गजल १
हृदयमा मेरो कहिल्यै ननिभ्ने आशाको दियो छ
परिस्थिति भयावह भए पनि आत्मबल बलियो छ
आऊ प्रिया सौहार्दपूर्ण ढंगले सुमधुर खेल खेलौँ
मसँग मनोहर डण्डी छ तिमीसँग सुरम्य बियो छ
विभिन्न बहानामा जनतालाई सदा घोची रहन्छ
मेरो देशमा सरकार नामको यौटा निर्दयी सियो छ
सबेरै निर्झरमा शोडषी स्नान गर्छिन् भन्ने सुनेदेखि
पहाडको हर कुना कन्दरामा यो बबुरोको चियो छ
कुसुमाकरमा फुलेको कुसुम भन्दा पनि कोमल छ
यो दुनियाँले सोचे जस्तो कहाँ मेरो कठोर हियो छ

गजल २
यो कुरो बुझ्न आवश्यक छ खरायो जस्तो अगुवाले पनि
अथक प्रयासपछि सफलता प्राप्त गरेको हो कछुवाले पनि
यसै कारण म सदैव हृदयदेखि नै सन्तुष्ट हुन्जेल स्पर्श गर्छु
मलाई कसैको हार्दिक याद दिलाउँछ मुलायम भुवाले पनि
एकपटक परेपछि चलाख भएकी छिन् शिक्षित भएकी छिन्
अब त कन्जुस बूढीलाई झुक्याउन सक्दैन बटुवाले पनि
दु:खीको जिन्दगीबाट यसरी दूर भएका छन् हर्षोल्लास पनि
फेरि नयाँ रंग ल्याउन सक्दैन मधुमासको नव पालुवाले पनि
प्रत्यक्ष नभोगे पनि प्रत्यक्ष देखेपछि अवगत भएको हो मलाई
सुकुम्बासी नै बनाउँदो रहेछ यार यो बेइमानी जुवाले पनि

गजलकार अतुल दुःखी हाल पेन्सिलभेनिया, अमेरिकामा बसोबास गर्नुहुन्छ ।