धुकधुकि छुटेर
दुखको काडाँमा अल्झिएको
मुटु बोकेर …
मृत
तिम्रो अघि उभिएको दिन,
म सगैँ तिमी पनि रोएकी थियौ ।
मेरा पैरहरुबाट
तररर… रगत चुहिदै गर्दा ..
बेहोश् बनेर
हड्डि नै काम्ने गरि
म हिडिँरहेको बेला
तिमिले मेरो हात समातेकी थियौ ।
म भित्र
पिडाको भयानक विस्पोट भएको बेला ..
मेरो सपनाहरु
स-साना टुक्राहरुमा फुटेर हजार दिशामा उछिट्टिएको बेला …
मेरो आखाँहरुमा
हजारौँ वर्स लामो गाढा अन्धकार
उर्लिएर खसेको बेला …
तिमिले
प्रेमले मेरो औलाहरुको कापलाइ
सेकेकी थियौ ।
यसरी ,
जिन्दगिको कैयौँ मुकाममा
घाइते हुदाँ ..
तिमिले मलाइ
आफ्ना कमजोर बाहूमा
डोहर्याएकि थियौ ।
त्यसैले,
आजकल म ,
सन्यासको कचौरा बोकेर
प्रेमबाट टाढा भाग्नेहरु देखेर
निकै चिन्तित भएको छु ।
कत्ति धेरै तपस्या
गरिरहेछ्न् विचराहरु जिवनमा ।
उनिहरुलाइ
कसरी भनौ कि म !
तिम्रो आखामा एकपटक
गहिरिएर हेर्दा मात्रैनै ,
पाउने गर्दछु मैले ,
उनिहरुले जन्मौ लगाएर
खोज्ने गरेको
अलौकिक समाधी ।
© अनमोल कंडेल