तिनीहरू फेरि आउँछन्
देशभक्तिको नारा लगाउँछन्
आकाशमा उडी हिँड्ने पन्छी भगाउँछन्
आकाशवाणी जसरी हराउँछन्
तिनीहरू फेरि आउँछन्
हामीलाई बन्दुक बोकाउँछन्
सूर्य र चन्द्रमाको हत्या गर्न लगाउँछन्
क्रान्तिको वनभोज खुवाउँछन्
क्रान्ति र शान्तिको वाचा जो गराउँछन्
तर तिनीहरू फेरि आउँछन्
कालो कोट लगाउँछन्
कालो अक्षर कालोपाटीमा लेखाउँछन्
हाम्रो मन कालो बनाउँछन्
सडकमा कालो पत्रे खन्याउँछन्
नयाँ मार्ग बनाएर देखाउँछन्
तर
तिनीहरू फेरि आउँछन्
हामीलाई मात्ने चिज खुवाउँछन्
भविष्यको प्याला पिलाउँछन्
र छन्दक बनाउँछन्
हामीलाई वारि छाडी
तिनीहरू नदी पारि जान्छन्
तर तिनीहरू फेरि आउँछन्
हामीलाई किर्तनमा बोलाउँछन्
परलोकको साक्षातकार देखाउँछन्
धर्मलाई कबाब जसरी सेकाउँछन्
नयाँ शिलालेखमा हाम्रो नयाँ नाउँ लेखाउँछन्
हाम्रो नाउँ रामेश्वर थियो
अहिले हाम्रो नाउँ एस्थर हो
परमेश्वरले दिएको नयाँ नाउँ
हाम्रो गाउँलाई कछाडिया गाउँ भन्थे
अचेल परमेश्वरको गाउँ भन्दछन्
तिनीहरू फेरि आउँछन्
हामीलाई होली वाइन पिलाउँछन्
कठपुतली जसरी हामीलाई हिलाउँछन्
हाम्रो नजन्मिएका सन्तानलाई
नयाँ नाच नचाउँछन्
तिनीहरू फेरि आउँछन्
हाम्रो सम्बन्धहरू भाचिदिन्छन्
हाम्रो विधान च्यातिदिन्छन्
हामीलाई सच्याउँछन्
हाम्रो घाँटी अँठ्याउँछन्
हाम्रो धोती र कमिज माग्छन्
हाम्रो धोती र कमिज पट्याउँछन्
उनीहरूको दराजभित्र चाबी लगाएर राख्छन्
र हामीलाई कोट-पाइन्ट र टाई झिकेर दिन्छन्
मलाई यो कपडा लगाउन आउँदैन
नाङ्गो बस्न पनि लाज लाग्छ
तिनीहरू फेरि आउन चाहिँ आउँछन्
तर तिनीहरू नआउँदै
कोही एक सरो दौरा सुरुवाल लिएर आए पनि हुने
म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु, म नाङ्गै छु !!!