प्रेम र धर्म
प्रेमको बीज छरेसरी
छरिरहनु पर्दैन यो साथित्वमा।
गीतामा लेखिएका अक्षरहरूझैं
सोझिइरहनु पनि पर्दैन।
प्रेमकै कारण सीता रामसँग वनबास गइन्,
सीताहरणमा पनि सौन्दर्य प्रेम नै रावणको कारण
सौन्दर्यसँग प्रेमको! यो कस्तो अनौठो सम्बन्ध?
आखिर नकारात्मक तवरले पनि
किन प्रेम अटल छ अझैसम्म?
के तिम्रो रामायणले प्रेमिल मनको
विरोध गरेको छ र??
वृक्षमुनि बसेर घोर तपस्याको खाँचो पनि पर्दैन
आँखामा पट्टी बाँधेर खेलिने
हन्डिफोरको जात्रा देखाउन अनावश्यक हो बिलकुल
अहिंसा र ज्ञानको भोक बोकेर,
त्रिपिटकका पानासँग रुमलिएर,
बौद्धनाथ र स्वयम्भूनाथलाई
तीन फेरा घुम्नुपनि पर्ने छैन।
मातृभूमि छोडेर प्रेमका खातिर
मरुदेश भासिनु पनि कदापि पर्नेछैन।
के तिम्रा बुद्धले कहिल्यै प्रेमका विरुद्ध बोलेका थिए र??
जुन ठाउँ
जात, धर्म र पेशालाई इङ्गित गरेर
झुण्ड्याइन्छ प्रेमको घाँटी,
दिन लगाइन्छ प्रेमको स्पष्टीकरण
बोल्नुपर्छ, पोडियम पछाडिको वक्ता झैँ।
र अमर प्रेमलाई पनि नकार्न बाध्य बनाइन्छ।
के बाइबलमा यस्तै केही लेखिएको हुन्छ र??
के प्रेम पनि खृष्ट जसरी झुण्डिन पर्छ र??
आफ्नो प्रेमिकाको प्रेमको खातिर
सदियौंदेखि नमाज पढिरहेछ त्यो अब्दुल।
उसलाई पाइला पाइला थाहा छ,
मस्जिदको लम्बाइ घरदेखि कति टाढा पर्छ?
अनि उसको प्रेमिकासँगको दूरी पनि!
यो दुवैलाई बराबर बनाउन चाहन्छ ऊ
तर पनि,
किन उसको धर्मले
प्रेममा हाबी हुन दिँदैन?
उसले पढ्ने कुरान यतिसम्म पनि निष्ठुरी छ र?
मोहम्मद र अब्दुलको सम्बन्धमा पनि यस्तै केही त पक्कै छ
जो ऊ कहिल्यै सोच्न सक्दैन
र बुझ्न पनि।
यी सारा धर्मका पछाडि
‘ऊ’ को ठाउँमा ‘उनी’ सर्वनाम प्रयोग भएको भए,
म लेख्नै सक्दिन थिएँ
यी धार्मिक प्रेमका कविताहरू…
लैङ्गिक विभेद पनि आखिर यही प्रचलनसँगै त रहेछ
जो परम्परादेखि चलिआएको छ
के रहिरहनेछ र जगत रहुञ्जेल?
के साँच्चै रहन जरुरी छ र?
सम्झनाका धुवाँहरू
जुन भेट
जो कहिल्यै नहोस् जस्तो हुन्छ,
जसलाई कहिल्यै नदेखौँ झैं लाग्छ,
जहाँबाट निस्किन्छन् अदृश्य वाणीहरू,
जसले मुटुमै डेरा जमाएर बस्छ
र बसिरहन्छ।
त्यही भेटमा निस्किन्छन्
धमिला सपनाका बहारहरू
कपोकल्पित भावनाहरू
अनि
अविस्मरणीय पलहरू
जुन
केही समयअघि प्यारा लाग्थे, लागिरहन्थे।
म सोच्न सक्छु,
यदि ऊ मसँगै भइदिए!
कुनैदिन झुक्किएर उसकै नामको नम्बर
घण्टी बजाउँदै मेरो मोबाइलमा देखा परे?
म दुईपटक सोच्न बाध्य हुन्थेँ,
औँलालाई हरियो बत्तीतिर मोडौँ कि रातो बत्तीतिर ?
मोबाइलबाट त डिलिट भइसके ती नम्बर
तर, मनको स्क्रिनमा कहिल्यै डिलिट नहुने गरी
सेभ छन् र भइरहनेछन्।
बिहानीको उषा-किरणसँग
सूर्यको प्रकाशसंगको सम्भोगबाट
ती हिमालहरूमा
सुनका बालाहरू पोतिन्छन्
यस्तो सम्भोग;
जसले जन्माउँछ कलकल नदीहरू,
एकनास बगरहरू
अनि
छचल्किरहने छालहरू
तिनैलाई हेरेर घण्टौँसम्म बात मार्थ्यौँ नि
के तिमीलाई याद छ??
खैर, अब के नै फरक पर्छ!
तर,
म यत्ति चाहिँ भन्न सक्छु
तिमी ती यावत यादहरूसँग दूर भएपनि
तिम्रा यादहरू भने मेरो हृदयको सबैभन्दा कोमल भागसँग
आइरहन्छन् सम्भोगिन
र त अझैपनि
तिम्रा सम्झनाहरू
मेरा श्वाससँग छोइडुम खेल्दै
मस्त छन् धुवाँ बनी
हावासँग चुम्बन गर्न…!
म बिक्रीमा छु
सफलताको अट्टहास हाँस्दाहाँस्दै
चाहनाहरूको सागरमा डुब्दाडुब्दै
एक अतृप्त मन
एउटा खाली बोराजस्तो पेट
र डढेर अँगार भइसकेको फोक्सो लिएर
निस्किन्छु त्यही ठाउँमा
जहाँ
सपनाको घर बन्छ
आनन्दको तिर्खा मेटिन्छ
हप्तौंको भोक गायब हुन्छ
अनि
छरिन्छन् वरिपरि ती ग्राहकहरु
पल्टाई पल्टाई हेर्छन्
तौलिन्छन्
जोख्छन्
मोलमोलाइ गर्छन्।
किनकी
म बिक्रीमा छु
अचेल
केही थान स्वार्थकै लागि
मानवता बेचिनु कुनै नौलो कुरो होइन!