अस्ट्रेलिया जाने अघिल्लो दिन

कुनै पनि कार्य गर्ने अघिल्लो दिन एउटा कल्पना हुन्छ। यहाँलाई पनि हुँदो हो, मलाई पनि हुन्छ। यो अमेरिकाबाट एक देश एक महादेश सम्मको काल्पनिक यात्रा हो जुन पछि साकार पनि भएको छ। त्यो देश अस्ट्रेलिया हो । त्यहाँ जाने अघिल्लो दिन मस्तिष्कले के-के कुरा सोच्न थाल्छ। त्यसपछि  मनभरि कुरा खेल्छ।

म अनुमान लगाउँछु, त्यहाँ काङ्गरु हेरिन्छ। विषालु सर्प देखिन्छ। अस्ट्रेलियाका स्थानीय मान्छे चिनिन्छ । त्यहाँको रहनसहन बुझिन्छ। हेरिन्छ र विभिन्न कुराको स्पर्श गरिन्छ। प्रत्येक यात्राका अघिल्लो दिन मेरो त्यस्तै हुने गर्छन्। त्यस दिन पनि कल्पना नै ज्यादा भयो। घरमा बसेको समय मनले के-के कुरा बुन्यो पत्तो भएन। ड्युटीमा पनि त्यस्तै भइरह्यो, जुन म बताउँदै जाने नै छु। उक्त अघिल्लो दिन, विभिन्न अनुभूतिले मलाई लखेटे। चाहिने नचाहिने कुरामा मनले यात्रा गरिरह्यो। खासमा यो शिर्षक मस्तिष्कमा अस्ट्रेलिया गएर फर्किएपछि मात्र फुरेको हो। त्यसैले त्यो विशेष दिन म, फर्केर कल्पनामा यात्रा गर्दैछु। त्यो दिनको अभिव्यक्तिका श्रृंखला भावनामा सम्झँदै, म शब्दका लहरहरुको लामो विवरण राख्दैछु।

त्यस दिन मध्यान्नको तीन बजेसम्म म घरमै थिएँ। अँ, मेरो लोनमा लिएको छानो अमेरिकामा छ, जसलाई म घर पनि भन्छु, कोठापनि।  त्यसपछि खाजाको पोको बोकेर म ड्युटीतिर लागेव। प्रिय पाठक, ड्युटी शब्दलाई मुनि काम या कम्पनी पनि लेख्न सक्छु। एउटै कुरा एकोहोरो दोहोरिँदा मज्जा पनि हुन्न हगी ! यो संस्मरण पढ्नु पनि त मज्जा लिनु त हो। म आफैँलाई थाहा छैन, किन प्रत्येक भ्याकेसनको अघिल्लो दिनसम्म म ड्युटीमै हुन्छु । एउटा कर्मचारी ड्युटीमा हुनु र नहुनुको कम्पनीका लागि कुनै अर्थ राख्दो हो। तर मेरा लागि खास अर्थ हुँदैन। अँ, अर्को कोणबाट हेर्दा अर्थ चाहिँ प्रत्येक घण्टा डलरमा हिसाब भइरहेको हुन्छ।

प्राय अमेरिकीहरू यात्राको अघिल्लो दिन घरमै बस्छन्। आफूले काम गर्ने कम्पनीलाई बिर्सिएर लगेज र हेण्ड ब्यागभित्र राखिने सम्पूर्ण सामान मिलाउँछन्। मेरो हकमा मिलाइदिने श्रीमती छन् ,म यस्ता कुरामा व्यवस्थित छैन। अस्ट्रेलिया जाने अघिल्लो दिन आधा समय घरमा र अर्को आधा समय कम्पनीमा हल्लिरहेको छु । मैले जागिर गर्ने कम्पनीको नाम पोस्ट अफिस हो। बिचको लाइन देखि मेसिन चालीस तिर हेर्छु। कति धेरै मेल थुप्रिएको छ । कामको सिलसिला एकातिर छ मनभरि कौतुहलता अर्कातिर। सोचाईमा पर्छु, सिड्नी कस्तो शहर होला? अस्ट्रेलिया पुगेर सिड्नीमा पाइला नराख्ने कुरै भएन। यस्तो लाग्छ, अस्ट्रेलिया पुगेर सिड्नी भ्रमण नगरी फर्कनुभन्दा बरू घरबाटै यात्रा गर्दिनँ।

अझ, अपरा हाउस र हावर्ड ब्रिज कस्ता होलान्? त्यो देश अमेरिकाको रहन सहनका तुलनामा कति फरक होला? सिड्नीको समुद्र बिचको त्यो तातो ठाउँ, भन्ने पढ्दै आएको हो। ओहो ! कल्पनामा सोच्न पनि सक्दिनँ। फेरि मेसिन नम्बर पच्चीस काम गर्न एउटा मेसिन अघि उभिएको छु, अटो मेसिनको फिताले हातमा तातै हावाले स्पर्श गरेजस्तो लाग्छ।

Sydney Australia

Sydney Australia


मेरो सेजुलमा सिड्नीको तीन दिने बसाइँ छ।
डार्लिङ हार्बरका हार्बर ब्रीज र अपरा हाउस प्रथम स्थानमा छन्। त्यसपछि- दोश्रो यात्रा केन्स सिटीको छ। केन्स सम्झँदा म क्लास मेट हरि जी र चन्द्रालाई सम्झिरहेको छु। साँच्चै, क्वीन्स स्टेटको केन्स सिटी कस्तो होला? त्यसका बारेमा त खास्सै पढेको छैन। अस्ट्रेलियाका छवटा स्टेट कस्ता होलान? यो लेख्दै गर्दा हरि जी र उहाँकी मिसेस सन्जुसँगको साथ-ती घुमेका दिनको सम्झना आइरहेछ। म अमेरिका बसेर जागिरबाट कल्पनामा अस्ट्रेलिया पुगिरहेको छु। वार्य हाउस शरीरले साधारण मजदूरी यता उता हल्लिने काम गरिरहेको छ। मनले बादल भित्रको कुहिरोमा यात्रा गरिरहेको छ। निक्कै माथिको अल्टिट्युडमा पुगेछु सोच्दा  पनि चिसो हुन्छ। यसरी शब्दहरुको संजालमा फिजिँदै भावनात्मक प्रस्तुतिमा उत्रिँदै छु। अघिल्लो दिन त माध्यम मात्र हो खासमा यो संस्मरण टाइप गर्दै अस्ट्रेलियामा देखेका त्यहाँका विभिन्न ठाउँमा यात्रा गरिरहेको छु।

त्यस दिन कम्पनीको लन्चको समय हुन्छ । नियमित चार जना कोवर्करमा एकजना भुटानी भोला जी एयरफोनमा मनोरञ्जनात्मक कार्यक्रम हेरिरहनु भएको छ। चारजना कोवर्कर, तीनकुने एक एकवटा टेबलअघि बसेका छौँ। जसमा स्टिभ र म एउटै टेबुलअघि छौँ। अहिलेको चलन चल्तीमा सोसल डिस्टेन्स भने जस्तै। वरपर छ फुटको त्रिकोणको बसाइँ छ।

पारिजातको पुस्तक ‘पर्खाल भित्र पर्खाल बाहिर’ पल्टाई रहेको छु। ती दुई साथीमध्ये एक गोरा अमेरिकन स्कट ‘फिस ऱ्यापर’ पत्रिका पढिरहेका छन्। दोश्रो स्टिभ मोबालमा खै के कुरा हेरी, घोत्लिरहेका छन्। म साहित्यिक खुराकको पन्ना पल्टाउँदै छु। यात्राको अघिल्लो दिन खास पढाईमा मन छैन। पाँच- छ वटा पाना पढिसक्नु छ। त्यसपछि पुस्तक पढी सिधिन्छ। पारिजातको उक्त पुस्तक पढिसकेर बन्द गरी थन्क्याउनुसँग मेरो सरोकार छ।

यसै बिच कुराको सुरुवात एकजना छपन्न उमेरका गोरा स्टिभले गरे, 
“यु हर्ड एबाउट दि बुस फायर इन अस्ट्रलिया ? किलिङ लट अफ वेल्ड एनिमल्स। पुवर एनिमल्स, फेल्ट ब्याड !”
उनी दोश्रो गोरो अमेरिकी स्कट व्यक्तितिर हेर्दै बोल्छन्। तिनी पनि फिस र्यापरलाई रोक्दै मतिर हेर्दै आफ्नो विचार राख्छन्,
“आई एम ग्लाड नट ट्राभलिङ आउटसाइड दि कन्ट्री ! नट सेफ दिज डेज। यु न हु इज ट्राभलिङ ?”
उक्त व्यङ्ग्य सुनेर म मुस्काएँ। मैले स्कटको अनुहारमा हेरें। तर म केही बोलिनँ।
“मिस्टर जे, हि इज लिस्चनिङ !”
भोला जीले पनि मतिर फर्किएर मुस्काउनु भयो। म पन्ना पल्टाउने ध्याउन्नमा थिएँ। के बोल्नु उनीतिर पुलुक्क हेरेँ। तर  त्यो संवादमा सत्यता र व्यङ्ग्यको मिश्रण थियो।

लगतै लन्चको समय फेरि शान्त भयो। हामी चारै जना के-के कुरामा अल्मलियौँ। मलाई अस्ट्रेलियाका शहरहरु सिड्नी र केन्स हेर्ने जो रहर थियो। त्यसैले म भित्रभित्रै दङ्ग थिएँ। यात्रा गर्दै छु भनेर खुशी लागिरहेको थियो। थोरै मनको एक कुनामा ‘बुस फायर’को डर पनि लुकेको थियो। मेरो खुशीको सिमा माथि पुगेकै बेला कहिले के बिग्रिन्छ कि ? कहिले के हुन्छ कि भन्ने म भित्र छटपटी थियो। आम मान्छेको अधिकांश कुरा बिग्रिन्छ-कि खुशी भएका बेला कि दु:ख परेका बेला। यस कुरामा म सजग थिएँ। यतिन्जेल म कल्पना बाहेक यथार्थमा अस्ट्रेलिया पुगिहालेको छैन। त्यसैले म संयमित हुन चाहन्थेँ। यो खुशीलाई थामेर रोक्न चाहन्थेँ ता कि म साँच्चै पुग्न सकौँ।

कामको सिलसिला एकातिर चलिरहेको छ। म पोस्ट अफिसमा छु। कम्पनीको टाइम अनुसार हाल चार घण्टा बितेपनि थप चार घण्टा बिताउनु छ। म आफू अघिका कन्टेनर या अन्य केही सामानले काट्छ कि! कतै चोट लाग्छ कि! पोस्ट अफिसमा मेल र प्याकेज मात्र आउँछन् डराउनु पर्ने केही छैन। तर आजभोलि पेपरले मान्छेको हात काटेको घट्ना सुनिन्छ। कुर्सीबाट उठ्दा या बस्दा केही कर्मचारी लडेका कति ठाउँ त प्रत्यक्ष देखेको पनि छु। म यिनै कुरा सम्झेर डराउँछु। कम्पनीमा दैनिक मेसिन र मेसिनकै आसपासमा काम गर्दा या बिसाएर लन्च र ब्रेक रुमतिर जाँदा- कतै लडिन्छ कि! कतै चोट लाग्छ कि जस्तो झस्का पसिरहेको छ।

प्रिय पाठक,
माथि नै भनिसकेँ म पोस्ट अफिसको जागिरे। यो घट्ना डिसेम्बर एकतीस, न्यू इयर इभ, नयाँ वर्षको अघिल्लो रातको हो। म मध्यरातको ड्युटी सकेर जसोतसो ‘वानपिस’ मा घर फर्किएँ। मस्तिष्कभरि प्रतिध्वनी छ- धन्य कतै ठोक्किनँ! कतै लडिनँ! कतै चोट लागेन! अब त म अस्ट्रेलिया पनि वानपिस मै पुग्नेमा ढुक्क छु।

कामबाट घर फर्कँदा पनि संयमितता अपनाउनु थियो। डिसेम्बरको चियो सडक, कतै आइस जमेको ठाउँमा एक्सिडेन्टमा नपरियोस्। मेरो लक्ष्य सेफ ड्राइभ गरी घर पुग्नु थियो। योभन्दा माथि केही सोचिनँ। सत्य, केही सम्झिनँ। घर ‘वान पिस’ मा नपुगी एयरपोर्टतिर लाग्न सक्ने कुरा भएन। अझ यसो भनौँ, एयरपोर्ट नगई सिड्नी ओर्लने सम्भावना मेरो लागि थिएन। कसैका लागि हुँदैन। सिड्नी सम्झँदा हार्बर र अपरा अघि नोस्टाल्जिक भई मालती र सुवाससँगको भ्रमणको साथ झलझल्ति आइरहेको छ।

 म फेर अघिल्लो दिन फर्कन्छु। डिसेम्बरको त्यस रात आकाशमा ठूलठूलो आवाजमा  पटाका पड्कन लागे। बम जस्तै तेजिलो डुम डुम । पटट.. पटटट.. । पटाका माथि पुग्दा उज्यालो आकाश देखिने। उक्त बारुद झर्दा फेरि अँध्यारो देखिने। बाटोमा ट्राफिक लाइट बाहेक गाडीको ‘विन्सील्ड सिल्ड’बाट यस्तै दृश्य देखिन्थ्यो। जे होस वान पिसमा कम्पनीबाट घर पुगेँ। त्यो समय नयाँ वर्षको सुरुवात घडीमा रात्री समय बाह्र तीस भएको छ। घरभित्र किचन रुमको टेबलअघि शाकाहारी खाना प्रत्येकलाई छोपेर राखिएको छ। म एक्लो खाना खान भनी बसेँ। अलिकति भेजिटेबल बिर्यानी प्लेटमा राखेँ। त्यसपछि दही अचार हालेँ।

अरू रात जस्तो खाना रुचेन। मन अस्ट्रेलिया पुगेको छ। त्यहाँ पुगेर के-के खानु छ पेटभरि। किचन टेबलको एक्लो सदस्यलाई के खाना रुच्नु ? भाग बसेँ र हात गिजोली जुरुक्क उठेँ। बिस्तारै कोठाको ढोका खोलेर हेरेँ। ‘बिस्तारै!’ साना नानीहरु भएका अभिभावकले यो कुरा बुझिसक्नु भयो। कोठामा प्रवेश गरेँ। आमा छोरी निदाइसकेका छन्। सम्भवतः उनीहरु पनि निद्रामा अस्ट्रेलियाको यात्रा तय गरिरहेका होलान्।

एकातिर भित्ते घडी छ्याक छ्याक गरी चलिरहेको छ। अर्कातिर स्याँ स्याँ गर्दै उनीहरुको श्वास प्रश्वास चलिरहेको छ। म चाहिँ ड्रेसिङ मिरर अघि बसेर सरक्क ड्रयर उघारेँ, जहाँ म महत्वपूर्ण सामान राख्छु।

प्रिय पाठक,
‘ड्रयर’ सुनेर हाँस्नु भयो होला। मसँग आगो र पानीबाट बँच्ने जहाँ महत्वपूर्ण सामान राखिन्छ त्यो ‘सेफ बक्स’ छैन। म आफैँ त सेफ छैन। कति बेला के हुन्छ? कता हिॅंड्दा के हुन्छ ? भन्दै डराई डराई हिँड्छु। भर्खर कामबाट घर पनि डराउँदै यसरी नै आइपुगेको छु। के-को सामान राख्ने सेफ? मलाई त्यो सुन्दापनि अनौठो लाग्छ।

जे होस, त्यसपछि मैले तीनै जनाको पासपोर्ट झिकेर ह्याण्ड ब्यागमा हालेँ। गन्तीको यो तीन अङ्कभित्र छोरी, श्रीमती र म पर्छौँ। फ्लाइटको टिकट गरेको कागज, एउटा पेन र पढ्नका लागि पुस्तक पनि छेउतिरको जिपमा राखेँ। अस्ट्रेलियाका लागि अनलाइन भिसा कन्फमेसनको कागज जो प्रिन्ट गरिएको थियो, त्यसलाई पनि सुरक्षित ह्याण्ड ब्यागमा हालें। अनि बेडमा ढल्किएँ। निन्द्रा लाग्दैन। अस्ट्रेलिया पुगेको मन फर्काएर, फकाएर बिस्तारै सुताउनु छ। अनि आँखाको ढकन छोपी निद्रा पुर्याउनु छ। बिहान दश बजेको फ्लाइट छ। घरबाट एयरपोर्टको यात्राको ६ बजेतिर सुरुवात गर्नु पर्ने। हाल घडिमा एक बज्न दुई मिनेट बाँकी छ। म अनुमान गर्छु, ६ घण्टा सुत्दा आजका लागि निद्रा पुग्छ।

आँखाको थकाई मेट्न लडेँ सरक्क बेडमा। आज पहिलोपल्ट यस्तो लाग्दैछ शरीर आठ घण्टा पोस्ट अफिसमा उभिएर काम गरेपनि थाकेको अनुभूति छैन। दिनभरि यात्रा गरेको मन पनि थाकेको छैन। तर आँखाकै विष मार्नका लागि पल्टिएँ, चिम्लिएका आँखा अघि काला, छायाँजस्ता दृश्य, के-के कुरा घुम्न थाले।

प्रतक्ष्य देख्दा कस्तो होला अस्ट्रेलियन काङ्गरु? कस्ता देखिँदा होलान् त्यहाँका सर्प? अनि स्थानीय अदिवासी मानीसहरु?  मनलाई खाली अस्ट्रेलिया पुग्नु छ। अपरा हाउसको अघि फोटो खिच्नु छ। त्यसपछि केन्सको यात्रा गर्नु छ। मेरो सपना यत्ति हो। यात्राको अघिल्लो दिन, योभन्दा ठूलो कुनै सोच छैन। कुनै कुराको कल्पना छैन।सत्य कुनै चाहना छैन।

Country of Kangaroo

Country of Kangaroo

बेडमा ढल्किएर अहिलेसम्म असट्रेलिया खासमा मन पुगेको हो मात्र।  शरीर पुग्नै बाँकी छ। मन पुगेपछि शरीर पुर्याउछु भन्ने अठोट छ। जसका लागि सबै प्रक्रिया सकेर भोलिपल्ट बिहानको फ्लाइटमा उड्नु छ। उड्छु, उडे कसो नपुगिएला ! नभन्दै टेकेँ पाइला अस्ट्रेलियाको एक देश, एक महादेश।

 

Facebook Comments

You may also like

error: Content is protected !!