अस्थिशाला | SATURDAYकलम | Kavyalaya - काव्यालय

 अस्थिशाला

एन्टिक युनिभर्सिटी अन्तर्गतको डिपार्टमेन्ट अफ बायोलोजीका प्रोफेसर डाक्टर रहस्यम, आज आफ्नो कार्यकाल पूरा गरेर घर फर्किँदै छन्। उमेरलाई बुढ्यौलीले खेदेपनि उनी अझै जोसिला साथै मोर्डन देखिन्छन्। कदमा छोटो भएपनि कालो ओभरकोट लगाउँछन् र टाउकोमा ह्याट लगाउँछन्, कालो चस्मा उनको अनुहार चिन्ने अर्को पहिचान हो। अनौपचारिक समयमा उनको हातमा सिगार टुट्दैन। विद्यार्थीहरू आज सम्मानमा फूल दिएर उनलाई बिदाइ गरिरहेका छन्। तिनीहरूमध्ये उनलाई फेवरेट प्रोफेसर मान्ने विद्यार्थीहरूको तादावले उनको आफ्नै पुरानो कारमा सामान लोड गर्न सहयोग गरिरहेको छ। उनलाई सबैभन्दा मनपराउने विद्यार्थी भने भाष्कर हो। भाष्कर राज बज्राचार्य। प्रो. रहस्यमले उनलाई ‘चार्लोट’ निक नेम दिएका थिए किनकी उनी चार्ली च्यापलिनको कमेडी निकै मन पराउने। अनि भाष्कर उनको कार्यकालभरिको सबैभन्दा चुलबुले र फन्नी विद्यार्थी।

अहिले भाष्कर र हरि प्रसाद चापागाईं उर्फ् सि.पि ह्यारी ल्याबमा पुगेर त्यहाँ भएको अस्थि बोकेर ल्याउँदै छन्। उल्टो उभ्याएर त्यस अस्थिपन्जर अस्थिको दुई हात एक अर्काको घाँटीमा अंगालो हालेको जस्तो बनाएर निस्किँदै छन्। त्यतिकैमा, अस्थि आफ्नो शिर हल्लाएर खिसि गर्दै हलमा भएका तमाम अरू जवान विद्यार्थीहरूलाई आफूप्रति आकृष्ट गर्छ। रहस्यमको अस्थि ! त्यो अस्थि, जेनेरेसनभरिका विद्यार्थीहरूबाट यही नामले प्रख्यात बनेको थियो। प्रो. रहस्यमको तलब अरू प्रोफेसरहरूको भन्दा निकै हाई स्केलको थियो।
No description available.
भाष्कर भन्छ, सरले यो कलेजबाट सबैभन्दा धेरै तलब लिनुभयो। खानदान पालिने भो सरको मेहेनतमा! प्रोफेसर ठट्यौलो पारामा भन्छन्, केटा हो यो सम्झ, मेरो श्रीमतीज्यूसम्म पालिन सक्नु भएको छ। आजकालको दिनहरूमा म जब उनलाई छोटो लेदर ज्याकेटमा देख्छु, अनि मेरो यो अस्थिसँग प्रेम हुन थाल्छ। प्रोफेसर हाँस्न थाल्छन् उही पुरानो बुढो हाँसो..हा..हा।

चार्लोट र ह्यारी दुवै मिलेर त्यो अस्थि प्रोफेसरको गाडीको पछाडिको सिटमा राखिदिन्छन् र त्यसको टाउकोमा जालीदार टोपी लगाइदिन्छन्। ह्यारीले कारको ढोका पूरा ढ्याप्नुअघि भाष्कर ह्यारीलाई पर्खन सन्देश दिन्छ र गोजीदेखि चुरोट निकाल्छ। ओठमा च्याप्दै चुरोट लाइटरले जलाउँछ। दुई सर्को तानेर कारभित्रको अस्थिको दाँतमा पछाडिको टुपो थिच्दै चुरोट अड्काइदिन्छ र दाहिने हातको दुई औँलाका टुप्पोको हड्डले चुरोट समाते जस्तो बनाइदिन्छ। केही क्षण त अस्थि पनि हाँसोको पात्र बन्छ।

प्रोफेसरको कारले तीनपटकको स्टार्ट गर्ने प्रयासपश्चात खच्चचच्च आवाज निकाल्दै कालो धुवाँ फाल्छ। प्रोफेसरले कारको झ्यालबाट मुन्टो निकालेर भाष्कर र ह्यारीको समूहलाई जाऊँ भन्दै इसारा गर्छन्। आधा दर्जन केटाहरू आफ्नो बाइक स्टार्ट गर्छन् र प्रोफेसरलाई पछ्याउँदै जान्छन्। करिब ६ घण्टाको यात्रापश्चात जब प्रोफेसर घर अगाडि पुगेर गाडी रोक्छन् तब खतरनाक दृश्य देखिन्छ। त्यो सिगरेट खरानी भइसक्दा पनि अस्थिको मुखमा नभत्किएरै यसरी अडिएको छ मानौँ त्यो खरानीकै चुरोट हो।

भाष्कर र उसका साथीहरू भने चुरोट तान्नका लागि गेट बाहिरै बसेका छन्। भाष्कर प्रोफेसरलाई घर भित्र्याएकोमा खुशी देखिन्छ र साथीहरूलाई सम्मान दिँदै थम्स अप गरिरहेछ। चुरोट खाएर सकेपश्चात केटाहरू टिनको छानो भएको ट्रस्टभित्र बाइक राख्छन्। जंगलको ठिक बीचमा रहेछ प्रोफेसरको घर। वरिपरि नजिकै कुनै घरहरू छैनन्। वातावरण निकै शून्य र शान्त  छ। वरिपरिका रूखहरूको छायाँले गर्दा दिउँसै रात परिसकेको जस्तो देखिन्छ। जताततै चिस्यान, त्यसमाथि पनि जाडोको मौसम! पुसको जाडो, हुस्सुले वातावरण जकडेर राखेको छ। गोलो कंकृट घर देखिन्छ। घरको छानो पुराना ढुङ्गे मार्बलले छाइएको। छानोभरि कालो कट्कटिएको लेउ। छानाको दायाँ छेउमा रहेको चिम्नीबाट धुँवाको मुस्लो निस्किरहेको। कताकता असामान्य, कपाल डढेको को कि जस्तो दुर्गन्ध फैलिएको। 
No description available.
धुवाँले केटाहरूलाई श्वास लिन कठिन बनाइरहेछ। घरदेखि थोरै पर कुनै एक्लो सानो रूम देखिन्छ। लाग्दछ, रहस्यम परिवारको त्यो कुनै स्टोर रूम हो। त्यस स्टोर रूमको ठिक माथि आकाशमा कागहरूको झुण्ड गोलो आकार बनाउँदै मन्डराइरहेका। ती सबै दृश्यलाई बेवास्ता गरी घरतिर जान लाग्दा भुस्याहा कुकुर जोड जोडले भुक्दै उनीहरूतर्फ आउँछ। प्रोफेसर रहस्यमको आइसोलेटेड भिल्लामा भुस्याहा कुकुर? उनीहरू अनौठो मान्छन्। कुकुर केटाहरूको लुगा टोक्न थाल्छ। त्यसलाई ह्यारीले कसेर एक लात्ता हिर्काउँछ र बल्ल कुकुर त्यहाँबाट भाग्छ। घर नजिकै पुग्दा फेरि बिरालो रोएको आवाज सुनिन्छ।

प्रोफेसर आफ्नी श्रीमतीलाई धाँजा फाटेको आवाजमा चिच्याउँछन्। हे..ए..मा ! यताउति हेर्छन् र घर नजिकैको लबीमा पुगेर कुर्सी तानेर बस्छन्। आफ्नो ह्याट र चस्मा फुकाल्छन् र सिगार सल्काई खोक्दै तान्न थाल्छन् ( ह्वाह्हु ….ह्वाह्हु)। थाकेका केटाहरू पनि सिँढीमा थचक्कै बस्छन्। त्यतिकैमा, गोली चलेको आवाज आउँछ। आवाज कतातिरबाट आयो ठम्याइनसक्दै केटाहरूको ठिक अघिल्तिर रगतपक्छे काम छट्पटाउँदै खस्छ। झसङ्ग हुँदै उनीहरू जुरुक्क उठ्छन्। सबैको अनुहारमा एक्कासि डर मडारिन्छ।

प्रोफेसर छट्पटाइरहेको कागलाई कर्के आखाँले हेर्छन् र हाँस्दै भन्छन्, हा..हा कुल ! इट्स माई वाइभ्ज टारगेट। बाँकी कागहरू चारै दिशातर्फ छरिँदै घरमाथिको आकाशदेखि पर कतै भाग्छन्।

फुलेको कपाल भएकी पातली प्रोफेसर पत्नी, बुढीले मान्छेकै छालाजस्तो देखिने ज्याकेट लगाएकी, पिठ्युँमा बन्दुक भिरेर बुट जुत्ता बजाउँदै सरासर उनीहरू भएतिरै आउँछिन्। केटाहरू हात जोडेर आदर गर्न थाल्छन्। बुढी कसैको वास्तै नगरी आँगनको कागलाई लत्याएर अलि पर फाल्छिन् र मूल ढोकाको चाबी खोलेर सरासर भित्र जान्छिन्। केटाहरू पनि प्रोफेसरको सामान लिएर भित्र छिर्छन्। घर निहाल्दै उनीहरू अघि बढ्दै जान्छन्। घरमा धेरै पुराना सामग्रीहरू सजावटको रूपमा स-साना टेबलमाथि राखिएका छन्। भित्ताहरूमा विभिन्न जनावरका गर्धनदेखि माथिको भाग टाँसिएको छ।

प्रोफेसर रहस्यम केटाहरूलाई हातमा रक्सीको निकै ठूलो करूवा लिएर आफूसँग जोइन हुनका लागि डाइनिङ टेबलतिर आउन इसारा गर्छन्। बडो उत्सुकताका साथ केटाहरू एक-अर्कालाई हेर्छन् र मुस्कुराउँदै डाइनिङ रूममा जान्छन्। छुट्टीको समय भएकाले कुनै दोमन नगरी सबैले टेबलमा घोप्ट्याएर राखिएको ग्लास ठाडो पारेर रक्सी हाल्न थाल्छन्। प्रोफेसरसँग चियर्स गरेर सबै रक्सी पिउन थाल्छन्। आफ्नो घरमा पहिलोपटक अतिथि बनेर आएका विद्यार्थी केटाहरूसँग समय मागेर प्रोफेसर एकछिन बाहिर जान्छन्। भित्र आउँदा त्यही पुरानो अस्थिपन्जर बोकेर आउँछन् र भन्छन् ‘यसलाई हाम्रो शयन कक्षको स्टडी टेबलमाथिको भित्तामा टाँगिदेऊ हेमा’। मासुको चोक्टा लतपतिएको चक्कु लिएर क्रो हन्टर मिसेज प्रोफेसर झट्ट मिस्टर प्रोफेसरलाई हेर्छिन्। त्यही पुरानो हड्डी देखेपछि ठूला-ठूला आखाँ बनाई रिसको संकेत गर्दै उनको अनुहारले फनक्क एउटा रिभर्स लिन्छ।

‘तिम्रो नासो तिम्रै अन्डरग्राउण्ड ल्याबमा राख’ किचनबाट पहिलो पटक मिसेज रहस्यमको आवाज आउँछ। प्रोफेसर रहस्यम सक्दो निधारतर्फ आँखिभौं तन्काउँदै आफ्नो मुख त्यही अस्थिको हातले बन्द गर्दै भन्छन् ‘एकछिनको लागि हलको रकिङ्ग चेयर (घोडे कुर्सीमा) राखेको छु है हेमा’ । यति भन्दै उनी फेरि केटाहरूसँग डाइनिङ्ग टेबलमा पुग्छन् र मेन कुर्सीमा गएर बस्छन्।

एकै ठाउँमा बसिरहन नसक्ने सबैभन्दा सेभेज, चुलबुले भाष्कर दुईवटा ग्लासमा रक्सी लिएर अस्थिपन्जर भएको हलमा पुग्छ। आफ्नो चार्लोट अन्दाजमा ऊ कुर्सीको ह्यान्ड रेस्टरमा रक्सीले भरिएको एउटा ग्लास राख्छ र त्यस अस्थिको खप्परले ग्लासतर्फ हेरेको र हातले रक्सीको ग्लास समाएको जस्तै बनाउँछ। सबै गलल हाँस्छन्। टेबलमा स्वादिष्ट राता रोष्टहरू आइपुग्छन्। मासुको सुगन्धले सबैको मुखमा थुकको मूल फुट्छ। हात हातमा मासु लिँदै लुछ्दै सबैजना खानमा व्यस्त हुन्छन्।
No description available.
रात छिप्पिन थालेपछि, खानपिनको काम पनि सकिन्छ। प्रोफेसरले सुत्न जानु अगाडि चार्लोट र ह्यारीलाई बोलाएर भन्छन् ‘तिमी साथिहरू मिलेर मेरो सामान प्रयोगशालासम्म पुर्याइदेऊ। म, माथि हेमालाई बिस्तारा मिलाउन लगाउँछु। त्यसपछि साथीहरूलाई लिएर माथि आउनु, सुत्न’। उनीहरू हुन्छ, भन्दै एक-एक सामान उठाउन थाल्छन्। भाष्कर पुनः त्यही हड्डी समात्न हलमा पुग्छ। त्यहाँ पुगेर हेर्दा ऊ झस्किन्छ, अस्थिपन्जरको हातमा रक्सीले भरिएको ग्लास अहिले रित्तो छ र कुर्सी चलिरहेको छ। उसको मनभित्र डरको चिसो पस्छ। शरीरका रौँहरू कसैले डोरी लगाएर तानेर सिधा बनाएजस्तै उसलाई महसुस हुन्छ। तर, साथीहरूले आफूलाई उल्लु र रक्सी लागेको सोच्ने डरले ऊ केही नबोली त्यसलाई बोकेर अन्डरग्राउन्ड जाने सिँढी झर्छ। सबै बिद्यार्थीहरू प्रयोगशालाको ढोकाअगाडि रोकिन्छन्। ढोकामा लेखिएको छ, ‘वेलकम टु दि ऐक्सपेरिमेन्ट जोन’।

भाष्कर ढोका खोल्छ। धेरै समय कैद भएका जस्ता देखिने चमेराहरू अचानक तिव्र गतिमा उड्दै बाहिर निस्कन्छन्। कोठा निकै अँध्यारो छ। भाष्कर अग्रस्थानमा रहेर मोबाइलको टर्च लाइट बाल्छ र बिस्तारै आगाडि बढ्छ। नजिकैको भित्तामा स्विच देख्छ र थिच्छ। रातो पुरानो चिम झिप-झिप गर्दै बल्छ। जताततै माकुराको जालो। मुसा, छुचुन्द्राहरू दौडिरहेका। किरा फट्याङ्ग्राहरू सल्बलाइरहेका। एक्कासि सिलिङमा झुण्ड्याइएको धेरै पुरानो हड्डी खुत्रुक्क भुइँमा खस्छ र फुटेर धुँजाधुँजा हुन्छ। टेबलहरूमा राखिएका सबै ऐक्सपेरिमेन्ट टुल्सहरूमा धुलो जमेको छ। लाग्छ, वर्षौंदेखि यिनीहरू प्रयोगमा आएका छैनन्। भरिएका सिसाका भाँडाहरूभित्र उम्लिरहेको ऐसिडको साथमा मान्छेहरूको लास राखिएको छ। छेउमा भाँचिएका स्ट्रेचरहरू। तिनमा पनि मान्छेका हड्डीहरू लडिरहेका।

भाष्करले देख्छ नजिकै एउटा पोस्टमार्टम बेड खाली छ। ऊ त्यसैमाथि हातमा भएको अस्थिलाई राखिदिन्छ। बेडको नजिकै अघि बुढीले लगाएको ज्याकेटकै जस्ता छालाहरू झुण्ड्याइएको छ। त्यसैको अगाडि पोस्टमार्टम नाइफहरू, ब्लेड र सिजरहरू लस्करै झुण्ड्याइएको छ। अचानक बत्ती निभ्छ, भाष्कर र उसका साथीहरू बाहिर निस्कन ढोकातिर भाग्न थालछन् तर ढोका बन्द हुन्छ। डरले कहालिएर उनीहरू प्रोफेसर! प्रोफेसर! भन्दै चिच्याउन थाल्छन्। तर, प्रोफेसरले सुन्दैनन्, न प्रोफेसरलाई नै सुनिन्छ।

अचानक लडिरहेका अस्थिपन्जर अस्थिहरू चल्न थालेको उनीहरूलाई महसुस हुन्छ। मान्छेका बीभत्स चिख-चीत्कारजस्ता आवाजहरू एक ध्रुवदेखि अर्को ध्रुवमा गुञ्जिन थाल्छ। वातावरण तत्कालै मौन हुन्छ। कसैको हातका औंलाहरूले एक-एक गर्दै टेबल बजाए जस्तो आवाज आउँछ। भाष्कर साथीहरूलाई गाली गर्छ, यस्तो बेला पनि माजाक गर्छ साला। पोस्टमार्टम बेडमा सुतिरहेको अस्थिपन्जरले एउटा खुट्टा बेडबाट तल झार्छ। अचानक उसको आखाँमा चम्किलो रातो प्रकाश बलेको सबैले देख्छन्। जोर्नीहरूको प्रयोग नगरी अस्थिपन्जरले झट्ट आफ्नो शरीर उठाउँछ।

अस्थिले हातमा पोस्टमार्टम ब्लेड लिन्छ र आवाज निकाल्न थाल्छ; लै…ला…..लै …..लैला….लै… र फेरि अचानक ब्लेड बेडको डण्डीमा ठोकाउँदै आवाज निकाल्छ, ट्याक…ट्याक.. त्यसपछि, दायाँ बायाँ लडिरहेका अस्थिहरू पनि उठेर ब्लेड लिन्छन्। केटाहरूले आँखा झिमिक्क हुन नपाउँदै राता आँखा भएको अस्थिहरू धोद्रो आवाजमा रुँदै भित्तामा ब्लेडले कोतर्न थाल्छन्। आगोका झिल्काहरू निस्किन्छन्। डरले ढोकामा जम्मा भएर भित्तामा टाँसिएका केटाहरूले अब आँखाकै नानीअघि अस्थिका खप्परहरू चलमलाएको देख्न थाल्छन्। एक झट्कामै ती अस्थिहरूले  केटाहरूको ‘आ….आ’ को चीत्कार संगै घाँटीको रूद्रघण्टी काटिदिन्छन्। कैटाहरूले आइया पनि भनिसक्न भ्याउँदैनन्।

सबैको घाँटीदेखि भुलभुल रगत निक्लिन्छ, घाँटी काटेपछि छट्पटाइरहेका खसीहरू जस्तै हातखुट्टा फाल्दै केटाहरू अर्धमृत हुन्छन्। कम्पन छाडिरहेका शरीरहरूको खुट्टा समातेर प्रत्येक अस्थिपन्जरहरू छानी छानी एक-एक केटो उठाउन थाल्छन्। पोस्टमार्टम बेडमा राखेर पालैपालो दुई टाँङको ठिक बीच गुप्ताङ्गनिरबाट चिरेर अस्थिपन्जरहरू तिनको आन्द्राभुँडी निकाल्दै बीभत्स हत्या गर्छन्। रगत भुइँभरि छताछुल्ल हुन्छ। आलो रगतको गन्ध पाएर लुकेका किराहरू रगत चुस्न बाहिर निस्कन थाल्छन्। ती लासहरूको छाला काढिन्छ। रगत चुहिँदै गरेको, केही चोक्टा बाँकी नै रहेको छालाहरू शरीरबाट छुट्याएर ती खोक्रो छालालाई मान्छे जस्तै बनाएर त्यही पुरानो छाला झुण्डयाइने ठाउँमा झुण्ड्याइन्छ।

लासहरूको फल मासु छुट्याउँदै अस्थिहरूले एउटा बोरामा राख्छन्। बाँकीको पनि प्रकार हेर्दै बटुलेर प्रत्येकलाई छुट्टाछुट्टै प्लास्टिकको बोरामा राख्छन्। सबै अस्थिपन्जरहरू लासको अवशेषहरूले र्याप गरिएका प्लास्टिकका बोरा काँधमा बोकेर बाहिर निस्किन्छन्। रगतले भिजेका पैतालाहरूले सेतो टाएलमा राता पदछापहरू लतपतिन्छन्। नजिकैको स्टोर रूममा पुगेर त्यै पुरानो कलेजको नाइके अस्थिले  ढोका खोल्छ। मान्छेको हाडबाट तुहिँदै गरेको सढेका मासुहरूबाट, सढ्दै गरेका आन्द्राहरूबाट, मस्तिष्क खल्बलाउने, वाकवाकी आउने गरी कुहेका लासहरूको सिनो गन्ध ह्वास्सै आउँछ, जताततै माखाहरू सल्बलाइरहेका, डरलाग्दा खप्पर र हाडहरू कुनामा चाँगेर राखिएका। यस्तो बीभत्स दृश्यकाबीच समेत एक अस्थि ठू..लो बडेमानको कन्टेनरमा कुहेको मासुबाट रक्सी बनाउन व्यस्त छ।

टाठो गन्ध पछ्याउँदै त्यही कुकुर जसलाई भाष्करले कसेर लात हानेको थियो, त्यो स्टोर रुमको ढोकामा चिहाउन पुग्छ। अस्थिले भाष्करकै एक चोक्टो मासु कुकुरतिर हुत्याइदिन्छ। तर, कुकुर भने फनक्कै फर्किएर बुर्कुसी मार्दै त्यहाँबाट अलप हुन्छ।

भोलिपल्ट बिहान प्रोफेसर सिगार सल्काउँदै टिभीको स्विच अन गरेर रिमोटको पावर बटन थिच्छन्। र च्यानल परिवर्तन गरेर समाचारमा लगाउँछन्। समाचारवाचिका पढ्न थाल्छिन्:

! ब्रेकिङ न्यूज !
…………………………………………………………………………………..

एन्टिक युनिभर्सिटी अन्तर्गतको डिपार्टमेन्ट अफ् बायोलोजीका प्रध्यापक प्रो. डा. रहस्यमको लास उनकै क्वाटर नजिकैको जंगलमा प्रहरीले बिहीबार बिहान फेला पारेको छ। पोस्टमार्टमको रिपोर्ट अनुसार उनको हत्या एक हप्ता अगाडि भएको पाइएको छ। शरीरबाट छाला ताछिएको अवस्थामा भेटाइएको कारण लासको पहिचान गर्न गाह्रो भएको र डिनए टेस्टमार्फत पहिचान गरिएको प्रहरी नायब उपरीक्षक भयबहादुर त्रासदीले बताए।

कलेजका विद्यार्थी र उनका समकक्षीहरू भने उक्त लास प्रोफेसर रहस्यम को हुन नसक्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। उनका समकक्षी संशय आवेगले भने, ‘उनले कलेजबाट रिटायर्ड लाइफ बिताउने निर्णय गरेपछि हामीले हिजोमात्र उनलाई कलेजबाट बिदाइ गरेको हौँ। रिपोर्टले हत्या एक हप्ताअगाडि भएको भनिरहँदा उक्त लास प्रोफेसर रहस्यमको होइन भन्नेमा हामी स्पष्ट छौँ।  कलेजका विद्यार्थी संघ र शिक्षक संघ सबैजना उनको अवस्थाको सही जानकारीको माग राख्दछ। ती, जो एक हप्ताअघि मारिए ती प्रोफेसर रहस्यम होइनन्। घटनाको सत्यतथ्य पत्ता लगाउन यो आन्दोलन प्रहरी प्रशासनको लागि एउटा दबाब हो। यतिबेला उनी कहाँ र कस्तो अवस्थामा छन् चाँडोभन्दा चाँडो सार्वजनिक गरियोस्।’

…………………………………………………………………………………..

मिसेज प्रोफेसरले टीभीको स्विच अफ गरिदिन्छिन् र आफ्नो कपडा खोल्न थाल्छिन्। उनी आफ्ना हातका औंला आँखाभित्र कोचार्छिन् र दुवै आँखा निकालेर टेबलमाथि राख्छिन्। टेबलमा राख्दा आखाँहरू आपसमा ठोक्किएर गुच्चाजस्तै बज्छन्। उनी आफ्नो छालापनि कपडा खोलेजस्तै गरी खोल्छिन्! त्यो छालाबाट एउटा उदाङ्गो अस्थि निक्लिन्छ। ओठको सिगार एस्ट्रेमा राख्दै प्रोफेसर पनि उसै गरी औंला कोचारेर दुवै आँखा झिक्छन् र अस्ट्रेको ठिक माथिल्तिर राख्छन्। कपडा र छाला पनि क्रमशः खोल्दै जान्छन् र उनी पनि एउटा अस्थिमा रूपान्तरित हुन्छन्। मिस्टर अस्थि र मिसेज अस्थिहरू दुवै प्रोफेसर पति-पत्नीका खोक्रा छालालाई मान्छेजस्तै आकार बनाएर सोफामा बिसाउँछन् र एउटा राक्षसी अट्टहास हाँस्दै दुवै एक-अर्काको हात समाएर प्रोफेसर दम्पतीको मास्टर बाथरूमको बाथटबमा छिर्छन्। टबमा बाफ निकालिरहेको रक्तिम पानीमा डुब्दै दुवै अस्थिहरू मुग्ध मुद्रामा एक-अर्कालाई नुहाइदिन थाल्छन्।

Facebook Comments

You may also like

error: Content is protected !!