साहित्यकार निलम कार्की निहारिकाका ‘चीरहरण’, ‘बेली’, ‘अर्की आइमाई’, ‘मौन जीवन’, ‘नियतिको खेल’, ‘ब्रेन फेवर’, ‘नीलम कार्की निहारिकाका कविता’, ‘कागजमा दस्तखत’, ‘त्रिचालिस कथा’, ‘योगमाया’ र ‘हवन’ लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् भने नयाँ कृतिको तयारी पनि गरिरहनुभएको कार्की बताउनुहुन्छ । वहाँको कृति ‘योगमाया’ले राष्ट्रकै सम्माननिय ‘मदन पुरस्कार-०७४’ हात पारेको छ भने अर्को कृति ‘चीरहरण’ले पनि ०७२ सालको पद्मश्री पुरस्कार प्राप्त गरेको छ । ऐतिहासिक उपन्यास लेखनमा सक्रिय र सौखिन कार्की हाल अमेरिका बस्नुहुन्छ । प्रस्तुत छ, काव्यालयका लागि साहित्यकार कार्कीसँग संवाददाता युवराज कटुवालले गर्नुभएको कुराकानी :
के छ खबर दिदी ? सन्चै हुनुहुन्छ ?
विश्व कोरोनाको कहरमा छ । पुस्तकमा पढिएको थियो केही महामारीका बारेमा । अहिले आफैले भोगिएको छ । कल्पना बाहिरको बिलकुल पृथक समय ! सन्त्रासमा गुज्रिएका छन् दिनहरू । शारीरिक रुपमा स्वस्थ नै छु । तर मन बिरामी छ ।
अँ, चीरहरण र योगमाया दुबै राष्ट्रिय पुरस्कार जित्न सफल पुस्तक । व्यक्तिगत पठन अनुभूतिको आधारमा मैले, पहिलो नम्बरमा चीरहरण राख्छु अनि मात्र दोस्रो नम्बरमा योगमाया । हुन त आफ्ना कृति सबै नै प्यारा हुन्छ्न्, तपाईंले छान्नुपर्दा यी दुई मध्ये कुनै एक छान्नैपर्छ भनेर कर गरियो भने कुन पुस्तक छान्नुहुन्छ ?
निकै जटिल प्रश्न हो यो मेरा निम्ति । फरक फरक दृष्टिकोणबाट मुल्यांकन गर्छु म आफ्नै सिर्जनाको पनि । ‘चीरहरण’ लेख्न लामो समय लाग्यो । पात्रहरू बोकेर हिँडे निकै समय । अतितको स्नेह जस्तै लाग्छ । सानिध्यता बढी नै रह्यो । नेपालमा भएको एक सामाजिक आन्दोलन र शासन सत्ता चलाउने जति फेरिए पनि सम्बोधन हुन नसकेका मुद्दाहरू छन् ‘योगमाया’मा । आजसम्म मैले अझै योगमाया कहीँ भेटेकै छैन । उनैमा आफूलाई रुपान्तरण गर्दै या स्वयंमा योगमाया सिर्जना गर्दै झण्डै दुई वर्ष व्यतीत गरेँ । अब आफ्ना सिर्जना मैले रोज्नुभन्दा यो अधिकार पाठकमा नै दिन्छु । म त फरक फरक दृष्टिकोण मन पराउँछु, समान प्रेममा !
केही कृति, खास गरी उपन्यास लेख्नुअघि यो विषयमा लेख्छु भनेर विषय कसरी छनौट गर्नुहुन्छ ?
जब आइडिया आउँछ, म डायरीमा टिप्छु । त्यसले कुन विधा माग्छ त्यसमा विचार गर्छु । त्यसपश्चात ‘प्राथमिकतामा कुन पहिला ?’ त्यो निर्क्योल गर्छु । कहिलेकाहीँ अरुले दिनुभएको विषयलाई पनि प्राथमिकतामा लेखेको हुनसक्छु ।
चलचित्र कत्तिको हेर्नुहुन्छ ? कस्ता चलचित्र हेर्दा आनन्द लाग्छ ? मनपरेको चलचित्र ? किन ?
हेर्छु म सिनेमा । आज मात्र पनि टोनी मेरिसनको उपन्यासमा बनेको बिलभिड हेरेँ । सधैँ यस्तै सिनेमा मन पर्छ । यस्तै भन्ने त होइन तर ऐतिहासिक आधारमा बनेको सिनेमा चाहिँ एकपल्ट हेर्नै पर्छ भन्ने लाग्छ । पारिवारिक र प्रेम सिनेमाहरू पनि हेर्न मन पर्छ । उपन्यास लेखनको अन्त्यतिर यति धेरै तनाव हुन्छ, त्यस समयमा सबैभन्दा राम्रो खुराक नै सिनेमा बन्न पुग्छ ।
योगमाया सहितका साथीहरुले जलसमाधी गरेका थिए । त्यो त उ: बेलाको कुरा भयो । यत्तिका वर्ष बितिसक्दा पनि कैयौं योगमायाहरु आत्महत्या गर्न बाध्य छन् । शान्ति, समृद्धि भन्ने कुरा त ठूलाले ल्याउने र ठूलालाई मात्र आउने भो । के भन्नुहुन्छ यसका बारेमा ?
सबैभन्दा दुःखद पक्ष नै यहीँनेर छ । योगमायाले परिकल्पना गरेकी थिइन् । अझ भनौँ, ६८ जनाले जीवन बलिदान दिएका थिए । धर्मराज्य स्थापना अझै भई नसकेको अवस्था छ । जस्तो कि, जातपात/छुवाछुतको विरोधमा थिइन् उनी । तर हामीकहाँ भर्खरै पनि रुकुम दुखिरहेको छ । भ्रष्टाचारको विरोधमा थिइन् योगमाया । आजको उदाहरण हेर्दा कोरानाको बीचमै समेत आफ्नो स्वास्थ्यको परबाह नगरी प्लेकार्ड बोकी सडकमा छन् आम जनताहरु । भ्रष्टाचारको समाचार नपढेको दिन हुँदैन ।
पछिल्ला समय आएका तपाईंका आख्यानमा विशेषगरी ऐतिहासिक र महाभारतकालिन पात्रहरु देखा परे । अब आउने कृतिहरुमा केही त्यस्तै पात्रहरु नै दोहोरिन्छ्न कि ? नयाँ केहि आउला ? [ ऐतिहासिक पात्र पुराना भए भन्न खोजेको हैन । ]
योगमाया पश्चात् लेख्न प्रारम्भ गरेको पनि विधागत उपन्यास नै हो र विषयगत ऐतिहासिक नै ।
कोरोनाको महामारीको कारण थाती राखेकी छु ।