Au Revoir, मेरे दोस्त | SATURDAYकलम | Kavyalaya - काव्यालय

Au Revoir, मेरे दोस्त !

त्यसपछि मैले ऊसँग तर्क गर्न छाडेँ । तर्क मात्र होइन, हाम्रो बोलीचाली नै बन्द होलाजस्तो भयो । सायद, अब ऊ आजित भइसकेको थियो । सत्यको नाङ्गो रूखको त्यो हरियो पात नक्कली भएको उसले बुझिसकेको थियो । हामी बोल्थ्यौँ तर हाम्रा विषयहरू सिमित थिए । हामी सिनेमा र साहित्यमा मात्र बहस गर्थ्यौँ । ती विषय बाहेक हामीसँग सायद अरू केही थिएन पनि कुरा गर्न । मलाई अझैपनि सिनेमा, साहित्य र ती सँगै आउने सङ्गीत, चित्र, मूर्तिकला लगायतका सम्पूर्ण कला बाहेक, संसारमा बोल्नुपर्ने, बुझ्नुपर्ने के नै छ र जस्तो लाग्छ कहिलेकाहीँ ।

मतभेद निकै थिए हाम्रा, हाम्रो आन्तरिक मनोविज्ञान, राजनीतिले पनि काम गरेको हुनसक्छ । तर पनि हामीले आफ्नो आदर्श एकअर्कामाथि लाद्ने प्रयास कहिल्यै गरेनौँ । ऊ पनि राम्रोसँग बुझ्थ्यो कि समान विचार हुदाँहुदैँ पनि हाम्रो संसार वा संसारमा घटिरहने घटना वा कला क्षेत्रमा हुने गरेको विचार, विमर्श वा बहसप्रति हाम्रो अप्रोच फरक थियो । उसको स्वभाव नै शालिन थियो । त्यस विपरित मभित्र निकै आक्रोश छ । ऊ कुराहरूलाई शान्त र सुक्ष्म ढङ्गले सञ्चालन गर्न रुचाउँथ्यो । मभने बढी र्याडिकल हुन चाहन्थेँ र तर्कहरू पनि त्यही अनुरूप प्रस्तुत गर्थेँ ।

तर त्यसको अर्थ यो होइन कि उसले वर्तमान प्रणालीसँग सम्झौता गरेको थियो वा समकालिन कला र कलाकारसँग समान दृष्टि राख्थ्यो । उसको विद्रोहको प्रक्रिया फरक थियो । अचेल यो शुन्य समयमा जब आफूलाई एक्लो पाउँछु, ती पुराना कुराहरू सम्झना गर्दै विश्लेषण गरी बस्छु । सम्झनाहरू ऐनाको परतमा धुलो जमेसरी जमेर बसिदिन्छन् र आफ्नै आकृति बोझिलो लाग्छ ।

“सिनेमा सबथोक भएर पनि केही होइन । हामीले सिनेमालाई कला भनिदियौँ तर कलाका रूपमा कहिल्यै बहसमा ल्याएनौँ ।”

“यो बहसको विषय नै रह्यो कि सिनेमा कला हो वा मनोरञ्जन । कला मनोरञ्जनात्मक वा मनोरञ्जन कलात्मक हुनै सक्दैन भन्ने होइन । अनि विश्च मानचित्रमा नै यस्ता थुप्रै उदाहरणहरू छन्, जहाँ सिनेमालाई कलाकै रूपमा लिएर सिनेमाकारहरूले सिनेमा संस्कृति डोहोर्याइरहेका छन् ।”

यो उसको अचम्मको खुबी थियो, जहाँ म निराशा र सबै सकियो जस्तो देख्थेँ, ऊ त्यहाँ सुन्दर पक्ष भेटाउँथ्यो । र मलाई बहसमा पराजित गरिदिन्थ्यो । पराजित यस अर्थमा कि म ती कुराहरूलाई स्वीकार गरिदिन्थेँ । तथापि, ती कुरा वा तर्कहरूले मेरो विचार निर्माण प्रक्रियामा कहिल्यै ठोस असर पुर्याउन सकेन । र फेरि यस्तो पनि होइन कि ती कुराहरूबाट म पूर्णरूपमा अनभिज्ञ थिएँ । म केवल सहजतासँग स्वीकार गर्न जान्दिनँ थिएँ ।

“तिमीले भनेको कुरा बहसको विषय हो । मैले भन्न चाहेको, बहस खै सिनेमामा ? हामी केवल किन कथाको वा त्यहाँ खेलेका कलाकारको मात्र किन कुरा गर्छौँ ? सिनेमाले प्रस्तुत गर्ने समग्र वैचारिक दर्शन खै ? जसरी हामी ‘स्टेरी नाइट’को कुरा गर्छौँ वा पोलोकको ‘म्युरल’को कुरा गर्छौँ । साहित्यमा काफ्काको ‘ट्रयाल’ वा दोस्तोवेस्कीको ‘क्राइम यान्ड पनिस्मेन्ट’को कुरा गर्छौँ । मलाई लाग्छ, यदि गोर्दाद, ट्रुफाहरू हुँदैन थिए भने, सिनेमा कलाको रूपमा उहिल्यै मरिसक्ने थियो ।”

“Do you realize how ignorant you’re while saying this ?”

यस्तै यस्तै थियौँ हामी । म अँध्यारोमा आफ्नो कुण्ठा पोख्थेँ, ऊ भने उज्यालो खोजी हिँड्ने साहस गर्थ्यो ।

एक साँझ ऊ मकहाँ आयो । म मल्लिकाअर्जुन मनुसरको ‘राग यमन’ सुनिरहेको थिएँ । हामी हिन्दुस्तानी शास्त्रीय संगीतको विषयमा कुरा गर्न थाल्यौँ । चर्चा पनि सिनेमाकै परिप्रेक्षमा उभिएर गरिरहेका थियौँ ।

“मलाई लाग्दैन शास्त्रिय संगीतको भविष्य बिस्तारै सकिँदै छ । खयाल, द्रुपद…”

र पहिलोपटक, मेरो कुनै कुरामा ऊ सहमत भएको थियो ।

आज अब उसले आत्महत्या गरेको प्रसङ्ग सम्झिन पुग्छु । ग्लानी महसुस हुन्छ कि त्यतिबेला मैले विजयी अनुभव गरेको थिएँ । मैले त्यतिबेला अनुमान लगाउन सकिनँ कि, त्यो प्रतिक्रियाले ऊ आफ्नो वैचारिक दृष्टिकोणबाट पलायन भइरहेको सङ्केत गर्थ्यो । त्यसको एक महिनासम्म हाम्रो भेट भएन । एक्लोपनको कालो आकाशमुनि ऊ आफ्नो आस्था कोट्याइरह्यो । मलाई थाहा थियो, ऊ कसैको प्रेममा थियो । तर, हामीबीच प्रेम र सम्बन्धको विषयमा कहिल्यै कुरा भएन । वैचारिक मतान्तरको बहसमुनि, हाम्रा भावनाहरू कतै थिचिएर मरे ।

त्यो दिन ऊ मकहाँ आयो र रुन थाल्यो-

“म हारेँ यार । एउटा मात्रै आशा प्रेम थियो, त्यो पनि सकियो ।”

उज्यालो बोकी हिँडेको त्यो अनुहार, त्यसदिन आफै निभेको थियो ।

“मैले भनिरहन्थे, आशा भन्ने केही वस्तु संसारमा हुँदैन ।”

उसले आँखा उठाएर मलाई हेर्यो । ती भाव पढ्ने सामर्थ्य, ममा थिएन ।”

“त्यस्तो पनि होइन, जीवनलाई बँचाइराख्न आवश्यक छ ।”

“आशाको पहाडमुनि ओढारमा आगो बालेर आफूलाई सेकाइरहनु र जिउनुमा फरक छ ।”

ऊ गयो ।

त्यसको एक वर्षपछि, मैले उसको मृत्युको खबर पाएँ । बीचमा कैयौंपटक हाम्रा आँखा जुधे, तर हामी दुवै बोलेनौँ ।

अक्सर मलाई मानिसहरू, वास्तविकताबाट टाढिएको भन्छन् । सायद उनीहरू सही थिए, मैले आफ्नो सबैभन्दा नजिकको व्यक्तिलाई पनि बुझ्न सकिनँ । उसको अनुहारको शितलता, उसको स्वभाव थियो या हृदयभित्र जमेको तुवाँलोको एउटा दृश्यांश ?

Facebook Comments

You may also like

error: Content is protected !!