सल्लाह

यो शहरमा
एउटा औसत जिन्दगी बाँच्ने रहर दिलाइरहन्छन्
यिनै शहरका औसत बुख्याँचाहरु ।

एउटा अँध्यारो वर्तमान मेरो अघिल्तिर
लमतन्न सुतेको छ
उ: त्यो . . . ज्वरपीडित आगत अभाव रुँगेर बसेको छ ।

जीवनभन्दा निकै पर
र मृत्युदेखि निकै नजिक
एउटा औसत जिन्दगी –
रुँदारुँदा ओभानिएका आँखाहरुले
मलाई टुलुटुलु हेरिरहेको छ ।

र यस्तो बेला,
बुख्याँचाहरु मलाई जिउने सल्लाह दिँदै छन् ।

Red Desert Cactus from Pixels

Red Desert Cactus from Pixels

अवसान

हिँड्दाहिँड्दै बिच सडकमै
लडेर मर्यो मभित्रको
एउटा मान्छे ।

र अचानक,
यो बिहानको उज्यालोमा,
यो मध्यान्हको चहकमा,
यो सन्ध्याको लालिमामा –
नमेटिने दाग लागेको छ ।

कहीँ आकाशतिर
केही हलचल जस्तो
केही चहलपहल जस्तो भएको छ ।

प्रकम्पित तुल्याएर सारा परिवेश
मभित्रको मान्छे
राता-पहेँला फूलहरु कुल्चँदै,
फोहोरका पिरामिडहरूलाई सुमसुम्याउँदै,
उकाली र ओरालीका बुट्यानहरूलाई छाम्दै
प . . . र क्षितिजसम्म
पुगिसकेको छ ।

अब त,
उसका पाइलाहरुका डोबपनि
बिस्तारै हराउँदै छन् ।

कसले डाँक्ने उसलाई अब ?
हात हल्लाएर इसाराले
वा सकी नसकी जोरजोरले कराएर
कसले बोलाउने उसलाई ?

हिँड्दाहिँड्दै बिच सडकमै
लडेर मर्यो मभित्रको
एउटा मान्छे ।

र अचानक,
ऊसँगै मरेको छ
बलेसीमा तप्किरहने अनेकन रङ्गानुभूति,
जताततै पोखिएका मेरा सुस्केराहरु . . .

कसले उठाउने उसलाई ?
सञ्जिवनी ल्याएर
कसले पिलाउने उसलाई ?

बिहानीमै
मभित्रको एउटा मान्छे
फेरि कहिल्यै नउदाउने गरि
अस्ताएको छ ।

ऊ अस्ताएपछि अचेल
मलाई क्षितिजको डिलमा बसेर
उसका पाइलाका अदृश्य डोबहरु
हेरिरहन मन लाग्छ ।

SunFlowers by Vincent Van Gogh

SunFlowers by Vincent Van Gogh

अवसान २

भर्खरै,
हाम फालेर मरुभूमिमा
आत्महत्या गरेको छ आँसुले
र त्यहाँ —
फुलेको छ एक थुँगा फूल
जसलाई सिउरिएर शिरमा
मुस्कुराई रहेछन्
एक जोडी कुमारी आँखा ।

मर्माहत संवेदनाहरुले
लछप्प भिजेर
घुर्मौला क्षितिजहरु कल्पिरहेछन्
ती आँखाहरुले ।

अनायास,
हराउँछ सारा स्निग्धता
र देखिन्छ भयको सघनता
जसको आलिङ्गनमा लपेटिएर
निदाउँछन् सारा ईच्छाहरु ।

हठात,
कर्फ्यूले लगाउँछ छेस्किनी
परेलीका डिलहरुमा ।

प . . . र क्षितिजदेखि
आँखाभरि आगो बोकेर आइरहेछन्
एक जोडी परेवाहरु
जसले मानौँ —
भर्खरै देखेर आएका छन्
युद्धग्रस्त सिरिया
वा प्यालेस्टाइनका दुर्दान्त दृश्य ।

रातको निविड मौनतामा
चाँदीको रिकापी जस्तो सानो जून
उदाउँछ रित्तो आकाशमा
र मेटाउँछ रिक्ततालाई ।

सर्र बहन्छ
एक झोंक्का पागल हुरी
जसमा मिसिएको छ बारुदको गन्ध,
र अचानक —
दर्फरिएर जान्छ यो मन ।

भूकम्पको इपिसेन्टर बन्न पुग्छ
आफू उभिएको जमिन
र भत्काएर जान्छ
मेरो ‘प्रोमिथिएन’ स्वर्गलाई ।

गर्ल्याम गुर्लुम ढल्न पुग्छ
यो समुच्चा जीवन
मरुभूमिको बिचमा —
फेरि कहिल्यै नउठ्ने गरी ।

Waiting by Manoj Aher

Waiting by Manoj Aher

Facebook Comments

You may also like

error: Content is protected !!