्तै अर्थहीन हुनेछ। म यहि बार्दलीमै बसिरहेकी हुनेछु। एक गृष्मको घमिलो दिन। अनि अचानक चट्याङ्ग पर्नेछ र मेरो रिक्त्ततामाथि बज्रनेछ। म यसरी मर्नेछु। बिल्कुल ‘बार्टलबी, द स्क्रिभुन’को एक बेनामे पात्रझैं जसको सम्पूर्ण अस्तित्व एउटा अनुच्छेदमै सिमित हुन्छ। यद्यपि एक प्रकारले मलाई यो मृत्युप्रति विशेष मोह पनि छ। म यति मात्र आशा गर्छु – त्यस बखत मेरो हातमा एउटा राम्रो पुस्तक होओस्।

त्यस प्रथम झरीले केही समयको लागि त्यस नीरसतालाई रूकाव दियो। म आफ्नो हत्केलाको सिगरेट निभाएर बार्दली बाहिर निस्किएँ। युवक पनि आफ्नो हातको सिगरेट एस्ट्रेमा निमोठी मेचबाट उठेर आकाश तर्फ हेर्दै मुस्कुराउँदै थियो। हाम्रा आँखाहरू केहीबेर जुधिरहे। उसले मुस्कुराहटको सिलसिला नतोडी आफ्नो शिर केही निहुराएर मलाई अभिवादन गर्यो। म पनि उसै गर्दै अरू मुस्कुराइदिएँ। पहिलो पल्ट हामीले एकअर्काका एक्ला अस्तित्व स्वीकार्यौँ, यो चोटि नदेखेझैं गरी आफ्ना एकान्त मौजूदगीमा लीन भएको बहाना गर्नु परेन। एकक्षणमै पानी घना रूपले वर्षिँदै गयो, अनि पर बार्दलीको युवक दृश्यबाट बिस्तारै धमिलिँदै।

त्यसपछि युवक अचानक आफ्नो बार्दलीमा देखिन छाड्यो।

तर दिनहरू एकसूरमा बिती नै रहे। म सोच्छु यदि कला, साहित्य, सिनेमा नहुँदा हुन् त म कसरी आफ्नो यस जीवन बिताउँथे होला। मुमा भन्नुहुन्छ, म किताबहरूको आड लिएर आफ्नो जीवनबाट भागिरहेकी छु। म हाँस्छु, ‘जीवनबाट भाग्न मिल्ने भए !’
मेरो छातीमा एकतमासको भारी सधैँ अल्झिरहेको नै हुन्छ। अझ जबजब म किताबहरूबाट टाढा रहन्छु, त्यस भारीपनाले मलाई एकदम व्याकुल बनाउँदै लग्छ। यो भारीपना कहिलेदेखि सुरू भयो म जान्दिनँ, तर मलाई लाग्छ म जन्मँदै छातीमा सो संवेदना लिएर जन्मिएँ र यो अन्त्यहीन छ। म विश्वस्त भएर दावा गर्न सक्छु, म मरेपनि यो छातीको भारीपना सकिने छैन। मलाई डर लाग्छ – यस एउटै अनुभूति नितान्त बाँचिरहनेछ र मेरो वेदना, व्यथा अनि हिनताबोघ समयको अन्त्यसम्म रहिरहनेछ। मैले मुमालाई एकरात एक्कासि भनेँ “मुमा, यदि म मरेँ भने मलाई जतिसक्दो चाँडो जलाइदिनुहोला।”
मुमा एकदम विमुढ भएर केहि काल उभिइरहनुभयो। मैले उहाँको अनुहार हेरिनँ, दृष्टि भुइँतिरै अडाइरहेँ।
“तँ कसरी यस्ती भइस् नानी?” उहाँको स्वर टुट्यो।
म चुपचाप बसिरहेँ, मुमा अचानक रून थाल्नुभयो। मैले विक्षुब्ध भएर उहाँलाई हेरेँ – “म त जिस्किएकी पो त मुमा!”
मुमा आफ्नो ओछ्यानमा रातभर सुँकसुँक गरिरहनुभयो। म उहाँको कोठामा गएर छेउको मेचमा मौन बसिरहेँ।


जब युवक र उसका सिगरेटहरू सुरूसुरूमा बार्दलीमा देखिन थालेका थिए, म मेरो नजरको काँपबाट उसलाई अवलोकन गरिरहन्थेँ। सायद विद्यार्थी होला। एक्लै कोठा लिएर बसेको छ। कति शून्य उसको विद्यमानता। मानौँ उसका सुस्केराहरू मात्रै उसको भाषा हो जो केही माने राख्दैनन्, यदि राख्छन् त फगत सुस्केराहरू नै। मलाई त्यही नैराश्यले सायद ऊप्रति आकर्षित गर्यो, त्यहि बेढंगको रिक्त्तताले। तर अब युवक कतै देखिएन। सायद हप्तादिन त भइसक्यो। बल्ल आत्मीयता साटिएको थियो, केही कोसको दूरी नै बाट भएतापनि। दिनहरू अरू नियास्रा लाग्न थाले।

म एउटा कथा लेख्न बसेँ – युवकको बारे, मेरो बारे। हाम्रा निजी सारहीनताका बारे। तर यस कथामा अझै वर्षा आएको छैन। मलाई अचानक मनोवेग भयो, अन्त्य केही यस्तो हुनेछ। युवकले मलाई एउटा चिठी लेख्नेछ। साँझ म बार्दलीमा रहिरहेकी बेला मेरो पर्खाल बाहिर आएर आँगनमा त्यस चिठी फाल्नेछ। चिठीभित्र उसले लेखेको हुनेछ – “… म यो शनिवार मोक्षलोक छहराबाट हाम फालेर आत्महत्या गर्दैछु। तिमी साथ दिन्छ्यौ या साथ चाहन्छ्यौ भने साँझ ५ बजे अगाडिको चोकमा भेट, म मोटरसाईकिलमा कुरिरहेको हुनेछु।” म किंकर्तव्यविमूढ भएर उसको चिठी हातमा समातिरहनेछु।

म सोच्छु म कसरी अन्त्य गरूँ यस कथालाई? सायद त्यही विमूढतामै सकिदिऊँ! अनि म त्यहीँ उभिइरहँदा प्रथम वर्षा सुरू होस्। या त त्यो युवक मलाई केही क्षण कुरिरहोस् अनि म आउँदिनँ भन्ने हेक्का भएपछि ऊ एक्लै छहरातर्फ हुँइकिओस्। यतिमै पनि सकिदिँदा होला। या त अन्त्यमा म एक्लै मोक्षलोक जाऊँ, हतारिँदै। म त्यहाँ पुग्दा ऊ हाम फाल्नै लागेको हुनेछ, मैले उसलाई आवाज दिएर रोक्नेछु। हामी मौन भएर एकअर्काको परस्परमा बस्नेछौँ, छहरा एकनासले नियाल्दै। मैले उसलाई मेरो सिगरेट पास गर्नेछु।

तर यस्तो पनि हुन सक्छ – म हतारिँदै त्यहाँ पुगूँ तर युवकले यस लोक छोडिसकेको होस्। म एक्लै छहराको पुछारमा उभिएर सिगरेट सल्काऊँ – उत्पतिको सुरूवातदेखि पृथ्वीको यस कुनामा पानीका निर्दोष बुँदहरूको आत्महत्या निहार्दै। अनि आधी सिगरेट म छहरा तल फालिदिऊँ युवकको नाममा।

सायद त्यसपछि म पनि यसै हाम फालिजाऊँ!

तर म किन यस्तो नगरूँ? म युवकको चिठी पढेर विमूढ भइरहेको बखत एक निर्क्योलमा पुगूँ तर पाठकलाई केही अन्दाज नहोस्। अनि म कथा एकाएक सिध्याइदिऊँ, वाक्य नै अपूरो राखी। पाठकले नै बाँकी सोचुन् – सायद म संवेगमा युवकलाई चोकमा भेट्न गएँ। सायद म हतारिँदै युवकलाई बचाउन दौडिएँ। या त म आफै ऊसँगै आत्महत्या गर्न लम्किएँ।
कथा सायद वाक्यको मध्यभागमै सकिनेछ –
… मलाई मो

हो, सायद म यतिमै कथा अन्त्य गरिदिनेछु। तर मलाई लाग्दैछ कुनै लेखकले म जन्मनु भन्दा शताब्दी अघि नै यो अन्त्य प्रयोग गरिसकेको छ। यो कस्तो उराठलाग्दो अनुभूति हो? हामी कति टिठलाग्दो पिँढीका लेखकहरू, कलाकारहरू। सबै कुरा भनिइसकेका छन्; हरेक तरिकाबाट, हरेक प्रयोगबाट। हामीले गएकाहरूबाट सापटी लिए पनि सापटी हो, नलिए पनि सापटी नै हो। त्यसैले त मलाई कुनै नयाँ पुस्तक लेख्ने तृष्णा छैन। संसारमा पहिल्यै कति धेरै राम्रा लेखकहरू छन्। कोही मेरो पुस्तक किन पढोस्? सायद कसैले ‘तेरो पुस्तक किन्दैछु’ भनोस् अनि म कराऊँ – “तैट ! यी पुस्तकहरू पढ्नु बरू!” यो कस्तो बेतुका कुरा! कस्तो हाँस्यास्पद, कस्तो…!

मुमा भन्नुहुन्छ मेरो यस्तै पेसिमिजमका कारण मैले कुनै कथा कविता लेख्न सुरू गरेर अन्त्य गर्न सक्दिनँ र यस्तै रहिरह्यो भने न कहिल्यै केही प्रकाशित नै गर्नेछु। तर मलाई त्यो पेसिमिजम भन्दा पनि एसेप्टेन्स अफ ह्युमन कन्डिसन लाग्छ। मेरो मानेमा कन्टेम्पोरेरी आर्टिस्टस् कन्डिसन।
“पुस्तकहरूमा संसार हुँदैन। संसार बुझ्न संसारसँग घुलमिल हुनुपर्छ, किताबका पानाहरूसँग होइन।”
म हाँस्दै बोल्छु, “मुमा, संसार बदलिएको त छैन! दुई सय वर्ष अघिका पुस्तकहरूमा पनि मानिसका त्यहि उल्झनहरू छन्, अहिले पनि त्यहि।”
मुमा लामो सुस्केरा हाल्नुहुन्छ अनि थकित स्वरमा बर्बराउनुहुन्छ – “तँसँग त यस्ता कुराहरू गर्नु नै हुँदैन।”


एकदिन अचानक युवक बार्दलीमा देखियो। उस्तै नियास्रो अनुहार, उस्तै थकित शरीर। हृदयबाट बेचैनी पलभरमै खामोश भएर शान्ति पाएझैं मैले एक्कासि हलुको महसूस गरेँ। पर्दालाई हठात् छोडेर म बार्दली बाहिर गएँ। युवकले मलाई देख्यो र मन्द मुस्कानसँगै टाउको हल्का निहुराएर अभिवादन गर्यो। मैले पनि उसै गरी अभिवादन फर्काएँ। अनि केही क्षणमा कोठाभित्र गएर पर्दाको काँपमा उभिएर एउटा सिगरेट बालेँ।

मलाई अर्को बिहान मोक्षलोक जाने प्रोत्तेजना भयो। मैले त्यो मेरो कथालाई कुनै गति नै दिन सकिरहेकी थिइनँ। अनि त्यो वाक्यको मध्यभागमा अन्त्य गर्ने विचार पछि आएर हाँस्यास्पद लाग्यो। त्यस्तो बेअकलको अन्त्य कुन चाँहि लेखकले गरोस्? त्यसैले सोचेँ, सायद त्यहाँ पुगेँ भने केही प्रेरणा स्वतस्फूर्त आइजाओस्। मैले यतिका दिनको नजरबन्दीपश्चात आफ्नो स्कूटरको ईन्जिन स्टार्ट गरेँ – प्रयोग नगरेको महिनौ भइसकेकाले केहीबेर बल गर्नुपर्यो।
“कहाँ जान लागेकी?” मुमा बार्दलीबाट हर्षोन्मुख आवाजमा कराउनुभयो।
“यसै.. हावा खान।”

म एकान्त र एक्लोपना अपेक्षा गर्दै त्यहाँ पुगेकी थिएँ। तर त्यहाँ अर्को एकजना पाहुना पहिल्यै रहेछ। नत्र यहाँ खासै भिड हुँदैन। प्राय म एक्लै नै हुन्छु यहाँ आउँदा।
लाग्यो एकछिन पर नै बसिरहुँ अनि त्यो मान्छे गयो भने बल्ल नजिक जाऊँ। म केहीबेर उसलाई पछाडिबाट हेरिरहेँ अनि एक्कासि झस्किएँ जब ऊ पछाडि फर्कियो। युवक….

युवकले पनि एक निमेष आश्चर्य भावले मलाई निहार्यो अनि मुस्कुरायो।

युवक आफ्नो पिताको दाहसंस्कार गर्न भारत गएको रहेछ। ऊ एउटा सिगरेट सल्काउँछ र हामी केहीबेर मौन भएर छहरा निहारिरहन्छौँ। युवक मलाई सिगरेट पास गर्दै मुस्कुराउँछ “राती तपाईंको पर्दाबाट झ्याल बाहिर धुवाँ उडिरहेको दृश्य कस्तो मिलानकोलिक देखिन्छ। म पेन्टिङ्ग बनाउँदै थिएँ त्यसबारे।पर्दा भित्र तपाईंको पातलो छाँया… कस्तो एक्लो देखिएको… सायद म तपाईंलाई देखाउँला यदि त्यो पेन्टिङ्ग सकेँ भने।”

म टाउको हल्लाउँछु। मलाई ख्याल हुँदैन म के प्रतिउत्तर दिऊँ। म मुस्कुराउँदै एक सर्को धुवाँ तान्छु। उसको सिगरेटको धुवाँसँगै उसको केही श्वास मेरो छातीमा मिसिएको मलाई आभास हुन्छ।
“तपाईं छेउमा हुँदाहुँदै म यसै यहाँबाट हामफालिदिएँ भने तपाईं के गर्नु हुन्छ?” युवकले प्रश्न गर्छ।
“तपाईंको नाउँमा एक खिल्ली सिगरेट प्रत्येक वर्ष चढाउँछु यो छहरालाई।” हामी दुवै बेस्सरी हाँस्छौँ।

र छहरा, उस्तै गतिमा खसिरहेको हुन्छ, क्षितिजबाट साँझ एकनासले नजिकिँदै हुन्छ, अनि सिगरेटहरू मन्द गतिमा सबिस्तार आत्महत्या गर्दै हुन्छन्।

Facebook Comments

You may also like

error: Content is protected !!