के हामी साच्चै स्वतन्त्र छौँ ?

खास जिन्दगीले आफूलाई पछ्याउँछ अथवा आफूले जिन्दगीलाई पछ्याइन्छ ? कुरो भ्रमात्मक छ ।  

सिजन शरदको छ । अखबार, टिभितिर न्यूज हेर्छु , शिशिरभन्दा पनि चिसा छन् खबरहरू । उसो त सबै कुरो हट नै त कहाँ हुन्छ र ? सोसल मिडियामा परेको लभ जस्तै छ जिन्दगी कहिले कुनबेला कता मोडिने हो थाहा छैन । 

जिन्दगीको मोड अर्को हुनसक्छ, खोज अर्को हुनसक्छ तर के सोच अर्को साँच्चिकै सम्भव छ त? हामी प्राय अरुलाई त पछ्याउछौँ तर आफैलाई पछ्याउन कतिको सम्भव छ वा सकिन्छ ? आफूलाई पछ्याउनु अथवा आफ्नै सोचलाई पछ्याउनु चानचुने छैन । कहिलेकाहीँ आफैलाई पछ्याउँदै गर्दा एउटा आउँछ पिठ्युँमा धाप मार्छ, अर्को आउँछ आँखा जुधाउँछ, अर्को आउँछ कान फुक्छ, अर्को आउँछ विचार लुट्छ । त्यसपछि के हामी, हामी नै रहन्छौँ त ? कसैले बोल्दै गर्दा हामी उसलाई राम्रोसँग सुन्न सक्छौँ तर के हामी आफैलाई चाहिँ त्यसरी नै सुन्न सक्छौँ त ?

लाग्दैछ, यसरी गन्थन गर्दागर्दै अस्त हुनेछौँ कुनै दिन । तर पनि मलाई अलिकति स्वतन्त्रताको गन्थन गर्न मन लाग्यो । 

अँ,
ल भन्नुस, निर्मला र सम्झनाहरू त्यसै मुर्झाए त ? डाक्टर गोविन्द केसी कैयौँ पटक मृत्युको मुखमा पुगेर फर्के, पुगेर फर्काइए अथवा फेरि मृत्युकै मुखमा धकेलिँदै छन्, केही बुभ्नुभयो ? कुलमानले हाम्रा बत्तीका स्वीच अन त गरे तर हाम्रो कुलमानसँगको अर्को आशाको तार कुन मुसाले काट्यो ? यति हुँदा हामी केही बोलेनौ या बोलेरै लाटो सावित भयौँ ? हामीले केही गरेनौँ अथवा गरेरै जस्तो कि अपांग सावित भयौँ ? हामीले मैनबत्ति मात्रै जलायौँ कि केही हाम्रो विश्वास पनि जल्यो ? हामीले आँसु मात्रै खसायौँ कि केही हदसम्म हाम्रो आशा पनि खस्यो ?

 

आजकल म खासै बोल्दिनँ । पहिले गलत हो भनेर देख्दा, बुझ्दा मेरो रगतले आफ्नो प्रवाहको गति एकदम बढाउँथ्यो, म बोलिहाल्थेँ । तर आजकल त्यस्तो केही देख्दा म मेरो आँखा बन्द गर्न खोज्छु, रगत, धड्कन र दिमागी नसाहरूलाई शान्त रहन आग्रह गर्छु किनकी मलाई लाग्छ, स्वतन्त्रता शब्दमा छ तर यहाँ यथार्थमा स्वतन्त्रता कहिल्यै स्वतन्त्र नहुने गरी भुलभुलैयामा पारिएको छ ।  

 

भन्छन्, २०४६ सालमा देशमा प्रजातन्त्र आएको हो । त्यतिबेला म भर्खर जन्मिँदै थिएँ । दश वर्षे आन्तरिक द्वन्द्वपछि २०६२–६३ भव्य आन्दोलन भयो जुन मैले आफैले राम्ररी देखेँ । त्यतिखेर म आफ्नो किशोरावस्थामा थिए र मैले केही बुझेँ । जस्तो कि, खुलेर बोल्न पाइन्छ र बोल्दा सही मागहरू पूरा हुन्छन्। सँगै अर्को कुरा बुझे जस्तो लाग्थ्यो, अब हामीसँग स्वतन्त्रता छ, स्वतन्त्रताको अधिकार छ र हामी स्वतन्त्र पनि भयौँ । तर त्यो बेला मैले अलिकति पनि बुझिनँ कि कहीँकतै हाम्रा मागहरू त छोडौँ, बोलीहरू मात्रै पनि कतै अधुरै रहन सक्छन् । अहिले आएर मैले स्वतन्त्रतालाई अनर्थक रुपमा बुझ्न थालेँ । अनर्थक यस अर्थमा कि, के हामी साँचिकै स्वतन्त्रात्मक अर्थको स्वतन्त्रतामा छौँ त ? 

 

अब म केही स्वतन्त्रताका स्वतन्त्र उदाहरणहरू दिन चाहन्छु । 

 

ल हेर्नुस्,
हामी चम्चा बन्न स्वतन्त्र छौँ, झोले र पछौटे भरौटे बन्न स्वतन्त्र छौँ । सत्ताको बखान गर्न र सत्तासिनहरूको पूजा गर्न झन एकदमै स्वतन्त्र छौँ । तर हाम्रै र हामीले चुनेका भनिएका जसलाई जनप्रतिनिधि पनि भनिन्छ, के हामी उनीहरूको गलत कामविरुद्ध बोल्न स्वतन्त्र छौँ ? यदि छौँ भने किन त्यस्ता आवाजहरू अगाडि अनेक षड्यन्त्रका पर्दा लगाइन्छन् ता कि ती कतै नसुनिउन् ? मैले हामीले चुनेका भनिएका किन भन्दैछु भने, तिनलाई चुनावमा उठाउन टिकट हामीले नै दिन्छौँ त ? यदि तपाईं हामीसँग त्यो अधिकार भएको भए के दिपक मनांगेहरूले टिकट पाउँथे, के बामदेवहरू फेरि प्रतिनिधि सभामा पुग्थे त ? हाम्रा भनिएका प्रतिनिधिहरूको चुनावि टिकट नै अरूले दिन्छ भने हामी भोट खसाल्न स्वतन्त्र भयौँ या बाध्य? 

 

अर्को कुरा, हामी हाम्रो इमान बेच्न त स्वतन्त्र छौँ तर के हामी आफ्नो क्षमता र दक्षता बेच्न स्वतन्त्र छौँ ? यदि छौँ भने दैनिक झण्डै ८०० हामी रहरले नै विदेशिइरहेका हुन्थ्यौँ त ? स्वदेशमा स्वतः सुविधा मिल्नुपर्ने  ठाउँहरूमा पनि लाइन नै बस्नुपर्ने तमाम अवस्थाहरू छन् । ठीक छ, लाइन नै बस्नुपर्दा पनि यदि हामी पहिलो नम्बरमा छौँ भने पालो पहिलो नम्बरमै आउनुको सट्टामा अन्तिममा आउने अवस्था छैन त ? 

 

हामी भोको रहन स्वतन्त्र छौँ तर आफ्नो पेट भर्न कतिको स्वतन्त्र छौँ ? हामीले पाउनै पर्ने गाँस कता–कताबाट कसरी काटिइरहेको छ ? मैले निस्तो ढिंडो निल्दा पनि अर्काेले थुक निल्नुपर्ने अवस्था कसरी त ? मलाई लाग्छ, होला नेपोलियनले विश्व रहरले जित्न खोजेको हुन् तर सिसिफसले ढुंगो बाध्यताले उठाएको हुनुपर्छ । 

 

ल भन्नुस्, के हामी साच्चिकै इमान्दार बन्न स्वतन्त्र छौँ या हामी सत्ता र शक्तिसापेक्ष इमान्दार मात्र बन्न स्वतन्त्र छौँ ? के हामी हाम्रो काम र जिम्मेवारी इमान्दार बन्न सक्ने अवस्थामा छौँ ? मान्नुस् काम भयो, जिम्मेवारी इमान्दारीपूर्वक निभाउन पनि पायौँ तर के हामी परिणामसँग पनि इमान्दार रहन सक्ने अवस्थामा छौँ ? कि परिणामको अवस्थासम्म कसैले हामीमाथि ढाडमा टेकेर टाउकोमा घण्टी बजाउने चेष्टा गरिसक्छ ? अब भन्छु के हामीसँग साच्चिकै इमान, सच्चरित्र, ज्ञान र स्वधर्मको स्वतन्त्रता छ त ? के जिम्मेवारहरूसँग हामी जिम्मेवारीका सामान्य प्रश्न उठाउन स्वतन्त्र छौँ ? कि प्रश्न उठाउँदा धम्कीयुक्त जवाफ पाउँछौँ ? 

 

हामी पढाइन स्वतन्त्र छौँ तर के पढ्न स्वतन्त्र छौँ ? यदि हो भने तपाईंलाई के पढ्न मन थियो अनि के पढाइनु भयो ? पढ्नको लागि तपाईंको आफ्नो अरु क्षमताभन्दा अगाडि पैसा कसले राखिदियो ? मान्नुस् हाम्रो दिमाग कमजोर नै थियो तर हाम्रो चरित्रको भाउ कसले लगायो ? आफ्नो चारित्रिक प्रमाणपत्र मात्र कतिमा किन्नुभयो थाहा छ ? के म चरित्र किनेर सीप सिक्न सक्छु ? मेरो चरित्रको भाउ लगाउनेहरूले मेरो सीप र दक्षताको बारे कतिको सोचे होलान् ? 

 

हामी अस्पतालको बिल तिर्न स्वतन्त्र छौँ तर के उपचार पाउन स्वतन्त्र छौँ ? यदि छौँ भने, सिधै हातले होइन प्राय एन्टिबायोटिकले हाम्रो घाँटीहरू न्याकिएका छैनन् ? थाहा छ नि खुट्टाको रोगको लागि पेटको उपचार गरिन्छ र मान्छेको असलीवाला पेटको घाउ सधैँको लागि बल्झाइन्छ । सुन्नुभयो होला, अस्ति हाम्रो स्वतन्त्रताकै बहस कर्ता एकजनाले भन्दै हुनुहुन्थ्यो, ‘तपाईं बेहोस भइसकेपछि अथवा हुनैलाग्दा मात्रै अस्पताल आउनुहोला ।’ हो, हामी मर्न स्वतन्त्र छौँ, मारिन स्वतन्त्र छौँ तर बाँच्छौँ र बाँच्न चाहन्छौँ भन्दा कतिको स्वतन्त्र छौँ त ? 

 

हामी अनेक वादको वाद्यवादन गर्न स्वतन्त्र छौँ तर के हामी आफ्नै अस्तित्ववादमा रमाउन स्वतन्त्र छौँ ? हाम्रो अस्तित्व सांस्कृतिक, आर्थिक, भाषिक, लैंगिक या जातियता आदि यस्तै कुनै बाहानामा लुटपाटमा परेको त छैन ?

 

हामी शान्ति शब्दसँग स्वतन्त्र छौँ तर के हामी शान्त भएर बाँच्न स्वतन्त्र छौँ ? दैनिक यतिका डरलाग्दा चिसा खबरहरूले के हाम्रो मन चिसो बनाउँदैन, अशान्त बनाउँदैन र अराजकता पैदा गर्दैन ? 

 

हामी मान्छे भनिन स्वतन्त्र छौँ तर के हामी साच्चिकै मान्छे हुन स्वतन्त्र छौँ त ? कि हाम्रो परिस्थिति, परिवेशले र घटनाक्रमले हामीलाई मान्छेभन्दा अरु केही बनाउँदैछ ? दैनिक यतिका अमानवीय, बर्बर र पाश्विक घटनाहरू के का उपज हुन् त ? 

 

यी सबै कुरा गर्दा हामी परिवर्तन चाहन्छौँ, क्रान्तिका कुरा गर्छौँ ।  हो हामी परिवर्तनका लागि सोच्न स्वतन्त्र छौँ तर के हामी साँचिकै क्रान्ति गर्न र तिनका उपलब्धिहरू उपभोग गर्न स्वतन्त्र छौँ ? यदि छौँ भने ०४६, ०६२/६३ साल अझ भनौँ १० वर्षे शसस्त्र द्वन्द्व यस्तैमा हामीलाई अगाडि लगाउनेहरू अहिले हामीलाई छोडेर कता कता पुग्दैछन् ? के हामीले तिनका उपलब्धिहरू स्वतन्त्रतापूर्वक उपभोग गर्न पायौँ ? अझ भनौँ साच्चिकै तिनका उपलब्धिहरू के-के हुन्, हामीले बन्दुकको नाल अगाडि छाती किन थापेका थियौँ, केही सम्झिनुभएको छ कि झुक्किएको अवस्थामा हुनुहुन्छ ? यदि हामी क्रान्ति र परिवर्तनका लागि स्वतन्त्र छौँ भने हामी अहिलेसम्म भनिएका क्रान्तिका अग्रपङ्क्तिमा थियौँ तर के हामीलाई थाहा छ, अहिलेसम्मका क्रान्तिका साच्चै नायक को थिए, खलनायक को थिए, क्रान्ति कता पुग्यो र उपलब्धि कता ? 

 

 

माथिका यी कुराहरू उठाइरहँदा भएका सबै कुराहरूमा नकारात्मक बन्नुस् भनिएको भने पक्कै होइन तर सचेत हुनुपर्ने ठाउँ चाहिँ थुप्रै छन् । हो, जिन्दगी संघर्षमा बित्छ तर के हामी हाम्रा चुनौतिहरूसँग लड्न स्वतन्त्र छौँ या हाम्रा चुनौतीहरूमा चुनौती थप्ने केही छन् ? जस्तो कि जग्गा तपाईंको आफ्नै हो तर लालपूर्जा अर्कैको हो । यस अर्थमा हामी कतै स्वतन्त्रतापूर्वक बन्धकीमा त छैनौँ ? स्वतन्त्रतापूर्वक बन्धकी अर्थात् तपाईं लड्न स्वतन्त्र हुनुहुन्छ तर लडिसकेपछि आफै उठ्न सक्ने अवस्थामा हुनुहुन्न, अरूको हात चाहिन्छ । अरुको हात चाहिने अवस्थामा अरुले उठाइदिनु को सट्टा अझै थेचारिदिने सम्भावना कतिको छ ?

 

 भन्छन्, खुकुलो गरि समात्दा फुत्किन सक्छ । कहीँ हाम्रो स्वतन्त्रता पनि त्यहि अवस्थामा त छैन ?

 

मलाई बेला बेला यहि कुराले घोचिरहन्छ, हामीसँग स्वतन्त्रताको अधिकार त छ तर यस्तै यावत प्रकारले गर्दा के हामी साच्चिकै स्वतन्त्र छौँ त ? अस्तु !!

Facebook Comments

You may also like

error: Content is protected !!