म ढुक्क छु
भोलि,
भविष्यको इतिहासमा लेखिने छ
मेरो मौनतासँग मेल खाने
मेरो कवितामा तिम्रो नाम
र लेखिनेछ यो पनि
जुन,आशय मेरो विल्कुल होईन
तिम्रो कल्पनामा ठेस लागेर,
उठ्नै लागेका वाक्यहरूलाई
मेरो हौसलासँग इंगित गरेर
तिमी सामु
अनुचित अनुवाद अर्थ्याउने छन्
विपरीत उल्था गर्नेछन्
समवेदना कुल्चिएका
यी बाैद्धिक मानवहरू!
भावनाको कलिलो काखमा
खेलिरहेको मेरो भावलाई
उमेर भन्दा पहिल्यै हुर्किन
बाध्य बनाइनेछ,
जे म,रत्ति पनि चाहन्न!
यिनीहरूको कारणले,
मेरो प्रेमिल हृदय
तिमी सम्म पुग्दा नपुग्दै
चतुर दिमाग सरह देखापर्न थाल्नेछ
जसको जिम्मेवार,म हुँदै होइन
मैले,
मेरो आँशुले खोपेर लेखेको
शिलालेख माथिको पंक्ति,
कुनै अर्थमा त्रुटि हुन गए
माफ गरिदिनु!
कहीँ कतै छोटा हरफहरू,
तिम्रो बुझाइसँग फरक पर्न गए
मलाई माफ गरिदिनु!