बा

गोधुली साँझ अनि
निभ्नै लागेको सूर्य

सपनाको बिम्बलाई छायाँ देखाउन लम्किरहेको
त्यो उदाउँदो भविष्य
यमराजले टिकट काटिसकेका अस्ताउँदा बुढा बा
जो सिकुवामा एउटा दरी ओढेर लडेका छन्
म लक्का जवान
यी सब टुलुटुलु हेरेर पनि छोरो भएकोमा गर्व गर्छु !

मलाई थाहा छ,
बा अस्ताएका घाम हुन्
अनि बादलले छेकेको जूनपनि
जहाँ उज्यालोभन्दा मधुरताले कब्जा जमाएको हुन्छ
अनि मलाई योपनि थाहा छ,
बा’को मधुरतालाई क्षितिजले छेक्यो भने
बादलले नै छल गरेर तँसँग रमाउदिनँ भन्यो भने ?

बा’ले नै छाएको खरको छानोलाई
असारले चाल्नो बनायो भने ?
बा’का आँखा चाल्नै जसरी चुहिनेछन्
घर पानी परेको मरुभूमि बन्नेछ
अनि घरको जगको एउटा ढुङ्गा फुट्नेछ
र यो घर,घर रहनेछैन ।

बा’लाई थाहा छ,
म बेरोजगार हिँडिरहेछु
न उहाँलाई छोड्न सक्छु
न केही गर्न नै !
साँझ बिहानको तातो पानी बोझ बनेको छ बा’लाई
सय मिटर परको पाईखाना जान सक्ने हिम्मत छैन
किनकी
म बेरोजगार मेरै कारणले छु जस्तो लाग्छ बा लाई

बा सोच्छन्,
दिनमा दुईपटक जोरिनुपर्ने अगेनाको आगो
किन मैले जोर्दा बल्दैन ?
सायद यो पनि बेरोजगार भयो होला,
र त कुन दिन मसँगै खनिन सक्छ
छोरो जस्तै !

Sue Vincent Art

Sue Vincent Art

सिरानमा राखेका छन एउटा डेल्टोन रेडियो
फलाकिरहन्छ रेडियो नेपाल
विरहका गानाहरु
बा’का ठाडा कान त्यसैसँग गुञ्जिन्छन्
अनि भन्छन्
“छोरा,समाचार लगाइदे न।”
गानालाई समाचारमा परिबर्तन गराएजस्तै
तपाईलाई पनि तन्दुरुस्त बनाउन सके
म निष्फिक्री परिवर्तन गरिदिन्थेँ
किनकी म छोरो हुँ ।
बा’को कुरा मान्नुपर्छ ।


म छोरो,
सिकुवाका बुढा बालाई साँझ बिहान
सुकिसकेका ओठ भिजाउन पाएको छु
अनि हरेक रात सपनासँग उज्यालो भविष्य साटेको छु।

तर बा,
त्यो ओठ सुनपानीले भिजाउने दिन
मेरो छायाँसम्म पनि आइपुगेन भने…..?

म देखिरहन्थेँ,
तिम्रा विश्वासका चिचिलाहरु ममाथि निस्पट्ट पोखिएका
तिम्रा हरेक श्वासहरुमा मेरा सुगन्धहरु मिसिएका
फलामे हड्डी आरनमा पिटिएझैं पिटिएका
अनि बधशालको आलो मासुझैं जिउँदो मांशपिण्ड।

जो कहिल्यै गलेन
जो कहिल्यै भुत्ते भएन
अनि,
जो कहिल्यै फेरिनुपरेन
यी सबको कारण थियो
यी सबको एक बाध्यता थियो
र त तिमी भन्ने गर्थ्यौ
‘मेरो पनि छोरो छ।’

तर बा,
आज छोरो ती आरन र बधशालाहरु किन्न गएको छ।
किनेर ल्याए त ठिकै हो,
ती आरनका हतियार
मेरै लागि
बधशालामा प्रयोग भए भने……………।

प्रेमिल मन

प्यारी तिमी
सपनाको संसारबाट धेरै टाढा
अनि विपनाबाट एकदमै नजिक
मनको कतै सेरोफेरोमा
जीवनको एउटा सानो गोरेटोमा
सायद संयोग नै त भन्नुपर्ला
तिमी भेट्टियौ
र यो मन चङ्गासरी उड्यो।
या भनौँ तिम्रै सपनाको आकाश छुन
अनि त्यो मनको गहिराईमा पुग्न ।।

तिमी र म
एउटा संयोगझैं जोडियौँ
विश्वासले थपक्कै मनमा कब्जा जमायो
अनि त्योभन्दा ठूलो कुरा त
भावीले तिमीसँग भेट गरायो।
र त्यो जोड्न र जोडिन
प्रयोग हुने संयोजक बनेर आयो
“माया”

म भन्दिनँ
तिमीसँग झुटा कसमहरु खान्छु भनेर
अनि हरेक पल साथै हुन्छु भनेर
तरपनि किन यो मन
तिमीतिरै मोडिन खोज्छ?
तिम्रै अंगालोमा बेरिन खोज्छ?
अनि तिम्रै सुन्दरतालाई नियाल्न खोज्छ?
भन्नेले भन्छन
देखाउनु र गर्नुमा धेरै फरक छ भनेर।
तर यी सब बाट टाढा रहेर
तिम्रै न्यानो अंगालोभित्र
हराउने मन छ
अनि तिमीलाई आफ्नो हैन
आफ्नै बनाउने मन छ।

In Love Forever by Raymond Doward

In Love Forever by Raymond Doward

तिम्रापनि केही रहर
केही बाध्यता
पक्कै होलान्
अनि मेरा पनि!
यी सबलाई एउटै बनाएर
सँगै लगनगाँठोझैं बेरेर
पूरा गर्न मन छ
र बनाउन मन छ एउटा फराकिलो संसार
जहाँ कोही नहोस्
कसैले नदेखुन
कोही नआउन्
सिर्फ तिमी अनि म
र बिचमा रहन्छ चोखो माया।

यहि मायाले भनोस् न
तड्पन के हो?
बिछोड के हो?
अनि यतिबेला म कहाँ जान्छु होला?
अनि म निस्फिक्री उत्तर दिन सकुँ
यी प्रश्नहरुको प्रश्नचिन्ह मेटाउन सकुँ
“खै थाहा छैन।”

रातको सपनीले तिमीलाई खोज्छ
दिनको यादले झन् धेरै
परेवाको जोडी देख्दा
कोइली चरी सँगसँगै जोडी बनेर
उडेको देख्दा
अनि ती पार्कमा
प्रेमिल भावनाहरु छरपस्ट पोखिएको देख्दा
यी आँखाहरु
त्यसैत्यसै रसाइदिन्छन
अनि सम्झन्छ
त्यो तिम्रो न्यानो माया
जो मेरै हो

मसँगै मुटुको कुनै कुनामा
लुकेको छ।

म अझै तिमीलाई लुकाइदिन्छु
मनको झनै भित्र
कसैले नदेख्ने गरी
अनि बिस्तारै सुस्ताउँछु
मेरी माया !

काठको बाकस

हरिया सपना
अनि सुकिसकेका रहरहरु
जो एकआपसलाई गिज्याइरहेछन्
ऊ भन्छ र भनिरहन्छ
भविष्यलाई अहिल्यैदेखि जन्माउनुपर्छ
र हुर्काउँदै जानुपर्छ
जसरी मेरी आमाले मेरा निम्ति गरेकी थिइन्।

यहि सम्झेर रातभर निदाउन सकेको छैन
यहि सम्झेर दिनमा पनि सपना देख्न छोडेको छैन
त्यसैले त ऊ
दिन उज्यालो अनि रात मधुरो देख्न थालेको छ

आजकल खुब भविष्य सोच्न थालेको छ ऊ
सोच्दा सोच्दा भविष्य वर्तमानमा परिणत गराइसक्यो
तर यथार्थ…..?

एकदिन या भनौँ एकरात
यसरी नै सोच्नमा व्यस्त देखिन्थ्यो
र फुलाउँथ्यो सुनकेशरी
आफ्नो मनको बगैँचामा
त्यति नै खेर उसले यो चाहिँ सोच्न भ्याएन
घर, परिवार अनि जन्मस्थल
र निस्कियो
दुईजोर मैला कपडासहितको मैलो झोला बोकेर
जहाँ यत्ति भन्दा बढी उसका सपना र भविष्य मात्र अट्थे।

यत्तिकै यत्तिकै
हान्नियो राजधानी
पुग्यो मरुदेश
सोचेजस्तै उज्वल भविष्यको खोजीमा
त्यो अँध्यारो परदेशमा उज्वल भविष्य के उसले मात्र खोज्ला ?
अनि विरक्तिएका सपनाहरु त्यसै त्यसै मरेको उसैको मात्र हो त ?

उसलाई थाहा छ
म के गर्दै छु
मेरा हरेक चाहनाहरु के गर्दै छन्
तर थाहा पाउन सकेन त्यो परिस्थिती
जहाँ बा’आमा जिउँदो लास भएर उभिएका छन्
अनि छोराको वियोगले कत्ति घाँटी खसखसाउँदो हो ?

तर आज भविष्यभन्दा पहिले
वर्तमान सोच्न भ्याएन
किनकी
उसका सुनौला सपना
उसको मनको बगैँचामा फुल्न पाएन
आज ऊ,
ऊ रहेन
रह्यो त केवल शरीर
बिना चेतको

Coffin by Todd

Coffin by Todd

फर्कियो उसैगरी कसैलाई थाहा नदिई
जसरी गएको थियो
तर ठु……लो रा……तो
फूलैफूलले भरिएको
काठको बाकसमा !

Facebook Comments

You may also like

error: Content is protected !!