बाँदर पुराण

कुनै विचार वा मान्यतालाई समाजले कसरी आत्मसात गर्छ ? ती मान्यताले समाजमा जरा गाड्न कुनै निश्चित समय पक्कै लाग्ला । टाइम र स्पेस सम्बन्धी विभिन्न चरण पूरा गरेर नै आखिर ती मान्यताले तथ्यको रुप धारण गर्छन् । कहिलेकाहीँ सत्य निर्माण भइदिन्छ । वास्तविकता भिन्न भएतापनि हामीमाझ अवास्तविकता सत्य बनेर उभिएको हुन्छ । हामी बारम्बार यीसँग ठोकिन पुग्छौँ । कतिले त यो सत्य होइन भन्ने थाहा पाउँदा पाउँदै पनि अवचेतनमा कुँदिएको सो मान्यता दोहोर्याई रहन्छन् । यस्तै भ्रम मध्येको भ्रम हो व्यास । चारवेद, पुराण महाभारत लेख्ने व्यास एकै हुन् भन्ने भ्रम धेरैलाई छ । व्यास वास्तवमा उपाधि हो । लेखकले पाउने प्रिय उपाधि । पुराण लेख्ने क्रममा कलियुगमा पनि कथ्य रुपको पुराणको सृजना भयो । तीमध्ये अतिप्रसिद्ध पुराण हो बाँदर पुराण । अनौठो तथ्य के छ भने बाँदर पुराण भने कुनै व्यासले लेखेका होइनन् । यो व्यासहरुले निमार्ण गरेको अलिखित पुराण हो । शायद यसको परम्परा श्रुति परम्परा होला । खैर, व्यासले नलेखेको बाँदर पुराणको चर्चा गरिहालौँ ।

evolution of mankind

evolution of mankind

बाँदर पुराणः

हामीलाई सानो छँदादेखि यही पढाइयो । पहिले हामी बाँदर थियौँ, उनीहरु हाम्रा पुर्खा हुन् भन्ने मान्यता सत्य बनेर हामीमाझ स्थापित भएको छ । विद्यालयको पाठ्यक्रममा पनि बाँदर नै हाम्रा पुर्खा हुन् लेखिएको छ । बच्चालाई चिडियाखाना घुमाउन लगेका अभिभावक बाँदर देखाउँदै हाम्रो हजुरबाका पनि हजुरबाहरु भन्न बिराउँदैनन् । हिन्दू धर्ममा आस्था राख्नेहरु बाँदर देख्नासाथ कि हनुमान जी भनिहाल्छन् कि त हाम्रा जिजु बाजे । पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा. बाबुराम भट्टराईले बाँदरको भिडियो सहित हाम्रा पुर्खा भन्ने भावयुक्त वाक्य लेखी केही महिना पहिले ट्विट गर्नुभएको थियो । हाम्रो समाजले यो मान्यतालाई पचाइसकेको छ र हामी बाँदरलाई पुर्खा मानिरहेका छौँ । उसोभए हामी ढेडुबाट मान्छे भएका हौँ त ? पक्कै होइनौँ । हाम्रो समाजमा बाँदर पुराण विद्यमान रहेपनि बाँदर हाम्रा पुर्खा भने होइनन् । जीवविकासको चरणमा कुनै एक जीवबाट दुईवटा शाखाको विकास भई कालान्तरमा एउटा हाँगो मान्छे र अर्को बाँदरमा विकसित भएको हो । अतः बाँदरको पुर्खा र मानिसको पुर्खा एकै हो । सरीसृप प्राणीको युगको अन्त्यतिर पृथ्वीका डाइनोसर मासिए । त्यो समयमा भूगोलमा निकै परिवर्तन आएका थिए र उनीहरुले डार्विनले भनेझैं बाँच्नको लागि संघर्ष गर्नुपरेको थियो । नेचरल सेलेक्सन अनुसार एउटा सरीसृपले त्यो बदलिँदो वातावरणमा पनि आफूलाई धर्तीमा टिकाइरह्यो र त्यसबाट नै पहिलो स्तनधारी जीवको विकास भयो । प्राइमेट हुँदै क्रमशः त्यो जीव दुईखुट्टाले हिँड्ने साहेलान्थ्रोपसमा विकसित भयो । विज्ञानका अनुसार यो नै बाँदर र मानवको अन्तिम साझा पुर्खा थियो । त्यसपछि यस जीवबाट दुईधारको विकास हुनगई मानिस र बाँदरको अस्तित्व सम्भव रहेको भन्ने जीवशास्त्रीको मान्यता छ । दुई खुट्टाले हिँड्ने त्यो जीव क्रमशः विकसित हुँदै अस्ट्रेलोपिथेकस सम्म आइपुग्छ र क्रो म्यागनन् म्यान हुँदै अन्ततः होमो सेपियन्स् सेपियन्स् अर्थात मानिसको अस्तित्व सम्भव रहन्छ । त्यसैले, हामी बाँदरका सन्तान होइनौँ र बाँदर पुराण मिथ्या हो ।

मोनालिसा र द लास्ट सपर:

Monalisa, Leonardo da Vinci

Monalisa, Leonardo da Vinci

कलाकार लियोनार्दो दा भिन्चीको कलाकारिताबारे मानिस शायदै अनभिज्ञ छन् । विश्वप्रसिद्ध चित्र मोनालिसाको नक्कल घर, रेष्टुराँ र होटलका भित्तामा भेटिनु नौलो होइन । भिन्चीको अर्को चित्र द लास्ट सपरको नक्कल पनि छ्याप्छ्याप्ती भेटिन्छन् । मोनालिसाको मुस्कानबारे अनेकौं व्याख्या पनि छन् । पछिल्लो समयमा एकजना डेन्टिस्टले उनको मुस्कानको कारण दाँत रहेको तथ्य अघि सारेका छन् । उनका अनुसार मोनालिसा थोती थिइन् र सोहीकारण उनको ओठ तुलानात्मक रुपमा दबेको हुनाले त्यस्तो मुस्कान देखिएको हो । यस्तै, भिन्चीको लास्ट सपरबारे पनि अनेक व्याख्या छन् । लास्ट सपरमा पृथ्वीको आयु देखाउन खोजिएको छ भन्ने व्याख्या अतिप्रसिद्ध छ । हामीले नक्कल राख्दै आएका यी दुई कलाबारे हामीले भ्रम पालिआएका छौँ । त्यो हो मानोलिसाको चित्रको आकार र द लास्ट सपरको विधा । मोनालिसाको चित्र बजारमा भेटिने नक्कलजस्तो ठूलो आकारको छैन । यो अति सानो चित्र हो । एकपटक यो चोरी हुँदा अर्का चित्रकार पाबलो पिकासोलाई यसको आरोप समेत लागेको थियो । हामीले देख्दै आएको मोनालिसाको नक्कल चित्र भिन्चीका शिष्यले बनाएको मोनालिसा बराबरको छ । हो, उनका शिष्यले पनि मोनालिसा बनाएका थिए जुन आकारमा केही ठुलो थियो तर वास्तविक मोनालिसाको आकार भने सानो छ । यस्तै, द लास्ट सपर सङ्ग्रालयमा सङ्ग्रहित चित्र होइन ।

The Last Supper by Leonarda da Vinci

The Last Supper by Leonarda da Vinci

धेरैलाई यो भ्रम छ कि द लास्ट सपर कुनै सङ्ग्रालयमा संरक्षण गरेर राखिएको फ्रेम सहितको चित्र हो र त्यसको आकार बराबरको नक्कल बजारमा बिक्रीमा राखिएका हुन्छन् । तर यो चित्रको विधा फरक छ । यो वास्तवमा भित्ते चित्र हो । भिन्चीले कुनै घरको भित्तोमा बनाएको चित्र हो यो । वर्तमानमा यो चित्र मात्र नभएर सो घरसमेत संरक्षण गरी राखिएको छ । बजारमा पाइने नक्कल जस्तो फ्रेमयुक्त चित्र यो होइन ।

जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी:

संस्कृत साहित्य नपढेका वा साहित्यमा रुचि नै नभएकाले पनि यो वाक्य सुनेका छन् । नेपालको राष्ट्रिय चिह्नमा अङ्कित यो श्लोक बुबाको पासपोर्ट पल्टाउँदा मैले बच्चामा नै पढेको हुँ । वादविवाद र वक्तृत्वकलामा रुचि राख्ने धेरैलाई यस्को पूरारुप समेत कण्ठ छ । रामायणको युद्ध सकिएपछि लक्ष्मणले दाजु रामलाई सुनैसुनले बनेको लङ्काको नरेश बनी शासन चलाउनुस् भन्दा रामले भाइ लक्ष्मणलाई उक्त श्लोक बताएको कुरा सर्वविदितै छ ।

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी ।।

हे लक्ष्मण, सुनैसुनको भएपनि यो लङ्का मलाई मन पर्दैन किनकी आमा र जन्मभूमि स्वर्गभन्दा पनि माथि छन्, यस्तो अर्थ रहेको यो पद्यांश राष्ट्रप्रेमीको महामन्त्र हो । भक्तराज आचार्यले गाउनुभएको अतिप्रसिद्ध गीत ‘जहाँ छन् बुद्धका आँखा’ को अंश बनेको यो पंक्ति जनजिब्रोमा झुण्डिएको छ । यो श्लोक वाल्मीकिले लेखेको रामायणको श्लोक हो भनेर धेरैले बुझेका छन् । अचम्मको कुरा के छ भने, लौकिक संस्कृत साहित्यका आदिकवि भनेर चिनिने महर्षि वाल्मीकिले लेखेको रामायणको २४,००० श्लोकमध्येको श्लोक भने यो होइन ।

The Great Sage, Valmiki

The Great Sage, Valmiki

तर सन् १९३० मा हिन्दी प्रचार प्रेस मद्रासले प्रकाशित गरेको वाल्मीकि रामायणको युद्धकाण्डमा प्रथम पंक्ति फरक रहेको र लगभग आसय मिल्दो यो श्लोक भेटिन्छ । तर रामले लक्ष्मणलाई नभइकन भारद्वाजले रामलाई उपदेश दिने प्रसङ्गमा यो श्लोक आँउछ ।

मित्राणी धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी ।।

अर्थात्, मित्र, धन र अन्नको धर्तीमा ठुलो मूल्य छ तर आमा र जन्मभूमि भने स्वर्गभन्दा पनि माथि छन् ।

उसोभए हामीले सुन्दै आएको उक्त श्लोक कस्ले लेख्यो ? यसबारे एउटा किंवदन्ती पाइन्छ । श्रीरामको राज्याभिषेक पश्चात हनुमान अयोध्याबाट बिदा लिएर हिमालय पुगे । रामका कृपाले चिरञ्जीवी हुने वरदान पाएका उनले तपस्याका क्रममा आफ्नो नङले कोरेर शिलामा रामायण लेखेका थिए । रामायण लेखिसकेपश्चात् शिवजीलाई बुझाउन गएका उनीसँगै वाल्मीकि पनि आफूले लेखेको रामायण बुझाउन शिवकहाँ आइपुग्छन् । विडम्बना यो भइदिन्छ कि, हनुमानले लेखेको रामायण वाल्मीकिले लेखेको भन्दा कैयौं गुणा उत्तम हुन्छ । त्यसपछि महर्षि विलाप गर्न थाल्छन् । उनले विलाप गर्नुको कारण सबैले हनुमानको रामायण पढ्छन् मेरो कसले पढिदेला भन्ने थियो । उनको त्यो विलाप देखेर करुणाभावले ओतप्रोत हनुमानले आफ्नो कृति खोलामा बगाइदिएछन् र वाल्मीकिको रामायण जनमानसमा प्रसिद्ध हुने वरदान दिएछन् । संयोगले वाल्मीकि रामायणमा एउटा यस्तो श्लोक पनि भेटिन्छ ।

यावत्स्थास्यन्ति गिरयो यावद् वहति वै नदी ।
प्रियरामायणं तावत् स्थास्यति जनतामुखे ।।

भावार्थ –जबसम्म पहाड रहनेछन् र नदी बग्नेछन् तबसम्म जनताको मुखमा प्यारो रामायण रहनेछ । हनुमानले दिएको वरदान यस्तै केही हुनसक्छ । सम्भवतः यो नै हनुमानजीको वरदान थियो ।

Great Hindu God, Hanuman Ji

Great Hindu God, Hanuman Ji

थप किंवदन्ती अनुसार, पछि धारानरेश भोजले एक पटकको सामुन्द्रिक यात्रामा रहँदा शिलामा लेखिएका श्लोक भेटेछन् । त्यो थाहा पाएपछि उनले आफ्ना सेवकलाई अन्य शिलाको खोजीको आदेश दिए । उनका गोताखोर सेवकले समुंद्रमा खोज गरी पाएजति शिला दरबारमा लगेछन् । पछि पण्डित दामोदर मिश्रले शिलालेखको अध्ययन गरी त्यसलाई व्यवस्थित र पूर्ति गरिकन हनुमान्नाटकम् नामक नाटकको स्वरुप दिए जुन अहिलेपनि उपलब्ध छ । हनुमानले पनि रामायण लेखेका र वाल्मीकि रामायणमा सो श्लोक नहुनाले सम्भवतः यो हनुमानले लेखेको श्लोक हुनुपर्छ । हनुमानले नै नलेखेका भएपनि यो श्लोक प्रसिद्ध वाल्मीकि रामायणको श्लोक होइन भन्ने तथ्य वास्तविक सत्य हो ।

हामीमाझ यस्ता अनेकौं मिथ्या मान्यता प्रसिद्ध छन् । केही कुरामा हाम्रा विचार बेग्लै बनिसकेका छन् । हामी ईश्वर मान्नेलाई आस्तिक र नमान्नेलाई नास्तिक भन्छौँ । वास्तवमा यी दुई दर्शन हुन् । यसको अर्थ ईश्वरसँग नरहेर वेदसँग रहेको छ । नास्तिको वेदनिन्दकः अनुसार वेदको निन्दा गर्ने वा नमान्ने नास्तिक हुन् । हाम्रा दर्शन मध्ये योग, सांख्य, न्याय, वैशेषिक, पूर्वमीमांसा वेदान्त ( षड् दर्शन ) आस्तिक दर्शन हुन् भने चार्वक, लोकायत, जैन, बौद्ध इत्यादी नास्तिक दर्शन हुन् । तर नास्तिक भन्नु इस्लाममा काफिर भनेजस्तो होइन । हामीले साना नानीलाई यही सिकाउँदै आइरहेका छौँ । तर सिकाइको यो पद्धतिमा परिवर्तन अत्यावश्यक छ । बाँदर हाम्रो पुर्खा होइनन् भन्ने थाहा पाएकाले पनि बाँदर देखाएर हजुरबुवाको हजुबुवा भनेर बच्चालाई चिनाउने बानी हटाउनुपर्छ । बरु उनीहरुको र हाम्रो हजुरबुवा एकै हुन् भनेर सिकाउनुपर्छ । निम्न माध्यमिक तहको कक्षामा बाँदरलाई पुर्खा भनेर पढाउनु हुँदैन । होइन भने अबको कैयौं पुस्ताले बाँदरबाट बनेका हामी भनेर आफैँलाई बाँदर पुत्र/पुत्री ठानिरहनेछन् र मान्छे र बाँदरबीचको सम्बन्धको यो बाँदर पुराण बाँचिरहनेछ ।

"sarvagyan" by Shreeju Saral

“sarvagyan” by Shreeju Saral

Facebook Comments

You may also like

error: Content is protected !!